जब औलो हिमाल चढ्यो

जब औलो हिमाल चढ्यो

वीरेन्द्रनगर : कर्णालीमा बर्सेनि औलोको जोखिम बढिरहेको छ। यहाँका हिमाली जिल्लाहरू पनि औलोको जोखिमबाट अछुत्तो छैनन्। विगतमा औलोको समस्या नरहेको यहाँको हिमाली जिल्ला हुम्ला पनि अहिले औलोको उच्च जोखिममा परेको छ। यातायात सेवासँग जोडिदा लामखुट्टेको पहुँच विस्तारसँगै बढ्दो तापक्रमका कारण कर्णालीको हिमाली जिल्ला हुम्ला पनि औलोको उच्च जोमिखमा परेको हो। 

कर्णाली प्रदेशका १० जिल्लामध्ये हुम्ला औलो रोगको उच्च जोखिममा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार हुम्लासँगै कालीकोट, दैलेख र सुर्खेत औलोको उच्च जोखिममा छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर श्यामलाल आचार्यले कर्णालीका हिमाली जिल्लाहरूमा पनि औलोको जोखिम बढिरहेको बताए।

उनले भने, ‘यहाँको हिमाली जिल्ला हुम्लामा पनि दुई जना औलो रोगका बिरामी फेला परे। एक जना बाहिरबाट आएका र एक जना स्थानीय व्यक्तिलाई औलोको संक्रमण पहिचान भएको हो। चालू आर्थिक वर्षमा कर्णाली प्रदेशभरीमा ३८ जना औलोका बिरामी पहिचान भएका छन्।’

निर्देशनालयका अनुसार चालू आवमा कर्णाली प्रदेशका सुर्खेतमा २९, दैलेखमा ४, कालीकोटमा ३ र हुम्लामा २ जना औलो रोगका बिरामी फेला परेका हुन्। जस मध्य ३७ जना आयतित औलो रोगमा बिरामी भेटिएका छन्। एक जना स्थानीय नागरिकमा पनि औलोको संक्रमण देखिएको छ। हुम्लाको ताजाकोट गाउँपालिका, दैलेखको आठबिस नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाटीकाँध गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सुर्खेतका बराहताल गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका, चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका, लेकबेंसी नगरपालिका, पञ्चपुरी नगरपालिका र सिम्ता गाउँपालिकामा औलो रोगका बिरामी फेला गरेका छन्। 

यस्तै यहाँका ७९ स्थानीय तहका ७ सय १८ वडामध्ये ३ वटा वडा औलो रोगको उच्च जोखिम छन्। ७ वटा वडा मध्यम जोखिम रहेको, ४ सय १० वटा वडा निम्न जोखिम रहेको र २ सय ९८ वडामा जोखिम नरहेको निर्देशनालयले जनाएको छ। उच्च जोखिममा रहेको वडामध्ये हुम्ला ताजाँकोट गाउँपालिका वडा नं २, ३ र ४ हुन्। न्यून जोखिममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. २, गुर्भाकोट नगरपालिका वडा नं. ८, मुगु खत्याड गाउँपालिका वडा नं. ८, सोरु गाउँपालिका वडा नं ४, ५, हुम्ला जिल्लाको अदानचुली गाउँपालिका वडा नं. ३ र ताजाँकोट गाउँपालिका वडा नं ५ छन्। 

के कारणले लाग्छ औलो ? 
औलो अर्थात् मलेरिया लामखुट्टको टोकाइका कारण लाग्ने रोग हो। प्रदेश अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा.सर्जन श्रेष्ठले भने, ‘मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजीवीका कारण लाग्ने गर्छ। लामखुट्टेले टोकेर परजीवी शरीरमा प्रवेश ग¥यो भने त्यसको १० देखि १५ दिनमा लक्षणहरू देखिन सुरु हुन्छ।’ उनका अनुसार प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरीआईले साधारणतया मन्द खालको औलोको सक्रमण गराउँछन्। त्यस्तै, अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा रोगको सक्रमण बिरलै गराउने गरेको पाइन्छ। औलोको पहिचान गर्न रगतको नमुनालाई सूक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित परीक्षण गर्ने गरिन्छ।

 औलो रोगका परजीवी भएको लामखुट्टेले टोेकेपछि १० देखि १५ दिनभित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरू दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्छन्। डा. श्रेष्ठका अनुसार निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरीरका भित्री अंगहरू फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृतिअनुसार विभिन्न लक्षण देखिने हुन्छ। यो रोगले गम्भीर रूप लिएमा मानिसको मृत्युसमेत हुने सम्भावना हुन्छ। लक्षण देखिनासाथ उचित उपचार पाए यो निको हुन्छ। जलवायु परिवर्तन तथा तापक्रम बढ्दै गएको हुँदा हिमाली क्षेत्रमा समेत लामखुट्टेहरू देखिन थालेका छन्। जसले गर्दा ती क्षेत्रमा पनि औलो जोखिम बढिरहेको छ। 

औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गर्ने, लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने, घर वरपर झरनियन्त्रण तथा पानी जमेका खाल्टाखुल्टी पुर्ने, राति सुत्दा सधैं झुल प्रयोग गर्ने जस्ता उपायहरू अपनाउनुपर्छ। डा.श्रेष्ठले भने, ‘कर्णालीका ग्रामीण स्तरमा औलोको सचेतनाकै अभाव छ। यसका बारेमा ग्रामीण बस्तीहरूमा सचेतना पनि फैलाउनुपर्छ। त्यसतर्फ स्थानीय सरकारहरूले ध्यान दिन जरुरी छ। अन्य सरोकारवालाहरूले पनि यस सम्बन्धि सचेतनामुलक कार्यक्रमहरू गर्नु आवश्यक छ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.