शताब्दी पुरुष पुष्पलाल र वामपन्थी एकता
पुष्पलाल भन्नुहुन्थ्यो, सही सिद्धान्तमात्र अवलम्बन गरेर हुँदैन, पार्टीका नीति र विचारलाई आम जनतामाझ पु¥याउन र पार्टीभित्र जनतालाई संगठित गर्न आधारभूत तहसम्म पार्टी संगठनको संरचना विस्तार गर्नुपर्छ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म भएको १०० वर्ष पूरा भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनका शिखर व्यक्तित्व, नयाँ नेपालका स्वप्नद्रष्टा, युगपुरुष तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म १९८१ असार १५ गते रामेछापको भँगेरीमा भएको थियो । उहाँको २०३५ साउन ७ गते निधन भएको थियो । जहानियाँ राणाशासनले आफ्ना दाजु गंगालाललाई मृत्युदण्ड दिएपछि उहाँमा राणाशाहीविरुद्ध घृणा, आक्रोश र विद्रोहको भावना जागृत भयो । उहाँमा अत्याचारी, सामन्ती राणाशासनलाई अन्त्य गर्नुपर्छ भन्ने भावना जागृत भयो ।
राजनीति सुरुवात गर्ने क्रममा पुष्पलालले सुरुमा नेपाली कांग्रेसको सचिव पदमा रहेर काम गर्नु भएको थियो । तर क्रान्तिकारी स्प्रिटअनुसार कांग्रेसले राणाका विरुद्ध संघर्ष गर्न सक्तैन भन्ने निष्कर्ष निकालेर पुष्पलाल कांग्रेस पार्टीबाट अलग हुनुभयो । उहाँले राणाशासनलाई फालेर जनता सार्वभौमसत्ता सम्पन्न भएको गणतन्त्रात्मक शासनव्यवस्था स्थापना गर्ने दृढ अठोट लिनुभयो । माक्र्सवादको अध्ययन गर्दै पहिलोपटक घोषणापत्रको भूमिकासहित कम्युनिस्ट घोषणापत्र नेपालीमा अनुवाद गरेर प्रकाशन गर्ने काम गर्नु भएको थियो । यसपछि घोषणापत्रको प्रकाशनसँगै उहाँमा कम्युनिस्ट
पार्टी स्थापना गर्नुपर्छ भावना जागृत भयो ।
देशभित्र राणाशासनको दबदबा भएका कारण खुल्ला रूपमा पार्टी स्थापना गर्न सम्भव थिएन । त्यसपछि भारतको कोलकातामा गएर २००६ वैशाख १० मा पुष्पलालले आफूसहित निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी रहेको नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभयोे । जसको मुख्य लक्ष्यमा सामन्तवाद र साम्राज्यवादको जुवा भाँचेर समाजवादी गणतन्त्र स्थापना गर्ने थियोे । यसरी पुष्पलालको अगुवाइमा सुरुवात भएको सामन्तवाद एवं साम्राज्यवाद विरोधी ५७ वर्ष लामो आन्दोलनको परिणामस्वरूप २०६३ सालमा मुलुकमा उहाँले देखेको सपना पूरा भयो र गणतन्त्र स्थापना गर्न सम्भव भयो ।
पुष्पलाल नेपालमा माक्र्सवादी विचार फैलाउने पहिलो व्यक्तित्व हो । उहाँले नेपाली कम्युनिस्ट आन्दोलनमा पु¥याएको योगदान ऐतिहासिक एवं विशिष्ट महत्वको छ । उहाँका योगदान निम्न छन्ः– पहिलो, पुष्पलालले नै पहिलोपटक २००५ सालमा कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवाद गरेर माक्र्सवादी विचार फैलाउने काम गरे । दोस्रो, पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टी स्थापना गरेर शोषित, पीडित जनताको मुक्तिका लागि वैज्ञानिक समाजवाद स्थापना गर्ने बाटो देखाउने काम भयो ।
तेस्रो, पुष्पलालले नेपाली समाजको ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा विश्लेषण गरेर सामन्तवाद विरोधी आन्दोलनलाई अगाडि बढाउन नेपाली समाजको चरित्र निरूपण गर्दै आधारभूत अन्तरविरोध र प्रधान अन्तरविरोधको निर्धारण र नेपाली क्रान्तिको बाटो, क्रान्तिका शत्रु र मित्र शक्ति, सामन्तवादविरुद्धको संयुक्त जनआन्दोलनको कार्यनीतिका बारेमा नीति निर्धारण गरेर नेपाली क्रान्तिको सिद्धान्त प्रतिपादन गरेर सामन्तवाद विरोधी आन्दोलनलाई दिशाबोध गर्दै वैचारिक नेतृत्व प्रदान गर्ने काम पुष्पलालबाट भयो । चौथो, पुष्पलालले नेपाली क्रान्तिलाई अगाडि बढाउन निरंकुश राजतन्त्रको अन्त्यका लागि वाम एवं लोकतान्त्रिक शक्तिहरू मिलेर संयुक्त जनआन्दोलनको कार्यनीति अगाडि सार्नु भएको आधारमा त्यसैको परिणामस्वरूप २०६२–६३ मा सर्वहारा श्रमजीवी वर्गको अग्रदूत कम्युनिस्ट पार्टी र लोकतान्त्रिक राजनीतिक शक्तिहरूको संयुक्त आन्दोलनबाट नेपालमा सामन्ती राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापना गर्न सम्भव भयो ।
पाँचौं, पुष्पलालले कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी पार्टीका रूपमा अगाडि बढाउन तीन ‘स’ अर्थात् ‘सिद्धान्त, संगठन र संघर्ष’को सिद्धान्तबाट निर्देशित भएर पार्टी सञ्चालन गर्न हमेशा जोड दिनुभएको छ । कम्युनिस्ट पार्टीले माक्र्सवाद–लेनिनवादका सार्वभौम सिद्धान्त र सत्यतालाई दृढतापूर्वक आत्मसात् गर्ने र कार्यकर्तालाई तदनुरूप माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट प्रेरित गर्नुपर्छ भन्ने मान्यतामा पुष्पलाल दृढ हुनुहुन्थ्यो । कुनै पनि वस्तु स्थायी छैन, सबै गतिशील छन् । दुनियाँमा निरन्तर प्रगति भइरहन्छ । उत्पादनका साधनमा प्रगति भएपछि विचारधारामा पनि क्रान्ति हुन्छ । यसले गर्दा नयाँ र पुरानो विचारधाराका क्षेत्रमा पनि संघर्ष हुन्छ । यसको सही समाधान माक्र्सवाद–लेनिनवादले मात्र गर्छ । पार्टीको सिद्धान्त, नीति, विचारमा कार्यकर्ता अस्पष्ट भएमा पार्टीको क्रान्तिकारीपन भुत्ते हुन्छ । अतः पार्टीले माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई दृढतापूर्वक आत्मसात् गर्दै कार्यकर्तालाई दीक्षित गरेमात्र पार्टी सैद्धान्तिक, वैचारिक हिसाबले क्रान्तिकारी बन्छ भन्ने पुष्पलालका विचार अहिले पनि सामयिक छन् ।
छैटौं, पुष्पलालले कम्युनिस्ट पार्टी निर्माणका बारेमा महŒवपूर्ण विचार प्रदान गर्नु भएको छ । उहाँले पार्टीले सही सिद्धान्तमात्र अवलम्बन गरेर हुँदैन, पार्टीका नीति र विचारलाई आम जनतामाझ पु¥याउन र पार्टीभित्र जनतालाई संगठित गर्न आधारभूत तहसम्म पार्टी संगठनको संरचना विस्तार गर्नुपर्छ भन्ने विचार अगाडि सार्नुभएको छ । पार्टीमा आधारभूत तहका मानिस, मजदुर, किसान, सुकुम्बासी, गरिब किसान तथा निम्न मध्यम वर्गका मानिसलाई भर्ती गर्न सकिएन भने तथा पार्टीभित्र पुँजीवादी, धनी किसान र सहर बजारका मध्यमवर्गका मानिसको संख्या बढ्छ । त्यसो भयो भने नेतृत्वमा उनीहरू नै चाँडो पुग्छन् र पार्टीमा अवसरवादी र संशोधनवादीहरूको बाहुल्य बढ्न थाल्छ भन्ने विषयमा पुष्पलालले स्पष्ट विचार अगाडि सारेका छन् ।
सातौं, पुष्पलाल ‘नेता प्रधान होइन, नीति प्रधान हो’ भनेर हमेशा जोड दिने नेता हो । कम्युनिस्ट पार्टीमा प्रायः व्यक्ति पार्टीको नीति वा सत्यका पक्षमा भन्दा पनि शक्ति र नेताको पछि लाग्छन् । पार्टीभित्र गुटबन्दी बढ्दै गएपछि व्यक्तिहरू नेताको पछि लाग्ने र अमुक नेतालाई देवत्वकरण गर्ने गलत प्रवृत्ति छ । आठौं, पुष्पलाल कम्युनिस्ट पार्टीलाई जनवादी केन्द्रीयताका आधारमा सञ्चालन गर्न र पार्टीभित्र आलोचना–आत्मालोचनाको परिपाटीलाई स्थापित गर्न हमेसा जोड दिने नेता हुनुहुन्थ्यो र पिठ्यूँ पछाडि पार्टी र नेतृत्वको कुरा काट्ने कदापि गर्नुहुन्न । विचार र पद्धति तथा पार्टी परम्पराबाट पार्टी सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा अडिग पुष्पलालले पार्टी पद्धति भनेको जनवादी केन्द्रीयताको पद्धति हो । यी तराजुका दुई पल्ला झैं हमेसा यिनको बराबर सन्तुलित अभ्यास पार्टीभित्र गरिनुपर्छ भन्नुभयो । यसमा बेथिति वा असन्तुलन आएमा पार्टी जीवनमै बेथिति देखा पर्छ र यसले पार्टीमा निरंकुशता, स्वेच्छाचारिता र अराजकता सिर्जना गर्छ भनेर विचार पुष्पलाल अगाडि सार्नु भएको थियोे ।
पुष्पलालले पार्टीभित्र देखा परेको दक्षिणपन्थी अवसरवाद र राजापरस्त लाइनको दृढतापूर्वक विरोध गर्दै तेस्रो महाधिवेशनबाट विद्रोह र पुनर्गठन गरेर पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन नेतृत्व गर्नुभयो । पुष्पलालले पार्टीभित्र दक्षिणपन्थी अवसरवाद र राजापरस्त नीतिका सामु आत्मसमर्पण नगरीकन विद्रोह र पुनर्गठनको बाटोबाट कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाएकै परिणामस्वरूप आज नेपालमा कम्युनिस्ट आन्दोलनको जुन विकास र विस्तार भएको छ, यसमा पुष्पलालको ठूलो योगदान रहेको छ । उहाँले स्थापना गरेको एउटै मात्र कम्युनिस्ट पार्टी अहिले ७६ वर्षमा आइपुग्दा सानाठूला गरी दुई दर्जनभन्दा बढी कम्युनिस्ट पार्टी क्रियाशील छन् । कम्युनिस्ट पार्टी स्थापना र सञ्चालनको सैद्धान्तिक वैचारिक आधार भनेको माक्र्सवाद र लेनिनवादी सिद्धान्त नै हो तर पनि कम्युनिस्टहरू विभाजित छन् ।
यतिखेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्दै समाजवादी क्रान्ति गरेर वैज्ञानिक समाजवाद स्थापना गरी नेपाली क्रान्तिलाई पूर्णता प्रदान गर्न पुष्पलालबाट सिक्नुपर्ने थुप्रै विषय छन् । यसैगरी, कम्युनिस्ट आन्दोलनमा देखा परेको दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद, व्यक्तिवाद, अहंकारवाद र सर्वसत्तावादी सोच र चिन्तनका विरुद्ध पनि तीन सको नीतिअनुरूप सञ्चालन गरी पार्टीलाई वैचारिक, सांगठनिक एवं क्रान्तिकारी ढंगबाट पार्टी सञ्चालन गर्ने आवश्यक छ । पुष्पलाल मध्यम वर्गको परिवारमा हुर्के पनि कम्युनिस्ट पार्टी स्थापना गरेपछि उहाँमा विकास भएको सर्वहारावादी जीवनशैली र क्रान्तिकारी कार्यशैली अनुकरणीय छन् । संसदादी राजनीतिले नेपाली वामपन्थीहरूलाई हिलाम्मे बनाएको छ । जीवनशैली र कार्यशालामा बुर्जुवा वर्गभन्दा भिन्न देखिन छोडेको छ ।
यतिबेला मुलुकका सामु राष्ट्रियताको संरक्षण र संवर्द्धन गर्ने अभिभारा छ । भूराजनीतिक जटिलता, खुल्ला सिमाना, सीमा अतिक्रमण, असमान सन्धि–सम्झौता, गैरनेपालीबाट नेपालमा भइरहेको जनसांख्यिक अतिक्रमण, डरलाग्दो रूपमा नवदासको रूपमा श्रम निर्यात गर्ने सरकारी नीति आदिका कारण मुलुकको राष्ट्रियतामा गम्भीर खालका चुनौती खडा भएका छन् । मुलुकमा गरिबी र बेरोजगारीलाई न्यूनीकरण गरी समृद्धि हासिल गर्ने, स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने तथा समाजवादको आधार निर्माण गर्ने राष्ट्रका सामु रहेका अभिभारा छ । यो अभिभारा पूरा गर्नलाई पुष्पलालले देखाएको बाटोअनुसार समाजवाद स्थापना गर्न पनि वामपन्थीहरू एक ठाउँमा उभिनै पर्छ । यसका लागि सबै वामपन्थी पार्टीका दोस्रो तथा तेस्रो पुस्ताका नेताहरूले वामपन्थी एकताका लागि रोडम्याप बनाउनै पर्छ ।
त्यसैले अब नेपालमा पुष्पलालले देखाएको बाटोबाट अगाडि बढ्न एउटै कम्युनिस्ट केन्द्र स्थापना गर्ने सोचका साथ अगाडि बढ्न आवश्यक छ । यसका लागि सांगठनिक कुशलताका साथ नेतृत्व गर्न सक्ने नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न आवश्यक छ । कम्युनिस्ट पार्टीभित्र एउटै व्यक्तिले निर्विकल्प नेतृत्व गरिरहने विषयले आन्दोलनले गति लिन सक्तैन । अब कम्युनिस्ट पार्टीहरूभित्र पहिलो पुस्ताका नेताहरूको ज्ञान, अनुभव र निर्देशनमा दोस्रो पुस्ताले दैनिक सांगठनिक कामको नेतृत्व गर्ने र पहिलो पुस्ताका नेताहरूले पार्टी कमिटीभित्र स्टेयरिङ कमिटीमा रहेर अभिभावकत्वको भूमिका निर्वाह गर्न कम्युनिस्ट पार्टीहरू तयार हुने हो भने कम्युनिस्टबीच एकताको आधार तयार हुनेछ ।
खनाल, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस !