कसैले पत्याउँछ यो कुरा ?

कसैले पत्याउँछ यो कुरा ?

चरम विकासतिर लम्किँदै गरेको युग हो यो। हुन त यो भन्दा पनि बढी विकास पौराणिक कालमै भैसकेका रहेछन् भन्न पनि सकिन्छ। त्यसैको सिको गरेर अहिले हामी अगाडि बढिरहेका छौं। त्यसै भएर भनिएको होला, हिँड्नेभन्दा सिँढी बनाउन लगाउने मानिस महान् हुन्छन्। त्यतिबेला पुष्पविमान थिए, देउताहरूको सवार पुष्पविमानमा हुन्थ्यो। वायुपंखी घोडा थिए। गरुडमाथि शयर हुन्थ्यो। कोठामा बसेर कहाँ के भइरहेछ सबै थाहा पाउँथे। फूँ ! गरेर मान्छेलाई उडाइदिन्थे। भस्म खरानी नै बनाइदिन्थे। मरेका मानिसहरूलाई बचाइदिन्थे। हेर्नोस् त कस्तो अचम्म ! अहिले हामी त्यो हो कि हैन के हो ! थाहा पाउन छोड्यौं ! अर्काले भनेको भरमा हद्रँदैन। आँखाले देख्नद्रपर्छ अनिमात्र पत्याइन्छ भनिन्छ। एकातर्फबाट हेर्दा यो कुरा सत्य पनि हो। तँ फलाना ऋषिको सन्तान होस् भन्यो भने हो भन्थौं मान्नैपर्छ। किनभने यो इतिहासले बताएको कुरा हो।

नेपाली समाजमा यस्ता व्यक्ति पनि छन्, जो ईश्वर छैन, ईश्वर भनेको को हो ? कस्तो हुन्छ ? पनि भन्छन्। ईश्वरले के काम गर्ने हो ? कसैले देखेको छ ? छैन। यो नदेखेको कुरा वाइयात हो पनि भन्छन्। देउताले यसो गरे, त्यसो गरे, यसो गर्छन्, उसो गर्छन् भन्छन् मान्छे। के उहाँहरूले भनेको कुरा ठीक हो त ! यसलाई हामीले कसरी हेर्ने ? 

बुझ्ने ? ए ! कति मानिस भगवान् मेरो फलानो काम पूरा गरिदिनोस् है भन्छन्। भगवान्, म प्रभुको दर्शन गर्न आउने छु। अथवा, बोका, हाँस, कुखुरा, परेवा आदि केही ल्याएर चढाउने छु। लिएर पूजा गर्न आउने छु। यस्तै भनेका हुन्छन्। यसोभन्दा उनीहरूको कार्य पूरा भएको हुन्छ त ! अनि त्यसलाई के भन्ने ? देउता छन् भन्ने कि ! छैनन् भन्ने ?

कोही भन्छन्, आज म पशुपतिनाथ गएको थिएँ। त्यसो त त्यहाँभित्र ढोकाबाट छिरेपछि जतिसुकै पिरताप भए पनि त्यो सारा हराएर एउटा बेग्लै अनुभूति गराउँछ। हैन यो के भएको के ! अचम्म हो। गजबै छ बा ! भनेको सुनिन्छ। यो त मानिसहरूले अनुभूति गर्ने कुरो हो। देखिँदैन तर। यसलाई के भन्ने। कुनै एक समय गोरखा दरबार मन्दिर तल दरवारमा सार्ने कुरा चलेछ। अब त भएन तल सार्नै पर्‍यो भनेर निर्णय गरेछन्। अनि दुई चारजना मानिस लगाएर दिनभर सामान दरवारमा सार्न लगाएछन्। भोलिपल्ट बिहान हेर्न जाँदा त सार्न लगाएको सामान सबै माथिल्लो दरबारमा जस्ताको तस्तै ! अवश्य केही भएरै यी कुराहरू भएका हुन्। भनेपछि केही त पक्कै छ। समाजमा भनिँदै आएर हामीले अहिले थाहा पायौं। अलिकति केही बढाइ चढाइ हुनसक्ला तर पनि एउटा कत्ति नभएको कुरा हुँदै नभएका कुरा त अवश्य होइन। उही एउटा हाम्रो समाजमा भन्ने गरिन्छ, हावा नचलीकन पात हल्लिँदैन। हुन पनि हो, हावा नआइकन पात हल्लिन्छ र ?

गतसाल मात्रै भक्तपुरको बोडेतिर कुन मन्दिर हो कुन्नि ? मान्छेलाई भोगदिने चलन छ भन्ने खबर अखबारतिर आयो। अरे ! खबरदार कसैले यस्तो काम गरौला ? पनि भनेर खबरदारी गरियो रे। त्यसैले त्यतिबेला त्यहाँका मानिसलाई बेलुका ६ बजेपछि कोही बाहिर ननिस्कनू पनि भनियो। केही महिना त्यहाँका मानिसहरू बेलुका चाँडै खाने र सुतिहाल्ने भए। बाहिरै निस्किएनन्।

धेरै वर्ष अगाडिको कुरा हो। एकपटक हामी दक्षिणकाली आमाको दर्शन गर्न गयौं। सँगैकी बुढीआमाले प्रसंगबस भन्नुभयो, ‘यो ठाउँमा सधैं एउटा एउटा धच्याधुचु धच्याधुचु भइरहने। कहिले के भएको छ ! कहिले के भएको छ ! एउटा उपद्रो भइरहने ! प्रायःजसो एउटा एउटा मानिस मरिरहने।’

‘हैन सधैं किन यस्तो हुन्छ ? अब हामीले दक्षिणकाली आमाको नियमित पूजाआजा चलाऔं।’ सबै मिलेर दक्षिणकाली आमाको पूजाआजा गर्न थालेपछि त्यस्तो कुनै अप्रिय घटना भएको छैन। धेरै राम्रो भएको छ’, उहाँले भन्नुभयो। त्यसैले सायद दक्षिणकाली आमाले संरक्षण गर्दै आउनुभएको छ।

जहाँसुकै त नभनौं। कति देवीदेउताका यस्ता कथाहरू लुकेका हुन्छन्। लमजुङको मादी नदीको छेउ करापुटारमा बाइसे–चौबिसे राजाका पालामा इशानेश्वर महादेवको उत्पत्ति भएको कथा छ। जोत्दाजोत्दै हलो एउटा शिलामा जोतिन्छ। शिलाको अलिकति पाप्रो उक्किन गयो। हली र गोरू दुवैको मृत्यु हुनपुग्यो। के भएर रहेछ ? भनेर खोस्रिएर हेर्दा हलाको टुँडो शिलामा घर्षण हुनजाँदा शिलाको पाप्रो उक्किएको देखियो।

सपनामा त्यहाँ इशानेश्वर महादेवको उत्पत्ति भएको छ। त्यसको मन्दिर बनाएर पूजाआजा चलाएर संरक्षण गरेर राख्नु भन्ने सपना आएकोले, त्यहाँबाट त्यो शिलालाई मन्दिर बनाएर स्थापना गरेर दैनिक पूजाआजा गरेर राखिएको छ। त्यसबेला लमजुङका राजाले इशानेश्वर महादेवका नाउँमा गुठी पनि राखिदिएका छन्। मरेका गोरुको सिङ अहिलेसम्म पनि छन्। हामी एकपटक नुवाकोटको दुप्चेश्वरमा गएका थियौं। कवि गोष्ठीको सिलसिलामा त्यहाँ यस्तो लेखिएको थियो, एउटा गोठालोले आफ्नो गाई चराउन लिएर गएको थियो। एउटी गाई हराइन्, बेलुका खोज्दा खोज्दा पाइएन। घर गएर सुतेका थिए। राति सपनामा तिम्रो गाई फलाना ठाउँमा छन्, गएर हेर भन्ने सपना आएछ। उनको पालो सरासर त्यहाँ गएर हेर्दा त एउटा शिलामा ती गाईको चारवटा थुनबाट चारओटा दूधका धारा लगाइरहेकी रहिछन्। उनको पालो गाईघरमा लिएर आएर यो कुरा सब गाउँलेलाई सुनाए। अनि सबै गाउँलेहरू मिलेर शिवजीको रूपमा पूजा आजा गर्न थाले।

वास्तवमा त्यो दुग्धेश्वर हुनुपर्ने हो। त्यो बेलादेखि अहिलेसम्म दुप्चेश्वर भनेर पूजाआजा गर्ने गरिएको पाइन्छ। त्यो वास्तवमा अपभ्रंश भएर हो वा त्यतिबेला त्यहाँका मानिसले भन्न नजानेर हो कि के हो त्यो दुग्धेश्वर नै हुनुपर्छ। अहिलेका दुग्चेश्वर एकदम शक्तिशाली छन्। त्यहाँका शिला नै बेग्लै किसिमका देखिन्छन्।

पोखराको विन्ध्यावासिनी आमाका त्यस्तै कथा छन्। त्यतिबेलाका कास्कीका राजाले कास्कीकोटमा लगेर स्थापना गर्छ‘ भनेर विन्ध्यवासिनी आमालाई विन्ध्याचल पर्वतबाट बोकेर ल्याएछन्। उनको पालो अहिलेको मन्दिर भएको ठाउँमा ल्याएर बिसाउन पुगेछन्। वास्तवमा त्यतिबेला त्यहाँ चौतारी हुनुपर्छ। उनले चौतारीमा बिसाएको हुनुपर्छ। हिँड्दा हिँड्दा थकाइ लागेको हुनसक्छ। चौतारीमा बस्दा बस्दै झपक्क निद्रा लाग्यो। त्यही बोलाउन सपना आयो। म माथि जान्नँ। यहीँ बस्छु। भनेकाले त्यही मन्दिर बनाएर स्थापना गरेर राखियो, विन्ध्यावासिनी आमा। कति हामीहरूको कुलायन आमा पनि हुनुहुन्छ। तनहुँको स्थानीका स्थान, लमजुङ थानसिङ मालिका, नुवाकोटका स्थानापति, मनकामना मन्दिरका देउताको उत्पत्तिका यस्तै यस्तै कथा छन्।

केही समय सल्यानकोट बसेर पृथ्वीनारायण शाहले सल्यानकोटे इन्द्रायणी र भैरवीको पूजा आराधना गर्दै गइरहेका थिए। एकदिन त्यही सल्यानकोटे इन्द्रायणीका स्थानमा कचहरी बसिरहेको समयमा उनलाई तन्द्रा लागेछ। त्यही बेला इन्द्रायणी भगवतीले आएर आजको सात दिनको दिन ठूलो साइत छ। त्यो दिन साइत गरेर गइस् भने तैंले नुवाकोट जितेर फर्किन सक्छस् भनिछन्। उनको पालो लौ त भनेर त्यही दिन साइत गरेर नुवाकोट हान्न गएछन् र नुवाकोट जितेर फर्किएछन्। यो कुरा दिव्योपदेशमा लेखिएको छ।

यो सबै भूमिका किन बताइरहेको छु त भन्दा यो काठमाडौं उपत्यकाको करिब करिब बीचभाग जस्तोमा पर्ने लाजिम्पाट सांग्रिला होटेलको पश्चिमपट्टि जंगलभित्र रानीदेवी मन्दिर रहेको छ। त्यहाँ विभिन्न समयमा सभागोष्ठीहरू पनि हुने गर्छन्। त्यहाँ धेरै सिनेमाका सुटिङ हुन्छन्। पिकनिक पनि गरेको देखिन्छ। ती रानीदेवी माता पनि निकै शक्तिशाली भएको मान्न सकिन्छ।

त्यहाँ पनि वर्षैपिच्छे एउटा एउटा घटना घटिरहेको पाइन्छ। कहिले त्यहीभित्र जंगलमा मान्छे मरिरहेको सुनिन्छ। केही वर्ष अगाडि त्यही जंगलभित्र तीनजना यसै मरिरहेको फेला परेका थिए। रक्षा गर्नोस् आमा भनेर रानीदेवी आमाको पूजाआजा गरौं। अवश्य पनि त्यहाँ वरपर रहेका सबैको सुख, शान्ति र कल्याण हुनेछ भन्ने लाग्छ। अस्तु !
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.