किराँत सभ्यताको साइनो साल्पा पोखरी
जायजन्म नभएका निःसन्तान जोडीहरू साल्पा पोखरीको दर्शन गर्न गएमा र, त्यस्ता जोडीले दर्शन गर्ने चोखोनितो भई पोखरीमा नुहाएर सन्तानको वर मागेमा सन्तान पाउने विश्वास रहेको छ।
२०७८ सालको १२औं राष्ट्रिय जनगणनाको पछिल्लो तथ्यांकअनुसार देशमा १ सय ४२ जातजाति, १ सय २४ भाषाभाषी र १० धार्मिक समूह रहेका छन् । त्यसरी १२औं राष्ट्रिय जनगणनामा उल्लेख भएका १० धार्मिक समूहमध्ये हिन्दु, किराँत, प्रकृतिपूजक र बौद्ध धर्मावलम्बीहरूको साझा आस्था एवम् धरोहरको केन्द्रका रूपमा रहेको छ, ‘साल्पा पोखरी।’ साल्पा पोखरी नेपालको पूर्वी पहाडी जिल्ला सोलुखुम्बु, भोजपुर, संखुवासभा र खोटाङ जिल्लाको सीमाको रूपमा रहेको छ। त्यसो भए तापनि साल्पा पोखरीको अधिकांश भाग भोजपुर जिल्लाको तत्कालीन दोभाने गाविस वडा नम्बर–८ ले समेटेको, ओगटेको छ। त्यस्तै केही भाग चाहिँ सोलुखुम्बु जिल्लाको गुङ्तेल (गुदेल) ले छोएको छ। खोटाङ जिल्लाले चाहिँ साल्पा पोखरीभन्दा केही तल (वर) र संखुवासभा जिल्लाले केही माथि (पर) मात्रै सीमाको रूपमा छोएको छ। साल्पा पोखरीको पानीको निकास गुङ्तेल (गुदेल) भएर झर्छ।
खासगरी यो पोखरी केवल पानी जमेको सामान्य दह, ताल, तलैया, पोखरीको रूपमात्रै नभएर, नरहेर किराँत महाजातिभित्रका कुलुङलगायत अन्य केही जातिको उत्पत्ति कथा र इतिहाससँग पनि जोडिएको छ। साथै किराँत तथा हिन्दु लोक कथा एवम् कथा–कुथुङ्ग्रीमा पनि साल्पा पोखरी जोडिएर, गाँसिएर आएको देखिन्छ। त्यसो त यो भू–क्षेत्रलाई ऐतिहासिक कालदेखि ‘महाकुलुङ भू–क्षेत्र’ ‘महाकुलुङ भूमि’ अंग्रेजी भाषामा ग्रेटर कुलुङका रूपमा चिनिन्छ। यसरी साल्पा पोखरी रहेको भू–क्षेत्रलाई महाकुलुङ भू–क्षेत्र भन्नु एवम् त्यसरी चिनिनुको प्रमुख कारणमा ऐतिहासिक कालदेखि त्यस भू–क्षेत्रका प्रथम मानवका रूपमा कुलुङ जातिको बसोबास रहनुलाई मान्नुपर्ने हुन्छ। त्यसो त अहिलेको महाकुलुङ गाउँपालिका सोलुखुम्बु जिल्ला, साल्पा सिलिचो गाउँपालिका भोजपुर जिल्ला र सिलोचोङ गाउँपालिका संखुवासभा जिल्लाको अधिकांश भू–भागमा कुलुङ जातिको बसोबास रहेको छ। अझ भएन्, हालको महाकुलुङ गाउँपालिका क्षेत्रभित्र त लगभग ९० प्रतिशतदेखि ९२ प्रतिशत कुलुङ जातिको एकल बसोवास रहेको छ।
यो पोखरी केवल पानी जमेको सामान्य दह, ताल, तलैया, पोखरीको रूपमात्रै नभएर, नरहेर किराँत महाजातिभित्रका कुलुङलगायत अन्य केही जातिको उत्पत्तिा कथा र इतिहाससँग पनि जोडिएको छ।
साल्पा पोखरी ३,४५० मिटर हाराहारीको उचाइमा रहेको छ। यहाँसम्म जानलाई अहिले भोजपुर र खोटाङ हुँदै गरिने मुन्धुम (कुलुङ जातिले मुन्धुमलाई रिदुम भन्छन्) पदमार्ग भएर जान सकिन्छ। त्यस्तै गरेर संखुवासभा जिल्लाको तुम्लिङटारसम्म हवाइजहाजबाट यात्रा गरेर तुम्लिङटार, कात्तिकेघाट, गोथबजार, साल्पाफेदी, जौबारी, चित्रे, कुलू पोङ्खो (साल्पा डाँडा) हुँदै र सोलुखुम्बु जिल्लाको सल्लेरी, सोत्तो (सोताङ), बुङ, छेस्खाम, गुङ्तेल (गुदेल), सनम, त्यू, कुलू पोङ्खो (साल्पा डाँडा) हुँदै एवम् प्रकारले संखुवासभा जिल्लाकै माथिल्लो भेगको बाला, सिसुवा, केन्पा डाँडाको बाटो भएर साल्पा पोखरीको दर्शन गर्न संखुवासभाको माथिल्लो भेगका तीर्थयात्रीहरू आउने गर्छन्।
विश्वका प्रायः सबै देश र ती देशमा बस्ने मानिसको आआफ्नै मूल्य–मान्यताअनुसारका भगवान्, माङ, गड, अल्लाः, देवी, देउता, धार्मिक तथा पवित्रस्थल रहेको हुन्छ नै। साथै ती भगवान, माङ, गड, अल्लाः, देवी, देउता, धार्मिक तथा पवित्रस्थलाई कसरी मान्ने अनि पुज्ने गरिन्छ ? एवम् प्रकारले भगवान, माङ, गड, अल्लाः, देवी, देउता, धार्मिक र पवित्रस्थललाई किन मान्न र पुज्न थालियो ? भन्ने सम्बन्धमा सबैको आ–आफ्नै प्रकारको लोकविश्वास, लोककथा, लोकमान्यता र किंवदन्तीहरू रहेका हुन्छन्।
हो, त्यस्तै साल्पा पोखरीलाई पनि पवित्रस्थलका रूपमा मान्न वा भनौं पुज्न थाल्नुमा दुई तीन प्रकारका लोकविश्वास, लोककथा, लोकमान्यता र किंवदन्ती रहेको छ। जस्तै कुनै बेला साल्पा र वराह नाम गरिएका दुई जना किराँती चेलीहरू थिए। ती दुई दिदीबहिनीको नाम सालपा र वराह रहेको थियो। उनीहरू त्यो बेला गंगा मैदान आसपासमा बस्थे। तर, रहँदा बस्दा कलिजुग लाग्यो। कलिजुग लागेपछि समय पनि खराब हुँदै गयो। त्यसैले ती दिदी र बहिनीले गंगा मैदान छाडेर पवित्रस्थलको खोजी गर्दै हिमालयतर्फ लागे। सोही क्रममा दिदी (साल्पा) अघिअघि, बहिनी (वराह) पछिपछि आउँदै थिए। बहिनी (वराह)ले दिदी साल्पालाई पछिपघि पछ्याउँदै आउने क्रममा बहिनी (वराह) अहिले खोटाङ जिल्लामा पर्ने वराहपोखरी छेउछाउ आइपुग्दा नपुग्दै कलियुगले छोएर बिरामी भैछन्। बहिनी वराहलाई बिरामीले च्यापेपछि त्यही बितिन्।
बहिनी बितेपछि दिदी साल्पा चाहिँ अझ माथितिर लागिन्। त्यसपछि दिदी चाहिँ त्यसरी अझ माथि आउने क्रममा हालको साल्पापोखरी आइपुगेर त्यही बसिन्। उनै किराँती चेली यहाँ बसेपछि साल्पा पोखरीको नाम ‘साल्पा’ रहन गयो। त्यस्तै गरेर महाकुलुङ गाउँपालिका वडा–३ छेस्खाम निवासी केशव सेकछा कुलुुङका अनुसार ‘साल्पा पोखरीको बनावट अलि लाम्चो आकार परेर पूर्वतर्पmबाट फैलिएर पश्चिमतर्फ साँघुरो हुँदै तेर्सो आकारमा रहेको छ। अर्थात् साल्पा पोखरी पूर्वबाट पश्चिमतर्फ अलि खुम्चँदै गएको छ। त्यस्तो आकारको भू–बनोटलाई कुलङ भाषामा ‘स–सल्पा’ भन्ने गरिन्छ। त्यसैले हाल साल्पा पोखरी भने नाम जुन छ, त्यो नाम कुलङ भाषाको नाम ‘स–सल्पा’बाट अपभ्रंश भएर ‘साल्पा’ रहन गएको हो।
हुन त जातीयतामा आधारित (कम्युनल) भएर लेखे जस्तो पनि होला। तापनि वास्तविकता त उजार गर्नैपर्छ कि जस्तो लाग्छ। किनभने, सुरुसुरुमा साल्पा पोखरीमा वैशाख–जेठको पूर्णिमा (उभौली) र कात्तिक–मंसिरको पूिर्णमा (उधौली) मा गरेर वर्षमा दुई पटकमात्रै मेला लाग्ने गथ्र्यो। तर, पछि वर्षमा तीन चोटि मेला लगाउन थालियो। त्यसरी वर्षमा तीन चोटि मेला लगाउँदा वैशाख जेठको पूर्णिमा (उभौली) ताका हुने मेलामा भोजपुर जिल्लाका तीर्थालुहरू बढी आउने एवं ऋषितर्पणी (भदौमा) को बेला लाग्ने मेलामा चाहिँ सोलुखुम्बु जिल्लाका तीर्थालुहरू बढी आउने र कात्तिक–मंसिरको पूिर्णमा (उधौली) ताका लाग्ने मेलामा चाहिँ खोटाङ जिल्लाका तीर्थालुहरू अलि बढी आउने गर्छन्। तीनवटै मेलाको व्यवस्थापन चाहिँ ऊ बेला (तालुकदार÷जिम्मावाल ‘राई !’) प्रथा कायम रहँदासम्म) भोजपुर जिल्लाको तत्कालीन दोभाने गाउँ पञ्चायतका तालुकदार÷जिम्मावाल ‘राई !’ मछिन्द्रबहादुर कुलुङले गर्नुहुन्थ्यो।
यो मेला भर्न जाने तीर्थयात्रीहरूले गाउने प्रसिद्ध लोकगीत ‘सये राजा सये सये सये रानी सये सये’ हो। सो लोकगीतको केही हरफ तल उल्लेख गरिएको छ—
यो साल कोक्रोमा काँक्रो राखी
सन्तान माग्यौं आघौं साल भाकी
सये राजा सये सये सये रानी सये सये।
अर्को साल आउँदा छोराछोरी लिएर आउँछौं
साली–पा माईको सेवामा छौं
सये राजा सये सये सये रानी सये सये।
उठान हैन, बैठानदेखि
वर मागी ल्याउनु गाईथानदेखि
सये राजा सये सये सये रानी सये सये।
सानो नानी कोकरीमा
नुहाइँ जाऔं है पोखरीमा
सये राजा सये सये सये रानी सये सये।
हर बहर गोरु दहायी (दाएर) आउनु
साल्पा माइको ‘मोरछी’ फूल लिएर जानु
सये राजा सये सये सये रानी सये सये।
‘मोरोछी’ ३१—३२ सय मिटर उचाइमा पाइने एक सुगन्धित फूल। जसको नाम नेपाली भाषामा तोलेन्दो रहेको छ। यो फूलको प्रयोग गर्दा (बोक्दा) त्यस व्यक्तिलाई सर्पले टोक्दैन भन्ने विश्वास कुलुङ जातिमा रहेको छ।
गीत साभारः ‘प्रसिद्ध किराँत धार्मिक तथा सांस्कृतिक स्थल साल्पा पोखरी।’ लेखक राजधन मोरोखु कुलुङ।
खासमा नेपालका कुनै पनि देवी, देवता र धार्मिक तीर्थस्थलका सम्बन्धमा आफ्नै खालको जनविश्वास र आस्था प्रकट गर्ने आधार रहेको हुन्छ। त्यस्तै साल्पा पोखरीका बारेमा पनि आम मानिस अर्थात् तीर्थालुहरूमा आफ्नै खाले जनविश्वास एवम् आस्था रहने गरेको छ। जस्तो कि जायजन्म नभएका निःसन्तान जोडीहरू साल्पा पोखरीको दर्शन गर्न गएमा र, त्यस्ता जोडीले दर्शन गर्ने चोखोनितो भई पोखरीमा नुहाएर सन्तानको वर मागेमा सन्तान पाउने विश्वास रहेको छ। त्यसैले त्यस्ता निःसन्तान जोडीहरूले साल्पा पोखरीमा दर्शन गर्न जाने र भाकल गर्ने क्रममा काँक्रोलाई बच्चाको प्रतीक मानेर खाली कोक्रोमा हालेर लगिन्छ। काँक्रोलाई बच्चाको प्रतीक मानेर त्यसरी खाली कोक्रोमा हालेर साल्पा पोखरी लगेपछि साँच्चै बच्चा हुने आम जनविश्वास रहेको छ। त्यसरी साल्पामा मागेर जन्मेको बच्चालाई समय समयमा साल्पा पोखरीमा दर्शन गराउन लानुपर्ने आम मान्यता रहेको छ। साथै बोली नआएको बालबच्चालाई साल्पा पोखरीमा लगेर दर्शन गराए, साल्पा पोखरीको तीन पटक परिक्रमा गराए, त्यस्ता बालबच्चाको बोली फुट्ने, बोल्न सक्ने एवम् साल्पा पोखरीमा जो कोहीले चोखो मनले मागेमा जे मागे पनि पुग्ने जन विश्वास रहेको छ। जस्तै राम्रो जीवन साथी, प्रशस्त सम्पत्ति, धन, दौलत, विवेक, ज्ञान, विद्या मागेमा पूरा हुने र साल्पा पोखरीमा नुहाएपछि आफूले जानाजान अथवा अञ्जानमा गरेका सबै पाप पखालिने र नराम्रा कामको दोषबाट मुक्त हुने जनविश्वास रहेको छ।
साल्पा पोखरीका बारेमा डा. हर्क गुरुङले विषय विविधनामक आफ्नो किताबमा रहेको लेखहरूको संग्रहको खण्ड ‘क’ को अरुण भएर झर्दा शीर्षकको लेखमा लेख्नुभएको छ, ‘सगरमाथा आधार शिविरबाट एक साताको बाटो हिँडेपछि म अरुण नदीदेखि १५ (अंग्रेजीमा १५ लेख्नु भएको छ) किलोमिटर पश्चिम पर्ने फेदीगाउँ आइपुगेँ। मेरो बाटो शेर्पा गाउँहरू र त्यसपछि राईहरू बसोबास गरेका इनखु र होङगुखोला वरिपरिका पहाडहरू भएर आउँथ्यो। फेदीमा म वैशाख पूर्णिमाको बेला आइपुगेको हुनाले त्यहाँ राईका साथै बाहुन र क्षत्रीहरूको पनि विशाल भिड थियो। तिनीहरू पवित्र साल्पा पोखरीको लामो उकालो चढ्ने तर्खर गरिरहेका थिए। मैले ८ मईको दिनरात फेदीमा धामी र फेदङ्माका भाकाहरू, त्यहाँका चालचलन र
तीर्थालुहरूले गाएका अनेक गीतहरू जे जति देखेँ त्यो पहाडी वातावरणमा रहेका हिन्दु खस र जनजाति किराँत संस्कृतिको एउटा संगम थियो।’
माथिको अंश किन राखिएको हो भने, केही व्यक्तिहरू चाहिँ साल्पा पोखरीलाई केवल किराँती समुदायका मानिसहरूको मात्रै आस्थाको केन्द्र रहेको भन्ने आसयले प्रचारप्रसार गर्ने गरेको पाइन्छ। तर, डा. हर्क गुरुङ ज्यूले खुद आफ्नै आँखाले देखेर, साल्पा फेदीमा एक रात बास बसेर उहाँले अनुभव र अनुभूत गरेर हुनाले साल्पा पोखरी केवल किराँती समुदायका मानिसहरूको मात्रै आस्थाको केन्द्र नरहेर नेपालका सबै जातजाति, भाषाभाषी र धार्मिक समूहका मानिसहरूको आस्थको केन्द्र रहेको देखाउँछ।
प्रतिक्रिया दिनुहोस !