आधुनिक प्रविधियुक्त ड्रिमलाइनर पनि किन पर्यो दुर्घटनामा ?
सन् २०२४ मा विश्वमा ४ करोड ६ लाख हवाई उडान भए। त्यसमा सातवटा ठूल्ठूला दुर्घटना भएको अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटा)ले जनाएको छ। त्यसैकारण, विश्वमै सबैभन्दा सुरक्षित मानिन्छ, हवाई सेवा। तर, यदाकदा हुने ठूला दुर्घटनाका घटनाले विश्वको ध्यान तान्छ। बिहीबार भारतमा भएको एयर इन्डियाको जहाज दुर्घटनाले ‘हवाई सुरक्षा’प्रति गम्भीर प्रश्न भने खडा गरेको छ।
काठमाडौं : भारतको सहर अहमदाबादबाट लन्डन उडेको एयर इन्डियाको जहाज दुर्घटनाग्रस्त भएको छ। अहमदाबादस्थित सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन (ग्याटविक) तर्फ उडेको जहाज टेक अफको केही मिनेटमा नै दुर्घटनामा परेको हो। समाचार तयार पार्दासम्म दुई सयभन्दा बढी यात्रुको मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन।
अहमदाबाद विमानस्थलबाट स्थानीय समय १ बजेर ३८ मिनेटमा उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान उडान संख्या एआई १७१ दिउँसो १ बजेर ४० मिनेटमा दुर्घटनाग्रस्त भएको थियो। विमानस्थलको रनवे २३ बाट टेक अफ गरेको केही क्षणमै डाक्टर होस्टेल नजिकैको आवासीय क्षेत्र मेघानीनगरमा विमान खसेको थियो। विमानले उडान भरेको केही समयमा ‘मेडे कल’ गरेको र पछि एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क विच्छेद भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विमान रनवेबाट उडेर करिब ६ सय २५ फिटमा नपुग्दै दुर्घटनाग्रस्त भएको बताइएको छ।
उक्त विमानमा २ सय ४२ जना (२ सय ३० यात्रु र १२ चालक दल) सवार थिए। जसमा १ सय ६९ भारतीय, ५३ ब्रिटिस, ७ पोर्चुगिज र १ क्यानाडाली यात्री सवार रहेको एयर इन्डियाले जनाएको छ। एयर इन्डियाको यो जहाजले २००९ मा पहिलो उडान गरेको र सन् २०११ बाट नियमित व्यावसायिक उडान गर्दै आएको थियो। विमानलाई क्याप्टेन सुमित सभरवाल र पहिलो अफिसर क्लाइभ कुन्दरले उडाएका थिए। क्याप्टेन सभरवाल बोइङ ७८७ का अनुभवी चालकका रूपमा रहेका थिए। उनले करिब ८२ सय उडान घण्टा पूरा गरेका थिए।
दुर्घटनापछि अहमदाबादस्थित सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरू स्थगित गरिएका छन्। दुर्घटनाले होस्टेल भवनमा धुवाँ र आगो फैलिएको थियो, र उद्धारका लागि दमकल र एम्बुलेन्सका टोली सक्रिय रूपमा पुगेका थिए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाका बारेमा तत्काल जानकारी लिएर सम्बद्ध निकायहरूलाई आवश्यक सहयोग र फौजी क्रियाकलापमा तीव्रता दिन निर्देशन दिएका थिए। भारतीय नागरिक उड्डयन मन्त्री राममोहन नायुडु किन्जरापुले उच्च सतर्कता र तत्काल उद्धार अभियान सुरु गरिएको बताएका छन्। साथै, ब्रिटिस सरकारले पनि भारतीय अधिकारीहरूलाई सहयोग गर्ने लिखित प्रतिबद्धता जनाएको छ। विमान निर्माण कम्पनी बोइङले घटनाको प्रारम्भिक रिपोर्टहरूलाई ध्यानमा राखेको र थप अनुसन्धान गरिरहेको जनाएको छ।
एयर इन्डिया भारतको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो, जसले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवा प्रदान गर्दै आइरहेको छ। भारतको राजधानी नयाँदिल्लीमा मुख्य कार्यालय रहेको कम्पनीकोे स्वामित्व भारतीय व्यापारिक समूह टाटा समूहसँग छ।
सन् १९३२ मा प्रसिद्ध उद्योगपति जे.आर.डी. टाटाले टाटा एयरलाइन्सको रूपमा स्थापना गरेको यो कम्पनी सन् १९४६ मा नाम परिवर्तन गरी एयर इन्डिया राखिएको थियो। सन् १९५३ मा भारत सरकारले राष्ट्रियकरण गरेको थियो। सन् २०२२ मा एयर इन्डिया पुन : टाटा समूहको स्वामित्वमा फर्कियो। टाटा समूहले भारत सरकारबाट १८ हजार करोड भारुमा खरिद गरेको थियो। एयर इन्डियाले अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापान, मध्यपूर्व, दक्षिणपूर्व एसियालगायत ३० भन्दा मुलुकहरूमा ६० भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यहरूमा उडान भर्दै आएको छ। आन्तरिकतर्फ पनि ८० भन्दा बढी सहरमा उडान गरिरहेको छ। कम्पनीसँग बोइङ ७४७, बोइङ ७८७ ड्रिमलाइनर, एयरबस ए३२०, ए३२१, ए३५० जस्ता आधुनिक विमान छन्।
गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीको निधन
बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा बीजेपीका नेता एवं गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपानीको मृत्यु भएको छ। अहमदाबाद एयर इन्डिया दुर्घटनामा परी रुपानीको मृत्यु भएको पार्टीका शीर्ष नेताहरूले बिहीबार पुष्टि गरेका छन्।
‘हाम्रो नेता विजय रुपानी, (लन्डन) आफ्नो परिवारलाई भेट्न जाँदैै हुनुहुन्थ्यो। उहाँ यस घटनाका एक पीडित हुनु भएको छ। उहाँको आत्माले शान्ति पाओस्। यो बीजेपीका लागि ठूलो घाटा हो,’ संघीय मन्त्री र गुजरात बीजेपीका अध्यक्ष सीआर पाटिलले पत्रकारहरूसँग भनेका छन्।
जो बाँचे
एयर इन्डियाको बिहीबार दिउँसो भएको विमान दुर्घटनामा एक यात्रु बाँच्न सफल भएका छन्। चालक दलसहित २ सय ४२ यात्रु सवार विमानमा यो समाचार तयार पार्दासम्म २०० को मृत्यु भएको एक प्रहरी प्रमुखले भारतीय समाचार एजेन्सीलाई बताएका छन्।
अहमदाबाद प्रहरी कमिस्नर जीएस मलिकले बताएअनुसार लन्डनतर्फ जान थालेको बोइङ ७८७–८ उडानमा सिट ११ए का यात्रु बाँच्न सफल भएका हुन्। सो सिटमा रहेका यात्रु ब्रिटिस नागरिक विश्वास कुमार रमेश रहेको उल्लेख छ। भारतीय मिडियाले अस्पतालमा रमेशसँग कुरा गरेको दाबी गर्दै उनले उडान भरेको ३० सेकेन्डपछि, एक ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भएको बताएको उल्लेख गरेका छन्।
मृतकका परिवारलाई १ करोड क्षतिपूर्ति
एयर इन्डियाको सञ्चालक टाटा समूहले विमान दुर्घटनामा निधन भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ। बिहीबार भएको एयर इन्डियाको जहाज दुर्घटना परी मृत्यु हुने व्यक्तिका परिवारलाई टाटाले एक करोड क्षतिपूर्ति दिने घोषणा गरेको हो।
‘यस क्षणमा हामीले महसुस गर्ने दु : खलाई कुनै पनि शब्दले विश्लेषण गर्न सक्दैन,’ टाटा समूहले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ। दुर्घटनामा घाइते भएकाको उपचार खर्च र देखरेखको पनि जिम्मेवारी बहन गर्ने टाटा समूहले जनाएको छ। साथै होस्टलमा भएको क्षतिमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 
एयर इन्डियाका जहाज यसअघि पनि परेका थिए दुर्घटनामा
एयर इन्डिया, भारतको राष्ट्रिय ध्वजावाहक र एसियाको एक पुरानो विमानसेवा कम्पनी होे। लामो सेवायात्राको क्रममा कम्पनीले केही ठूला विमान दुर्घटना व्यहोरेको छ। बिहीबार अहमदाबादबाट लन्डन उडेको बोइङ ७८७–८ ड्रिमलाइनर विमान टेकअफपछि केही समयमै मेघानी नगरस्थित बीजे मेडिकल कलेजको होस्टेलमा ठोक्किएर भयानक दुर्घटना भयो। यो दुर्घटनामा दुई सयभन्दा बढीको मृत्यु भएको अनुमान छ, जसमा यात्रुहरू, चालक दल र स्थानीय बासिन्दाहरूसमेत छन्। यो घटना एयर इन्डियाको इतिहासमै सबैभन्दा दु : खद् र विवादास्पद दुर्घटनामध्ये एक बनेको छ।
एयर इन्डियाको सबैभन्दा ठूलो दुर्घटना सन् १९८५ को ‘कनिष्क’ काण्ड हो, जसमा एयर इन्डिया फ्लाइट १८२ लाई आतंकवादीहरूले बम विस्फोट गराएर आयरल्यान्डको आकाशमा खसालेका थिए। उक्त दुर्घटनामा ३ सय २९ जना यात्रुको ज्यान गएको थियो। त्यसपछि १९७८ मा मुम्बई तटमा भएको एआई ८५५ को दुर्घटनामा २ सय १३ जना मारिएका थिए। सन् २०१० मा मंगलोरमा भएको एआई एक्सप्रेस उडान ८१२ को दुर्घटनामा १ सय ५८ जना र २०२० मा कोझिकोडमा भएको एआई एक्सप्रेस उडान १३४४ को दुर्घटनामा २१ जनाले ज्यान गुमाएका थिए।
यी सबै घटनाहरूले एयर इन्डियाको सुरक्षा व्यवस्थामा समय–समयमा प्रश्न उठाएका छन्। हालै टाटा समूहद्वारा कम्पनीको पुन : अधिग्रहणसँगै संरचनागत सुधार, मानव स्रोत तालिम, प्रविधिको आधुनिकीकरण र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू कार्यान्वयनमा ल्याइएको भनिए पनि, २०२५ को अहमदाबाद दुर्घटनाले अझै पनि जोखिमपूर्ण क्षेत्रहरू बाँकी रहेको देखाएको छ। नयाँ प्रविधि प्रयोग गरिएका ड्रिमलाइनर विमानमा समेत भएको यस्तो दुर्घटनाले विश्वको ध्यान तानेको छ।
बोइङ ७८७ ड्रिमलाइनर एक अत्याधुनिक, इन्धन–किफायती, लामो दूरीका यात्रु बोकेर उड्ने व्यावसायिक जेट विमान हो, जसलाई अमेरिकी विमान निर्माता कम्पनी बोइङ कमर्सियल एयरप्लेन्सले निर्माण गरेको हो। यसको उद्देश्य एयरलाइन्सलाई कम इन्धनमा, उच्च दक्षताका साथ, लामो दूरीमा यात्रुहरू पुर्याउने हो। ड्रिमलाइन विमान पहिलो पटक सन् २०११ मा व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। भारतमा एयर इन्डियासँग मात्र यो विमान भएको बताइएको छ।
विद्यार्थी खाना खाँदै थिए, होस्टेलमा बज्रियो विमान
एयर इन्डियाको विमान अहमदाबादको आवासीय क्षेत्र मेघानीनगरस्थित बिजे मेडिकल कलेजको होस्टलमा दुर्घटनाग्रस्त भएको थियो। विमान होस्टेलको क्यान्टिन भएको तलालाई छेडेर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमका फुटेजमा देख्न सकिन्छ। दुर्घटनामा विमानमा सवार यात्रुसँगै होस्टलमा रहेका विद्यार्थीको मृत्यु भएको जनाइएको छ।
पछिल्लो रिपोर्टअनुसार कम्तीमा ५ जना मेडिकल विद्यार्थी मारिएको र ४० देखि ६० बढी घाइते भएको उल्लेख छ। घटना दिउँसोको खाना खाने समयमा भएको थियो। विद्यार्थीहरू क्यान्टिनमा बसी खाना खाइरहेका बेला विमान दुर्घटना भएको र टेबलमा अन्न, भाँडा छरिएको दृश्य रिपोर्टमा आइरहेका छन्।
२०२४ का प्रमुख अन्तर्राष्ट्रिय विमान दुर्घटना :
१. जेजु एयर उडान २२१६ — दक्षिण कोरिया
मिति : २९ डिसेम्बर २०२४
स्थल : मुआन अन्तर्राष्ट्रिय विमानस्थल, दक्षिण कोरिया
दुर्घटना : बोइङ ७३७‑८०० को ‘बेली ल्यान्डिङ’ गर्दा रनवेबाट बाहिर स्किड भयो र रनवे–अन्त्यको कंक्रिट संरचनामा ठोक्कियो र आगो लागेको थियो।
मृत्यु : १ सय ८१ मध्ये १ सय ७९ को मृत्यु, २ को उद्धार
२. अजरबैजान एयरलाइन्स उडान जे२‑८२४३ — काजाकस्तान
मिति : २५ डिसेम्बर २०२४
स्थान : अक्टाउ, काजाकस्तान
दुर्घटना : बाकुबाट ग्रोज्ने जाने क्रममा इम्ब्रेएर १९० एआर विमान अवतरणको क्रममा दुर्घटना भएको थियो।
मृत्यु : ३८ को मृत्यु, २९ को उद्धार
३. मलावी उपराष्ट्रपति विमान दुर्घटना — मलावी
मिति : १० जुन, २०२४
स्थान : चिकानगावा, मलावी
दुर्घटना : उपराष्ट्रपति साउलस चुका र अन्य ९ जना सवार डोरनियर २२८ विमान दुर्घटनामा परेर सबैको मृत्यु भएको।
४. सौर्य एयरलाइन्स सीआरजे २०० दुर्घटना — नेपाल
मिति : २४ जुलाई, २०२४
स्थान : त्रिभुवन–पोखरा रुट, काठमाडौं
दुर्घटना : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको केही समयमै विमान खसेको, पाइलटबाहेक १८ जनाको मृत्यु।
५. वोएपास फ्लाइट २२८३ — ब्राजिल
मिति : ९ अगस्ट, २०२४
स्थान : भिन्हेडो, साओ पाउलो राज्य
दुर्घटना : एटीआर ७२‑५०० विमान दुर्घटनामा ६२ को मृत्यु
नोट : एजेन्सीको सहयोगमा
सन् २०२४ मा ४ करोड बढी उडान, ७ ठूला दुर्घटना
विश्वमा सन् २०२४ मा ४०.६ मिलियन (४ करोड ६ लाख) उडान भए। त्यसमा सातवटा ठूला हवाई दुर्घटना भएको अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइएटा)ले जनाएको छ। आइएटाका अनुसार सन् २०२३ मा एउटामात्रै ठूलो दुर्घटना भएको थियो। सन् २०२४ मा मात्रै ७ दुर्घटना भए, त्यसमा २ सय ४४ जनाको मृत्यु भएको थियो। जबकि २०२३ मा ७२ जनाको ज्यान गएको रिपोर्ट सार्वजनिक गरिएको थियो। विगत पाँच वर्षको समयमा विमान दुर्घटनाबाट बर्सेनि औसत १ सय ४४ जनाको मृत्यु भएको आइटाको तथ्यांक छ।
सन् २०२४ मा ठूला हवाई दुर्घटनाको संख्या बढी छ। तर, उडान संख्या वृद्धिअनुसार भने दुर्घटना घट्दो क्रममा रहेको आइएटाका निर्देशक विल्ली वाल्सले बताएका छन्। ‘एक दशकअघि अर्थात् (२०११–२०१५) मा प्रत्येक ४ लाख ५६ हजार उडानमा एउटा दुर्घटना भएको थियो,’ वाल्सले भनेका छन्, ‘सन् २०२० देखि २०२४ मा प्रत्येक ८ लाख १० हजार उडानमा एउटा दुर्घटना भयो। यसले हवाई दुर्घटनामा सुधार भएको देखाउँछ।’
सन् २०१५ यता, विश्वमा भएका केही ठूला दुर्घटना :
- १. जर्मनविङ्स फ्लाइट ९५२५ दुर्घटना
- सन् २०१५ मा फ्रान्सको फ्रेन्च आल्प्समा जर्मनविङ्स फ्लाइट ९५२५ दुर्घटनाग्रस्त भएको थियो। सन् २०१५ को मार्च २४ गते भएको उक्त दुर्घटनामा १ सय ५० यात्रुको मृत्यु भएको थियो। सह–पाइलटले विमानलाई पहाडमा लगेर ठोक्काउँदा उक्त जहाज दुर्घटना भएको थियो।
- २. इजिप्ट एयरलाइन्स फ्लाइट एमएस ८०४
इजिप्ट एयरको उडान ८०४ पेरिस चाल्र्स डे गौल एयरपोर्टबाट काइरो अन्तर्राष्ट्रिय एयरपोर्टतर्फको नियमित उडानको क्रममा दुर्घटना भएको थियो। सन् २०१६ को मे १९ मा स्थानीय समयअनुसार ०२ : ३३ बजे एअरबस ए३२० भूमध्य समुद्रमा खसेको थियो। दुर्घटनामा ६६ जनाको मृत्यु भएको थियो।
- ३. लायन एयर फ्लाइट ६१० (२०१८)
इन्डोनेसियमा आन्तरिक उडान गर्ने लायन एयर उडान ६१० सोकेको–हट्टा अन्तर्राष्ट्रिय विमानस्थल, तांग्रेराङबाट डिपाती अमिर विमानस्थल, पांकल पिनांकका लागि उडेको थियो। २९ अक्टोबर २०१८ मा १ सय ८१ यात्री र ८ क्रू सदस्यलाई लिएर उडेको विमान जावा समुद्रमा दुर्घटनाग्रस्त भयो। जहाजमा रहेका सबै १ सय ८९ यात्रुको मृत्यु भएको थियो।
- ४. इथियोपियन एयरलाइन्स उडान ३०२
इथियोपियाली एयरलाइन्सको उडान ३०२ बोले अन्तर्राष्ट्रिय विमानस्थल, आदिस अबाबा, इथियोपियाबाट जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल, नाइरोबी, केन्याका लागि उडेको विमान दुर्घटनाग्रस्त भएको थियो। १० मार्च २०१९ मा, उडान सञ्चालन गरेको बोइङ ७३७ म्याक्स ८ बिसोफ्टु सहरको नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा १ सय ४९ जना यात्रु र ८ जना चालक दलका सदस्यहरू सबैको मृत्यु भएको थियो।
- ५. युक्रेन इन्टरनेसनल एयरलाइन्स पीएस ७५२
युक्रेन अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान ७५२ (पीएस ७५२÷एयूआई ७५२) विमान इरानमा दुर्घटना भएको थियो। तेहरानबाट किभको लागि अन्तर्राष्ट्रिय यात्री लिएर उडेको बोइंग ७३७–८०० उडान इस्लामिक क्रान्तिकारी गार्ड कोप्र्स (आईआरजीसी) ले गोली हानी खसालेको थियो। ८ जनवरी २०२० मा भएको यो दुर्घटनामा विमानमा रहेका सबै १ सय ७६ जना यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको थियो।
- ६. चाइना इस्टर्न एयरलाइन्स एमयू ५७३५
चाइना इस्टर्न एयरलाइन्स फ्लाइट ५७३५ आन्तरिकको क्रममा दुर्घटनामा परेको थियो। जुन च्याङ्सुई अन्तर्राष्ट्रिय विमानस्थल, कुनमिङबाट बाइयुन अन्तर्राष्ट्रिय विमानस्थल, ग्वाङ्जोउका लागि उडिरहेको विमान जमिनमा बज्रिएको थियो। २१ मार्च २०२२ मा ग्वाङ्क्सीमा भएको उक्त दुर्घटनमा १ सय ३० यात्रु र क्रूका सबैको ज्यान गएको थियो। यो चाइना साउदर्न एयरलाइन्सको फ्लाइट ३९४३ (सन् १९९२) र चाइना नर्थवेस्ट एयरलाइन्सको फ्लाइट २३०३ (सन् १९९४) पछि भएको तेस्रो सबैभन्दा ठूलो हवार्ई दुर्घटना हो।
- ७. नेपालको यती एयरलाइन्स दुर्घटना
नेपालमा आन्तरिक उडान भर्दै आएको यती एयरलाइन्सको उडान ६९१ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै दुर्घटना भएको थियो। १५ जनवरी २०२३ मा एटीआर ७२ दुर्घटना हुँदा ६८ यात्रु र ४ चालक दलका सदस्यहरू सबैको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस !