जग्गा हडप्न जीवित भाइको मृत्यु सरजमिन

जग्गा हडप्न जीवित भाइको मृत्यु सरजमिन

विराटनगर : विराटनगरका एक जना व्यक्तिले जीवितै रहेका भाइको मृत्यु सरजमिन गरेर जग्गा हडपेको घटना बाहिर आएको छ। जिउँदो भाइको मृत्यु सरजमिन गरेर जग्गा बिक्री गरेको पाइएको हो। विराटनगर महानगरपालिका–२ का भरतबहादुर बस्नेतले भाइ केदारबहादुर बस्नेतको मृत्यु सरजमिन गरेर जग्गा बिक्री गरेको खुलेको हो। 

जीवितै रहेका केदारको मृत्यु भएको भनेर वडाध्यक्ष कुमार पोखरेलले सरजमिन गरिदिएका हुन्। पोखरेल नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष हुन्। विराटनगर–११ पिचराका  ७० वर्षीय केदारबहादुर बस्नेत नेपाल प्रहरीका पूर्वइन्स्पेक्टर हुन्। उनी काठमाडौंमा बस्छन्। २०५८ सालमै उनको मृत्यु भएको भनेर २०७५ साल असोज १० गते सरजमिन मुचुल्का बनाइएको फेला परेको छ। 

सुनसरीको जग्गा बिक्री भएपछि मात्रै केदारले आफ्नो मृत्युको कागज बनेको थाहा पाएका थिए। ‘मलाई जानकारी थिएन। दाजुले २०५८ मै मरेको भनेर सरजमिन बनाउनु भएछ। सुनसरीको जग्गा बिक्री गरेपछि मात्रै सोधीखोजी गर्दा थाहा भयो,’ उनले भने। आफू जिउँदै हुँदा जालसाजी गरेर मृत्युको सरजमिन गरिएको भन्दै केदारले जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेका छन्। गत वैशाखमा दायर गरिएको मुद्दा विचाराधीन छ। उनले मुद्दामा वडाध्यक्ष पोखरेल र तत्कालीन वडासचिव सूर्यबहादुर थापासहित १० जनालाई प्रतिवादी बनाएका छन्।

केदारका अनुसार उनका बुवा पहलमान बस्नेतका ३ जना श्रीमती थिए। जेठी मायादेवी, माइली विष्णुकुमारी र कान्छी उमादेवीमध्ये उनी उमादेवीका जेठा छोरा हुन्। उनीतर्फका कान्छा पर्शुरामको २०६८ साल फागुनमा मृत्यु भएको थियो। केदारको मृत्यु भएको भनेर कागजात बनाउने भरतबहादुर बस्नेत माइली आमा विष्णुकुमारीका जेठा छोरा हुन्। जेठी मायादेवीलाई विवाहित साइली छोरी भगवतीले लालनपालन र रेखदेख गरेकी थिइन्। मायादेवीको २०४५ भदौमा मृत्यु भएको थियो। जग्गा भगवतीले नै भोगचलन गर्ने सहमति थियो। 

तर, जेठी मायादेवीको नाममा सुनसरीको हाँसपोसा गाविस ८ (ग) को कित्ता नम्बर १५६ को ३ कट्ठा २ धुर र कित्ता नम्बर १५७ को ६ धुर गरी ३ कट्ठा ८ धुर जग्गा एकलौटी बनाउन भरतबहादुरले केदारको मृत्यु भएको सरजमिन गराएका हुन्। जिउँदो भाइ केदारलाई मृत्यु भएको कागज बनाएका उनले आफूतर्फका भाइले भने पहिले नै अंश लिइसकेको उल्लेख गरेका छन्। 

मायादेवीको रेखदेख पनि आफूले नै गरेका कारण त्यो जग्गा उनले भोगचलनका लागि कागज बनाए। सम्पत्ति खाने अंशियारमध्येका एकलाई मृत्यु भएको कागज बनाएपछि सोही कागजातका आधारमा २०७५ सालमा उनले त्यो जग्गा आफ्नो नाममा ल्याएर २०८१ सालमा उनले डेढ कट्ठा जग्गा मोही हक छुट्याएर ७२ लाखमा बिक्री गरेको केदारले बताए।  

जग्गा बिक्री गरेको थाहा पाएपछि सोधीखोजी गर्दा आफ्नो मृत्युको सरजमिन गरेको थाहा भएको उनको भनाइ छ। उनले आफ्नो मृत्युको सरजमिन गर्दा दाजुले आमाको नाम पनि अर्कै लेखेको बताए। विराटनगरको २ नम्बर वडा कार्यालयले २०७५ असोज १७ गते केदार बस्नेतको मृत्यु भइसकेको व्यहोराको सरजमिन मुचुल्का बनाएको थियो। 

सरजमिन मुचुल्कापछि वडा कार्यालयले २०७५ असोज १० गते मालपोत कार्यालय सुनसरी इनरुवालाई सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा जग्गा भरतको नाममा आएको थियो। त्यसको ५ वर्षपछि उनले बिक्री गरेका थिए। वडाध्यक्ष पोखरेलले भने आफू कार्यक्रममा रहेको भन्दै प्रतिक्रिया दिन मानेनन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.