को बन्ला सशस्त्र प्रहरीमा नयाँ एआइजी ?
काठमाडौं : सशस्त्र प्रहरी बल नेपालमा एआइजी पदमा एक जनाको दरबन्दी रिक्त छ। ३० वर्षे सेवा हदका कारण गत वैशाख ३ गते एआइजी चन्द्रप्रकाश गौतम अनिवार्य अवकासमा गएपछि एउटा दरबन्दी रिक्त भएको हो।
सशस्त्रमा एआजी बन्न अहिले चर्को प्रतिस्पर्धा चलेको छ। वैशाख १४ गते आवेदन आह्वान भएपछि एआइजी बन्द ९ जनाले आवेदन दिएका छन्। आवेदन दिनेमा कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मण बहादुर सिंह, कालीदाश धौवोजी, प्रदीप पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले आवेदन दिएका हुन्।
सशस्त्र प्रहरी स्रोतका अनुसार संगठनमा १६ जना डिआइजी रहे पनि ९ जनाको मात्र आवेदन परेको हो। जसमा बरीयताका आधारमा ५ नम्बरमा रहेका कुमार न्यौपानेले आवेदन दिएका छैनन्।
आवेदन दिएकामध्ये चार जनाबीच कडा प्रतिस्पर्धा हुने स्रोतको दाबी छ। मुख्य प्रतिस्पर्धामा कमल गिरी, गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी रहेका छन्। उनीहरूमध्यबाट एक जना एआइजी हुने उनको दाबी छ।
सशस्त्रमा पहिलो र्यांकअनुसार नै बढुवा हुँदै आएको छ। सोही प्रक्रियाबाट बढुवा गरिए एक नम्बरमा रहेका कमल गिरी एआइजी बन्ने निश्चित देखिन्छ। तर, प्रतिस्पर्धामा रहेका डीआइजीहरू राजनीतिकरूपले शक्तिशाली रहेको बताइन्छ। उनीहरूले अहिले शक्ति केन्द्र धाइरहेको स्रोतको दाबी छ।
सशस्त्र प्रहरी ऐन बनेर कार्यान्वयनमा नगएको अवस्थामा सशस्त्रका अहिलेका महानिरीक्षक राजु अर्यालको कार्यकाल २०८३ को वैशाख १८ सम्म छ। उनीपछि नारायणदत्त पौडेल आइजीपी बन्नेछन्। सिनियारिटीको आधारमा उनी १ नम्बरमा छन्। उनको कार्यकाल सकिएपछि अहिले एआइजीमा बढुवा हुने व्यक्ति आइजीपीको लाइनमा हुनेछन्। बरीयतामा तल रहेका एआइजी बंशिराज दाहालले पौडेललाई उछिनेर आइजी हुन अस्वभाविक चलखेल गर्न सुरु गरेका छन्। तर उनी विवादित व्यक्ति हुन्।
सशस्त्र प्रहरी बलमा ३ जना एआइजी र १६ जना डिआइजीको दरबन्दी छ। एआइजी पौडेलले सशस्त्र प्रहरी बल नेपालको कार्य विभागको कमाण्ड सम्हालिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !