चलायमान चलचित्र
दशक अगाडिसम्म परम्परागत लयमा हिँडेको नेपाली चलचित्र उद्योग अहिले भने प्रविधि र टेक्नोलोजीको लयमा दौडिरहेको छ। मानवीय संवेदना, अर्गानिक कथा, जीवन भोगाइ र जीवन्त अभिनयमा नयाँ प्रविधिलाई मिसाउँदा चलचित्रका दृश्यहरू वाह भन्न सकिने बन्न थालेका छन्। अब्बल सिनेम्याटोग्राफी, उत्कृष्ट क्यामरा सिस्टम र कुशल निर्देशकको हातमा परेका अर्गानिक कथाहरूले नेपालमा मात्रै हैन, विदेशमा समेत तहल्का पिटेका छन्। सबैतिर वाहवाह कमाएका छन्। २०८१ मा प्रदर्शनमा आएको पूर्णबहादुरको सारंगी चलचित्रले नेपाली चलचित्र उद्योगकौ सबै रेकर्ड तोड्यो। ५० करोड बढीको व्यापार गर्दै उत्कृष्ट सिनेमाको उपाधि पनि जित्यो। हुन त चलचित्र उद्योगमा के बिक्छ भन्ने खासै टुंगो हुदैन। कस्ता कथाहरू पर्दामा उतारेपछि दर्शकको मन जित्ने हुन् कुनै निश्चित तर्क छैन। कहिले आधुनिक कथाले चर्चा पाउँछ त कहिले गाउँठाउँका अर्गानिक कथाले दर्शकको मन जित्छन्। जे होस् नेपाली चलचित्रको ६० वर्षे यात्रा सुखद नै देखिन्छ। १९६४ सालमा नेपाल सरकारले बनाएको पहिलो नेपाली भाषाको चलचित्र आमादेखि अहिलेका विविध चलचित्रसम्म आइपुग्दा नेपाली चलचित्र उद्योगले धेरै आरोह अवरोह भोगेको छ। साँघुरा अप्ठ्यारा घुम्तीहरू पार गरेको छ।
नेपाली चलचित्र क्षेत्रको चर्चित तथा वरिष्ठ अभिनेता राजेश हमालले एक अन्तर्वार्तामा चलचित्र उद्योग अत्यन्तै सकारात्मक बाटोमा अगाडि बढेको बताएका छन्। उनले नेपाली चलचित्र एउटा गतिमा भएकाले यहाँ संलग्न व्यक्तिहरू सक्रिय हिसाबले लागिरहकाले पनि सकारात्मक नतिजा आइरहेको स्वीकार गरेका छन्। उनी भन्छन्, ‘नेपाली चलचित्रको आफ्ना दायराहरू छन्। तपाईंले अन्तर्राष्ट्रिय क्षेत्रमा जतिसुकै गरे पनि, प्रविधि जतिसुकै परिवर्तन भए पनि आजको समयमा उपलब्ध सबै प्रविधि र सीप भित्त्याउने क्षमता त हामीसँग छैन। टेक्नोलोजी उपलब्ध भए पनि त्यसको सीमित दायरामा बसेर हामीले बनाउँछौं। हामी अपार बजेटमा पनि जान सक्दैनौं।’
हमालले अहिलेको परिस्थितिमा प्रदर्शनमा आएका नेपाली चलचित्रहरू सन्तोषजनक नै भएको बताउँदै गति हुन्जेलसम्म एउटा मोडमा परिवर्तन हुन्छ भन्ने आशा हुनेमा जोड दिए। उनी भन्छन्, ‘कलाकार आफूले गरेका काम र पाएका कामसँग सन्तुष्ट हुनुहुन्छ, नयाँनयाँ व्यक्तिहरू आएर सफलता हासिल गर्नुभएको छ। यसबाट धेरै कुरा पनि प्राप्त गर्नुभएको छ। चलायमान अवस्था हेर्दा सन्तोषजनक छ।’
चलचित्र विज्ञ तथा समीक्षक सचिन घिमिरेका अनुसार नेपाली चलचित्रको प्रडक्सन क्वालिटी बढेर गएको छ। संख्यात्मकसँगै गुणात्मक चलचित्र आउने क्रम बढ्दो छ। व्यापारिक रूपमा सफल होलान् भन्ने चलचित्रहरू फ्लप हुने र खासै आशा नगरिएका चलचित्र निकै चर्चामा आउने गरेको देखिएको छ। नेपाली चलचित्रप्रति दर्शकको बुझाइ बदलिएको छ। ट्रेन्ड र शैली पनि बदलिएको छ। २०८१ मा आएका केही चलचित्र व्यापारको आधारमा निकै सफल रहे। यसपछि नेपाली चलचित्र निर्माताहरू हौसिएको देखिन्छ। संख्यात्मक रूपमा चलचित्र बन्ने क्रम बढ्दो छ। निम्नवर्गीय पात्रको कथा भन्ने चलचित्रलाई दर्शकले रुचाएका छन्। लुकेका कथाहरू बाहिर ल्याउन मान्छेलाई उत्प्रेरणा मिलेको छ। साहित्यिक र सिर्जनात्मक व्यक्तित्वहरू पनि मेनस्ट्रिममा आउने प्रवृत्ति बढ्दो छ। हलमा स्लट पाउनको लागि निर्माताहरूले निकै पापड बेल्नुपर्ने अवस्था छ।
विदेशी चलचित्र लागेको समयमा नेपाली चलचित्रले प्रायः हलको शो नै नपाउने अवस्था थियो। तर अहिले यो अवस्था बदलिएको छ। राम्रा नेपाली चलचित्रहरूले विदेशी चलचित्रलाई पनि ओभरटेक गर्न थालेका छन्। यो सुखद पक्ष हो। धेरै चलचित्रले लगानी जोगाउने प्रक्रियामा छन्। पछिल्लो समय नयाँ बनेका हलहरू भव्य बनेका छन्। आधुनिक र सुविधासम्पन्न हलहरूले दर्शकको ध्यान तान्न सफल पनि भएका छन्। हल निर्माणमा सरकारको शुन्य लगानीका बाबजुत पनि यसको विकासक्रमलाई सकारात्मक पक्षका रूपमा लिन सकिन्छ।
चलचित्र निर्माता तथा समीक्षक क्रषि लामिछानेका अनुसार नेपाली सिनेमा छायांकन गर्ने क्रममा प्रयोग हुने टेक्नोलोजी संसारमा जे जे प्रयोग हुन्छ ती सबै प्रयोग गरिरहेको अवस्थामा छन्। ‘यसका लागि सक्षम व्यक्ति पनि छन्। तर सेकेन्डह्यान्ड टाइपको छ। प्रविधिको विषयमा हामी माथि जान खोजिरहेका छौ तर गइसकेका छैनौं। आवश्यक सामग्री पर्याप्त छैनन्।
प्रविधिको भव्यता अझै प्रयोग हुन सकेको छैन। प्रविधिलाई प्रयोग गर्ने मस्तिष्कहरूको विकास हुँदैछ। तर कथानकलाई विकास गर्ने मनहरू खुम्चिन थालेका छन्। कथा सिर्जना गर्ने मन, स्क्रिप्ट लेख्ने लेखकले परिकल्पना पनि साँघुरिन थाले। हिजो बन्ने चलचित्रमा कथाको परिकल्पना धेरै व्यापक हुन्थ्यो, तर आज कथाको परिकल्पना अलि कमजोर छ। मुख्यतः चलचित्र दुई वटा तरिकाले निर्माण हुने गर्छ। एउटा मनले र अर्को मस्तिष्कले। मन भनेको विषय हो भने मस्तिष्क भनेको टेक्नोलोजी हो। मनको अगाडि मस्तिष्क हाबी भएको छ। यो भनेको कथावाचन गर्ने शैलीहरू, मन छुने कथाहरू कम बन्ने तर प्रविधिको अत्यधिक प्रयोग भएका चलचित्र बन्ने टे«न्ड हो’, उनले भने। नेपाली चलचित्रमा आशालाग्दो भविष्य छ। अभिनय गरेरै नै व्यावसायिक सफलता प्राप्त गर्न सकिने अवस्था छ। चलचित्र विकास बोर्डजस्ता संघसंस्थाले सक्रियतापूर्वक काम गर्नु जरुरी छ। नेपाली चलचित्र निर्माताहरूले आधुनिक सिनेम्याटोग्राफी तथा स्टान्डड प्रोटोकल फलो गर्नु जरुरी छ। ध्वनिको गुणात्मकतामा पनि अन्तर्राष्ट्रिय क्वालिटीको गर्न सकेका छैनौं। बलिउड र हलिउडका वेस्ट प्राक्टिसहरू फलो गर्न जरुरी छ। ‘सेन्सरको विषयमा पनि नेपालमा आतंकजस्तो छ। चलचित्रलाई सेन्सर गर्नेभन्दा पनि वर्गीकरण गरेर मात्रै हलमा चलाउन पाउने प्राक्टिस छ संसारभरि। नेपालले पनि यो गर्न जरुरी छ’, उनले थपे।
चलचित्र क्षेत्रको मुख्य हो, जनरा बदलिनुपर्ने। चलचित्र समीक्षक तथा विज्ञ सचिन घिमिरे भन्छन्, ‘नेपाली समाजमा जसरी भेराइटी संस्कार, संस्कृति र प्रचलनहरू छन्, यस्तै चलचित्रका टेस्टहरू पनि बदलिनुपर्छ। प्रायः एउटै जनराका चलचित्र बनिरहेका छन्। यसले गर्दा दर्शकको मन जित्न सकिँदैन। चलचित्र फेस्टिभलमा सहभागी हुने डकुमेन्ट्रीमा पनि धेरै विविधता देख्न सकिँदैन। नेपाली चलचित्रको यात्रा विदेशतिर पनि दौडिँदै छ। यो सकारात्मक पक्ष हो।’
व्यक्तिगत तथा संस्थागत सम्बन्धहरू पनि चलचित्र चलाउने राम्रो उपाय बनिरहेको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय प्लेटफर्ममा नेपाली चलचित्र किन्ने र बिक्री हुने ट्रेन्ड बढ्दो छ। अघिल्लो वर्ष बलिउड सिने सर्कलमासमेत नेपाली चलचित्रले बजार लिएको थियो।
प्रतिक्रिया दिनुहोस !