सालघारीको सर्पट फडानीलाई कडाइका साथ रोक्छौँ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई कडाइका साथ रोकिने बताएका छन्।
वन तथा वातावरण मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय वन संवर्द्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वनको सुरक्षा विज्ञानसम्मत गर्ने भएपनि वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको सर्पट फडानी हुने क्रमलाई रोक्ने सरकारको स्पष्ट नीति रहेको बताएका हुन्।
नेपालको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरूको महत्त्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने उनले बताए।
त्यस्तै प्रधानमन्त्री ओलीले वन क्षेत्रको संरक्षण बढाएको भन्दै अव वन क्षेत्र विस्तार भन्दा पनि उत्पादनमा जोड दिनुपर्ने जिकिर गरे। नेपालका लागि ४६ प्रतिशत वन क्षेत्र प्रयाप्त रहेको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले बाघको संख्या अब बढाउनु पर्दैन भन्दा वातावरणविरोधी भयो भनेर नबुझीकन टिप्पणी भएको गुनासो गरे। अन्तर्राष्ट्रिय प्रतिबद्धताबमोजिम दोब्बरभन्दा बढी संख्यामा बाघ बढाएको भन्दै उनले मानवजाति नै असुरक्षित भएर वातावरणको संरक्षण गर्न नसकिने उल्लेख गरे।
फरक प्रसंगमा ओलीले अथाह स्रोतका बाबजुत देशलाई गरिब बनाउनेहरू पुनः शक्तिमा आउने प्रयास गरिरहेको तर्क गरे।
उनले किसानहरूलाई पशुपालनजस्ता कुराहरूमा प्रेरित गर्दा नवीकरणीय वनलाई सहयोग हुने र चरिचरणको विस्तार गर्दा वन र कृषिको पर्यावरणलाई जोड्न सकिने बताए।
प्रतिक्रिया दिनुहोस !