अन्नपूर्ण मिडियाले मनायो २४औं वार्षिकोत्सव
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कद्वारा प्रकाशित अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक स्थापनाको २४औं वर्षमा प्रवेश गरेको छ। तीनकुनेस्थित कर्पोरेट कार्यालयमा अन्नपूर्ण मिडिया नेटवर्कले सम्पूर्ण पत्रकार तथा कर्मचारीको उपस्थितिमा पत्रिकाको वार्षिकोत्सव मनाएको हो।
सो अवसरमा अन्नपूर्ण मिडियाका महाप्रबन्धक मनोज बस्नेतले कम्पनी सधैं पत्रकार तथा कर्मचारीको साथमा रहेको बताए। ‘कम्पनीलाई समस्या पर्दा पत्रकार तथा कर्मचारीको सहयोग गरेका हुन्। अब कम्पनीले हेर्छ,’ भन्दै महाप्रबन्धक बस्नेतले कर्मचारीका समस्या चाँडै नै पार लगाउने प्रतिबद्धता व्यक्त गरे।
वार्षिकोत्सव कार्यक्रममा अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीले पत्रिकाको भविष्य अझै रहेको बताए। अन्नपूर्णले प्रकाशित गरेको विशेषांक र त्यसमा आएको विज्ञापनले पत्रिकाको भविष्य देखाएको उनको भनाइ छ।

कार्यक्रममा द अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमलदेव भट्टराई, डिजिटल सम्पादक शम्भु कट्टेल, एपीवानका प्रमुख कार्यकारी अधिकृत सुरेश पौडेल, रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर शिरोमणि दवाडी, समाचार प्रमुख भुपाल लुइँटेल, प्रशासन प्रमुख शिव बस्नेतलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
वार्षिकोत्सवको अवसरमा अन्नपूर्ण पोस्टका सुनसरी संवाददाता रत्न आचार्य र उदयपुर संवाददाता भरत खड्का र बुटवलका रिजनल म्यानेजर शिव भणडारीलाई सम्मान गरिएको थियो।

त्यसैगरी सुसासन विशेषांकमा तोकिएको टार्गेट पूरा गरेका मार्केटिङ विभागका म्यानेजर भानु थोकर र असिस्टेन्ड मार्केटिङ म्यानेजर माधुरी सापकोटालाई इन्सेन्टीभ प्रोत्साहन स्वरूप नगद ४० हजारसहित सम्मान गरिएको थियो। साथै कम्पनीका सम्पूर्ण पत्रकार र कर्मचारीहरूलाई पनि मायाको चिनो स्वरुप मेडल वितरण गरिएको थियो।
यसैबीच अन्नपूर्ण पोस्ट्ले आफ्नो २४औं वार्षिकोत्सवलाई विशेष बनाउँदै १ सय पृष्ठको विशेषांक प्रकाशित गरेको छ। ‘देश बन्दैछ’ भन्ने विषयवस्तुमा आधारित भएर देशभरिबाट सबै क्षेत्रलाई समेट्दै सकारात्मक सन्देश दिइने लेखहरु प्रकाशित गरेको छ।

प्रतिक्रिया दिनुहोस !