प्राकृतिक उपचार, रोजाइमा रजहर
पछिल्लो समय नेपालमा प्राकृतिक उपचार पद्धतिमा आकर्षण बढ्दै गएको छ। प्राकृतिक तवरले उपचार गरिने भएकाले पनि यसप्रति मानिसको आकर्षण बढ्दै गएको हो। नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा उपचार गराउनेको संख्या पछिल्लो समयमा उल्लेख्य रूपमा वृिद्ध भएको अस्पतालका व्यवस्थापक हरि सापकोटाले बताए। उनका अनुसार चिकित्सालयमा उपचार गराउन भीआईपीदेखि सर्वसाधारणको भीड लाग्ने गरेको छ। ‘प्राकृतिक चिकित्साप्रति मानिसमा आकर्षण बढेको पाइएको छ। दिनहुँ मानिस हाम्रोमा आउने क्रम बढिरहेको छ’, उनले भने। उनले पछिल्लो समय उपचार गराउन पालो पर्खन पर्ने अवस्था सिर्जना भएको बताए।
नवलपुरको देवचुली १६ रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा उपचार गराएर फर्किएकी पूर्वसूचना तथा सञ्चार मन्त्री रेखा शर्माले प्राकृतिक चिकित्सा उपचार पद्धति वास्तवमा मानिसका लागि महŒवपूर्ण भएको बताइन्। उनले भनिन्, ‘हामी अन्त उपचार गरेर केही सीप नलागेपछि प्राकृतिक चिकित्सालय जाने गरेका छौं, तर बेलाबेलामा प्राकृतिक चिकित्सालयमा पुगेर उपचार गराउन आवश्यक रहेको मैले महसुस गरें।’ उनले रजहरको प्राकृतिक चिकित्सालयमा प्राकृतिक तवरबाट उपचार गरिने मात्र नभई स्वस्थ जीवनशैली, स्वस्थ खानपानलगायतका विषयमा पनि ज्ञान प्राप्त हुने हुँदा यो निकै महŒवपूर्ण भएको बताइन्। उनले भनिन्, ‘त्यहाँ प्राकृतिक तवरबाट उपचार गरिन्छ, पञ्चतŒवको माध्ययमबाट गरिने उपचार वास्तवमै उपयोगी छ।’ उनले पछिल्लो समय मानिसमा प्राकृतिक चिकित्साप्रति आकर्षण बढ्दै जानुमा यसको विश्वासयोग्य उपचार पद्धति भएको बताइन्।
सञ्चार उद्यमी उज्ज्वल शर्माले पनि १० दिन रजहरस्थित प्राकृतिक चिकित्सालयमा उपचार गराएर फर्किएपछि आफूले धेरै परिवर्तनको महसुस गरेको बताए। उनले भने, ‘वास्तवमा त्यहाँको उपचार पद्धति, बिरामीलाई परामर्श दिने शैली सबै निकै राम्रो छ, म आफू धेरै ढिला त्यहाँ पुगें, अलि पहिल्यै जानु पर्ने रहेछ भन्ने लाग्यो।’ उनले प्राकृतिक चिकित्सा पद्धतिले शारीरिक रूपमा उपचार गर्ने मात्र नभई मानसिक रूपमा पनि उपचार गर्ने बताए। ‘त्यहाँ बसेपछि सकारात्मक सोचको विकास हुन्छ, मस्तिष्कमा हुने अनावश्यक बोझबाट मुक्ति पाइन्छ। त्यसैले पनि मानिसप्रति त्यसको आकर्षण बढेको महसुस भएको छ’, उनले भने।
नेपालका चर्चित गायक रमेशराज भट्टराई प्राकृतिक चिकित्सालयमा नियमित जानेमध्येका एक हुन्। उनले प्राकृतिक चिकित्साप्रति विश्वास लागेर नै आफू नियमित रूपमा रजहर जाने गरेको बताए। ‘एलोपेथी उपचारमा भन्दा प्राकृतिक रूपमा उपचार गर्दा मैले बढी राहत महसुस गरेको छु, यसप्रति पूर्ण विश्वास पनि छ। यसले मानिसको जीवनशैलीमा नै परिवर्तन ल्याइदिन्छ’, उनले आफू मात्र नभई धेरै कलाकारले यहाँ आएर उपचार गर्ने गरेको बताए। ‘प्राकृतिक उपचार पद्धति पहिले त बुझाउन साह्रै सकस हुन्छ, बुझेपछि यसको लत छुट्याउन गाह्रो छ, यसको कुनै साइड इफेक्ट छैन’, उनले भने। भट्टराईले आफू फुर्सद हुनासाथ रजहर पुग्ने गरेको बताए। उनले भने, ‘रोग लागेपछि मात्र यहाँ जाने हैन, जसरी हामीले आफ्नो गाडीको सर्भिसिङ बेलाबेलामा गर्छौं, त्यसैगरी शरीरको सर्भिसिङ गर्न पनि प्राकृतिक चिकित्सालय जानुपर्छ।’
केही समय अगाडि रजहर पुगेर उपचार गराएका भरतपुर २५ का ओमनाथ शर्माले आफूले प्राकृतिक उपचार पद्धतिका बारेमा साथीबाट सुनेर रजहर पुगेको बताए। ‘मलाई विश्वास नलागी नलागी रजहर गएको थिएँ, तर त्यहाँ पुगेर उपचार थालेपछि मेरो धारणामा परिवर्तन आयो। साँच्चै अद्भुतको उपचार पद्धति रहेछ’, उनले भने। उनले उपचारमात्र नभएर स्वस्थ जीवनशैली, सकारात्मक सोचको विकास गर्न प्राकृतिक चिकित्सालय उपयोगी भएको बताए। यस चिकित्सालयमा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती, पूर्वमन्त्री वर्षमान पुनलगायतका नेताहरूले समेत उपचार गराइसकेका छन्।
शिक्षण अस्पतालको तयारी
रजहरको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान पढाउने गरि शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्ने तयारी सुरु भएको छ। सबै कुरा योजना अनुरूप अघि बढे यसै वर्षदेखि नेपालमा पहिलो पटक यो विषयमा पढाइ सुरु हुने व्यवस्थापक हरि सापकोटाले बताए। चिकित्सालयले नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएर शिक्षण अस्पतालको तयारी गरेको चिकित्सालयका व्यवस्थापक सापकोटाको भनाइ छ। ‘हामीले पाठ्यक्रमसहित सम्पूर्ण तयारीको विवरण विश्वविद्यालयलाई बुझाइसकेका छौं, आवश्यक पूर्वाधार धमाधम निर्माण भएका छन्। केही हुने क्रममा छन्’, सापकोटाले भने। उनले पहिलो वर्ष चिकित्सालयमा ब्याचरल इन् नेचुरोपेथी एन्ड योगा साइन्स (बीएनवाइस)को कक्षा सञ्चालन गर्ने गरी प्रस्ताव नेपाल संस्कृत विश्वविद्यालयमा पेस गरिएको बताए।
विश्वविद्यालयको आगामी सिनेटबाट यसलाई अनुमोदन गर्ने कुरामा आफूहरू विश्वस्त रहेको सापकोटाको भनाइ छ। यही महिनाको पहिलो हप्ता चिकित्सालयको भ्रमण गर्न आएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षण अस्पताल बनाउन आफूहरूको पूर्ण सहयोग रहने बताएका थिए। उनले भनेका थिए, ‘यसलाई शिक्षण अस्पताल बनाउने कुरामा हामी पूर्ण सहयोगी बन्छौं। अझ, यसलाई प्राकृतिक चिकित्साको विश्वविद्यालय बनाउन लागि परौं भन्ने मेरो कुरा छ।’
प्राकृतिक चिकित्सा शिक्षण अस्पताल निर्माणका लागि राष्ट्रिय योजना आयोगले विशेष अनुदानमार्फत १२ करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ। जुन रकममध्ये यो वर्ष पाँच करोडको भवन निर्माणाधीन अवस्थामा छ भने आगामी वर्ष ७ करोड ४६ लाख खर्च गरी भवन निर्माण गर्ने योजना बनाइएको छ। १० बिघा क्षेत्रफलमा फैलिएको यस अस्पतालमा आगामी असारदेखि आवासीय रूपमा तीन सय बिरामीलाई उपचार गर्ने गरी निर्माणको कामलाई तीव्रता दिइएको सापकोटाको भनाइ छ। ‘हामीले आवश्यक विभाग बनाएका छौं, छात्रावासलगायतको निर्माण अन्तिम चरणमा पुगेको छ। १० बिघा जमिन भोगाधिकार प्राप्त छ। अरु जमिन प्राप्तिका लागि प्रक्रिया अगाडि बढेको छ’, सापकोटाले बताए।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष रमेशप्रसाद ढकालले चिकित्सालयलाई सम्बन्धन दिन ढिलाइ गर्न नहुने बताए। ‘यो त अत्यन्तै आवश्यक चिज हो, नेपालमै यो विषय पढाइ हुँदैन। आवश्यक सम्पूर्ण पूर्वाधार भएको रजहरको प्राकृतिक चिकित्सालय योग्य संस्था हो’, ढकालले भने। उनले तिनै तहका सरकारले अविलम्ब यो प्रक्रियालाई टुंगोमा पु¥याउनु आवश्यक रहेको बताए। उनले भने, ‘पाठ्यक्रमहरू तयार छन्। यिनलाई समयसँगै परिमार्जन पनि गर्न सकिन्छ। आवश्यक पूर्वाधार पनि छ भने ढिलाइ गर्नु हुँदैन। यो देशको लागि आवश्यक विषय हो।’
ढकालले अहिले नेपाल संस्कृत विश्वविद्यालयले सम्बन्धन दिएर अघि बढ्दा राम्रो हुने र पछि आवश्यक परेमा विश्वविद्यालयको रूपमा विकास गर्न सजिलो हुने बताए।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालले चिकित्सालयको प्रस्तावलाई आफूहरूले निकै महŒवका साथ हेरेको बताए। नेपालले चिकित्सालयको प्रस्ताव सकारात्मक रहेको बताए।
यज्ञ लगाएर सुरु भएको थियो चिकित्सालय, उत्कृष्ट आइसोलेसन
स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर रजहरस्थित प्राकृतिक चिकित्सालयको स्थापना गरेका थिए। २०६४ सालमा स्थापना भएको चिकित्सालयले २०६७ सालबाट उपचार सेवा प्रारम्भ गरेको हो। ‘यज्ञ लगाएर, सहयोगी दाता, मुठीदान, स्वत स्फूर्त सहयोगबाट चिकित्सालय स्थापना भएको हो। यसलाई अब शिक्षण अस्पताल बनाउनु आवश्यक छ’, व्यवस्थापक सापकोटाले भने। कोरोना महामारीमा देशकै उत्कृष्ट आइसोलेसनको रूपमा यस चिकित्सालयले सेवा दिएको थियो। सरकारले उत्कृष्ट आइसोलेसनका रूपमा चिकित्सालयलाई सम्मानसमेत गरेको थियो। चिकित्सालयमा बसेका सबै ७ सय ८९ जना कोरोनाका बिरामी निको भएर फर्किएका थिए। प्राकृतिक चिकित्सा विज्ञानमा आधारित रहेर बिनाऔषधि उपचार गरिने यस अस्पतालमा माटो, पानी, हावा, अग्नि, जल साथै जडीबुटी, वैज्ञानिक मालिस, अक्युपञ्चर, फिजियोथेरापी, योग, ध्यान पद्धतिद्वारा उपचार प्रदान गरिन्छ।
यहाँ गरिने उपचारको कुनै साइड इफेक्ट नभएको उपचारमा संलग्नहरू बताउँछन्। व्यवस्थापक सापकोटाका अनुसार पछिल्लो एक वर्षमा चार हजार जनाले प्राकृतिक चिकित्सालयमा उपचार गराएका छन्। यस चिकित्सालयको स्थापनापछि हालसम्म ५० हजारभन्दा बढी बिरामीले सेवा लिएका सापकोटाले बताए।
प्रतिक्रिया दिनुहोस !