एनएसएल फाइनल : उपाधि होडमा ललितपुर र पोखरा
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि शनिबार ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्दैछन्। ललितपुर साविक विजेता टोली हो भने पोखरा पहिलो पटक फाइनल खेल्न लागेको हो। विजेता टिमले ८० लाख रुपैयाँ र उपविजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले बताएको छ।
लिग चरणमा ललितपुर अपराजित रहँदै शीर्ष स्थानमा रह्यो भने अघिल्लो २ खेलमा पराजय भोगेको पोखराले उत्कृष्ट कमब्याक गर्दै फाइनल सुनिश्चित गर्यो। लिगमा चौथो स्थानमा रहेर प्लेअफ खेलेको पोखराले तेस्रो स्थानमा रहेको चितवनलाई एलिमिनेटरमा पाखा लगायो भने दोस्रो क्वालिफायरमा पोखराले धनगढीलाई हरायो। दुई पटकको उपविजेता धनगढी सपटक उपाधि होडबाटै बाहिरियो।
उपाधि दोहोर्याउने लक्ष्यमा ललितपुर
पहिलो क्वालिफायरमा धनगढी र ललितपुरबीचको खेल निकै रोमाञ्चक थयो। उक्त खेलमा ललितपुरका मणि कुमार लामाले रातो कार्ड पाएका थिए। उक्त निर्णय गलत भएको भन्दै ललितपुरले अपील नै गर्नुपरेको थियो। एनएसएलले अपील कमिटीसँगको छलफलपछि लामाको रातो कार्डको निर्णय फिर्ता लिएको थियो।
ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले आफ्नो टिम उपाधिका लागि तयार रहेको बताए। उनले टिमले आत्मविश्वासका साथ मैदानमा उत्रने पत्रकार सम्मेलनमा बताए। ‘हामी फाइनलका लागि तयार छौं। तयारी राम्रो एको छ। हामीमा विश्वास छ। यो निकै राम्रो अवसर हो। आशा छ हामी जित्नेछौं,’ प्रशिक्षक साइमन ग्रेसनले भने।

त्यस्तै कप्तान अनन्त तामाङ पनि खेलाडीले शारीरिकक र मानसिकरूरुपमा विश्रामको समय मिलेको र उपाधिका लागि टिम तयार रहेको बताए। ‘अन्तिम खेल सकेपछि ५/६ दिनको समय थियो। त्यसैले हामीले विगतमा गरेको गल्ती नदोहोर्याउने गरी खेल्नेछौं। हामी भोलिको खेलका लागि तयार छौं।’
अनन्त नेपाली फुटबलमा निकै सफल कप्तान हुन्। उनले अघिल्लो सिजनमा ललितपुरलाई उापाधि जिताउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यतिमात्रै होइन उनी ए डिभिजन क्लब चर्च ब्वाइजका पनि विजेता कप्तान हुन्। उनले यस वर्ष पनि साविक विजेताको रुरूपमा टिमलाई फाइनलसम्म ल्याएका छन्, यसको सफलता सूत्र भने उनी आफ्नो टिमलाई दिन्छन्, ‘जितमा टिमको, खेलाडीको व्यवस्थापनको टिम राम्रो भएर खेलेको कारण उपाधीहरु जितिरहेको जस्तो लाग्छ।’
विपक्षी टिमको बारेमा अनन्त आफू राम्रो ज्ञान राख्ने बताए। कप्तान अनन्त तामाङ भन्छन्, ‘उनीहरूको बलियो पक्ष र कमजोर पक्ष हामीलाई थाहा छ। हामी त्यसमा ध्यान दिनेछौं।’ त्यस्तै मणिको रातो कार्ड फिर्ता हुँदा टिमलाई राम्रो हुने उनको भनाइ छ। ‘मणिको कार्ड फिर्ताको डिसिजन सकरात्मक रूपमा लिएका छौं। टिमको महत्वपूर्ण खेलाडी हो र उनी ब्याक हुनु राम्रो हो जस्तो लाग्छ। नेपालमा सायद पहिलो पटक होला उदाहरण पनि बनेको छ,’ उनले भने ।
ललितपुरलाई हराउने लक्ष्यमा पोखरा
एनएसएलको तीन सिजन सकिँदा पहिलो पटक फाइनल पुगेको पोखरा निकै उत्साहित छ। पोखराले पहिलो खेलमा एफसी चितवनसँग २-० ले हार्यो। विदेशी खेलाडीको श्रम स्विकृती नभएको भन्दै पहिलो खेल सुरुवाती समयभन्दा १८ मिनेट ढिलो सुरु भएको थियो। त्यसपछि दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग ३-२ ले पराजित भयो। तेस्रो खेलमा पोखराले पहिलो सिजनको विजेता काठमाडौं रेजर्सलाई २-० ले पराजित गर्यो। चौथो खेलमा धनगढीलाई पोखराले शून्य बराबरीमै रोक्यो। पाँचौं खेलमा पोखराले झापा एफसीसँग १-१ बराबरी खेल्यो। लिगको अन्तिम खेलमा बुटबल लुम्बिनीलाई २-० ले पराजित गर्दै पोखराले प्लेअफ खेलेको हो। लिग चरणको खेलमा ८ अंक जोड्दै चौथो स्थानमा रहेको पोखराले एलिमिनेटरमा तेस्रो स्थानमा रहेको चितवनलाई हरायो। दोस्रो क्वालिफायरमा लिग चरणको दोस्रो स्थानमा रहेको धनगढीलाई हरायो। अब फाइनलमा पोखरा लिगमा शीर्ष हुँदै अपराजित फाइनलमा आएको ललितपुरलाई हराउन चाहन्छ।

पोखराका प्रशिक्षक सुमन श्रेष्ठ पनि आफ्नो टिमले ६ हप्तासम्म गरेको मेहनतको फल लिने समय आएको बताए। ‘६ हप्तामा गरेको काम फल लिने समय भनेको फाइनल हो। हामी शारीरिक र मानसिक रूपमा तयार छौं। विपक्षी पनि निकै राम्रो छ। रणनीतिले काम गर्यो भने हामीले राम्रो खेल्न सक्छौं।’
त्यस्तै कप्तान नवयुग श्रेष्ठ आफ्नो टिम उपाधिका लागि तयार रहेको बताए। ‘फाइनल पुगेका छौं। भोली हामीले राम्रो गर्नेछौं र उपाधि जित्नेछौं भन्ने आश छ,’ उनले भने। पोखरा एक अन्डरडग टिम जसरी फाइनलसम्म आइपुगेको प्रशिक्षक सुमन श्रेष्ठको भनाइ छ। ‘सुरुवाती दुई खेल भन्दा पछि एकपछि अर्को गर्दै सुधार गर्दै हामी अन्डरडग जसरी फाइनलसम्म आइपुग्यौं। फाइनल भनेपछि निकै प्रतिस्पर्धात्मक हुनेछ।’
प्रतिक्रिया दिनुहोस !