सामाजिक सञ्जालका असामाजिकहरू

सामाजिक सञ्जालका असामाजिकहरू

सामाजिक सञ्जाल अबदेखि परिवार आफन्त बालबच्चासँगै बसेर चलाउन सक्ने बनाऔं। यसैमा तपाईं हाम्रो भलो छ। सञ्जालमा सामाजिक बनौं, असामाजिक नबनौ !

अहिले विश्वको ध्यान सामाजिक सञ्जालमा छ। बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको समय व्यतीत गर्ने माध्यम बनेको छ यो। पर्याप्त सूचना पनि दिन्छ यसले अनि मनोरञ्जन पनि। यसका नकारात्मक पक्ष पनि नभएका होइनन्। यसलाई विकसित देशमा सदुपयोग गरे पनि अविकसित र विकान्सोमुख देशमा भने दुरुपयोग नै गरेको भान हुन्छ। बिहान उठेदेखि नसुतेसम्म ग्याजेट र सामाजिक सञ्जालमा घोत्लने बानी धेरैको छ। सामाजिक सञ्जालनबिना जीवन छैन कि ? जस्तो लाग्छ। तर सामाजिक सञ्जाल जुन उद्देश्यले नाम राखिएको थियो त्योअनुसार प्रयोगमा आएको देखिँदैन।

सामाजिक सञ्जाल सामाजिक नभै असामाजिक बन्दै र बनाइँदै छ। त्यहाँ आउने हरेक विषयवस्तु हेर्दामात्रै पनि थाहा हुन्छ, हाम्रो दिनचर्या अत्यन्तै कर्कश बन्दैछ। जहाँ गालीगलौज गरी आकर्षण बढाउन जे पायो त्यही पोस्ट्याउने चलन बढेको छ। कानुन, धर्म, सामाजिक मर्यादा, सहिष्णुता विपरीत विषयवस्तुले सामाजिक सञ्जाल दूषित बन्ने गरेको छ। त्यही दूषित बन्दै गरेको सामाजिक सञ्जाललाई हामी पनि दूषित बन्दै र बनाउँदै छौं। सामाजिक सञ्जालको नाम र परिकल्पना संसारका चेतनशील प्राणी मान्छेलाई एउटा सुख, दुःख, माया, ममता, सद््भाव, सहयोग र सही र सत्य सिकाउने समाज बनाउने उद्देश्य गरिएको हुनुपर्छ। सामाजिक सञ्जालले हाम्रो वास्तविक समाजलाई समेत दूषित बनाएको छ।

अहिले वास्तविक विद्यमान समाज यसैका कारण टाढा टाढा भएको छ। यहाँ गर्न हुने नहुने सबै क्रियाकलाप भएका छन्। लेख्न मिल्ने नमिल्ने लेखिएका छन् र देख्न मिल्ने नमिल्ने सबै देखिएका छन् भने सुन्न मिल्ने र नमिल्ने समेत सुनिएका र सुनाइएका छन्। समग्रमा सामाजिक सञ्जालमा असामाजिक करार गराइएको छ। मानिस सामाजिक प्राणी भएकाले पनि समाजजस्तै सामाजिक सञ्जाल बनोस्् भन्ने सबैको चाहना छ तर हुन सकिरहेको छैन। संस्कृतमा भनाइ छ, ‘सङ््गः सुखं जनति’ जसको अर्थ हुन्छ संगतले सुख दिन्छ। तर यहाँ सामाजिक सञ्जालमा हुने व्यवहारले हामी सबैलाई दुःखित तुल्याएको छ। जमाना एआईको आयो सोचे पनि स्क्रिनमा आउन थाल्यो तर यहाँ सोच्नभन्दा व्यवहारै गरेपछि त सबै हुने नहुने सबै देखिन थालेको छ। मान्छे देख्दा एक थोक देखिन्छ, भेट््दा अर्को थोक देखिन्छ र सामाजिक सञ्जालमा भेट््दा र उसका विचार देख्दा अर्को थोक देखिन्छ। चिन्न गाह्रो पर्न थालेको छ।

जस्तै, देशमा हुँदा एउटा, विदेशमा हुँदा अर्को, चुनाव आउँदा एउटा चुनाव सकिएपछि अर्को, आफूलाई मन पर्दा एउटा, मन नपर्दा अर्को विचारको प्रवाहले समाजमा रहेका सामाजिकहरू पनि दिग्भ्रमित गराएका छन्। यिनै असामाजिक कारणले गर्दा सामाजिक सञ्जाल बाहिरको वास्तविक समाज पनि भताभुंग भएको छ। समाजमात्रै नभएर परिवार र व्यक्तिसमेत भताभुंग भएको छ। अझै यसको असर पर्न बाँकी छ समयमै यसलाई व्यवस्थित र मर्यादित नबनाउने हो भने आउँदो समाजको चित्रण सुखदायी हुन सक्छ। स्वतन्त्रताको उच्चतम प्रयोग गर्न पाउने हाम्रो देशमा सामाजिक सञ्जालबाट प्रस्तुत हुने स्वतन्त्रताले राम्रोभन्दा नराम्रो गरिरहेको छ। राजनीतिक दल वा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई राख्ने विषयवस्तुमा देखिने विचारहरू देख्दा यस्तो लाग्छ सञ्जाल होइन व्यक्ति र समाज साह्रै विकृत र नीच भएको छ, यहाँ सुधार गर्न कसैले सक्नेवाला छैन। यसलाई नियमन र सुधार गर्न सक्ने अवस्थाबाट हामी धेरै टाढा गइरहेका त छैनौं ? जे भए पनि अब धेरै ढिला गर्नु हुँदैन।

सामाजिक सञ्जाल एउटा समाज हो। यो सञ्चालन गर्ने सबै तपाईं हाम्रै परिवार, नातागोता, इष्टमित्र, मान्यजन सबै हुनुहुन्छ। हामीलाई धेरैले चिन्नुहुन्छ, जान्नुहुन्छ। नचिने नजाने पनि चिन्न र जान्न सक्नुहुन्छ। पत्रकार विजयकुमारले आफ्नो पुस्तक सम्बन्धहरूमा सामाजिक सञ्जालका बारेमा भनेका छन्, ‘सामाजिक सञ्जाल मान्छेको मन र अरूसँग संवाद गर्ने लालसाको परिणाम हो। तर सामाजिक सञ्जालमा विचार र मनलाई नियन्त्रण गर्न सकिरहेका हुँदैनौं। लेख्न मिल्ने, नमिल्ने भन्न मिल्ने नमिल्ने, देख्न सकिने नसकिने सबैकुरा सामाजिक सञ्जालमा प्रस्तुत गरिरहेका छौं।’ यसबाट हामी कोही पनि अछुतो रहन सकेका छैनौं। यो गति बढ््दै जाने हो भने अनुशासित र मर्यादित परिवार अनि मानिस बाँकी रहने छैनन्। सञ्जाल विचार राख्ने ठाउँ हो। केही हदसम्म दुःख र सुख सेयर गर्ने सञ्जाल पनि। तर यहाँ त्योभन्दा बढी, साख, ईष्र्या, डाहा, सरस, राग, द्वेष, घमण्ड, देखावटी आदि प्रस्तुत गरिएको छ।

नेपाली समाज शान्त तालजस्तो मिलेर बनेको थियो, यहाँ सद््भाव, सहिष्णुता, सहयोग, समानता, मानसम्मानलगायतका समाजका हुनुपर्ने आवश्यक कुराहरू शान्त थिए। यी कुराहरूलाई राजनीति हँुदै अहिले सामाजिक सञ्जालले छाल ल्याइदिएको छ को कता गयो, कहिले कोसँग मिलेको छ, कहिले कुन कता हराएको छ, कसैलाई कसैको मतलव छैन, जन्मेदेखि मरेसम्मका सबै घटनालाई सञ्जालमा देख्न र भेट्न सकिन्छ। घरपरिवार बसेर पनि सबै एक्लै भएको महसुस हुन्छ, दुःख र बिरामी हुँदा दया, माया र सद््भावसमेत देखिन छोडेको छ।

समाज चेतनशील प्राणी मान्छेको प्रमुख ज्ञानको स्रोत हो, सिकाइको पाठशाला हो, कर्मको प्रतिबिम्बसमेत हो। समाजबिना मान्छे चेतनशील र विवेकी बन्न सक्दैन। समाज मानिसहरूको समूहको एउटा प्रतिबिम्ब नै हो। समाजमा रहन र सामाजिक बन्न सामाजिक व्यवहारले ओतप्रोतसमेत हुनुपर्ने देखिन्छ। सामाजिक व्यवहारलाई समाजमा पचाउन सक्छ, जसले मानिसलाई वास्तविक सामाजिक प्राणी भनेर चिनाउँछ। सामाजिक व्यवहारमा सहयोगी व्यवहार, प्रतिस्पर्धात्मक व्यवहार, आदानप्रदान व्यवहार, संरक्षक व्यवहार, मतभेदको व्यवहार अपरिहार्य छन् र यिनलाई समाजले पचाएको हुन्छ। यी पाँच सामाजिक व्यवहारबिना समाज अधुरो र अपूर्ण नै हुन्छ।

समाज बिग्रियो भने आफूमात्रै सप्रिएर हुनेवाला केही छैन। लेख्न र पोस्ट गर्न पाउँदा सामाजिक मूल्य, मान्यता सामाजिक परिधिलाई बिर्सिन थालेका छौं। हामी सामाजिक प्राणी हौं भन्नेसमेत हेक्का राख्न छोड्यौं। हामीलाई राजनीतिक लाग्छ, धर्म लाग्छ, जातजाति लाग्छ, धनी–गरिब लाग्छ, शक्तिशाली लाग्छ, सबै चिज आफ्ना लागि मात्रै सोच्ने गरिन्छ। जसले सञ्जाल हुँदै समाज र समुदायलाई नै गम्भीर असर पार्न थालेको छ। सञ्जालले सामाजिक व्यवहारलाई प्रोत्साहित गर्ने किसिमको विषयवस्तु र जानकारी हुनुपर्छ। सकारात्मक सामाजिक व्यवहारले मानिसलाई असल बनाउन मद्दत गर्छ, सामाजिक व्यवहार सिक्ने र सिकाउने माध्यम सामाजिक सञ्जाल बन्नुपर्छ। जुन हुन सकिरहेको छैन। सञ्जाल हाम्रो परिवार बनेको छ भन्ने कुरालाई बिर्सिनु नै असामाजिक बन्नु पहिलो खुडकला हो। घरपरिवारमा हामी जुन रूपले प्रस्तुत हुन्छौं, त्यही रूपले सामाजिक सञ्जालमा प्रस्तुत हुन सकौं। यसको सुरुवात तपाईं हामीबाटै सम्भव छ। हामीले के गर्न हुने, के गर्न नहुने, कसले कसलाई कस्तो असर गर्छ बुझ्नुपर्छ। के गर्ने के नगर्ने भन्ने कुराको विचार स्वयंले गर्नुपर्छ।

यसरी, तपाईं हामीले नै समाजलाई असर पर्ने र पार्ने खालेका विषयवस्तुलाई बढावा दिने र गर्ने हो भने यहाँ कसलाई कसले रोक्न सक्ने ? सुधार आफैंबाट गर्नुपर्छ। सामाजिक सञ्जाललाई वास्तविक समाज बनाउन थालौं। गलत, भ्रामक, अश्लील, अमर्यादित, असहिष्णुता फैलाउनेलगायतका सकारात्मकका विरुद्धमा आउने सबैखाले विषयवस्तु सामाजिक सञ्जालमा राख्ने प्रोत्साहन गर्नेलाई रिपोर्ट गरौं, ब्लक गरौं। हामी ठीक हौंला तर असामाजिक गतिविधिलाई टेवा दिएका त छैनौं ? छामौं। सामाजिक सञ्जालको प्रयोगले धेरै ठगिएका छौं, लुटिएका छौं, मारिएका छौं, बलात्कृत भएका छौं। यी र यस्ता अमानवीय क्रियाकलाप पनि सञ्चालन गरेका छौं। यस्तैको प्रचार र प्रसार गरेका छौं। सामाजिक सञ्जाल अबदेखि परिवार आफन्त बालबच्चासँगै बसेर चलाउन सक्ने बनाऔं। यसैमा तपाईं हाम्रो भलो छ। सञ्जालमा सामाजिक बनौं, असामाजिक नबनौ ! 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.