कसैको भविष्यवाणी कति मिल्छ ? १० प्रतिशत, २० प्रतिशत वा ५० प्रतिशत ? कहिलेकाहीँ मिल्न सक्छ, कहिलेकाहीँ नमिल्न पनि सक्छ । तर, एक जना त्यस्ता व्यक्ति छन्, जसका भविष्यवाणी ८७ प्रतिशतसम्म मिल्छ । उनका किताबहरू ‘बेस्ट सेलर’ बन्छन् । उनलाई भविष्यविद्, प्रवृत्ति विश्लेषक, स्पिकर, लेखकलगायत थुप्रै नामले चिन्छन् । उनलाई सुन्न विश्वका कहलिएका एप्पल, माइक्रोसफ्टजस्ता मल्टिनेसनल कम्पनीहरू आतुर हुन्छन् ।
उनी भन्छन्, ‘म भविष्यबारे काम गर्छु । तर, धेरैजसो मानिसहरू भविष्य चाहँदैनन् । उनीहरू चाहन्छन् कि उनीहरूको जीवन आगामी वर्षहरूमा सहज रूपमा बितोस् । तर, त्यो सम्भव छैन । किनभने अबको ५० वर्षभित्र त्यति धेरै परिवर्तन हुनेछ, जति अघिल्ला पाँच सय वर्षमा पनि भएको थिएन ।’
उनले आजकल प्रकाशित हुने समाचार शीर्षकहरूका पछाडि लुकेका प्रवृत्तिहरूको अध्ययन गर्छन् । डेटा खोतल्छन् । त्यसबारे गहन अनुसन्धान र विश्लेषण गर्छन् । अनि त्यसैलाई विचारको रूपमा प्रस्तुत गर्छन् । उनको विश्लेषण तथ्यसँग यसरी मेल खान्छ कि उनका पुस्तकहरू लाखौंप्रति बिक्री हुन्छ । र, थुप्रै भाषामा अनुवाद पनि ।
काठमाडौं उपत्यकाको ऐतिहासिक सम्पदा, यहाँको संस्कृति, यहाँका परम्परागत खाना र आध्यात्मिकताले उनलाई धेरै आकर्षित गर्यो। उनी भन्छन्– मेरो ‘इम्प्रेसन’ धेरै राम्रो रह्यो।
हो, तिनै व्यक्ति अर्थात् ६२ वर्षीय एड्जिएड्ज बाकास नेपाल भ्रमणमा आए । हुन त नेपालका बारेमा उनले धेरै पटक सुनेका थिए । युरोपेली मुलुकका रेस्टुराँ र होटेलहरूमा उनले थुप्रै नेपालीहरू भेटेका छन् । विशेषतः पोर्चुगलका रेस्टुराँहरूमा नेपालीहरूको न्यानो आतिथ्यले उनलाई प्रभाव पारेको उनी सम्झन्छन् । प्रवासका तिनै नेपालीहरूले आफ्नो सुन्दर देश घुम्न उनलाई पटकपटक सुझाव दिएको उनी बताउँछन् ।
‘मैले जहाँजहाँ नेपालीहरूसँग भेट्ने मौका पाएँ, उनीहरू सबैले मलाई नेपाल घुम्न जान सल्लाह दिए । म त खुला दिलको मान्छे । यति धेरै आग्रह भएपछि मैले त्यो अवसरलाई गुमाउन चाहिनँ,’ एक साताअघि द्वारिकाज होटेलमा ढाका टोपीमा सजिएका बाकासले भने ।
बाकास आफ्नो पछिल्लो किताब ‘ह्यासट्याग फर्वाडिज्म’ (उक्त किताब amazon.in बाट किन्न पाइन्छ) विमोचनका लागि भारत आएका थिए । भारतमा उनको पीआर हेर्ने एजेन्सीका मालिकका श्रीमती (जो नेपाली हुन्)ले पनि ‘फ्लाइटबाट एक घण्टाको दूरी त हो, नेपाल घुमेपछि पुण्य नै कमाउने’ बताएकी थिइन् । नेपाल बसाइँमा उनले पुण्य कमाए त ? यसको ठ्याक्कै जवाफ नदिए पनि नेपालबाट आफू निकै प्रभावित भएको बाकासले बताए । काठमाडौं उपत्यकाको ऐतिहासिक सम्पदा, यहाँको संस्कृति, यहाँका परम्परागत खाना र आध्यात्मिकताले उनलाई धेरै आकर्षित गर्यो ।
‘छोटो समयका लागि म यहाँ घुम्न आएँ । तर, यहाँका धेरै कुराले मलाई साह्रै नै लोभ्यायो । यहाँका मानिस, ऐतिहासिक सम्पदा, खाना साह्रै राम्रो लाग्यो । नेपालको बारेमा मेरो ‘इम्प्रेसन’ धेरै राम्रो रह्यो,’ उनले भने ।

यसअघि कहिल्यै उनको नाम नसुनेको मैले ‘फ्युचरिस्ट’को रूपमा थाहा पाएपछि नेपालको सम्भावनाबारे पनि प्रश्नहरू सोधे । के नेपाल बन्छ ? कुनै बेला हामी पनि विकसित मुलुकका नागरिक बन्न पाउँछौं ? यो मेरोमात्र होइन, सायद आम नेपालीहरूको साझा प्रश्न मैले तेर्साएँ ।
उनले छिट्टै जवाफ दिए, ‘अवश्य बन्छ । अबको ५० वर्षपछि नेपाल पक्कै बन्नेछ ।’ उनको सरल जवाफले म अकमकाएँ । अनि फेरि सोधे, ‘कसरी ?’ त्यसका लागि सही समयमा सही नीति बनाएर अघि बढ्नुपर्ने उनले सुझाए । उनले नेपालमा सम्भावना भएका क्षेत्रहरूका बरेमा बेलिविस्तार नै सुनाए ।
सूचना प्रविधिले मारेको छलाङबारे भारतको उदाहरण दिँदै उनले भने, ‘पश्चिमेली मुलुकमा धेरै मानिसहरू अनलाइनमार्फत काम गर्छन् । हजारौं अमेरिकी नागरिकहरू भारतको हैदरबाद र बैंगलोर ‘सिफ्ट’ भइरहेका छन् । भारतले ती दुवै ठाउँलाई सूचना प्रविधिको केन्द्रको रूपमा विकासमात्र गरेको छैन, विदेशी सीपलाई भित्र्याउने नीति पनि लिएका कारण विदेशीहरू त्यहाँ आएर काम गरेका छन् । हो, नेपालले पनि त्यस्तै खालको सम्भावनाको खोजी गर्नुपर्छ ।’
उनले नेपालमा सम्भावनाको खोजी गर्न र विदेशी सीपलाई भित्र्याउन विशेष जोड नै दिए । ‘होल्यान्ड, जुन मेरो जन्मभूमि पनि हो । त्यहाँ बस्ने आईटी इन्जिनियरलाई नेपाल आएर काम गर्ने वातावरण बनाउनुस् । नेपाली समाज, यहाँको संस्कृति, यहाँको खाना र यहाँको आध्यात्मलाई प्रवद्र्धन गर्नुस् । राम्रो नीति बनाउनुस् । तर, चिन्ता नलिनुस्, नेपाल बन्छ,’ उनले लालमोहर नै लगाइदिए ।
उनको विश्वासपूर्ण उत्तरले म प्रभावित भएँ । उनले मेरो बालबच्चाका बारेमा चासो देखाए । मैले एउटी छोरी छिन् भनेपछि उनले थपे, ‘हो, तपाईंकी छोरीले पक्कै नेपालको विकास देख्नेछिन् ।’
भू—राजनीतिले नेपालमा पारिरहने प्रभावका बारेमा पनि मैले सोधें । किनभने नेपाल सधैं छिमेकी मुलुकहरूको प्रभावमा रहँदै आएको छ । बाकासले यस मामिलामा नेपालले छिमेकीसँग रणनीतिक हिसाबले सम्बन्ध बनाउनुपर्ने बताए ।
उनले उत्तरी छिमेकीको उदहारण दिँदै भने, ‘चीनले तिब्बतमा संसारकै ठूलो ड्याम बनाउँदैछ । जसले भारत र बंगलादेशलाई पूरै प्रभावित बनाउँछ । यस्तो विकासले प्रकृतिमा पनि गम्भीर असर पार्छ । थाइल्यान्ड, कम्बोडिया, लाओस र भियतनामसँग चीनले जस्तो व्यवहार गरिरहेको छ, त्यहाँका जनताले मन पराएका छैनन् ।’ उत्तरतिरको छिमेकीबाट नेपाललाई फाइदाभन्दा बढी बेफाइदा हुन सक्ने उनले संकेत गरे ।
तर, दक्षिणी छिमेकीको उनले खुलेर प्रशंसा गरे । ‘नेपालको सम्बन्ध भारतसँग धेरै पुरानो छ । भारत र नेपालबीच सांस्कृतिक र ऐतिहासिक सम्बन्धमात्रै होइन, दुई देशबीच भावनात्मक सम्बन्ध पनि छ । भारत अहिले विश्वको तेस्रो ठूलो आर्थिक वृद्धिदर भएको देश पनि हो । पर्यटनलगायतका क्षेत्रमा सहकार्य गरेमा नेपाललाई लाभ हुन्छ,’ उनले भने ।
तर, नेपालको समग्र विकासको नजरियाबाट छिमेकीसँग सम्बन्धन बनाउनुपर्ने उनको सुझाव छ । ‘नेपालको विकासमा छिमेकीको भूमिका महत्र्वपूर्ण हुन्छ । यदि सकारात्मक भूमिका छैन भने, छिमेकीलाई गम्भीरताका साथ लिन जरुरी
छैन,’ उनले भने ।
बाकास विश्व ट्रेन्डका बारेमा ख्याति कमाएका विश्लेषक हुन् । नेपालमा पनि पछिल्लो समय राजा फर्किने र नफर्किने विषय ट्रेन्डिङमा छ । मैले उनलाई सोधे, ‘नेपालमा राजतन्त्र फर्किन्छ ? राजा आउने सम्भावना देख्नुहुन्छ ?’ ‘मलाई त्यस्तो लाग्दैन,’ यसपटक पनि उनले फ्याट्टै जवाफ दिए ।
‘कसरी ?’ मेरो प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘यहाँ राजतन्त्रले काम गर्छ त ?’ म मौन बसेँ । ‘राजतन्त्रले काम गर्छ भने आउँछ । गर्दैन भने आउँदैन,’ उनले ढुक्कसाथ भने, ‘मेरो देशमा राजतन्त्रले काम गरिरहेको छ । भुटानमा पनि यसले काम गर्छ । तर, नेपालमा गर्दैन ।’
‘झन्डै दुई दशकदेखि नेपालमा लोकतन्त्रले काम गरिरहेको छ त ? अनि फेरि व्यवस्था परिवर्तन किन ?’ उनको प्रश्नमा मैले जवाफ दिएँ, ‘राजनीतिबाट जनता दिक्क छन् नि त । युवा पुस्ताहरूमा पनि राजनीतिप्रतिको वितृष्णा बढ्दो छ ।’ मेरो जवाफ सुनेर बाकास एकछिन सोच्न बाध्य भए । ‘त्यस्तो छ भने राजनीतिक अवस्थाचाहिँ सुधार्नुपर्छ,’ उनले भने । तर, उनी अझै निश्चिन्त भन्छन्, ‘नेपालमा अब राजतन्त्रले काम गर्दैन ।’
प्रविधि, कृषि र आध्यात्मिकको सम्भावना

नेपालको भविष्यबारे कुरा गर्दै बाकासले कृषिमा रहेको अपार सम्भावनालाई विशेष रूपमा जोड दिए । उनले चीनको भूगोलसँग तुलना गर्दै भने, ‘चीनसँग जम्मा २० प्रतिशत समथर जमिन छ, बाँकी सबै पहाडी भूभाग हो । तैपनि ऊ विकसित मुलुक बनेको छ । नेपालमा पनि उर्वर खेतीयोग्य जमिन छ ।’
बाकासको विचारमा नेपालको समृद्धिको प्रमुख आधार कृषि हुन सक्छ, यदि त्यसमा प्रविधिको प्रयोग गरियो भने । ‘नेपालका किसानले प्रविधि भित्र्याएर खेती गर्नुपर्छ । चिनियाँहरू प्रविधिका कारण अघि बढे, भारत पनि त्यही बाटोमा छ । मैले भारतमा पनि कृषि क्षेत्रमार्फत विकास सम्भव छ भन्दै आएको छु । त्यो कुरा नेपालमा पनि लागू हुन्छ,’ उनले भने ।
कृषि पेसालाई आगामी पुस्तामा हस्तान्तरण पनि गर्दै लैजानुपर्ने उनको राय छ । ‘हामीले आफ्ना बालबालिकालाई पनि किसानी काममा संलग्न गराउनुपर्छ । किसान बनाउने संस्कार आवश्यक छ । किनभने अबको युगमा एआईले धेरै मानिसको जागिर खोस्न सक्छ । तर, कृषि र माटोमै आधारित पेसाहरू अझै टिकाउ छन्,’ उनले भने ।
नेपालको आध्यात्मिक पक्षबारे बोल्दै उनले ध्यान र योगमार्फत देशले उल्लेखनीय फाइदा उठाउन सक्ने बताए । ‘नेपालमा मेडिटेसन र योगामार्फत धेरै पर्यटक भित्र्याउन सकिन्छ । ताइवान, हङकङ, थाइल्यान्डसँगै नेपाल पनि एसियामा आध्यात्मिक पर्यटनको अब बन्न सक्ने सम्भावना बोकेको देश हो,’ उनले भने ।
उनले नेपालको सांस्कृतिक विविधता र विशेष पर्वहरूको पनि प्रशंसा गरे । ‘विश्वमा नेपाल एउटामात्र देश हो, जहाँ कुकुरहरूको सम्मानमा पर्व मनाइन्छ । कुकुर तिहार मानव र जनावरबीचको सह–अस्तित्वको अद्भूत प्रतीक हो । यो पर्वलाई विश्वस्तरमा प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने । नेपालले पशुप्रति देखाएको समर्पण अनौठो र प्रेरणादायी भएको उनको बुझाइ छ ।
नेपालले अनुसरण गर्नुपर्ने वैश्विक ट्रेन्ड
वर्तमान विश्वमा चलिरहेको तीन ट्रेन्डबारे उनले बताए, जुन नेपालले पनि अनुसरण गर्नुपर्ने उनको भनाइ छ । पहिलो, ‘डेमोग्राफी’ । ‘नेपालमा प्रशस्त युवा जनशक्ति छ, जुन विश्वका धेरै देशसँग छैन । विश्वका थोरै देशमात्रै छन्, जसले युवा पुस्तामा लगानी गर्छन् । नेपालले पनि युवा जनशक्तिमा लगानी बढाउनुपर्छ’ उनले सुझाव दिए ।
दोस्रो, सूचना प्रविधि । ‘सूचना प्रविधिमा नेपालले अग्रसरता लिनैपर्छ । अहिले धेरै नेपाली युवाहरू विदेश पलायन भइरहेका छन् । तर, उनीहरूले सिकेका सीपलाई नेपालमै प्रयोग गर्न सकिने अवस्था सरकारले बनाउनुपर्छ,’ उनले भने ।
तेस्रो, आध्यात्मिकता । ध्यान र योगको आकर्षण विश्वमै बढ्दो छ । नेपालजस्तो सांस्कृतिक मुलुकलाई यो लहरले नयाँ उचाइ दिन सक्ने उनी भविष्यवाणी गर्छन् ।
एआईको सन्दर्भमा भने उनले चेतावनीपूर्वक दृष्टिकोण राखे । ‘एआईले धेरैको जागिर खोस्न सक्छ, यो सत्य हो । कम्प्युटरमा मैले टाइप गर्न सक्दिनँ, किनभने मेरो हात प्यारालाइज्ड छ । तर, एआईको सहयोगले मैले बोलका कुरा आफैं टाइप हुन्छ । मैले केवल सम्पादन गरे पुग्छ । मैले पुस्तकहरू पनि यही तरिकाले लेखिरहेको छु,’ उनले अनुभव सुनाए ।
प्रविधिमा नेपालको प्रयोगबारे उनले व्यक्तिगत उदाहरण दिए । ‘पेयपल’जस्तो सस्तो र प्रभावकारी बैंकिङ सिस्टम नेपालमा छैन भन्ने कुराले मलाई अचम्म बनायो । मैले यहाँ पैसा तिर्न खोज्दा, पेयपल नभएकाले पाँच प्रतिशतसम्म बढी शुल्क तिर्नुपर्यो, जबकि त्यही काम म पेयपलबाट एक प्रतिशतमै सक्थेँ,’ उनी गम्भीर बने ।

सम्भव छैन तेस्रो विश्वयुद्ध
युद्धप्रति बाकासको दृष्टिकोण अत्यन्तै स्पष्ट छ । त्यसैले त उनी युद्धलाई घृणाको दृष्टिबाट हेर्छन् । उनको भनाइमा, ‘पुरुषहरू युद्ध चाहन्छन्, तर महिलाहरू समाधान ।’ युक्रेन–रूस युद्धको उदाहरण दिँदै उनले भने, ‘त्यो द्वन्द्वबाट पाँच लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । यस्ता युद्धले ती देशले युवा जनशक्ति गुमाउँछन्, जसको असर वर्षौंसम्म रहन्छ ।’
युक्रेन–रूस द्वन्द्वलाई उनले ‘किड्स फाइट’ (बालबालिकाको झगडा) भनेर संज्ञा दिए । ‘स्कुलमा बच्चाहरू जिद्दी गरेर लडेजस्तै उनीहरू लडिरहेका छन्,’ उनी भन्छन् । सबै युद्धलाई संवादमार्फत समाधान गर्न सकिने उनको बुझाइ छ । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा पनि उनले समाधानको सम्भावना देख्छन् ।
‘विश्वभरि चलिरहेको द्वन्द्वले कतै अर्को विश्वयुद्ध निम्त्याइरहेको त छैन ?’ उनी भन्छन्, ‘तेस्रो विश्वयुद्धको सम्भावना म देख्दिनँ । मानिसहरू अगाडि बढ्न चाहन्छन्, युद्धले अगाडि होइन, पछाडि धकेल्छ ।’ उनले दोस्रो विश्वयुद्ध नै अन्तिम रहेको ठोकुवा गरे ।
प्रेरणा र पुस्तक लेखन यात्रा
बाकासलाई धेरै पहिचानले चिनिन्छ, भविष्यविद्, प्रवृत्ति विश्लेषक, वक्ता, लेखक, कथावाचक इत्यादि । ‘तपाईं कुन परियचले बढी चिनिन चाहनुहुन्छ ?’ मेरो प्रश्नमा उनले हाँस्दै भने, ‘म सबै हुँ । तर, सबैभन्दा पहिले म ‘स्टोरी टेलर’ हुँ ।’
आफ्नो यात्राबारे सम्झँदै उनले भने, ‘मैले मास कम्युनिकेसन पढेँ । मेरो प्रोफेसर नै फ्युचरिस्ट हुनुहुन्थ्यो । उहाँले मलाई सूचना संकलन गर्ने, त्यसको वैज्ञानिक विश्लेषण गर्ने र जनसमक्ष सरल तर प्रभावशाली ढंगले प्रस्तुत गर्ने कला सिकाउनुभयो । म पनि त्यही बाटो समातेर हिँडेको महसुस हुन्छ ।’
उनका अनुसार उनका लेख र पुस्तकहरू लोकप्रिय हुनुको कारण विषयवस्तुको गहनता हो । ‘मैले वैज्ञानिक भएजस्तो लेख्न खोजेको होइन, तर लोकप्रिय विज्ञान र मानव जीवनसँग सम्बन्धित विषयमा सरल भाषामा लेख्न खोजेको हो । सायद, त्यसैले मेरा किताबहरू लाखौं मानिसका मन
छुन्छन्,’ उनी भन्छन् ।
आफ्ना विश्लेषणहरू ८७ प्रतिशत मिल्नुको राज खोतल्दै उनी थप्छन्, ‘मैले सत्य भन्छु । कुनै पनि कुरा सतही लेख्दिनँ । गलत प्रचार गर्दिनँ । डेटाले जे देखाउँछ, त्यही विश्लेषण गर्छु ।’ तर, १३ प्रतिशत अझै चुकिरहेकोमा उनलाई दुःख छ । ‘म चाहन्छु, मैले भनेका कुरा शतप्रतिशत साँचो होस् । मेल खाओस् । तर, म पनि मानव हुँ, १३ प्रतिशत गल्तीको छुट मसँग पनि हुनुपर्छ,’ उनी भन्छन् ।
बाकासलाई लाग्छ किताब प्रेरणाका लागि पढिनुपर्छ । किनकि जीवन कति छोटो हुन्छ कसैलाई थाहा हुँदैन । पछिल्लो पुस्तक ‘ह्यासट्याग फर्वाडिज्म’बारे उनी भन्छन्, ‘मानिसहरूले यो किताब प्रेरणाका लागि पढ्नुपर्छ । जीवन कति अनिश्चित छ भन्ने कुरा म स्वयंले भोगेको छु । मलाई दुईपटक स्ट्रोक आएको छ, पाँच पटक क्यान्सर भएको छ । मेरा दुई श्रीमान् पनि क्यान्सरकै कारण बित्नुभयो । म मृत्युलाई दुईचोटि जितेर फर्केको मान्छे हुँ ।’
जीवन, रिस र खुसीको सूत्र
बाकास जीवनलाई जति गहिरो रूपमा हेर्छन्, उति नै हल्का रूपमा बाँच्छन् । उनी भन्छन्, ‘म खुसी रहने प्रयास गर्छु । म रिसाउँछु, तर लामो समय रिसाएर बस्दिनँ । जब रिसाउँछु, म मेरो कुकुरलाई हेर्छु र सम्झन्छु, एक मिनेटको रिसले मेरो शरीरलाई पाँच घण्टा तनावमा राख्छ । त्यसैले इम्युन सिस्टमलाई दुःख दिन चाहन्नँ ।’
उनले एउटा भिडियो देखाए, जहाँ एउटा बच्चा जन्मिन्छ, हुर्कन्छ र एक मिनेटभित्रै ऊ मर्छ पनि । मैले यसको अर्थ बुझ्ने प्रयास गरें । उनले भने, ‘जीवन छोटो छ । त्यसैले खुलेर, रमाएर, अर्थपूर्ण रूपमा बाँच ।’
यौनिक तथा लैंगिक अल्पसंख्यकप्रतिको दृष्टिकोण

बाकासले लैंगिक विविधतालाई खुलेर समर्थन गर्छन् । आफू पनि यौनिक तथा लैंगिक अल्पसंख्यक भएको र त्यो समुदायले भोगेको पीडा देखेर उनी विश्वास गर्छन् कि समावेशिताबिना समाजको पूर्ण विकास सम्भव छैन । ‘आज विश्वका प्रतिष्ठित कम्पनीहरूले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई रोजगारी दिइरहेका छन् । मैले पनि यस्ता संस्थाहरूसँग सहकार्य गर्दै आएको छु,’ उनी भन्छन् ।
उनको बुझाइमा, यस्ता समुदायका मानिसहरू जिम्मेवार, निष्ठावान् र समर्पित हुन्छन् । ‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका आफ्नै सन्तान हुँदैनन् । त्यसैले उनीहरू कामप्रति अझ जिम्मेवार हुन्छन् । तर, तिनीहरूलाई आफ्नै अस्तित्व लुकाएर बाँच्न बाध्य पार्नु अन्याय हो,’ उनी भन्छन् ।
नेपालको प्रसंग निकाल्दै उनले सोधे, ‘यहाँ पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय छन् होला नि । मलाई लाग्छ, उनीहरू यहाँ सम्मानित छन् ।’ मैले नेपालमा अझै पनि त्यो समुदायलाई हेयको दृष्टिले हेर्ने गरेको बताए । उनी छक्क परे । त्यसको दोष उनले शिक्षा प्रणलीलाई दिए । ‘सबैलाई बराबरी अधिकार दिन शिक्षा अपरिहार्य छ । दृष्टिकोण परिवर्तन बिना समानताको कल्पना गर्न सकिँदैन,’ उनी भन्छन् ।
मैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रसंग पनि केलाए । दोस्रोपटक राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले अमेरिकामा ‘महिला र पुरुष’मात्र रहने घोषणा गरेका थिए । ट्रम्पको भनाइमा बाकास सहमति जनाउँछन् । उनी भन्छन्, ‘मानिस त कि महिला कि पुरुष नै हुन् । त्यो महिला र पुरुषभित्रको स्वभावमात्रै परिवर्तन हो, जुन प्रकृतिको वरदान पनि हो । तपाईंलाई महिला मनपर्छ, मलाई पुरुष । त्यसमा लाज मान्नुपर्ने केही छैन ।’
अन्त्यमा,
बाकास एक दिन काठमाडौंको एउटा गहना पसलमा गएका थिए । पसलको मालिकसँगको कुराकानीले उनलाई गहिरो प्रभाव पार्यो । ‘उहाँकी दुई छोरीहरू, एउटी कानुन र अर्की आईटी क्षेत्रमा काम गर्दा रहेछन् । जब मैले उहाँसँग गरगहनाका विषयमा कुरा गरेँ, उहाँको ज्ञान र सीप अद्भुत लाग्यो,’ उनले भने । तर, उनलाई डर पनि के लाग्यो भने त्यो सीप र ज्ञान हस्तान्तरण कसरी गर्ने ? किनकि त्यो ज्ञान पसलका मालिकबाहेक उनको परिवारमा कसैलाई आउँदो रहेनछ ।
बाकासलाई लाग्छ ज्ञान र सीप हस्तान्तरण हुनुपर्छ । त्यही भएर स्कुल खोलेरै भए पनि आफ्नो ज्ञान र सीप अरूलाई सिकाउन उनले सुझाव दिए । यी र यस्तै स–सानामा विषयमा बाकासलाई नेपालका विश्वविद्यालय र सार्वजनिक फोरमहरूमा बोल्न मन छ । नेपालको सम्भावनारूबारे खुलेर कुरा गर्न मन छ । अर्कोपटक नपाल आउँदा यही उद्देश्य बोकेर नेपाल आउने इच्छा रहेको उनले सुनाए । ‘म चाहन्छु नेपालका विश्वविद्यालयहरूमा गएर भविष्यका विषयमा बोल्न, आफ्ना अनुभव र विश्लेषण बाँडू । आशा गर्छु, यो अन्तर्वार्ताले मलाई यसखालको ढोका खोलिदियोस्,’ उनी भन्छन् ।
प्रतिक्रिया दिनुहोस !