प्रयासमा पृथक् प्रयोग
फिर्दोसको साँचो (२०८२) राजबाबु श्रेष्ठ ‘सागर’द्वारा लिखित कथाहरूको संग्रहका रूपमा प्रकाशित भई पाठकलोकमा आएको कृति हो। यसमा विभिन्न शीर्षकका दसवटा कथा छन्। सागरका बन्द फ्रेमभित्रको चिठी (२०५७) उपन्यास, हराएका छोराहरू (२०७७) कवितासंग्रह, देशको चिना (२०७७) मुक्तकसंग्रह र यादका बस्तीहरू (२०७८) गीतिसंग्रह प्रकाशित भइसकेका छन्। यिनका केही गीत संगीतबद्ध पनि भइसकेका छन्।
संग्रहमा संकलित कथाहरूमा प्रयोगको विचित्रता देख्न पाइन्छ। समयसापेक्ष सामाजिक विषयवस्तु मात्र होइन, अपितु अनुकल्पनाका रोचक र रोमाञ्चक प्रसंगहरू पनि यी कथामा भेटिन्छन्। सामान्य कथावस्तुलाई कथानकको बुनोटले वैचिœय प्रदान गरिएको छ यी कथामा। यी कथा स्वाभाविकताभित्र विचित्रताले प्रविष्टि पाएका प्रतीत हुन्छन्। पाठकमनलाई मात्र होइन, मस्तिष्कलाई पनि दबाब दिने खालका यी कथामा खोज र प्रयोगको उपयोग गजबले गरिएको छ।
अलिखित कथा, निर्जला, तिर्खा, हिजकिल, हिदायत, खामभित्रको चिठी, किसोनिया, दागबत्ती, हर्षवर्धन र महर्षि एवं ओभर स्पिड यस संग्रह अन्तर्गत अनुक्रममा रहेका कथा हुन्। यी सबै कथा आयामका दृष्टिले लामो आकारका छन्। पहिलो अनुक्रममा रहेको अलिखित कथा २३ पृष्ठको आकारमा फैलिएको छ। अतियथार्थ र स्वैरकल्पनाको सार्थक ढंगले प्रयोग भएको यस कथामा यौनदुराचारजन्य विद्रुपताका परिघटनाहरूको स्वाभाविक ढंगले चित्रण गरिएको छ। यो कथा पढ्दै गर्दा पाठकले प्रेक्षालयमा नाटक हेरेको जस्तो अनुभूति हुन्छ।
दोस्रो अनुक्रममा रहेको निर्जला उन्नाइस पृष्ठको आयाममा छ। मूलतः नारीविषयकेन्द्रीत यस कथामा सामाजिक रीतिरिवाजका साथै वर्गीय समाजका विविध चित्र छन्। एउटी नारीको कर्मवादी चिन्तन, संघर्ष र प्रगतिमा आधारित यस सुखान्त कथाले भाग्य कर्मले बदल्छ भन्ने सन्देश दिएको छ। तेस्रो अनुक्रममा रहेको तिर्खा सवा १३ पृष्ठको आयाममा छ। प्रेमप्रसंगका साथै यौनजन्य भावनाका कुराहरू पनि यसमा छन्। प्रेममा धोका पाएको एकजना प्रेमीको विक्षिप्त अवस्था र प्रेमिकाको रंगहीन वैधव्य देखाइएको यो कथा निकै मार्मिक र वियोगान्त छ।
चौथो अनुक्रममा रहेको हिजकिल नौ पृष्ठको आयाममा छ। यसमा बालमनोविज्ञानको सुन्दर प्रयोग छ। जिबाले नातिनीलाई सुनाएको कथा हो यो। हिजकिल शब्द इस्लाम धर्मसँग सम्बन्धित छ। यसमा हिन्दुधर्म र इस्लामधर्मका पुराकथाजन्य संवाद र प्लेग र कोरोनाका रोचक प्रसंग पनि छन्। पाँचौें अनुक्रममा रहेको हिदायत २७ पृष्ठको आयाममा छ। यस कथामा पनि हिन्दू र इस्लाम धर्मका प्रसंग छन्। सपनाको सार्थकतालाई कथ्यवस्तु बनाइएको यो कथा दन्त्यकथात्मक शैलीमा लेखिएको छ। यस कथामा धर्मान्तर, जादुटुनाका विषय र अन्धविश्वासजस्ता लाग्ने कुरा पनि छन्। सपनाका आधारमा सुरु भएको अन्तजार्तीय अन्तधर्मी प्रेमले सार्थकता पाएको छ यस कथामा।
छैटौं अनुक्रममा रहेको खामभित्रको चिठी २१ पृष्ठको आयाममा छ। यसमा यौनमनोविज्ञानको प्रयोग स्वाभाविक ढंगले गरिएको छ। पशुयौनिक प्रसंग पनि यसमा छ। पतिको पुरुषत्वहीनता र हीनताबोध, पत्नीभित्रको तीव्र यौनचाहना र आफ्नो पतिप्रतिको श्रद्धालाई कायम राख्दै हरूवासँग तृप्तिका लागि यौनसम्पर्क राख्ने गरेको प्रसंग, पतिले जानकारी पाए पनि आफ्नो कमजोरीका कारण यस विषयलाई उठाउन नचाहेको र अन्तमा जग्गाजमिन पत्नीका नाममा पास गरिदिएपछि चिठी लेखेर खामभित्र बन्द गरी घर छाडेको रोचक प्रसंग छ।
सातौें अनुक्रममा रहेको किसोनिया सत्र पृष्ठको आयाममा छ। किसोनिया यस कथाकी नायिका हुन्। यसमा एकातिर श्रमको महिमा दर्साइएको छ भने अर्कातिर दाइजोप्रथाको विद्रूपता पनि देखाइएको छ। पुत्रमोह र पुत्रीहरूको भ्रूणहत्या र छोरा नपाएकै आरोपमा पत्नीको हत्या जस्ता समाजभित्रका कुरूप पक्षको चित्रण पनि यस कथामा छ। कथा अत्यन्त कारुणिक र मार्मिक छ। यसका संवादहरूमा स्थानीय भाषाको सुन्दर प्रयोग गरिएको छ। कथाको अन्त्य स्वाभाविक ढंगले भएको छ।
आठौें अनुक्रममा रहेको दागबत्ती २० पृष्ठको आयाममा छ। यसमा एउटा असल पतिले भोगेको पत्नीवियोगको पीडादायक कथा छ। झिनो कथावस्तुलाई विभिन्न घटनाका कथानकले लम्ब्याइएको छ यसमा। नवौें अनुक्रममा रहेको हषवर्धन र महर्षि २३ पृष्ठको आयाममा छ। जसमा इस्लाम धर्मको कुरानसँग सम्बद्ध पुराकथाका प्रसंग छन्। केही पात्र भने हिन्दूधर्म सापेक्ष पनि छन्। पुराकथामा आधुनिकताको मिश्रणबाट यसको कलेवर बनेको छ। यसमा ईश्वरले आरम्भ गरेको सृष्टि प्रसंग, धार्मिक द्वन्द्व, राजनीतिक द्वन्द्व र भौगोलिक विद्रोहका विविध सन्दर्भ छन्। सत्यमाथि असत्यको विजयका घटना पनि छन्। पुराकथाजन्य मान्यतालाई यसमा स्थापित गर्न खोजिएको छ।
दसौें अनुक्रममा रहेको यस संग्रहभित्रको अन्तिम कथा हो, ओभर स्पिड। यो ५० पृष्ठको आयाममा छ। यो यस संग्रहअन्तर्गतको सबैभन्दा लामो आकारको कथा हो। यो कथा खासगरी सडकमा सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानीलाई प्राथमिकतामा राखेर उद्देश्यमूलक ढंगले लेखिएको छ। कथाको मूल उद्देश्य सवारी चालकलाई सन्देश दिनु हो। ट्राफिक प्रहरीका लागि सहयोगी सिद्ध हुने यस कथामा ओभर स्पिटमा बाइक हाँक्ने एकजना युवाको दुर्घटना र अस्पतालमा भर्ना हुँदाको प्रसंगसँगै मनोविज्ञान, मानवतावाद, स्वैरकल्पना, अतियथार्थवाद आदिको मिश्रणयुक्त प्रयोग छ।
यसमा पनि इस्लामधर्मसँग जोडिएका रूपकहरू छन्। फिर्दोसको साँचो शब्द यस कथामा आएर प्रयोग भएको छ। दुर्घटनापश्चात् उपचारकै क्रममा मृत्युको घोषणा भइसकेको पात्र फिर्दोसको साँचोका कारण जीवित हुनपुगेको जुन रोचक रूपक छ त्यो इस्लामधर्मीको विश्वासजन्य मान्यतामा आधारित छ। मृत्युघोषितपश्चात् पनि बाँचेको रोचक प्रसंगले यस कथालाई सुखान्त बनाएको छ।
कथा प्रमुखतः घटना, परिवेश र चरित्रसँग सम्बद्ध जीवनको कुनै एकपक्षीय चित्रण गरिएको आख्यानको एउटा प्रकार हो। आख्यान आज वैश्विक रूपमा नै लोकप्रिय देखिन्छ। यसमा हुने प्रयोगले पनि आजको आख्यान फरक ढाँचामा प्रस्तुत भइरहेको देखिन्छ। यद्यपि कथाकार राजबाबु श्रेष्ठको आख्यानको दोस्रो भए पनि कथाको पहिलो कृति हो फिर्दोसको साँचो। तर प्रयोगधर्मिताका दृष्टिले यो संग्रह परिपाक देखिन्छ।
यसभित्रका अधिकांश कथामा तराई मधेशको भूगोल र परिवेश कार्यपीठिकाका रूपमा आएका छन् भने त्यहाँकै भाषा, संस्कृति र संस्कारहरूको स्वाभाविक चित्रण भेटिन्छ। यी कथा लेखनका लागि कथाकारले निकै गहिरो अध्ययन, खोज र अनुसन्धान समेत गरेका छन् भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ।
नेपाली साहित्यमा यस ढंगले इस्लाम धर्म र कुरानका प्रसंगलाई जोडेर लेखिएका कथा मैले पढेको छैन। यी कथाका बनोट र बुनोट फरक ढंगका देखिन्छन्। राजबाबुमा सानो कथावस्तुलाई विभिन्न उपकथा वा प्रसंग जोडेर लामो आकारमा विस्तार गर्ने खुबी पनि अचम्मलाग्दो देखिन्छ। कथाहरू केही दुःखान्त र केही सुखान्त छन्। कतैकतै भाषामा कृत्रिमता देखिए पनि उखान र टुक्काहरूको सार्थक प्रयोग एवं परिवेश र पात्रानुकूलीय संवादहरूका दृष्टिले यी कथा राम्रा बनेका छन्। शीर्षकहरूको चयन उचित प्रतीत हुन्छ।
आकारगत यी सबै कथा लामा छन् भने ओभर स्पिड त लघु उपन्यास भन्न सुहाउने खालको छ। पढ्दापढ्दै पट्यार लागे पनि पाठकमनलाई तानिरहने क्षमता छ कथामा। वास्तवमा यी कथामा प्रयोगको विचित्रता छ। पढ्दै गर्दा यी कथाले पाठक मस्तिष्कलाई पटक पटक घच्घच्याउँछन्। समग्रमा, फिर्दोषको साँचो नेपाली आख्यानको लोकमा पृथक् प्रकृतिको पठनीय कृति बनेर आएको छ।
प्रतिक्रिया दिनुहोस !