एसईईपछि सीप हातमा रोजगारी साथमा
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनपछि उच्च शिक्षा अध्ययनका लागि कुुन विषय, कहाँ र कसरी पढ्ने ? यसमा विद्यार्थी र अभिभावकबीच खुल्दुली हुनु स्वाभाविकै हो । भर्खरै एसईई उत्तीर्ण अल्लारे उमेरका विद्यार्थीले लहैलहैमा लागेर पढ्ने विषय र शिक्षणसंस्था हचुवामा छान्दा पढाइ ओल्लो घाट न पल्लो तिर भएर हण्डर खाएका धेरै उदाहरण छन् ।
श्रम बजारमा तीव्र प्रतिस्पर्धा भएको आजको विश्वमा हरेक क्षेत्रमा अवसर र चुनौतीहरू थपिँदै गएका छन् । यस्तो बदलिँदो परिवेशको चुनौतीपूर्ण श्रम बजारमा खरो प्रतिस्पर्धा गर्न समयको मागअनुसार अध्ययन विषयको छनोट होस पुर्याउनुपर्छ । प्राविधिक शिक्षाले सीप हातमा रोजगार साथमा भन्ने मान्यतालाई सार्थक बन्छ ।
भर्खर एसईई उत्तीर्ण गरेका युवा उमेरमा प्रवेश उन्मुख जनशक्तिलाई बेलैमा उनीहरूको रुचि, क्षमता र स्वदेश तथा विदेशको श्रम बजारको मागअनुसारको प्राविधिक शिक्षा दिन सक्नुपर्छ । आकर्षण र अवसर प्रदान गर्न सकेमात्र बेरोजगारी समस्याको समाधान हुनेछ । जसले देश विकासमा जुट्ने वातावरण पनि बनाउँछ । हाम्रोजस्तो विकासोन्मुख देशका लागि विभिन्न विधामा उच्च तथा मध्यम कोटीका प्राविधिक ज्ञान भएका जनशक्तिको खाँचो पर्नु स्वाभाविकै हो । समृद्ध नेपाल सुखी नेपाली भन्ने राष्ट्रिय आकांक्षा पूरा गर्न आवश्यक प्राविधिक जनशक्ति उत्पादनतर्फ बेलैमा ध्यान दिनुको विकल्प छैन । नेपालमा पनि प्राविधिक शिक्षाको विकास विस्तारमा तीव्रता आएको पाइन्छ । आर्थिक वर्ष २०८०/८१ देखि सीटीभीटीअन्तर्गतका आंगिक प्राविधिक शिक्षालय प्रदेश सरकार माताहतमा हस्तान्तरण र स्थानीय तहसमेतको साझेदारीमा शिक्षण संस्था सञ्चालनको नीति ल्याएको छ । मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कक्षा ९–१२ को लागि प्राविधिक धारसमेत सञ्चालन गर्दै आएको छ ।
विद्यार्थीको चाहना र क्षमताअनुसारको पठनपाठनलाई व्यवस्थापन कसरी गर्न सकिएला ? शिक्षण संस्था सञ्चालकहरूको चिन्ता र चिन्तनको विषय बन्नुपर्छ । गुणस्तरीय पठनपाठन तर्जुमाका लागि क–कसले के–के भूमिका निर्वाह गर्नुपर्ला ? जस्ता प्रश्नको जवाफ खोज्न विद्यार्थी, अभिभावक शिक्षण संस्था तथा राज्यबीचको सहकार्यबाट गम्भीरतापूर्वक समयमै दूरदर्शी निष्कर्षमा पुग्नुपर्छ । यसका लागि सरकार र सरोकार पक्षले जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न चुक्नु हुँदैन । एसईई पार भएका विद्यार्थीलाई श्रमबजारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउने शिक्षा प्रदान गर्नेतर्फ समयमै आवश्यक सल्लाह र सहयोग गर्न सरकार र सरोकारवाला पक्षले कञ्जुस्याइँ गर्नु हुँदैन ।
जे विषय जहाँ पढे पनि केही मानवीय र अत्यावश्यक साझा गुणको विकास गर्न भने चुक्नु हुन्न । जसमा सिर्जनशील, लगनशील, सीपयुक्त, स्मार्ट, ऊर्जावान्, लगनशील, नेतृत्व क्षमता भएको, टीमवर्क गर्न सिपालु, प्रभावकारी सञ्चार कला भएको, समयको व्यवस्थापन गर्न सक्ने उत्साही तथा आत्मविश्वासी व्यक्तिले हरेक क्षेत्रमा सफलता चुम्न सक्छ भन्ने तर्फ हेक्का राख्नु जरुरी छ ।
विद्यार्थी आफैंलाई मात्र आफ्नो खुबी यथार्थमा थाहा हुन्छ । त्यसकारण आफूले कक्षा १ देखि १० सम्म पढेको अनुभवका आधारमा मात्र उच्च शिक्षाका लागि विषय छान्ने निर्णय गर्नुपर्छ । कुनै पनि विषय सानो हुँदैन । आफूले पढेको विषयमा सतही ज्ञान मात्र नगरेर विशेषज्ञता हासिल गर्नुपर्छ । भविष्यमा अपनाउने पेसा, त्यसका लागि श्रमबजारको माग तथा आफूले छानेको विषय पढ्न चाहिने लगानी, समयावधि, आर्थिक क्षमता आदिका बारेमा यथार्थपरक भएर गम्भीर विश्लेषण गर्नुका साथै अभिभावकसँग धक फुकाएर छलफल गरेर मात्र पढ्ने विषय र शिक्षण संस्था छनोटको निष्कर्षमा पुग्नु बुद्धिमानी कदम हो ।
अभिभावकलाई विद्यार्थीको चालचलन, योग्यता र क्षमताबारे अरूलाई भन्दा बढी थाहा हुन्छ । छोराछोरीको इच्छाविपरीतका विषय जबर्जस्ती पढ्न लाउँदा निरन्तर असफलताका कारण मानसिक तनावले आत्महत्यासमेतका अप्रिय घटना हुने गरेको पाइन्छ । त्यसकारण छोराछोरीको क्षमता र रुचिअनुसारको विषय छनोट गर्न बाबुआमाले मित्रवत् सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूको भावनाको कदर गर्दै अध्ययन गरेको विषयगत उपलब्धिहरूको आधारमा मात्रै विषय छनोट गर्न प्रोत्साहित गरिनुपर्छ । जसले गर्दा भविष्यमा आफूले पढेको विषयमा विशेषज्ञता हासिल गर्न उनीहरू सक्षम होउन् । छोराछोरीको विगतको शैक्षिक उपलब्धि पृष्ठभूमि जान्न शिक्षण संस्थासँग सम्पर्क गरेमा अझ सार्थक हुन्छ । त्यस्तै एक जिम्मेवार अभिभावकले आर्थिक हैसियतलाई ख्याल गर्दै पढाउने शिक्षण संस्थाको प्रचारप्रसारको वास्तविक धरातलसमेतको अध्ययन अवलोकन गरेर मात्र शिक्षण संस्था छनोट गरेका खण्डमा पछि पछुताउनु नपर्ला ।
शिक्षा प्रदान गर्ने सामाजिक एवं परोपकारी दायित्व लिएका शिक्षण संस्थाले पनि साधनस्रोत र शैक्षिक उपलब्धिको हैसियतबारे पारदर्शी रूपमा नढाँटी इमान्दारीपूर्वक जानकारी गराउनुपर्छ । किनकि मानवीय संसाधन विकास गर्ने अभिभारा लिएकाले यदि त्यसमा हेलचेक्याइँ भएमा व्यक्ति समाज र अन्ततोगत्वा देशलाई नै धोका दिएको ठहर्छ । त्यसकारण त्यस्तो दूरगामी असर पार्ने शिक्षण संस्थाले क्षणिक लाभका लागि बेइमानी गरेमा प्रकारान्तरमा स्वयंका लागि आत्मघाती कदम नहोला भन्न सकिन्न । अतः प्रचलित नीति नियमलाई इमान्दारीपूर्वक अनुसरण गरी कुशल व्यवस्थापन गर्ने शिक्षण संस्थाले निश्चय नै भविष्यमा ख्याति कमाउन सफल हुन्छ । सार्थक दूरदर्शी सोच राखेरमात्रै अनुशासित वातावरणमा शिक्षणसंस्था सञ्चालन गर्नुपर्छ । भनिन्छ, बाली लगाउन कम्तीमा ६ महिनाको, फलफूल रोप्न १० वर्षको र मान्छेलाई शिक्षित बनाएर सफल नागरिक बनाउन एक सय वर्षको योजना बनाउनुपर्छ ।
संस्थाले लक्ष्य निर्विवाद हासिल गर्न व्यवस्थापनलाई चुस्त–दुरुस्त राख्दै सेवाग्राहीको विश्वास जित्नुपर्छ । विद्यार्थी, शिक्षक, अभिभावकको आस्था र विश्वासको केन्द्रको रूपमा संस्थालाई स्थापित गर्ने लक्ष्यबाट संस्था निर्देशित हुनुपर्छ । विद्यार्थीको भविष्यलाई सर्वोपरि मानेर शैक्षणिक कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ । त्यसका लागि राज्यको सहयोग र सकारात्मक नीति नियम अपरिहार्य हुन्छ ।
गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था राज्य तथा शिक्षणसंस्थाले गर्नका साथै अन्य सरकारी गैरसरकारी र राष्ट्रिय, अन्तर्राष्ट्रिय बिभिन्न निकायबाट प्रदान गरिने छात्रवृत्तिबारे यथार्थ जानकारी सहज रूपमा सबैलाई उपलब्ध हुने व्यवस्था गर्नुपर्छ । सञ्चालित उच्च माविहरूको संख्यात्मक तथा गुणात्मक अवस्थाको अनुगमन निरीक्षणलाई सशक्त बनाउनुपर्ने देखिन्छ ।
तोकिएका सेवासर्तअनुसार विद्यालय सञ्चालन भएका छन् कि छैनन् ? निरन्तर अनुगमन अपरिहार्य हुन्छ । शुल्कको पारदर्शिता एवं औचित्य पुष्टि गराउने व्यवस्था हुनुपर्छ । विद्यालयलाई विद्यार्थीको उपलब्धिप्रति जवाफदेही बनाउन राज्य र स्वयं सेवाग्राही चनाखो हुनुपर्छ । विद्यार्थीलाई कहरले भन्दा पनि रहरले पढ्ने विषय र शिक्षण संस्थामा भर्ना गर्नु बुद्धिमानी हुन्छ ।
कार्की, नेपाल सरकारका पूर्वउपसचिव हुन् ।
प्रतिक्रिया दिनुहोस !