खोटाङ चार जनालाई नागरिकता प्रदान गर्न मन्त्री राईको आग्रह
धरान : नागरिकता नपाएका खोटाङका चार जनालाई नागरिकता प्रदान गर्न कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेसँग आग्रह गरेका छन्।
अन्नपूर्ण पोस्ट डट कम र अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्री राईले उनीहरूलाई सहज तरिकाले नागरिकता प्रदान गर्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका हुन्।
नेपाली नागरिकता ऐनले १६ वर्ष उमेर पूरा भएपछि प्रत्येक नेपालीले नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ। तर खोटाङका चारजना नागरिक भने नागरिकता पाउनबाट वञ्चित भएका छन्।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ बुइपा खिरिका ५८ वर्षीय वीरबहादुर आलेका २९ वर्षीय छोरी राधा आले, २८ वर्षीय छोरा मोहन आले र २२ वर्षीय कान्छी छोरी सरस्वती आले र ऐसेलुखर्क गाउँपालिका–४ जलेस्वरीका ६७ वर्षीय गीता खत्रीलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन अस्वीकार गरेको थियो।
मन्त्री राईसँग प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले प्रहरीको मुचुल्का आएपछि चारै जनालाई नागरिकता प्रदान गरिने बताए।
प्रतिक्रिया दिनुहोस !
