राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउँछौँ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने बताएका छन्।
आइतबार राष्ट्रियसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आएका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कांग्रेस र एमालेबीच भएको सहमति अनुसार संविधान संशोधन गर्ने भन्दै यसका लागि अधिकतम सहमति खोज्ने बताए। उनले सरकारमा रहेका व्यक्तिहरूको इच्छाले नभइ सबैको इच्छा बुझेर सहमति खोजेर संविधानको संशोधन गर्ने स्पष्ट पारे।
उनले स्थिरता, सुशासनका साथै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउने गरी सरकारको कार्यक्रम आएको बताए। प्रधानमन्त्री ओलीले जनताले फालेको राजसंस्थाका नाममा हुने हिंसात्मक गतिविधि स्वीकार्य नहुने भन्दै यसलाई कानुन अनुसार नियन्त्रण गर्ने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले संविधानले समाजवादोन्मुख व्यवस्था गरेका सन्दर्भमा क्रमिक रूपमा उक्त लक्ष्य हासिल गर्दै अघि बढ्ने धारणा राखे।
त्यस्तै उनले लोकतन्त्रको सुदृढीकरणका लागि वर्तमान सरकार बनेकाले संविधान, कानुनको पालना गरी उत्पन्न समस्या समाधानको हरसम्भव प्रयास हुने स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस !