स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सांसदहरूको सुझाव
काठमाडौं : संसदीय समितिले स्वदेशी उद्योगबाट उत्पादित सामग्रीलाई प्रोत्साहन हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ।
सिंहदरबारमा मंगलबार बसेको संघीय संसदअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समितिले उद्योगहरुको स्थापना तथा रुग्ण उद्योगहरुको पुनःसञ्चालन गरी त्यसबाट उत्पादित सामग्री सरकारी तथा सार्वजनिक निकायमा अनिवार्य प्रयोग गर्न प्रोत्साहन गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएको हो।
बैठकमा समितिका सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सुझाव प्रतिवेदन हस्तान्तरण गरेका थिए। समितिले खानी तथा नदीजन्य पदार्थमा आधारित उद्योगहरु स्थापना गरी सञ्चालन र उत्पादित वस्तुको व्यापारका सम्बन्धमा देखापरेका समस्याहरू समाधान गरी सञ्चालन हुने नीति लिनका लागि समेत समितिले सरकारलाई सुझाव दिएको छ।
बैठकमा रक्षामन्त्री राईले राष्ट्रिय गौरवका आयोजनामा पुनर्विचार गर्नुपर्ने देखिएको बताए। उनले आयोजना निर्माणको घोषणा गरेरमात्रै केही नहुने भन्दै आर्थिक अवस्थाका बारेमा समेत अध्ययन गर्नुपर्नेमा जोड दिए। मन्त्री राईले तराइ मधेस फास्ट ट्रयाकको छिटै स्थलगत निरिक्षण गर्ने भन्दै त्यसपछि आयोजनामा देखिएका समस्या समाधान गर्नेतर्फ अघि बढ्ने बताए।
उनले राष्ट्रिय महत्वका जिम्मेवारी नेपाली सेनालाई धेरै पहिलेदेखि नै दिएको अवस्थामा सोचेजति प्रगति गर्न कठिन भइरहेको धारणा राखे। उनले समितिले दिएका सुझावलाई प्राथमिकतामा राखिने प्रतिवद्धता जनाए।
प्रतिक्रिया दिनुहोस !