तीन वर्षमा ३ पटक बगाएको हेवाखोला पुलले ताप्लेजुङमा परेको प्रभाव

तीन वर्षमा ३ पटक बगाएको हेवाखोला पुलले ताप्लेजुङमा परेको प्रभाव

विसं २०४२ मा पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा अवस्थित ५४.५२ मिटरको हेवाखोला पुल चर्चित धार्मिक तथा पर्यटकीय स्थल पाथीभारासम्म आवत–जावतका लागि मुख्य मार्ग पनि हो। त्यतिमात्रै होइन, समग्र ताप्लेजुङबासीका लागि तराईसम्म जोड्ने र उनीहरूको दैनिकीसँग जोडिएको लाइफलाइन समेत हो। हो, तर त्यही पुललाई तीन वर्षमा बाढीले तीन पटक बगाइदियो।

पुल तीन वर्षमा तीन पटकमात्रै बगेन। चौथो पटक निर्माणको अन्तिम चरणमा रहेको बेल ब्रिज समेत भत्किँदा बेल ब्रिज निर्माणमा खटिएका तीन जनाको ज्यान नै गयो। २०८१ जेठ ३१ गते बेल ब्रिज निर्माणमा खटिएका बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र सोही ठाउँका २२ वर्षीय प्रकाश चौधरीको ज्यान गएपछि नेपालको पूर्वाधार विकासमाथि गम्भीर प्रश्न चिह्न समेत खडा गरिदिएको छ। यो दुर्घटनाले एउटा संरचना भत्किएको खबरमात्र नभई सुदूर पूर्वी पहाडी जिल्ला ताप्लेजुङको समग्र विकासमा चिन्ता थपिएको छ। समग्र देशमै विपद् संवेदनशील विकासको अपरिहार्यताबारे गम्भीर भएर सोच्न पनि बाध्य बनाएको छ। 

जेठको ३१ गते रास्वपा र राप्रपाले संसद् अवरोध गरिरहेका बेला ताप्लेजुङको संसद् योगेश भट्टराईले संसमा उच्च स्वरमा उक्त दुर्घटनाको जानकारी गराउँदै तत्काल त्यसमा सरकारको ध्यानाकर्षण गराए। संसद् भट्टराईकै पार्टी सरकारमा र सोही प्रदेशको प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक यातायात मन्त्री देवेन्द्र दाहाल मन्त्री छन्। संसद् भट्टराईको आवाज र त्यस क्षेत्रको समस्या सरकाले सुने यो क्षेत्रका जनतालाई राहत पुग्ने छ।

पुल बन्न ढिलाइ हुँदा र भत्किएसँगै ताप्लेजुङको जनजीवन र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने निश्चित छ। वर्षैपिछेको आगलागी र बाढी पहिरोबाट थिलथिलो भएको ताप्लेजुङलाई हेवा खोलाको पुल पटक पटक बाढीले बगाउनू सँगै समयमै बन्न नसक्नुले थप समस्या उत्पन्न गरेको छ। 

२०८० साल असारपछिका केही महिना बेल ब्रिजमार्फत यात्रुले यात्रा गर्न पाए भने अरु सबै समय डाइभर्सनबाट यातायात सञ्चालन भए। ताप्लेजुङ जाने यात्रीहरू, पर्यटकहरूबाहेक यो बाटोबाट पाथीभरा दर्शन  गर्न जानेहरूको मुख्य गन्तव्य यही नै हो। गत सालको भदौ महिनामा ९,९३९ जना, असोज महिनामा ५,९४९ जना र कात्तिक महिनामा ६१,१७३ जना पुगेका धेरै जसो यात्रुहरू यही बाटोबाट त्यहाँ पुगेका हुन्।

अघिल्लो बर्खामा बेल ब्रिज बगेपछि मेची राजमार्गमा डाइभर्सनबाट यातायात सञ्चालन भइरहेको थियो। तर, बर्खायाम सुरु भइसकेको र बाढीको जोखिम उच्च रहेको यस क्षेत्रमा डाइभर्सन पनि कुन बेला बग्ने हो पत्तो छैन। विगतमा पनि पटक-पटक डाइभर्सन बगाएको समाचारहरू ताजै छन्। बर्खामा डाइभर्सन पनि असुरक्षित छ अनि जुनसुकै बेला बग्न सक्छ। जसले ताप्लेजुङको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद हुनेछ। यसले स्थानीय बासिन्दाको आवतजावत, दैनिक उपभोग्य वस्तुको आपूर्ति, बिरामीहरूको अस्पताल पहुँच र अत्यावश्यक सेवा प्रवाहमा गम्भीर कठिनाइ ल्याएको छ। अघिल्लो बर्खामा अस्थायी तुइनबाट यात्रीहरूका मालसामान तार्नुपरेको र बिरामीलाई स्ट्रेचरमा बोकेर झोलुङ्गे पुलबाट तारेका दृश्यहरू देखिएको थिए। 

गत सालको जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी ४५ वर्षीय तिलकुमार तामाङ, २८ वर्षीय सन्जोग लिम्बू र ५५ वर्षीय राजकुमार राईको निधन भएको थियो भने माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका धेरैले घरबारविहीन बन्नुपर्‍यो। त्यसबेला फिदिम-४ र हिलिहाङ-७ को सीमामा मेची राजमार्गको सडक पुल, तमोर करिडोर सडक पुल (बेलीब्रिज) बाढीले बगाए पछि पाँचथरबाट ताप्लेजुङ जिल्ला तथा पाँचथर जिल्लाका दुई गाउँपालिकासँगको सडक सम्पर्क विच्छेद भए। 

अघिल्लो वर्षको बाढीले बगाएर २८ दिनमा तयार भएको पाँचथर-ताप्लेजुङ जोड्ने हेवाखोला माथिको बेल ब्रिज पुल त बन्यो। तर, असोजको २ गते  शनिबार बिहान त्यो पनि बगाएपछि मेची राजमार्गको ताप्लेजुङ-चथर सडक खण्डमा यातायात पुनः अवरुद्ध भयो। खोलामा ह्युमपाइप राखे पनि पानीको बहाब बढेपछि त्यसले काम चलेन। ६ वटामध्ये एउटा ह्युमपाइपले पानीको बहाव थेग्न सकेन र पछि पानीको बहाब कम भए पछि मात्र यातायात सहज भयो।

अस्थायी डाइभर्सन निर्माण गर्न करिब १० दिन लाग्यो। १२ ‘ह्युमपाइप’मार्फत खोला कटाउने निक्कै मुस्किल भयो। ठाडो खोला भएका कारण पानीको बहाब थेग्न नसक्दा ‘डाइभर्सन’मा ‘ह्युमपाइप’ अडिन नसकेपछि ‘डाइसर्भन’ अधुरो भएको हो। १२ वटै ह्युमपाइपलाई जोडेर छ वटा प्रवाहमा पानी हाल्ने प्रयास गरिएको थियो। तर, पानीको बहाबका कारण पाइप धसिएपछि ‘डाइभर्सन’ पुनः समस्या थप भएको थियो।

यहाँ लगाएको बेलिब्रिज पहिलोपटक ०८० असार २ गतेको बाढीले बगाएको थियो। त्यसपछि बनाइएको डाइभर्सन पुनः २०८१ असोज १२ गतेको बाढीले बगाएपछि पुनः ह्युमपाइप राखेर पानी कटाउँदै यातायात सुरु गरिएको थियो। ताप्लेजुङको अर्थतन्त्र चलायमान बनाइरहेको पर्यटन, कृषि जस्ता क्षेत्रहरूमा सुरक्षित र विश्वसनीय यातायात नहुँदा नकारात्मक असर पर्ने निश्चित छ । यातायात अवरुद्ध हुँदा स्थानीय कृषि उत्पादन, जस्तैः अँलैची बजारसम्म पुर्‍याउन कठिन हुने र ढुवानी लागत अत्यधिक बढ्नेछ। पाथीभरा देवीको मन्दिर (मुकुमलुङ) र कञ्चनजङ्घा पदयात्रा क्षेत्रका पर्यटकको आवागमन घट्नेछ। जसले स्थानीय व्यवसाय र विभिन्न क्षेत्रमा सिर्जना भएका प्रत्यक्ष, अप्रत्यक्ष रोजगारीका अवसरहरु घट्ने देखिन्छ।

२०८० असारमा मुख्य पुल, असोजमा अस्थायी बेलिब्रिज र अहिले निर्माणाधीन बेलिब्रिज भाँचिनुले यस क्षेत्रमा अत्यधिक विपद् संवेदनशीलता रहेको देखिन्छ। यी घटनाहरूले विपद् संवेदनशील विकासको अवधारणालाई व्यवहारमा उतार्न हामीले ध्यान दिन नसकेको देखिन्छ। पटक-पटक एकै स्थानमा भएको क्षतिले जोखिम मूल्याङ्कन मा गम्भीर कमजोरी रहेको देखिन्छ। आगामी दिनमा यस्ता संवेदनशील क्षेत्रमा पूर्वाधार निर्माण गर्दा विगतका अनुभवलाई आधार मानी थप वैज्ञानिक र सुदृढ अध्ययन गरिनुपर्छ।

यो घटनाबाट निर्माणमा संलग्न पक्षहरुको जबाफदेहिता सुनिश्चित गरिनुपर्छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट गठित छानबिन समितिले निर्माणमा भएका त्रुटिहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने अपेक्षा गर्न सकिन्छ। साथै ताप्लेजुङजस्ता भौगोलिक विकटता भएका जिल्लाहरूको लागि एउटै राजमार्गमा निर्भर नरहेर  वैकल्पिक सडक सञ्जालको विकास ध्यान दिनु आवश्यक देखिएको छ। जसले राजमार्गको एक ठाउँमा भएको अवरोधले पुरै जिल्लाको सम्पर्क विच्छेद नहोस्। यस्ता दुर्घटनाहरू बाट पाठ सिक्दै भविष्यमा सुरक्षित, दिगो र विपद् संवेदनशील पूर्वाधार निर्माणमा जोड दिनु अपरिहार्य छ। अन्यथा, यसरी नै पटक पटक पुल भत्किने र सम्पर्क टुट्ने समस्याले ताप्लेजुङजस्ता जिल्लाहरू सधैँ समस्यामा रहनेछन्। 
ताप्लेजुङ जोड्ने थुप्रै वैकल्पिक सडकहरू निर्माण भएका छन् तर मेची राजमार्ग बाहेक अन्य सडकहरू बजबुद छैनन्। राजा विरेन्द्रको २०४४ सालको ताप्लेजुङ भ्रमणको बेला सडक यातायातको ट्र्याकले जोडिएको ताप्लेजुङ २०५३ साल पछि मात्र यातायातका साधनहरू पुगेका हुन्। 

हाल मेची राजमार्ग झापा-इलाम-पाँचथर-ताप्लेजुङ मेची राजमार्ग प्रमुख गन्तव्य हो भने भेडेटार-मुलधाट-माझीमटार-कावेली तमोर करिडोरको बाटो खुले पनि बर्खा याममा हेवा खोलाकै नियति गराउने नेवुवा खोला र अन्य खोलामा सडक पुल बनी नसक्दा यो बाटो सञ्चालनमा आउन सक्दैन। सोझै ताप्लेजुङ जोड्ने अर्कोबाट धरान-धनकुटा-वसन्तपुर-गुफा-साँघु हुँदै जाने मदन भण्डारी मार्ग कच्ची सडकका कारण सहज छैन। यी बाटाहरुको विकल्पमा पाँचथरको जोरसाल-माझीमटार-तेह्रथुमको संक्रान्तिबजार हुँदै हाङपाङ-दोभान हुँदै ताप्लेजुङ सदरमुकाम जोड्न भने सक्छ तर पाथीभरा दर्शन गर्ने आउने, जलविद्युतका सामाग्री बोक्ने मालबाहक गाडीहरू, अलैँची र ताप्लेजुङ जिल्लाबाट निर्यात हुने सामाग्रीहरू भने मेची राजमार्गको विकल्पबाट ढुवानी हुने अवस्था छैन।

विद्यालय जाने विद्यार्थी, बिरामी बोकेर अस्पताल जानुपर्ने नागरिक, दैनिक जीविकोपार्जन गर्ने मजदुर र साना व्यवसायीहरू सबैजना समस्यामा परेका छन्। खाद्यान्न, औषधि, इन्धन तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति समेत प्रभावित भएको छ। पहाडी भेगमा अव वर्षा यामसँगै  बढी पहिरोको उच्च जोखिम सुरु भएको छ। एउटा जिल्लासँग जोड्ने सडक पुल निर्माणको हालत यस्तो छ तत्काल सडक खुलाउने व्यवस्था मलाउने जनशक्ति निर्माण पहिरो प्रभावित स्थानहरूमा राहत र उद्धार सामग्रीको तयारी र  वैकल्पिक मार्ग वा अस्थायी पुलको निर्माण गर्नेतर्फ सरकारको ध्यान जाओस्। दीर्घकालीन रूपमा पहिरो रोकथाम तथा पूर्व तयारी योजना लागू गरी स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वयबाट विपतबाट क्षति कम हुन सकोस् सरकार सचेत रहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.