निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध एकताबद्ध भएर लाग्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकिएको निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरुविरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरू सक्रिय भएकाले त्यसविरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताएका हुन् । फालिएको राजतन्त्र पक्षधरहरूको अराजकता गत चैत १५ को तीनकुने–हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिएको उनले बताए ।
प्रधानमन्त्री ओलीले शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जानेहरूको हातमा शासन सत्ता पुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको उल्लेख गरे। उनले मुलुकको सभ्यता र संस्कृतिमा चुनौती दिनेलाई जवाफ दिन सक्नुपर्नेमा जोड दिए। आफूहरू समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर अघि बढिरहेको उल्लेख गर्दै रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले मजदुरहरूको हक अधिकार स्थापित गर्न सरकार सचेत रहेको उल्लेख गरे। उनले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्य प्राप्तिमा गतिशील हुन आग्रह समेत गरे ।
प्रतिक्रिया दिनुहोस !