प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच झन्डै डेढ घन्टा बालुवाटारमा सघन छलफल
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न मंगलबार साँझ बालुवाटार पुगेको स्रोतले बताएको छ।
पछिल्लो समय पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीचको सम्बन्धमा तिक्तता आएको टीका टिप्पणी भइरहेका बेला उनीहरूको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ। करिब ७ बजे बालुवाटार प्रवेश गरेकी पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पछिल्लो राजनीतिक अवस्था र भावी रणनीतिका विषयमा करिब डेढ घन्टा सघन छलफल भएको स्रोतको भनाइ छ।
त्यस्तै उनीहरूबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो। भेटमा पूर्वराष्ट्रपति भण्डारीले हालै भएको आफ्नो चीन भ्रमणका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएकी थिइन्।
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउने चर्चा चलिरहेका बेला एमाले पार्टीभित्रै त्यसबारे विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन्। टीका टिप्पणीबीच भएको उनीहरूको भेटवार्तालाई सकारात्मक रूपमा लिनुपर्ने एमालेका एक नेताले बताए। तीन नेताले अन्नपूर्णसँग भने, 'पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच कुनै विवाद छैन। दुवैजना मिलेर पार्टी एकढिक्का गरेर अगाडि लैजानुहुन्छ।'
प्रतिक्रिया दिनुहोस !