के हो ? प्रि–मेन्सुरल सिन्ड्रोम ?

के हो ? प्रि–मेन्सुरल सिन्ड्रोम ?

महिनावारी सुरु हुनुभन्दा केही दिन अगाडिदेखि नै केही किशोरीहरूलाई रिस उठ्ने, पेट दुख्ने, निद्रा नलाग्ने वा मन शान्त नहुनेजस्ता समस्याहरू आउँछन् । धेरैजसो यस्ता अवस्था सामान्य रूपमा ‘मुड अफ छ’ भनेर बेवास्ता गरिन्छ । वा अब महिनावारी हुनका लागि यस्तो भएको हो भनेर लिने गरिन्छ । यसलाई प्रि–मेन्सुरल सिन्ड्रोम (पीएमएस) भन्ने गरिन्छ । यसलाई शारीरिक परिवर्तन वा प्रक्रियासँग जोडिएको शारीरिक–मनोवैज्ञानिक समस्याका रूपमा लिन सकिन्छ । सामान्यतया महिनावारी सुरु हुनुभन्दा ५–६ दिन अगाडिदेखि केही शारीरिक, मानसिक र व्यावहारिक लक्षणहरू देखिन्छन्, जुन महिनावारी सुरु भएसँगै हराउन थाल्छ । यो विशेषगरी प्रजनन उमेरका महिला तथा किशोरीहरूमा देखिने समस्या हो, जुन हार्मोनका उतारचढावसँग जोडिएको हुन्छ ।

सामान्यता एकाग्रता हुन नसक्ने, रिस उठ्ने, चिडचिडापन हुने जस्ता मानसिक परिवर्तन हुने हुन्छ । यस अवस्थामा चिन्ता, तनाव, आत्मग्लानी हुने तथा एक्लोपन महसुसजस्ता परिवर्तन आउने हुन्छ । त्यस्तै स्तन दुख्ने, पेट दुख्ने, कब्जियत हुने, पेट फुलेको जस्तो हुने, खान मन नलाग्ने समस्याहरू देखिन सक्छ । कसैकसैलाई टाउको वा कम्मर दुख्ने, थकान महसुस हुने, निद्रा नलाग्नेजस्ता समस्या पनि देखा पर्न सक्छ ।

यस्ता समस्याहरूबाट अधिकांश किशोरीहरू पीडित रहेको अध्ययनहरूले देखाएको छ । काठमाडौंका केही विद्यालयहरूमा अध्ययनरत ११ वर्षदेखि १६ वर्षसम्मका छात्राहरूमा प्रतिमा मानन्धर र लिजना न्यौपानेले गरिएको यससम्बन्धी एक अध्ययन गरेका थिए । सन् २०२२ मा १ सय ५० जना किशोरीमा गरिएको सो अध्ययनले १ सय ५० मध्ये ८४ प्रतिशतले प्रि–मेन्सुरल सिन्ड्रोम (पीएमएस) का लक्षणहरू अनुभव गरेको बताएका थिए । तीमध्ये झन्डै २४ प्रतिशतमा गम्भीर, र ५ प्रतिशतभन्दा बढीमा अत्यन्त गम्भीर लक्षण देखिएको थियो । त्यस्तै, मोरङ जिल्लामा १३–१९ वर्षका किशोरीमाथि गरिएको अर्को अध्ययनले ५७.७ प्रतिशतमा प्रि–मेन्सुरल सिन्ड्रोम (पीएमएस) को लक्षण देखिएको पाइएको देखायो । यस अध्ययनले अनुसार ९० प्रतिशतभन्दा बढी किशोरीलाई पीएमएस के हो भन्नेसमेत थाहा नभएको देखायो ।

स्वास्थ्यका विद्यार्थीहरू समेतले पीएमएसको समस्याबाट पीडित रहेको अध्ययनहरूले देखाएको छ । सन् २०१९ को अप्रिलदेखि जुनसम्ममा तीन महिना लगाएर कलेज अफ मेडिसिन एन्ड कलेज अफ नर्सिङ अफ नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्समा गरिएको एक अध्ययनले ७२ दशमलव ३ प्रतिशत छात्राहरूले पीएमएस महसुस गरेको पुष्टि गरेको छ । समाजले अझै पनि महिनावारीजस्ता विषयहरू लाज मान्ने र लुकाउने विषय ठानिरहँदा, यसले किशोरीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा गहिरो असर पारिरहेको अध्ययनहरूबाट स्पष्ट भएको छ ।

अहिलेसम्मको अध्ययनले पीएमएस किन हुन्छ भन्नेमा एक मत छैन । तर केही तथ्यहरू चाहिँ छन् । यसमा मुख्यतया हर्मोनहरूको उतारचढाव वा असन्तुलन नै प्रमुख मानिन्छ । महिनावारी चक्रको दोस्रो चरणमा इस्ट्रोजेन र प्रोजेस्टेरोन नामका दुई प्रमुख हार्मोनहरूमा ठूलो उतारचढाव हुन्छ । यी हार्मोनहरू शरीरको मात्र होइन, मस्तिष्कमा हुने न्युरो–केमिकल परिवर्तनहरूमा पनि प्रभाव पार्छन् । विशेष गरेर सेरोटोनिननामक न्युरोट्रान्समिटरमा असर गर्दा मुड, निद्रा, भोक, रिस आदि नियन्त्रित हुन गाह्रो हुन्छ । सेरोटोनिन कम हुँदा मानिसहरूमा उदासीनता तथा चिडचिडापन बढ्ने, थकान महसुस हुने, निद्रा नलाग्ने वा अत्यधिक लाग्ने हुन्छ । यो पीएमएसको प्रमुख लक्षण हो ।

त्यस्तै, कतिपय व्यक्तिहरूमा यो वंशानुगत पनि हुने गरेको पाइएको छ । यदि आमा वा दिदीबहिनीमा पीएमएस थियो भने अर्को पुस्तामा पनि हुने सम्भावना बढी हुन्छ । अध्ययनहरूले पीएमएस हुनुमा जीवनशैली र खानपानको भूमिका पनि औंल्याएका छन् । अत्यधिक नुन, चिनी, क्याफिन, वा जंक फुड सेवनले लक्षणहरू झन तीव्र बनाएको देखाएको छ । नियमित व्यायामको अभाव, अस्वस्थ निद्रा चक्र वा तनावपूर्ण जीवनशैलीले पनि हार्मोन असन्तुलन पनि बढाउँछ । पहिलेदेखि नै मानसिक समस्यामा रहेका किशोरीहरूमा यसले अझ बढी पिरोल्ने हुन्छ ।

पीएमएस हुँदैमा आत्तिनु पर्दैन । सामान्यतयाः दैनिक १५ देखि ३० मिनेट नियमित व्यायाम गर्ने तथा खानपिनमा ध्यान पुर्‍याउन सके समस्या कम हुने देखिएको छ । फलफूल तथा फाइबरयुक्त खानेकुरा बढी खाने, चिनी तथा नुन कम खाने, क्याफिन तथा जंक फुड नखाने गर्नाले पीएमएसको जोखिम घट्ने हुन्छ । त्यस्तै आराम तथा सुत्ने समय नियमित बनाउनु पर्छ । यस्तो समस्या भएमा अभिभावक, शिक्षक तथा साथीहरूसँग सेयर गर्ने र सहयोगको वातावरण बनाउनु जरुरी हुन्छ । यो ‘लाज वा डरको कुरा’ होइन, स्वाभाविक र सामान्य अवस्था हो भन्ने बुझाउनु पर्छ । दुखाइ धेरै भए तातो रबर ब्यागले सेक्ने, झोल कुरा बढी सेवन गर्ने तथा केही दुखाइ कम गर्ने औषधिहरू पनि खान सकिन्छ । तर यसैको कारण विद्यालय जान नसक्ने, गम्भीर मानसिक असन्तुलन भए वा डिप्रेसन भए, चिकित्सकको परामर्श लिन आवश्यक हुन्छ । अझै पनि ‘१० किशोरीमध्ये ८ जना पीएमएसबाट प्रभावित छन् । बोल्न नसकेर होइन, बुझ्न नसकेर चुप छन् ।’ उनीहरूका लागि खुल्ला संवाद, सहज वातावरण र सचेतना संवाहक हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.