व्यंग्य नबनोस् वातावरण दिवस
‘प्लास्टिक प्रदूषणको अन्त्य गरौं’ भन्ने सन्देशको मूल मर्मका साथ हामी हाम्रो बानी बदलौं, ताकि हाम्रो पृथ्वी, हाम्रो भविष्य र हाम्रो अस्तित्व सुरक्षित रहोस्।
हरेक वर्ष जुन ५ लाई हामी विश्व वातावरण दिवसको रूपमा मनाउँछांै। यो दिवस सन् १९७२ मा स्विडेनको स्टकहोममा आयोजित संयुक्त राष्ट्रसंघको पहिलो वातावरण सम्मेलनपश्चात् सुरु भएको हो। सन् १९७३ देखि मनाउन थालिएको वातावरण दिवसको मुख्य उद्देश्य भनेको पर्यावरणीय संकटप्रति जनचेतना अभिवृद्धि गर्नु र व्यवहार परिवर्तनका लागि प्रेरित गर्नु अनि विश्वव्यापी समस्यामा विश्वव्यापी ऐक्यबद्धता जाहेर गर्नु हो। हरेक वर्ष पर्यावरणीय हिसाबले महŒवपूर्ण सवालमध्ये कुनै एक जल्दोबल्दो सवालमा केन्द्रित रहेर नारा तय गर्ने गरिन्छ।
सन् १९७३ मा पहिलो वातावरण दिवस ‘एकमात्र पृथ्वी’ नाराबाट सुरु गरिएको थियो भने सन् १९८४ मा ‘मरुभूमीकरण’ अनि सन् १९९१ मा ‘जलवायु परिवर्तन; विश्वव्यापी सहकार्यको आवश्यकता’ नारा निर्धारण गरिएको थियो। सन् २००० को नारा ‘वातावरणीय सहस्राब्दीः अब केही गरौं’ भन्ने थियो भने २०१५ को नारा ‘सात अर्ब सपना, एउटै ग्रह — जिम्मेवारीपूर्वक उपभोग गरौं’ रहेको थियो। यस वर्ष अर्थात् २०२५ को नारा चाहिँ ‘प्लास्टिक प्रदूषणको अन्त्य गरौं’ रहेको छ। यसरी हेर्दा प्रत्येक वर्ष विश्व वातावरण दिवसमा समसामयिक वातावरणीय सवालमा जनचेतना जगाउने खालका नारा तय हुन्छन्। तर, आजसम्म आइपुग्दा वातावरण दिवस आफैंले बोकेको सन्देश, प्रयोजन र मर्ममाथि नै प्रश्न उठ्न थालेको छ। हरेक वर्ष नारा फेरिन्छन्, कार्यक्रमहरू दोहोरिन्छन्, तर वातावरणीय संकट गहिरिँदै जान्छ। हाम्रा भनाइ र गराइमा के कति तादम्यता भेटिन्छन् ? यो सोचनीय विषय छ। व्यवहारमा परिवर्तनको कमीले गर्दा वातावरण दिवस आफैंमा व्यंग्य बन्न थालेको आभास हुन्छ।
प्लास्टिक प्रदूषणको स्थिति र यस वर्षको नारा : आजको विश्वमा प्लास्टिक हाम्रो दैनिक जीवनको एक अभिन्न अंगजस्तै भएको छ। प्लास्टिकको प्रयोगले एकातिर जीवन सजिलो त भएको छ तर अर्कातिर एकपटक प्रयोग हुने प्लास्टिक आजको विश्वकै सबैभन्दा खतरनाक प्रदूषण स्रोतमध्ये एक बनेको छ। बजारमा सस्तो र सजिलो भनेर प्रचलनमा आएको प्लास्टिक अहिले पृथ्वीका कुनाकाप्चासम्म पुगेर जैविक विविधता, स्वास्थ्य र वातावरणका लागि खतरा बनेको छ। प्लास्टिक प्रदूषणले विश्वले अहिले झेलिरहेको तीन मुख्य पर्यावरणीय संकटहरूलाई झन् घातक बनाउन योगदान गरिरहेको तथ्यहरू भेटिन्छन्।
जलवायु परिवर्तनको संकट, प्रकृति, भूमि र जैविक विविधता नष्ट हुने संकट र प्रदूषण तथा फोहोर व्यवस्थापनको संकट। विश्वभर हरेक वर्ष करिब ११ मिलियन टन प्लास्टिक फोहोर जलाशय र जल प्रणालीमा मिसिन्छ। कृषि उत्पादनहरूमा प्लास्टिकको प्रयोगका कारण ढल र फोहोरमैला हुने ठाउँहरूबाट माटोमा सूक्ष्म प्लास्टिक जम्मा भइरहेको छ। प्लास्टिक प्रदूषणबाट हुने सामाजिक र वातावरणीय क्षतिको वार्षिक मूल्य लगभग ३ सय अर्बदेखि ६ सय अर्ब अमेरिकी डलरसम्म रहेको अनुमान गरिएको छ।
प्लास्टिकजन्य फोहोर अन्य जैविक फोहोरजस्तो सजिलै नष्ट गर्न सकिँदैन। यो त सूक्ष्म कण (माइक्रो प्लास्टिक) को रूपमा परिणत भई माटो, पानी र मानव शरीरमा पस्ने खतरा हुन्छ। मानव शरीरमा माइक्रोप्लास्टिक फेला परेको अनुसन्धानहरूले प्लास्टिक प्रदूषण अब केवल वातावरणीय समस्या नभएर सार्वजनिक स्वास्थ्य संकट पनि हो भन्ने देखाउँछ। समुद्री जीवहरूमा प्लास्टिक खाने, फस्ने र मर्ने घटना बढ्दो छ, जसले समुद्री जैविक विविधता र खाद्य शृंखलामा असर पु¥याएको छ।
बढ्दो प्लास्टिक प्रदूषणको जोखिमलाई मध्यनजर गरी यो वर्षको विश्व वातावरण दिवसको आधिकारिक नारा ‘प्लास्टिक प्रदूषणको अन्त्य गरौं’ तय गरिएको छ। प्लास्टिक प्रदूषणको अन्त्य गरौं भन्ने नारा सन् २०१८ मा पहिलो पटक प्रयोग गरिएको थियो। अहिले दोस्रो पटक पुनः यही नारा चयन गरिनुको अर्थ यो समस्या झन्झन् गम्भीर बन्दै आएको छ र अहिलेको समाधानको प्रयास पर्याप्त छैन। तर, समाधान सम्भव छ। अब यसलाई विश्वव्यापी अभियानकै रूपमा लागेर निर्णायक टुंगोमा पु¥याउनुपर्छ भन्ने हो।
नेपालको सन्दर्भमा हेर्दा पनि प्लास्टिक प्रदूषणले विकराल रूप लिँदैछ। सहरी फोहोरको प्रमुख हिस्सा प्लास्टिकमै आधारित छ। नेपालमा प्रत्येक वर्ष ठूलो परिमाणमा प्लास्टिकजन्य सामग्री आयात हुन्छ, जसको मुख्यत एकपटक प्रयोग हुने प्लास्टिक हो। यस्ता एक पटकमात्र प्रयोग भएका प्लास्टिकजन्य फोहोरको व्यवस्थापन ठुलो समस्याको रूपमा रहिआएको छ। अधिकांश नगरपालिकामा प्लास्टिकको छुट्टाछुट्टै संकलन, पुनर्प्रयोग गर्ने संरचना छैन। प्लास्टिक फोहोर खुला ठाउँमा जलाउने, नदीनालामा फ्याल्ने वा डम्पिङ गर्ने प्रचलनले माटो, पानी र हावामा विषाक्तता बढाइरहेको छ। काठमाडौं, पोखरा, धरानजस्ता ठूला सहरका सडकछेउ फ्यालिएका प्लास्टिकका झोला, बोतल र प्याकेटहरू हाम्रो चेतनालाई नै चुनौती दिइरहेका छन्। बागमती, विष्णुमती, नक्खु, हनुमन्तेजस्ता सहर केन्द्रित नदीहरू प्लास्टिक फोहोरले थिचिएका छन्। ग्रामीण भेगमा समेत प्लास्टिक पोका र बोतल मानवबस्ती वरपरका चौर र वन क्षेत्रमा छरपस्ट देखिनु अब सामान्य दृश्यजस्तै बनेको छ।
विश्व वातावरण दिवस मनाउने तरिकामा पछिल्लो समय ‘¥याटोरिक’ अर्थात् भाषिक चालबाजीको चलन व्यापक देखिन्छ। हाम्रा चलनचल्तीका यी शैली यस्तो हुन्छन् जुन सुन्नमा आकर्षक लाग्छन्, तामझामपूर्ण देखिन्छन्, तर व्यवहारमा स्थायी असर कममात्र हुन्छन्। नारा बनाउने शैली, फोटोजेनिक वृक्षरोपण कार्यक्रम वा वातावरणमैत्री जस्तो देखिने अल्पकालीन गतिविधि—यी सबै चीजहरू प्रचारमुखी बन्न थालेका छन्। पर्यावरणीय चेतना फैलाउने नाममा फोटो सेसनका लागि रूख रोप्ने तर पछि त्यसको हेरचाह नगर्ने प्रवृत्तिले वातावरणको भन्दा पनि इमेज बनाउने प्रयासलाई प्राथमिकता दिएको देखिन्छ।
वातावरण दिवस आउनासाथ सामाजिक सञ्जालमा हरियो ब्यानरहरू, वृक्षरोपणका तस्बिरहरू, सफाइ कार्यक्रमका प्रचारहरू एकाएक देखिन थाल्छन्। सरकारी निकाय, गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय — सबैले ‘प्राकृतिक संरक्षण हाम्रो कर्तव्य’ भन्ने सन्देश बोकेर देखावटी अभियान गर्छन्। गन्यमान्य पदासीनहरूद्वारा गमलामा बिरुवा रोपेर तामझाम देखाउने, वर्षभरिलाई पुग्ने अर्ती उपदेश एकैदिन थोपर्ने र बाँकी ३ सय ६४ दिन वातावरणका कुरा बिर्सने गरिन्छ। तर जब यी कार्यक्रमहरू सम्पन्न भएपछि त्यहीं फ्यालिएका प्लास्टिकका बोतल र डिस्पोजेबल कप देखिन्छन्, त्यो स्वयं वातावरण दिवसको अपमानजस्तो लाग्छ। प्लास्टिकजन्य प्रदूषणको अन्त्य गरौं भन्ने नारा लगाउँदै एक पटकमात्रै प्रयोग गरी फाल्ने प्लास्टिकका सामग्री प्रयोग गरी उल्टै प्रदूषण बढाएको देखिनु विडम्बनापूर्ण हुन्छ।
हरेक वर्ष वृक्षरोपण गरिन्छ— तर हेरचाह नगर्दा ती बोटहरू केही हप्तामै सुक्छन्। विद्यालयका विद्यार्थीले प्लास्टिक झोलामा ब्यानर बोकेर ‘प्लास्टिक हटाऔं’ भन्ने नारामा मार्चपास गर्छन्। अनि यो आफैंमा व्यंग्य हुन्छ। सरकार स्वयंले ‘प्लास्टिक प्रतिबन्ध’ घोषणा गरिरहेको हुन्छ। तर कार्यान्वयन कहाँ कसरी भइराखेको छ ? प्लास्टिक उद्योगहरूको अनुगमन, विकल्पको प्रवद्र्धन, जनस्तरमा सचेतना — यी त अझै खुट्टा टेक्न नसकेको अवस्थामा कहाँ हो कहाँ छन्।
स्थानीय समस्यासँग जोडिएको चेतना : नेपालको जैविक र भौगोलिक विविधता अत्यन्त संवेदनशील छ। हिमालदेखि तराईसम्म फैलिएको भूभाग, थुप्रै जलस्रोतहरू, घना वनजंगल, र जातीय–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा वातावरणीय संकट पनि बहुआयामिक छन्।
काठमाडौं उपत्यकाको वायु प्रदूषण, चुरे क्षेत्रको दोहन, डढेलो नियन्त्रणको कमजोरी, अव्यवस्थित सहरीकरण, अनि अब प्लास्टिक प्रदूषण— यी सबै चुनौतीहरू केवल अन्तर्राष्ट्रिय नाराबाट मात्र समाधान हुन सक्दैनन्। जुनसुकै नारा भए पनि, त्यो हाम्रो स्थानीय आवश्यकता, समस्या र क्षमतासँग मेल खाएको हुनुपर्छ। वातावरण संरक्षणको प्रयास देशभित्रकै विविध भूगोल, समुदाय, संस्कृति, जनजीविकासँग जोडिएर अघि बढ्नुपर्छ। रैथाने ज्ञान र स्थानीय स्रोतको प्रयोग र संवर्द्धन गर्न जरुरी हुन्छ।
व्यावहारिक विकल्प के ?
सन् २०२५ को नारालाई व्यवहारमा उतार्न केही यथार्थपरक र दीर्घकालीन उपायहरू अवलम्बन गर्नुपर्ने देखिन्छः
नीतिगत प्रतिबद्धता र कार्यान्वयन : सरकारद्वारा घोषण गरिएका प्लास्टिक प्रतिबन्धहरू सुन्नमा सुन्दर छन् तर ती प्रतिबन्धहरूलाई कानुनी दायरा, सशक्त अनुगमन र दण्डको व्यवस्थासहित कार्यान्वयन गर्नुपर्छ।
वैकल्पिक सामग्रीको प्रोत्साहन : प्लास्टिकको प्रयोग घटाउन सकिने व्यावहारिक विकल्पहरू (जैविक झोला, कपडा झोला, धातुका भाँडा) सर्वसुलभ बनाउन राज्यले पहल लिनुपर्छ।
शिक्षा र सचेतना : विद्यालयदेखि विश्वविद्यालयसम्म वातावरणीय शिक्षा केवल किताबी होइन, व्यावहारिक हुनुपर्छ। प्लास्टिकको असरबारे कार्यशाला, अनुभवमूलक शिक्षा र पुनप्र्रयोगका अभ्यासहरू आवश्यक छन्।
सामुदायिक संलग्नता : स्थानीय तह, उपभोक्ता समिति, महिला समूह र युवाहरूलाई सक्रिय संलग्न गराई सामुदायिक सफाइ, पुनप्र्रयोग र रिसायक्लिङ कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ।
सहरी फोहोर व्यवस्थापनमा सुधार : नगरपालिकाहरूले स्रोतमै फोहोर छुट्ट्याउने नीति अपनाउनु आवश्यक छ। रिसायक्लेबल र नन्–रिसायक्लेबल फोहोर छुट्ट्याउने व्यवस्था अनिवार्य गरिनुपर्छ।
विश्व वातावरण दिवस उत्सव होइन, हाम्रो सामूहिक उत्तरदायित्व सम्झने दिन हो। भाषामा मात्र हरियाली देखाएर हुने होइन, जीवनशैलीमा नै वातावरणमैत्री अभ्यासलाई समावेश गर्ने संकल्पको दिन हो। बोलीमा मात्र होइन, अब व्यवहारमै परिवर्तन ल्याउने बेला आएको छ। एउटा दिवसमा होइन, हरेक दिन वातावरणप्रति उत्तरदायी बन्ने समय आएको छ। हामीले केवल पोस्टरमा होइन, आफ्नै जीवनशैलीमा उतार्न सक्नुपर्छ हामी बजार जाँदा कपडाको झोला बोक्न सक्नुपर्छ। हामी जन्मदिनको पार्टीमा डिस्पोजेबल प्लेटको सट्टा धातुको भाँडा अथवा जैविक रूपमा कुहिने वस्तुको प्रयोग गर्न सक्नुपर्छ हामी हाम्रा कार्यालय, विद्यालय, होटेल, सार्वजनिक स्थलमा प्लास्टिक निषेध गर्न सक्नुपर्छ।
त्यस्तै नीतिनिर्माण तहमा पनि जनताले आवाज उठाउन जरुरी छ। सस्तो प्लास्टिकको आयात रोक्न र प्लास्टिक उत्पादनमा कर लगाउन अनि पर्यावरणमैत्री उत्पादनलाई अनुदान दिन सरकार तयार हुने गरी नीतिगत व्यवस्था हुन जरुरी छ। आवश्यक परे जनदबाब सिर्जना गर्नुपर्छ। झ्यालबाट फ्यालिएको प्लास्टिकको बोतलको साक्षी बनिरहनुभन्दा दृढ इच्छा शक्ति र दीर्घकालीन दृष्टिकोणका साथ सच्चा प्रतिबद्धताको आवश्यकता छ। त्यसैले आजैदेखि संकल्प गरौं— ‘प्लास्टिक प्रदूषणको अन्त्य गरौं’ भन्ने सन्देशको मूल मर्मका साथ हामी हाम्रो बानी बदलौं, ताकि हाम्रो पृथ्वी, हाम्रो भविष्य र हाम्रो अस्तित्व सुरक्षित रहोस्।
प्रतिक्रिया दिनुहोस !