रूकुमपूर्वमा महिला सडकमै सुत्केरी, आमा र बच्चा सकुशल
रूकुमपूर्व : रुकुमपूर्वको लुकुममा एक महिला सडकमै सुत्केरी भएकी छन्। भौगोलिक विकटता र पूर्वाधारको अभावले गर्दा स्वास्थ्य संस्थामा पुर्याउन नपाउँदै ती महिलाले बाटोमै सन्तान जन्माएकी हुन्।
भूमे गाउँपालिका–१ की ४५ वर्षीया रामजनी पुनलाई बुधबार बिहान सुत्केरी व्यथाले च्यापिएपछि आधारभूत स्वास्थ्य केन्द्र लुकुमबाट स्वास्थ्य चौकी काँक्रीतर्फ रिफर गरिएको थियो। तर काँक्री लैजाँदै गर्दा धुतासखोला भन्ने स्थानमा उनले बाटोमै बच्चा जन्माइन्।
पुनका आफन्तले जानकारी गराएपछि अनमी किरण पुन र काँक्री स्वास्थ्य चौकीकी सिनियर अनमी लिलासार बुढा बाटोमै आएर सफलतापूर्वक सुत्केरी गराएका हुन्। ‘स्वास्थ्यकर्मीको तत्कालको पहलमा आमाछोरी दुवैको ज्यान जोगिएको हो,’ काँक्री स्वास्थ्य चौकी प्रमुख तिलकबहादुर रोकामगरले बताए।
यातायातको असुविधा, दक्ष जनशक्ति अभाव, ढिलो एम्बुलेन्स सेवा र असहज भूगोलका कारणले यहाँका महिलाहरूले बारम्बार सडकमै सुत्केरी हुनुपर्ने गरेको स्थानीयहरूले बताए।
प्रतिक्रिया दिनुहोस !