पहलगाममा भएको आतंकवादी हमलाको कांग्रेस भातृ संगठनहरूको निन्दा, न्यायका लागि अन्तर्राष्ट्रिय अदालत जाने
काठमाडौं : भारतको जम्मू कश्मीरस्थित पहलगाममा एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलाको सत्तारुढ दल नेपाली कांग्रेसका भातृ संगठनहरूले निन्दा गरेका छन्।
नेपाल विद्यार्थी संघले विज्ञप्ति जारी गरेर घटनाको निन्दा गरेको हो। 'हामी आतंकवादको यो क्रूर कार्य र नागरिकमाथि भएको हिंसाको स्पष्ट रूपमा निन्दा गर्दछौं। नागरिकलाई लक्षित गरी गोलीबारी गर्नु अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघन हो। यस्ता हिंसात्मक कार्यहरू पूर्णरूपमा अस्वीकार्य छन्,' अध्यक्ष दुजाङ शेर्पाले जारी गरेको विज्ञप्ति उल्लेख छ।
पहलगाम घटनामा बुटवल निवासी सुदीप न्यौपानेको पनि ज्यान गएको थियो। अध्यक्ष शेर्पाले न्यौपानेको न्यायका लागि मानव अधिकार आयोगमा निवेदन दर्ता गर्ने बताए। 'आतंकवादी हमलामा ज्यान गुमाएका नेपालीको न्याय माग्दै हामीले मानव अधिकार आयोगमा निवेदन दर्ता गर्छौं। सुनुवाइ नभए अन्तर्राष्ट्रिय अदालत जान पनि तयार छौं,' अध्यक्ष शेर्पाले अन्नपूर्णसँग भने। नेबि संघले यस दुःख घडीमा आफूहरू भारत सरकार र भारतीय जनताको साथमा रहेको बताएको छ।
त्यस्तै कांग्रेसको आदिवास जनजाति विभागले पनि विज्ञप्ति जारी गरेर पहलगाम घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 'हामी विश्वको कुनै पनि भागमा हुने यस्ता घटनाहरूको कडा निन्दा र भर्त्सना गर्दछौं। मानव अधिकारको विश्वव्यापी मूल्यमान्यता विपरीत आतंकवादी समूहले गरेको यस्तो क्रूर र हृदयविदारक घटना कसैका लागि पनि अक्षम्य छ,' विभागका अध्यक्ष दिलमान पाख्रिनले विज्ञप्ति जारी गर्दै भनेको छ।
उनले जाति, लिंग, भूगोल, स्वार्थ, धर्म, जात, समुदाय वा संस्कृतिको नाममा हुने कुनै पनि भेदभाव र अन्यायलाई स्वीकार्न नसकिने उल्लेख गरेका छन्।
प्रतिक्रिया दिनुहोस !