मेघौली : अ भर्जिन डेस्टिनेसन
गणित जस्तै हो जिन्दगी। सबैले बुझाउने बेलासम्म बुझे जस्तो गर्छन् तर वास्तवमा प्राय: कसैले बुझेकै हुँदैनन्। सामाजिक सञ्जालमा कतै पढेको थिएँ यो वाक्य। जिन्दगीलाई मजाले र मिठोसँग अक्षरीकरण गरेको ठानेको थिएँ। ५०औं वसन्त पार गरिरहँदा ‘साँच्चै हो कि ?’ झैं भएको पनि हो। घरिघरि लाग्छ, जिन्दगी बुझ्न के गाह्रो होला र ? जगत् बुझ्न पो कठिन रै’छ। यो पनि ५० वटा भोटा फटाएको अनुभवले दिएको दीक्षा हो भन्ने लाग्छ। वर्षहरूले बोल्ने भाषा अधिक गहिरो हुँदोरहेछ। कुनै न कुनै नयाँ ढाँचाबाट प्रारम्भ भएका छन् मेरो जीवनमा, मेरो जगत्मा – हरेक नयाँ वर्ष।
२०८२ को सुरुआत चाहिँ अझै फरक धारबाट भयो अर्थात्, जंगल सफारी। लाग्यो, जीवन र जगत्को ‘रिफ्लेक्सन’ त जंगल (रुखबिरुवा)मा पो रहेछ। गणित पढ्दा सबैभन्दा अप्ठ्यारो लाग्थ्यो, ‘ज्यामिति’। हुनत ‘ज्यामिति’ शब्दले विन्दु, रेखा, सतह, ठोस र उच्च आयामका समानान्तरहरूको गुण र सम्बन्धहरूको अध्ययन गर्दोरहेछ। ‘जंगल’ र ‘ज्यामिति’ उस्तै लाग्यो।
स्वर्ग चाहन्छौ ? जंगलको बाटो हिँड : भोलिपल्ट जंगल सफारी सुरु भयो। जंगल र जंगली जनावारहरू यात्राका साक्षी बन्दै थिए। जंगल सबैलाई थाहा छ, त्यहाँ देखिने हरिया बोटविरुवा सबैले देखेकै छन्। सबैले तिनको आकासे उचाइमात्र नियाल्छन्। तर, गहिराइ...? अहँ ! सम्भवत: रुखबिरुवाको गहिराइ खोतल्ने कमै होलान्, यसपटकको यात्रामा अनुमान गरें।
जंगल सफारीका लागि राजधानी काठमाडौंबाट सञ्चारकर्मीको टोली चितवनस्थित मेघौली पुगेको थियो। जिप चढेर जंगल सफारी गर्न थाल्दै गर्दा मैले जोन मुइरको भनाइ सम्झिएँ, ‘तिमी यदि स्वर्ग जान चाहन्छौ भने जंगलको बाटो हिँड।’ नभन्दै जति घनाजंगल प्रवेश गर्दै गयौं, त्यति स्वर्गको अनुभूति हुन थाल्यो। हामीले गुणस्तरीय हावाका स्रोतहरू भेट्यौं। राजधानीको धुलोधुँवाले कस लाग्दै गरेको हाम्रो फोक्सो पनि खुसीले नाचिरहेथ्यो।
हरियो अग्लो रुखको मध्य भागतिर एउटा चरो शान्तसँग चिरबिर गरिरहेथ्यो। जब जिप (जिपसफारी)को आवाजले उसलाई दबाब दियो, तब ऊ त्यहाँबाट भुर्र उड्यो र आकास चुम्ने लक्ष्यमा आफूलाई हुइँक्यायो। जिन्दगीमा कहिलेकाहीँ यस्तै अवरोध हुँदा मलाई पनि लाग्थ्यो, चराजस्तै उड्न पाए...! तर मानिसको जिन्दगी चराजस्तो सहज र स्वतन्त्र कहाँ छ र ? जिम्मेवारीहरूले रहरहरूलाई यसरी निचोरेका छन्, यसरी कैद गरिरहेका छन्, जसरी मानौं, मानिसले कागती निचोर्छ, जसरी पिँजडामा सुँगालाई कैद गरिन्छ।

सिक्ने भए रुखहरूको संगत गर्नू : अलि अघि पुगेपछि मृगका हुल असरल्ल दौडिएर बाटो छेक्दै फेरि जंगलभित्रै हराए। जहाँ जिप टक्क रोकियो, त्यहाँ एउटा बुढो तर अजंगको रुख धरहरा झैं ठिंगरिंग उभिएको थियो। त्यो बडेमाको रुखले हामीलाई त्यसरी हेरिरहेको थियो, मानौं २०७२ सालको भूकम्पपछि ठडिएको २२ तले धरहराको टुप्पोबाट कसैले भुइँमा रहेका मानिसलाई हेर्छ। ठान्यो होला, यी ‘फुच्चे’हरूलाई जीवन, जगत् र जंगलबारे के थाहा होला र ?
उसले कति र कसरी नियाल्यो, उही जानोस्। मैले भने उसलाई गजबले नियालें, लाग्यो हामीले रुखबिरुवालाई कहिल्यै पढेनौं, बुझेनौं। उसको धैर्य र शक्तिलाई नियालें। हल बोरल्याण्डको अनुभव सम्झिएँ, ‘शक्ति र धैर्य सिक्ने हो भने रुखहरूको संगत गर्नू।’ यसो देब्रे फर्किएँ। ३५-३६ को युवा केही विदेशीलाई जंगलको पैदल सफारी गराउँदै रहेछन्। सञ्चारकर्मीलाई आयोजकका तर्फबाट संयोजन गरिरहेका मित्र विष्णुकान्त घिमिरेले भने, ‘जंगल सफारीका अनेक आयाम छन्, जीप सफारी, हात्ती सफारी र पैदल सफारी, सबैका आआफ्नै मजा, भिन्दाभिन्दै अनुभव। पैदल यात्रामा बोटविरुवासँग साक्षात्कार हुन्छ, त्यो मजा जिप र हात्ती सफारीमा कहाँ ? पैदलमा हुने खतरासँगै पाइने ‘आहा !’ को त वर्णनगरी साध्य छैन।’
ती पाँचैजना वैशाखको प्रचण्ड गर्मीमा जंगलभित्र हप्हपी भएर सायद रुखको शीतल छहारीमा ज्यानमा प्राण भर्दै थिए। अचम्म मान्दै थिएँ म, ती अपरिचित रुखहरूले तिनलाई छायाँमा बस्न दिएर प्रेमपूर्ण ज्यान दिइरहेका थिए। यदि रुखबिरुवाको ठाउँमा मानिस हुन्थ्यो र मानिसको ठाउँमा रुखबिरुवा हुन्थे भने ! तर त्यहाँ न स्वार्थ थियो न त व्यापार। हो, बोटबिरुवा प्रेमका प्रतिमूर्ति हुन्, प्रेमका पर्याय हुन्।
वाइल्डलाइफमा रिट्रिट : बाहिर प्राचीन, भित्र डिलक्स : ‘चितवनको मेघौली वाइल्डलाइफ टुरिज्मका लागि प्रमुख गन्तव्य हो’, वैशाख ३ गते सिद्धार्थ वाइल्डलाइफ रिट्रिट पुग्दा सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने पर्यटकसँग भन्दैथिए, ‘वन्यजन्तु अवलोकन गर्दै प्रकृतिमा रमाउन चाहनेका लागि यो उपयुक्त गन्तव्य होे।’ गुणस्तरीय पर्यटक भित्र्याउने र उच्चस्तरीय सेवा दिने उद्देश्य रिसोर्टले राखेको रहेछ। नागढुंगाबाट मुग्लिन पुग्न भोग्नुपर्ने सास्तीलाई मुग्लिनबाट भरतपुर पुग्दाको नयाँ फराकिलो पिचरोडले बिर्साइदियो। सानै भए पनि ३० किलोमिटर नयाँ कालोपत्र सडकले भिन्न सुविधा दियो महानगरभित्र। संघीयता लागू भएपछिको एउटा फाइदा भनेकै कुनाकाप्चा सबै ठाउँलाई सडक सञ्जालले जोडेको छ, धेरै ठाउँमा कालोपत्रे पुगेको छ। मेघौलीसम्म यही सुविधा स्थानीय सरकारले दियो।

चितवन राष्ट्रिय निकुञ्जको पश्चिममा राप्ती नदी त्यो क्षेत्रका लागि सुनमा सुगन्ध लाग्यो। त्यही नदीकिनारमा रहेको मेघौली थारु र कुमाल समुदायको बाहुल्य भएको ठाउँ रहेछ। भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दक्षिण–पश्चिम मेघौली पुग्दा साँझ पर्न लागेको थियो। सूर्यास्तअघिको सौन्दर्यलाई हरियालीले आफ्नो पोल्टामा पोको पारे झैं लाग्थ्यो। १२ बिगाहा क्षेत्रफलमा फैलिएको रिसोर्टको फराकिलो हरियाली भू–भागले पहिलो भेटमै मितेरी साइनो गाँसिदियो। करिव तीन बिगाहा क्षेत्रफलमा होटल निर्माण गरेको र चार बिगाहा जमिनमा जंगल हुनु रिसोर्टको मुख्य आकर्षण पाएँ।
झमक्क साँझ परेपछि सुरु भयो, थारु सांस्कृतिक कार्यक्रम। एकातिर स्थानीय संस्कृतिको प्रवद्र्धन र रोजगारी, अर्कोतिर पर्यटकलाई खुसी। बास बस्ने बेला भयो। हामी झन्डै एक दर्जन मिडियाका मित्रलाई व्यवस्थापकले झुपडी देखाए र भने, ‘यिनै हुन् तपाईंहरू बस्ने भिल्ला।’ यसो हेर्दा प्राचीन झुपडी लागे। यताउति हेरें, २४ वटा नेपाली शैलीका खरले छाएका झुपडी देखें। हरेक ती झुपडीभित्र पस्दा आधुनिक सेवासुविधा भएको पाएँ। ती भिल्ला विदेशी फाइभ स्टार होटलका भन्दा कम थिएनन्। जहाँ ४८ पर्यटकले रात बिताउन सक्ने रहेछन्। सबै भिल्ला डिलक्स सुविधामा पो रहेछन्।
कोठाको आन्तरिक साजसज्जा उस्तै उत्कृष्ट। बुटिक होटलको सुविधा पाइनेरहेछ। भिल्लाको बाहिर सिमेन्ट प्लाष्टर गरेको भए पनि माटोले लिपेजस्तो देखियो। कम्पाउन्ड नै निकुञ्जसँग जोडिएको। आहा ! भिल्लाबाटै हात्ती, हरिण र गैंडालगायत अनेक जनावार हेर्न मिल्ने। अल्छी लागे छेवैमा राप्ती नदीमा डुंगामा सयर गर्न पाइने। यही मेसोमा गोलाघाट पुगेर सूर्यास्तको मनमोहक दृश्यावलोकन समेत गर्न पाइयो। यी सबै सुविधाको भरपूर उपभोग गरेपछि तेस्रो दिन राजधानी फर्कने क्रममा नारायणी नदीमा मोटर बोटको मज्जा पनि लियौं।
अनि किन नघुम्नु मेघौली ? : जंगलको गतिलो स्वाद लिन नपाउँदै नदी भेट्यौं। हामी चढेका दुइटा जिप वारी रहे। डुंगाले हामीलाई पालैपालो राप्ती नदी तारिदिए। त्यतै रहेका दुईवटा जीपमा पुन: जंगल यात्राको मजा लिन थाल्यौं। बगर भएर सायद सुरुमा घाँसेमैदान भेट्यौं। जसले हामी कंक्रिटको सहरका बासिन्दालाई छुट्टै आनन्द दिलायो। त्यसपछि सुरु भएछ, चितवन राष्ट्रिय निकुञ्ज। मभन्दा एक वर्ष जेठो रहेछ, निकुञ्ज। प्रदेश नम्बर २, ३ र ४ का चितवन, मकवानपुर, पर्सा र नवलपरासी जिल्लामा फैलिएको यो निकुञ्ज २०३० सालमा स्थापना भएको नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो। नेपाल सरकारको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार ९५२.६३ वर्गकिलोमिटरमा फैलिएको यो निकुञ्जले सन् २००० मै ५४४ भन्दा बढी एकसिंगे गैंडालाई संरक्षण दिन सकेको रहेछ। जंगल सफारी गरिरहँदा आसपासमा देखिने दृश्यले त तानेकै थियो। एकातिर उमंग थियो त अर्कोतिर जंगली हात्ती, बाघ, चितुवा वा गैंडासँग जम्काभेट होला कि भन्ने डर। सँगै निकुञ्जका तथ्य र तथ्यांकले पनि उत्तिकै मोहित गरायो, सम्भवत: पेशाले वा भनौं सञ्चारकर्मी हुनुका नाताले। सन् २०१८ को बाघ गणनामा निकुञ्जभित्र ९३ वयस्क पाटेबाघ भएको पाइएको थियो। त्यसो त गैंडा र बाघसँगै चितुवा, रतुवा, चित्तल, काठे भालु, गौरीगाई, सोंस, जरायो, मृग, चौसिंगे, लगुना, लंगुर र बाँदर जस्ता ६० भन्दा धेरै किसिमका जंगली जनावार भएको जंगल (निकुञ्ज)मा रमाइरहेका थियौं हामी।
एउटा खोचमा अचानक आँखा पुगे हामी सबैका। एउटा गैंडा खाल्डोमा थियो। न गर्मीले खाल्डोमा आहाल बसेको हो न हिलोमा फसेको ! जीप छाडेर त्यहाँ पुग्ने हिम्मत कसैको भएन। माया जसको थियो, डर उसैको ! त्यसैले गएनौं सायद। निकुञ्जका कर्मचारीले हेरचाह गर्नुपर्ने हो भन्ने भावमा दृश्य बदल्यौं। जनवार, चराचुरुंगी र कीरा फट्यांग्राको त कुरा गरिसाध्य छैनजस्तो लाग्यो निकुञ्जभित्र। अनुसन्धानकर्ताका लागि त निकुञ्ज सुनको खानी नै लाग्यो। जसले २०७९ असोज ४ गते स्वर्ण वर्ष मनाएको थियो। निकुञ्ज धेरै हिसाबले धनी रहेछ। घडियाल गोही, मगर गोही, अजिंगर निकुञ्जका सम्पत्ति रहेछन्। ५४६ भन्दा धेरै जातका चराचुरुंगी र कीरा फट्यांग्रा भएको तथ्यांक थाहा पाइयो। बाल्मीकि आश्रम र विक्रमबाबा जस्ता धार्मिक स्थल पनि यहीँ। सायद यी सबै कारणले होला, सन् १९८४ मा यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको रहेछ। २०५३ सालमा निकुञ्ज वरपरको क्षेत्र (७५० वर्गकिमि) समेत समेटेर मध्यवर्ती क्षेत्र घोषणा गरिएको रहेछ। २२ वर्षअघि यही क्षेत्रमा पर्ने बीसहजारी ताललाई अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रको रूपमा सूचीकृत गरिएको रहेछ। सबै सूचना पाएका हामी सञ्चारकर्मी यस्तो ‘भव्य’ ठाउँमा जंगल सफारी गर्न पाउँदा ‘दिव्य’ भएको महसुस गरिरहेका थियौं।
त्यतिबेला टाइगर टप्स, यतिबेला न टाइगर न टप्स : चितवन मेघौलीमा रहेको टाइगर टप्स यतिबेला सुनसान छ। नेपालको पर्यटन क्षेत्रमा ‘पायोनियर’ मानिएको विश्वविख्यात टाइगर टप्स यतिबेला जीर्ण छ। उसबेलाको कथा र यसबेलाको यसको व्यथा सुनेर÷देखेर म÷हामी ‘छक्क’ पर्यौं। हुन पनि विभिन्न देशका मन्त्री, प्रधानमन्त्री, राजदूत, राष्ट्रपति अनि सेलिब्रेटीहरूको ओइरो लाग्ने टाइगर टप्स रिसोर्ट जंगल सफारीका लागि एक नम्बरमै गणना हुँदोरहेछ त्यसबेला। सर्वोच्च अदालतको २०६९ को आदेशले टाइगर टप्सले जंगली जनवारमा गम्भीर असर पारेको निष्कर्ष सुनाएको थियो भनेर सुन्यौं जीर्ण संरचनामा तस्बिर लिन पुगेका हामीले।
हामी पुग्दा रिसोर्ट सुनसान छ। भत्किएका संरचनाहरूभित्र असरल्ल महंगा समान छन्। माकुराले जालो लगाएको छ। हेर्दै उराठलाग्दो छ। जान्नेबुझ्नेहरूले सुनाए, ‘टाइगर टप्सको त्यसबेलाको चार्म नेपालकै चार्म थियो, जंगल सफारीको सन्दर्भमा अहिले सरकारले जे गर्यो टप्समाथि त्यसले अन्तर्राष्ट्रिय बजारमा नकारात्मक धारणा बढेको छ। लगानीकर्तालाई त घर न घाटको बनायो नै, सरकारको निर्णयले मुलुकलाई नै घाटा भयो। नेपालको वाइल्ड टुरिज्मले संसारभर नराम्रो छाप बसाल्यो।’
बोटबिरुवाबाट के सिक्ने ? किन सिक्ने ? : कतार भौतिक पूर्वाधार विकासका दृष्टिले सुविधा सम्पन्न देश हो। समृद्ध भएर पनि कतारवासीले बोटबिरुवाको संगत गर्न पाएका छैनन्। तर फिनल्याण्ड विश्वको एउटा यस्तो देश हो, जहाँका नागरिक बोटविरुवासँग प्रशस्त संगत गर्न पाएका छन्, गरेका छन्। एक अध्ययनले भन्छ, फिनल्याण्ड संसारको सबैभन्दा खुसी देश हो।

हामी नेपाली, हाम्रो देश नेपाल। सानैदेखि मैले पढ्दै आएको एउटा वाक्यले बेलाबखत झस्काउँछ, ‘हरियो वन, नेपालको धन।’ अहिले यो कथाजस्तै लाग्छ। चितवनको पूर्वी भाग सौराहा आन्तरिकमात्र होइन, बाह्य पर्यटकका लागि पनि एउटा गजबको जंगल सफारी गर्ने गन्तव्य हो। अत्यन्त भिडभाड हुन्छ, सौराहामा। तर चितवनको दक्षिण–पश्चिमतर्फको मेघौलीमा जंगल सफारीको मजा कमैले लिएका होलान्। त्यसैले सायद मेघौलीको जंगललाई ‘भर्जिन प्लेस फर जंगल सफारी’ भन्दारहेछन्। यो सबै व्याख्या, विश्लेषण किन ? पाठकको मनमा प्रश्न उब्जिन सक्छ। वनस्पतिविज्ञ तस्निम हमिदले रुखबिरुवाको महत्वलाई उजागर गर्दै बोलेको वाक्य जोड्न चाहेर यो सवाल उठाएको हुँ। उनले भनेका थिए, ‘मानिसले सिंगो रुखबाट चरित्र, जराहरूबाट जीवनको मूल्य र मान्यता अनि पातहरूबाट परिवर्तन र त्यसको महत्व सिक्नुपर्छ।’ कूल भूभागको झन्डै आधा क्षेत्र वनले ढाकेको नेपालमा
बस्ने हामी नेपालीले सिंगो रुखबाट यी कुरा कतिले के कति सिक्यौं ? प्रश्न पंक्तिकारका पाठकलाई।
धन्य आयोजक, नत्र मलाई (हामीलाई) यो शिक्षा र दीक्षा कहाँ मिल्थ्यो र ! मुलुकको हस्पिटालिटी चेनमा अग्रणी सिद्धार्थ हस्पिटालिटीले चितवनको मेघौलीमा सिद्धार्थ वाइल्डलाइफ रिट्रिट सञ्चालनमा ल्याएरै यो अवसर मिलेको थियो। यसअघि साराङ वाइल्डलाइफ स्याङचुरी रिसोर्टका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थले सिद्धार्थ वाइल्डलाइफ रिट्रिटका नाममा सञ्चालनमा ल्याएपछि अब मेघौलीको भर्जिन डेस्टिनेसन (जंगल सफारी) सबैलाई अझ सहज भएको छ।
प्रतिक्रिया दिनुहोस !