मलाई बेरंगी बन्न मन छ
म थिरिथिरी गर्न जानेदेखि नै
मलाई हिँड्न सिकाएको
मेरो आँगन छेउको बाटोले
आफ्नो रंग फेरेको देखेको छैन।
हुन त सौरको नीलो आकाश,
त्यो रंगीन इन्द्रेणी,
धरतीको सेताम्य हिमाल,
अनि,
श्याम वर्णको पत्रेय चट्टान,
तीमध्ये आजसम्म कसले पो
आफ्नो रंग फेरेका छन् र ?
तर,
यो होइन कि प्रकृतिले आफ्नो रंग नै फेर्दैन।
यत्ति हो,
प्रकृतिलाई आफ्नो रंग
मनलाग्दी फेर्ने स्वतन्त्रता छैन,
उसलाई त आफ्नो रंग फेर्न
ऋतु पर्खिनु पर्छ–
वसन्त, गृष्म, वर्षा,
शरद, हेमन्त वा शिशिर।
आफ्नो रंग फेर्ने स्वतन्त्रता त
देशका नेतालाई मात्रै छ
उनीहरूलाई आफ्नो रंग फेर्न
कुनै मौसम पर्खिनु पर्दैन
कहिले ‘दक्षिण’ जान्छन् र
अनुहारमा गेरु रंग पोतेर आउँछन््
कहिले ‘उत्तर’ जान्छन् र
अनुहारमा रातो रंग पोतेर आउँछन्
तिनैका भनेका हुन् क्यार–
गेरु रंग हिन्दु धर्मको रंग हो रे !
रातो रंग क्रान्तिको रंग हो रे !
यदि रंग फेर्ने जाँच हुन्थ्यो भने,
म किटेरै भन्न सक्छु,
हाम्रा नेतालाई माथ गर्न
आफ्नो रंग फेर्नेमा कहलिएका
संसारको कुनै जीवले पनि सक्ने थिएनन्।
साँच्चै भनूँ,
यो रंग फेराइले आजित भएर,
अचेल मलाई आफ्नै रंग
फेर्ने झोंक चलेको छ,
नेताले जस्तै आफ्नो रंग फेरेर
अर्काको रंगले पोतिन होइन,
रंग फेरेर रंगहीन बन्न मन छ,
रंगहीन अर्थात् बेरंगी बन्न मन छ।
प्रतिक्रिया दिनुहोस !