आकाशमा नदेखिएको ऋण र बेरोजगारीको मिसाइल

आकाशमा नदेखिएको ऋण र बेरोजगारीको मिसाइल

नेपालको ऋण र बेरोजगारको मिसाइल इजरायलमाथि इरानले प्रहार गरेको मिसाइलभन्दा पनि खतरनाक बन्दै गएको छ। विश्वास नलाग्न सक्छ, तर इजरायलका बंकरभित्र लुकेर काम गरिरहेका नेपालीहरू सिधा यही भन्न थालेका छन्। 

'हामीलाई त इरानले हानेको मिसाइलभन्दा नेपाल फर्केर बेरोजगारी, ऋण, भोकमरीको मिसाइलको नै बढी डर लागेको छ।' झट्ट सुन्दा मजाक जस्तो लाग्न सक्छ, तर यो मजाक हैन, यो त हाम्रो देश र समाजप्रतिको गहिरो निराशा र रिसको प्रत्यक्ष झल्को हो। ऐनाजस्तै, जसले हाम्रो अँध्यारो अनुहार देखाइरहेको छ, दिनदिनै।

इजरायल र इरान युद्ध अहिले विश्वभरको पहिलो खबर हो, मिसाइल आकाशमा, शहरमा भगदौड, मान्छे डरले थरथर, जिन्दगी अस्तव्यस्त। अचम्म के छ भने, त्यहाँ काम गरिरहेका नेपालीहरू मरिहत्ते गरेर घर फर्किन चाहँदैनन्। किन होला त? 'नेपाल फर्केपछि के गर्ने?' भन्ने प्रश्न तिनको अनुहारमा छर्लङ्ग देखिन्छ। जसरी इजरायलमा साँच्चिकै मिसाइलको खतरा छ, नेपालमा भने जीविकोपार्जनको संकटले मान्छेलाई भित्रभित्रै पोलिरहेको छ। 

देशका युवाहरू किन विदेशिन बाध्य छन्? त्यो पनि ऋणको भारी बोकेर? नेपालमा काम छैन, पैसा छैन, सम्मान त झन् सपनाजस्तै। बिदेशिएर कमाएको पैसा परिवारले ऋण तिर्दै खानमै सकिन्छ, बचतको के कुरा! अनि घर फर्केपछि? खेतबारी बाँझो, गाउँ सुनसान, शहरमा अवसर नै छैन। स्थिति यस्तो छ कि, ऋण तिर्नकै लागि बंकरभित्र बमको जोखिम मोलेर पनि काम गर्नुपर्ने बाध्यता छ।

सरकार त भाषणमा पोख्त छ। ‘रोजगारी सिर्जना गर्छौं’, ‘युवा फर्काउँछौं’ भनेर जिब्रो चलाउन त कति सजिलो। तर, भुइँमा भने शून्य। कृषि, पर्यटन, उद्योगमा लगानी त कता हो कता, नीति कागजको भारीमा हराएको छ। युवालाई देशमै रोकेर केही गर्न सक्ने लामो सोच, दूरदृष्टि देखिँदैन। सरकारको गफले त देश चलेको छ, तर प्रवासी युवाको ग्यारेन्टी त हामीजस्ता विचराहरूको भाग्यमा छाडिएको छ।

अब त यो समस्या इजरायलमा मात्रै सीमित छैन। कतार, मलेसिया, दुबई, कोरिया, साउदी... जहाँ नेपाली, त्यहाँ एउटै चिच्याहट, 'देश फर्कन मन छ, तर फर्केर के गर्ने?' घरको मायाले तान्छ, तर घर फर्किएर जिन्दगी कसरी चलाउने? बाउआमा, श्रीमती, छोराछोरीसँग कुरा गर्नाले मन त पग्लिन्छ, तर खल्तीमा पैसा नभएपछि त्यो माया पनि पीडामै परिणत हुन्छ। 

यो 'ऋण र बेरोजगारको मिसाइल' त न आकाशमा देखिन्छ, न कुनै रडारले पत्ता लगाउन सक्छ। तर, यसले लाखौं नेपालीको जीवन, सपना, भविष्य, सबैलाई खाइरहेको छ। परिवार छुट्टिन्छन्, गाउँ रित्तिन्छ, देशको मेरुदण्ड कमजोर बन्दै गइरहेको छ। भोक र बेरोजगारीले मानिसको आत्मसम्मान र भविष्यको सपना दुवै किचिरहेको छ। विदेशमा सस्तो श्रम बेच्न बाध्य, अनि घर फर्केर पनि देशबाटै अपमान सहनुपर्ने? साँच्चिकै, योभन्दा त युद्धको खतरा सजिलो लाग्न थालेको छ धेरैलाई।

आखिर दोषी को? नेताहरूको अस्थिरता मात्रै? कि हामी जहिले पनि अल्पकालीन समाधानमा चित्त बुझाउने हाम्रो प्रवृत्ति? दीर्घकालीन सोच, नयाँ पुस्तालाई अवसर दिने योजना, कृषि र उद्योगमा नयाँ सोच ल्याउने आँट कहाँ छ? देशमा परिवर्तन ल्याउने कुरा गर्नेहरू नै विदेश पलायनमा छन् भने, बाँकी को रह्यो त यहाँ?

अब, आँखा चिम्लेर बसिरहेँ भने, भोलि हाम्रा युवाहरूले युद्धको बंकरमात्र हैन, आर्थिक बेरोजगारको अँध्यारो गुफाबाटै देशलाई बिदा गर्नेछन्। अनि हामी? फेसबुकमा 'देश महान्', 'नेपालीको शान' भनेर स्टाट्स लेखेर आत्मसन्तुष्टि कहिलेसम्म लिने?

तर, अब यत्ति भनेर चित्त बुझाउने बेला हैन। युवाले देश छोड्न नपरोस् भनेर ठोस काम गर्नुपर्छ। बङ्करमा लुकेर, डराउँदै, ऋण तिर्दै, देश सम्झिँदै, आँसु पुछ्दै बाँच्नुपर्ने परिपाटी अन्त्य गर्नैपर्छ। नत्र, ऋण र बेरोजगारीको मिसाइलले नेपाललाई भित्रैदेखि ध्वस्त पारिसक्छ। 

अनि, हामीले हेर्दा हेर्दै देश सपनाजस्तो भएर हराउँछ...!


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.