प्रिन्स प्रमोद कुमार ढकाल
बिर्सेर
आफूभित्रको विराट् शक्ति
आफ्नो माउतेको
र, हिँडिरहन्छ
उसैको निर्देशनमा... !
त्यस्तै
एकोहोरो हिँडिरहन्छ घोडा पनि
टमटम बनेर
आफ्नो मालिकको
दिशानिर्देशमा... !
यस्तै, आफ्नो हातखुट्टा
बाँधिए पनि
भारी बोकेर
हिँडिरहन्छ
आफ्नो मालिकको
बफादार बनेर
गधा... !
तिखा लामा दारा छन्
त्यत्तिकै शक्तिशाली नंग्रा
तैपनि चिथोर्दैन न टोक्छ
उल्टै भुकिरहन्छ
आफ्नो मालिकको
इशारामा अरूलाई
कुकुर... !
त्यस्तै, भुलेर एकताको शक्ति
नचिलेर
खै किन !?
दिइरहन्छ मौरी
मह काढ्न अरूलाई... !
यता, अलिकति टोकाइले
हरेकको काम
तमाम गर्न सक्छ
र पनि नओकेलेर
आफूभित्रको विष
खुला सडकमा
नाँच्दै फनकार देखाउँछ
मदारीको वीणामा
नाग ।
उता, जंगलको राजा
सिंह पनि
नाचिरहेछ
आफ्नो मास्टरको
निर्देशनमा
सर्कसभित्र... !
ओह ! जता हेर्यो
उतै देखिन्छ
आफूभित्रको
शक्ति नबुझेर
भएका
मालिकका बफादारहरू
पुरस्कारमा
मुठ्ठीभरि
स्वासमात्र धान्ने
चारोको लोभमा... !
उफ् !
यो प्राप्तिको आश
जसले भुलाइदिएको छ
हरेकलाई
उसभित्रको
सृजित एवं प्राकृत आत्मशक्ति
प्रलोभनमा
गुलाम बनाएर... !
त्यही गुलामीको
जीवन निर्वाह
गरिरहेको म
म अर्थात्
कथित
एक साधारण जनता... !
प्रतिक्रिया दिनुहोस !