कांग्रेसावतारका नवीन आयामहरू
संसद्का दुई ठूला दलहरू मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको यो सरकारको एउटा मुख्य मियो हो नेपाली कांग्रेस अर्थात् हामीले घर अड्याउन राखिने ‘धुरी खाँबो’। यो एउटा त्यस्तो खम्बा हुन्छ जसको भरमा पूरै घर अडिएको हुन्छ। यसमा धमिरा लाग्यो वा यो खिइँदै गयो भने कतिबेला घर ढल्छ, पत्तै हुन्न। सरकार सन्दर्भमा भन्नुपर्दा यस्तो लाग्छ कि अब त्यसको यो धूरी खाँबो लगभग खिइसकेको छ। वा खिइन थालिसकेको छ। जसले गर्दा सरकार एकपछि अर्को निर्णय र उसको आफ्नै कार्यशैलीका कारण धर्मराइरहेको छ। धर्मराउँदै हिँड्नेहरू कतिबेला कहाँ ढल्छन्, त्यो पनि थाहा हुन्न। ढल्छ त्योचाहिँ निश्चित नै हो।
इतिहासमा भएका अनि हुने गरेका हरेक परिवर्तनका निर्णायक मोडहरूमा नेपाली कांग्रेसकै नाम छ। योगदान छ। अनि उसको आफ्नो विशेष भूमिकाहरू छन्। यथार्थ त यो हो कि हरेक इतिहासमा हरेकको नाम लेखिनेमात्रै हुँदैन, कतिपय इतिहासबाट त्यसलाई मेटाइन्छ पनि। जस्तो कि २०६२–०६३ को जनआन्दोलनबाट २ सय ४० वर्ष राजशाहीको इतिहास अन्त्य भयो। भलै त्यसका अवशेष र अवयवहरू पनि आजपर्यन्त सल्बलाइरहेका छन्। मानौं, तिनका आत्मा यतैकतै कुनै राजनीतिक दल वा धर्मका नाममा भडकरहेका छन्। जे होस्, एउटा अजर इतिहास बनाएर आएको नेपाली कांग्रेसको पार्टी जीवनमा पनि अहिले एउटा त्यस्तै समय आएको छ। अर्थात्, यो एउटा त्यस्तो मोड हो जहाँबाट नेपाली कांग्रेसले आफूलाई पनि रूपान्तरण गर्नुपर्नेछ अनि यो मोडमा राष्ट्रले खेप्दै आएका अनेक अप्ठ्याराहरूलाई पनि पार लगाउनुपर्नेछ। किनकि नेपाली कांग्रेसको पहिलो गर्भसिद्धान्त राष्ट्र हो। त्यसपछि राष्ट्रियता हो अनि प्रजातन्त्र र समाजवादको राजमार्गमा ऊ हिँड्न सक्छ। त्यो भनेको जनताको सामूहिक भावना हो। र, त्यही भावना जसले नेपाली कांग्रेसको पार्टी जीवनमा राजनीतिको सजीवता भरेको हुन्छ।
देश आज कस्तो परिस्थितिमा गुज्रिरहेको छ भन्ने कुरा सायद यहाँ व्याख्या गरिरहनु नपर्ला। राजनीति, राजनीतिक दल र नेता अनि नेतृत्वप्रति आमनागरिकको कति र कस्ता निराशाहरू छन् ? सडकभरि छरपस्ट भएकोबाट स्पष्ट हुन्छ। नयाँ पुस्ताको बुझाइबारे त झन् कुरै गरिसाध्य छैन। हरेक ठाउँमा किरकिराउने ‘फलानो चोर, देश छोड्’को कर्कसले नेता र नेतृत्वलाई कत्तिको पोल्छ ? त्यो सायद उनीहरूलाई नै थाहा होला। बोध होला, नभए पनि हुनैपर्छ। या यत्तिकैमा मासिनुपर्छ। यो हेक्कालाई पनि उनीहरूले राम्रैसँग बुझेका होलान्। नेता, नेतृत्व र राजनीतिसँग भरोसा फुटेर सडकमा विस्फोट भइरहेका निराशा र असन्तुष्टिहरूले गिज्याइरहेको देशको यो अवस्थालाई पार लगाउन फेरि एकपटक नेपाली कांग्रेसको नयाँ अवतारको खाँचो भइसकेको छ। तत्कालै अनि टड्कारै।
आज सडकको हालत हेरौं। महिनौंदेखि आन्दोलनले ढाकिएका छन्। सारा शैक्षिक अभियानहरूलाई निलम्बन गर्दै सरकारी शिक्षकहरूले लामो समयदेखि प्रदर्शन गरे। सकिने मागहरूलाई उहिल्यै पूरा गरिहाल्नुपर्ने थियो। अहिलेसम्म धेरै सरकार फेरिए, कैयौं प्रधानमन्त्री, मन्त्रीहरू भए तर पनि शिक्षकका मागहरू सुनिएनन्। पटक—पटकको उधारो सम्झौताहरूबाट आजित भएर उनीहरू सडकमै आउन बाध्य छन्। एकाध अनि औंलामा गन्न भ्याइने बाहेक बाँकी सरकारकी विद्यालयमा विद्यार्थीको सिकाइ वा बुझाइ अनि अभिव्यक्तिको मापन गर्ने हो भने त त्यो जत्तिको लाजमर्दाे शैक्षिक अवस्था विश्वका अरू देशमा बिरलै होला। तथापि सरकारले दिने सेवासुविधा वा अन्य प्रावधानहरू शिक्षकमैत्री नभएका हुन सक्छन्। यी तत्तत् विषयहरूलाई केन्द्रमा राखेर सरकारले सरोकारवालालाई राखेर त्यसको समाधान खोज्छ। यस्तो बेलामा प्रधानमन्त्रीले उल्टै माग राख्नेहरूकै मजाक उडारहेका छन् भने हरेक मुद्दामा मुख्य साझेदार नेपाली कांग्रेस मौन रहने परम्पराजस्तै बन्न पुगेको छ। लाखौं सहकारी बचतकर्ताले आफूले खुनपसिना बगाएर जम्मा गरेको पैसा फिर्ता मागिरहेका छन्। तर सरकार पैसा फिर्ता गर्ने एउटा मेकानिज्म बनाउनतिर नलागेर निरन्तर बेवास्ता गरिरहेको छ। नेपाली कांग्रेसले यसबारे अब बोल्नैपर्छ। पार्टीको केन्द्रीय समितिको बैठक राष्ट्रमा यस्तै अलमल अनि ढिलासुस्तीलाई पार लगाउन निर्णायक बन्नुपर्छ। यसतर्फ कांग्रेसले आफ्नो अग्रसरता लिनैपर्छ।
अहिलेसम्म दूध बेचेका किसानहरूलाई सरकारी संस्थानले भुक्तानी दिन सकेको छैन। उखु बेचेका किसानहरूले पैसा पाउन सकेका छैनन्। मिटरब्याज पीडितहरूका पीडा उस्तै छन्। हुँदा हुँदा देश विकासको मेरुदण्ड मानिने निर्माण व्यवसायीहरूलाई समेत सरकारले भुक्तानी दिन सकेको छैन। दिन सकिरहेको छैन, गर्न सकिसकेको छैन कि सरकारले चाहेकै छैन। यी सब गाह्रासाह्रा काम कुरा हुँदै होइनन्, सरकारसँग पैसा नभएको होइन, मात्रै सरकार चलाउनेहरूमा इच्छाशक्ति नभएको हो। नेपाली कांग्रेसले तत्काल यी विषयहरूमा सम्बोधन गर्नैपर्छ र त्यसको अगुवाइ लिनैपर्छ। अन्यथा, त्यसको नमीठो फल भोग्नुपर्ने २०८४ सालमै त आउनेवाला छ।
कुशासनका चाङमाथि प्रधानमन्त्रीले ‘सुशासन आयोग’ बनाउँदैमा रमाइरहेका छन् अनि कांग्रेसी हत्केलाहरू त्यसकै उपलक्ष्यमा ताली बजाइरहेका छन्। योभन्दा लाजमर्दो अरू के हुन सक्छ ? भ्रष्टाचारका सबै फाइल खोलौं भन्ने हाम्रा ‘पुपलर’ नेताहरू पनि अहिले आएर मौनप्रायः देखिएका छन्। भ्रष्टाचारविरुद्ध अनि सुशासनका लागि नेपाली कांग्रेसले तत्काल कुनै कडा निर्णय गरोस् र त्यसतर्फ प्रभावकारी कदमहरू अघि बढाओस्। अनिमात्रै यो निराशाका बीचमा फेरि नेपाली कांग्रेसको आफ्नोपन बाँचिरहनेछ।
त्यसकै लागि आज नयाँ नेपाली कांग्रेस चाहिएको हो। नयाँको अर्थ अर्को कुनै कांग्रेस पार्टी होइन। बीपीहरूका रगत, पसिना अनि आशा, भरोसा र सपनाहरूले सिञ्चित त्यही नेपाली कांग्रेस। अर्थात्, यही नेपाली कांग्रेस। हो, अब यसले फेरिनैपर्छ। काँचुलीहरू पुराना भइसके। थोत्रिसके। अब नयाँ हुनैपर्छ। पार्टीको पुनर्जीवन अनि पुनर्निर्माण र पुनर्ताजगीकरण भनेको पार्टीको महाधिवेशन हो। हरेक पार्टी जीवनमा महाधिवेशन नै त्यसको सञ्जीवनी बुटी हो। र, त्यो बुटी त्यहीबेला लिनुपर्छ, जति बेला त्यसको सही समय पुग्छ। असमयमा लिइने सञ्जीवनी बुटी बिष पनि हुन सक्छ।
यसको मतलब के हो भने नेपाली कांग्रेसको महाधिवेशन २०८२ मंसिरमै हुनुपर्छ भन्ने हो। त्यसका लागि जिम्मेवारी पाएका पदाधिकारीहरूले समयमा काम सक्नुपर्छ भनेको हो। मिसन ८४ कसैको निजी पेवा होइन, त्यो नेपाली कांग्रेसको शक्ति आर्जनको एउटा महाअभियान हो। र, त्यसअघि नै पार्टीलाई ताजगी बनाएर लैजान महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ। यो किन पनि हुनुपर्छ भने नेपाली कांग्रेस लोकतन्त्रको मसिहा पार्टी हो। लोकतन्त्रबिना नेपाली कांग्रेसको आफ्नै कुनै अस्तित्व छैन। राजनीतिक दर्शनलाई जीवन्त राखिराख्न लोकतन्त्रको यो मूलमर्मबाट नेपाली कांग्रेस कहिल्यै अलग हुन सक्दैन।
जुन दिन अलग हुन्छ, त्यो दिन नेपाली कांग्रेस नै रहँदैन। पार्टीको महाधिवेशन त्यही लोकतन्त्रको आन्तरिक अभ्यास हो। जसले नागरिकलाई लोकतन्त्रप्रतिको आस्था र विश्वासलाई कायम राख्न मद्दत गर्छ। आफ्नै पार्टीभित्रको लोकतन्त्र मासेर भोग माग्न जाँदा जनतालाई के जवाफ दिने ? किनकि चुनाव भनेको भोट माग्ने वा पार्टीलाई जिताउनेमात्रै होइन बरु त्यो त जनताले प्रश्न गर्न पाउने अवसर पनि हो। अनि लोकतन्त्रको सुन्दरता भनेकै त्यसैको पर्याय न हो।
आज राजनीतिलाई सत्ता र शक्तिको अभ्यासका रूपमा मात्रै हेरिने गरिएको छ। यसप्रति खस्किँदै गएको जीर्ण भरोसाका कारण त्यस्तो भाष्यलाई नयाँ पुस्ताले झन् अमिल्दो तरिकाले बुझिरहेको छ। तर, यसलाई जसरी बुझिएको छ वा बुझाइको छ, त्यो आफैंमा अपूर्ण छ। राजनीति भनेको त्यस्तो हुँदै होइन र त्यो भयो भने त्यो राजनीति हुनै सक्दैन। राजनीति भनेको नागरिकका मुद्दा बोल्ने र त्यसलाई सम्बोधन गर्ने माध्यम हुनुपर्छ। बनाइनुपर्छ।
नेपाली कांग्रेसले आफ्ना ऐतिहासिक राजनीतिक विरासतको पहिचान जोगाइराख्ने हो भने यो एउटामात्रै त्यस्तो पार्टी हो। जसले समाजमा फैलिएका नकारात्मक भाष्यहरूलाई सही दिशामा डोर्याउन सक्छ। राजनीति के हो र किन अनि कसका लागि गरिन्छ भन्ने कुरा नेपाली कांग्रेसले मात्रै आमनागरिकलाई बुझाउन सक्छ। किनकि नेपाली कांग्रेस यही समाजको एक चक्र पनि हो। समाज र नागरिक चाहनाबिना नेपाली कांग्रेस आफू आफैंमा मात्रै केही पनि रहँदैन। मात्रै शून्यबाहेक !
प्रतिक्रिया दिनुहोस !