श्रम रोजगारीका सबै अवसर नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताएका छन् ।
एक सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित ‘श्रम संसार पोर्टल’को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारमा देखा परेका चुनौतीहरू नियन्त्रण गर्नुपर्ने पनि बताएका हुन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवालाई सबै नेपालीको पहुँचमा पुर्याउन श्रम संसार पोर्टललाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत उनले निर्देशन दिए ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य प्राप्तिमा सूचना प्रविधिको प्रयोग अत्यावश्यक भएकाले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरू प्राप्त गर्न र सबै नेपालीलाई सरल र सहज तवरले सेवा प्रवाह गर्न सूचना प्रविधिको अहम् भूमिका रहने बताए।
सरकारले श्रम बजार सूचना प्रणाली निर्माण र सूचनामा आधारित नीति तथा कार्यक्रम तर्जुमा गर्नेगरी काम अघि बढिसकेको उनले बताए।
श्रम संसार प्रणाली श्रम तथा रोजगार सेवाको विनिमय प्रणाली भएको श्रम मन्त्रालयले जनाएको छ। जसबाट श्रम तथा रोजगार सम्बद्ध विषयहरूको माग तथा आपूर्ति विश्लेषण, रोजगारीमा आबद्धता, रोजगारदाता संस्थाहरूको नियमन, रोजगार सेवाको समतामूलक पहुँच, योग्यता विस्तार मार्फत सङ्घीयताको लाभहरू जनस्तरसम्म पुर्याउन सहयोगी हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !