भोटेकोशीमा बाढी
त्रिशूलीको भंगालोमा फसेका वृद्ध दम्पत्ती भन्छन् - बाँच्ने आशा मरिसकेको थियो,पुर्नजन्म पाइयो
नुवाकोट : त्रिशूली नदीमा आएको बाढीमा फसेका वृद्ध दम्पत्तीको उद्धार गरिएको छ । बाढीमा फसेको करिब तीन घण्टापछि नेपाली सेनाको हेलिकोप्टरले उनीहरूको उद्दार गरेको हो। उद्धार हुनु अघिसम्म उनीहरू सिसौंको रुखमै थिए। नदीमा एक्कासी बाढी आएपछि जोगिन उनीहरू रुख चढेका थिए।
किस्पाङ गाउँपालिका -४ साल्मे घर भइ हाल नुवाकोटको विदुर नगरपालिका- ९ वाह्र नम्बर घुमाउनेमा बस्दै आएका ६० वर्षीय पाल्देन तामाङ र ६७ वर्षीया मंगली तामाङ त्रिशूली नदीमा आएको बाढीमा मंगलबार बिहान तीन घण्टा फसेका थिए।
उनीहरू सिसौंको रुख चढेर तीन घण्टा नदी बिचको भंगालेमा अड्किएका थिए । पछि नेपाली सेनाको हेलिकोप्टरबाट तामाङ दम्पत्तीको उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले बताए । उनका अनुसार उद्धारपछि उनीहरूको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरिएको छ ।
तामाङ दम्पत्ती आठ वर्षदेखि भूकम्पको राहत अनुदानको घर बनाएर विदुर- ९ बाह्र नम्बर घुमाउनेमा बस्दै आएका थिए । बिहान साँढे चार बजे घरबाट नाम्लो र डोको लिएर निस्केका दम्पत्ती त्रिशूली नदीमा बाढीले बगाइ ल्याएको दाउरा संकलन गर्दै थिए। दुवैजना एकसुरले नदीमा दाउरा संकलन गरिरहेका बेला एक्कासीले बाढीले छोपेको पाल्देनले बताए। 'पहिले त बाँच्ने आशा नै थिएन,'उनले भने,'हेलिकोप्टर आयो,दुवैतिरको बगर र डाँडातिर मान्छे देखेपछि केहि आशा पलायो।'जीवनमा आफूहरूले कल्पना नै नगरेको त्रासदी व्यहोर्नुपरेको र पुर्नजीवन पाएको ती दम्पत्तीले बताए।
अस्पतालमा उपचाररत उनकी श्रीमती मंगलीले भने तीन घण्टा लामो त्रासदीले अझैं शरीर कापिरहेको बताइन् । उनले तीन घण्टासम्म सिसौंको रुखमाथि चढेर बस्दा बाँच्ने आशा समेत मरिसकेको सुनाइन्।
उनीहरूको सकुशल उद्धारका लागि सेनाका दुईवटा हेलिकोप्टर परिचालन गरिएको थियो । त्रिशूली अस्पतालमा उपचार भइरहेका उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीले बताए ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !


