भविष्यविद् बाकासले नेपालमा देखेको सम्भावना

नेपाल सम्पदाको स्वर्ग स्थल

भविष्यविद् बाकासले नेपालमा देखेको सम्भावना

कसैको भविष्यवाणी कति मिल्छ ? १० प्रतिशत, २० प्रतिशत वा ५० प्रतिशत ? कहिलेकाहीँ मिल्न सक्छ, कहिलेकाहीँ नमिल्न पनि सक्छ । तर, एक जना त्यस्ता व्यक्ति छन्, जसका भविष्यवाणी ८७ प्रतिशतसम्म मिल्छ । उनका किताबहरू ‘बेस्ट सेलर’ बन्छन् । उनलाई भविष्यविद्, प्रवृत्ति विश्लेषक, स्पिकर, लेखकलगायत थुप्रै नामले चिन्छन् । उनलाई सुन्न विश्वका कहलिएका एप्पल, माइक्रोसफ्टजस्ता मल्टिनेसनल कम्पनीहरू आतुर हुन्छन् । 

उनी भन्छन्, ‘म भविष्यबारे काम गर्छु । तर, धेरैजसो मानिसहरू भविष्य चाहँदैनन् । उनीहरू चाहन्छन् कि उनीहरूको जीवन आगामी वर्षहरूमा सहज रूपमा बितोस् । तर, त्यो सम्भव छैन । किनभने अबको ५० वर्षभित्र त्यति धेरै परिवर्तन हुनेछ, जति अघिल्ला पाँच सय वर्षमा पनि भएको थिएन ।’

उनले आजकल प्रकाशित हुने समाचार शीर्षकहरूका पछाडि लुकेका प्रवृत्तिहरूको अध्ययन गर्छन् । डेटा खोतल्छन् । त्यसबारे गहन अनुसन्धान र विश्लेषण गर्छन् । अनि त्यसैलाई विचारको रूपमा प्रस्तुत गर्छन् । उनको विश्लेषण तथ्यसँग यसरी मेल खान्छ कि उनका पुस्तकहरू लाखौंप्रति बिक्री हुन्छ । र, थुप्रै भाषामा अनुवाद पनि ।

काठमाडौं उपत्यकाको ऐतिहासिक सम्पदा, यहाँको संस्कृति, यहाँका परम्परागत खाना र आध्यात्मिकताले उनलाई धेरै आकर्षित गर्‍यो। उनी भन्छन्– मेरो ‘इम्प्रेसन’ धेरै राम्रो रह्यो।

हो, तिनै व्यक्ति अर्थात् ६२ वर्षीय एड्जिएड्ज बाकास नेपाल भ्रमणमा आए । हुन त नेपालका बारेमा उनले धेरै पटक सुनेका थिए । युरोपेली मुलुकका रेस्टुराँ र होटेलहरूमा उनले थुप्रै नेपालीहरू भेटेका छन् । विशेषतः पोर्चुगलका रेस्टुराँहरूमा नेपालीहरूको न्यानो आतिथ्यले उनलाई प्रभाव पारेको उनी सम्झन्छन् । प्रवासका तिनै नेपालीहरूले आफ्नो सुन्दर देश घुम्न उनलाई पटकपटक सुझाव दिएको उनी बताउँछन् । 

‘मैले जहाँजहाँ नेपालीहरूसँग भेट्ने मौका पाएँ, उनीहरू सबैले मलाई नेपाल घुम्न जान सल्लाह दिए । म त खुला दिलको मान्छे । यति धेरै आग्रह भएपछि मैले त्यो अवसरलाई गुमाउन चाहिनँ,’ एक साताअघि द्वारिकाज होटेलमा ढाका टोपीमा सजिएका बाकासले भने ।

बाकास आफ्नो पछिल्लो किताब ‘ह्यासट्याग फर्वाडिज्म’ (उक्त किताब amazon.in बाट किन्न पाइन्छ) विमोचनका लागि भारत आएका थिए । भारतमा उनको पीआर हेर्ने एजेन्सीका मालिकका श्रीमती (जो नेपाली हुन्)ले पनि ‘फ्लाइटबाट एक घण्टाको दूरी त हो, नेपाल घुमेपछि पुण्य नै कमाउने’ बताएकी थिइन् । नेपाल बसाइँमा उनले पुण्य कमाए त ? यसको ठ्याक्कै जवाफ नदिए पनि नेपालबाट आफू निकै प्रभावित भएको बाकासले बताए । काठमाडौं उपत्यकाको ऐतिहासिक सम्पदा, यहाँको संस्कृति, यहाँका परम्परागत खाना र आध्यात्मिकताले उनलाई धेरै आकर्षित गर्‍यो ।

‘छोटो समयका लागि म यहाँ घुम्न आएँ । तर, यहाँका धेरै कुराले मलाई साह्रै नै लोभ्यायो । यहाँका मानिस, ऐतिहासिक सम्पदा, खाना साह्रै राम्रो लाग्यो । नेपालको बारेमा मेरो ‘इम्प्रेसन’ धेरै राम्रो रह्यो,’ उनले भने ।

null

यसअघि कहिल्यै उनको नाम नसुनेको मैले ‘फ्युचरिस्ट’को रूपमा थाहा पाएपछि नेपालको सम्भावनाबारे पनि प्रश्नहरू सोधे । के नेपाल बन्छ ? कुनै बेला हामी पनि विकसित मुलुकका नागरिक बन्न पाउँछौं ? यो मेरोमात्र होइन, सायद आम नेपालीहरूको साझा प्रश्न मैले तेर्साएँ । 

उनले छिट्टै जवाफ दिए, ‘अवश्य बन्छ । अबको ५० वर्षपछि नेपाल पक्कै बन्नेछ ।’ उनको सरल जवाफले म अकमकाएँ । अनि फेरि सोधे, ‘कसरी ?’ त्यसका लागि सही समयमा सही नीति बनाएर अघि बढ्नुपर्ने उनले सुझाए । उनले नेपालमा सम्भावना भएका क्षेत्रहरूका बरेमा बेलिविस्तार नै सुनाए ।
सूचना प्रविधिले मारेको छलाङबारे भारतको उदाहरण दिँदै उनले भने, ‘पश्चिमेली मुलुकमा धेरै मानिसहरू अनलाइनमार्फत काम गर्छन् । हजारौं अमेरिकी नागरिकहरू भारतको हैदरबाद र बैंगलोर ‘सिफ्ट’ भइरहेका छन् । भारतले ती दुवै ठाउँलाई सूचना प्रविधिको केन्द्रको रूपमा विकासमात्र गरेको छैन, विदेशी सीपलाई भित्र्याउने नीति पनि लिएका कारण विदेशीहरू त्यहाँ आएर काम गरेका छन् । हो, नेपालले पनि त्यस्तै खालको सम्भावनाको खोजी गर्नुपर्छ ।’

उनले नेपालमा सम्भावनाको खोजी गर्न र विदेशी सीपलाई भित्र्याउन विशेष जोड नै दिए । ‘होल्यान्ड, जुन मेरो जन्मभूमि पनि हो । त्यहाँ बस्ने आईटी इन्जिनियरलाई नेपाल आएर काम गर्ने वातावरण बनाउनुस् । नेपाली समाज, यहाँको संस्कृति, यहाँको खाना र यहाँको आध्यात्मलाई प्रवद्र्धन गर्नुस् । राम्रो नीति बनाउनुस् । तर, चिन्ता नलिनुस्, नेपाल बन्छ,’ उनले लालमोहर नै लगाइदिए । 

नेपालमा मेडिटेसन र योगमार्फत धेरै पर्यटक भित्र्याउन सकिन्छ। ताइवान, हङकङ, थाइल्यान्डसँगै नेपाल पनि एसियामा आध्यात्मिक पर्यटनको अब बन्न सक्ने सम्भावना बोकेको देश हो। 

उनको विश्वासपूर्ण उत्तरले म प्रभावित भएँ । उनले मेरो बालबच्चाका बारेमा चासो देखाए । मैले एउटी छोरी छिन् भनेपछि उनले थपे, ‘हो, तपाईंकी छोरीले पक्कै नेपालको विकास देख्नेछिन् ।’

भू—राजनीतिले नेपालमा पारिरहने प्रभावका बारेमा पनि मैले सोधें । किनभने नेपाल सधैं छिमेकी मुलुकहरूको प्रभावमा रहँदै आएको छ । बाकासले यस मामिलामा नेपालले छिमेकीसँग रणनीतिक हिसाबले सम्बन्ध बनाउनुपर्ने बताए ।

उनले उत्तरी छिमेकीको उदहारण दिँदै भने, ‘चीनले तिब्बतमा संसारकै ठूलो ड्याम बनाउँदैछ । जसले भारत र बंगलादेशलाई पूरै प्रभावित बनाउँछ । यस्तो विकासले प्रकृतिमा पनि गम्भीर असर पार्छ । थाइल्यान्ड, कम्बोडिया, लाओस र भियतनामसँग चीनले जस्तो व्यवहार गरिरहेको छ, त्यहाँका जनताले मन पराएका छैनन् ।’ उत्तरतिरको छिमेकीबाट नेपाललाई फाइदाभन्दा बढी बेफाइदा हुन सक्ने उनले संकेत गरे । 

तर, दक्षिणी छिमेकीको उनले खुलेर प्रशंसा गरे । ‘नेपालको सम्बन्ध भारतसँग धेरै पुरानो छ । भारत र नेपालबीच सांस्कृतिक र ऐतिहासिक सम्बन्धमात्रै होइन, दुई देशबीच भावनात्मक सम्बन्ध पनि छ । भारत अहिले विश्वको तेस्रो ठूलो आर्थिक वृद्धिदर भएको देश पनि हो । पर्यटनलगायतका क्षेत्रमा सहकार्य गरेमा नेपाललाई लाभ हुन्छ,’ उनले भने ।

तर, नेपालको समग्र विकासको नजरियाबाट छिमेकीसँग सम्बन्धन बनाउनुपर्ने उनको सुझाव छ । ‘नेपालको विकासमा छिमेकीको भूमिका महत्र्वपूर्ण हुन्छ । यदि सकारात्मक भूमिका छैन भने, छिमेकीलाई गम्भीरताका साथ लिन जरुरी 
छैन,’ उनले भने । 

बाकास विश्व ट्रेन्डका बारेमा ख्याति कमाएका विश्लेषक हुन् । नेपालमा पनि पछिल्लो समय राजा फर्किने र नफर्किने विषय ट्रेन्डिङमा छ । मैले उनलाई सोधे, ‘नेपालमा राजतन्त्र फर्किन्छ ? राजा आउने सम्भावना देख्नुहुन्छ ?’ ‘मलाई त्यस्तो लाग्दैन,’ यसपटक पनि उनले फ्याट्टै जवाफ दिए ।

‘कसरी ?’ मेरो प्रश्नमा उनले प्रतिप्रश्न गरे, ‘यहाँ राजतन्त्रले काम गर्छ त ?’ म मौन बसेँ । ‘राजतन्त्रले काम गर्छ भने आउँछ । गर्दैन भने आउँदैन,’ उनले ढुक्कसाथ भने, ‘मेरो देशमा राजतन्त्रले काम गरिरहेको छ । भुटानमा पनि यसले काम गर्छ । तर, नेपालमा गर्दैन ।’ 

‘झन्डै दुई दशकदेखि नेपालमा लोकतन्त्रले काम गरिरहेको छ त ? अनि फेरि व्यवस्था परिवर्तन किन ?’ उनको प्रश्नमा मैले जवाफ दिएँ, ‘राजनीतिबाट जनता दिक्क छन् नि त । युवा पुस्ताहरूमा पनि राजनीतिप्रतिको वितृष्णा बढ्दो छ ।’ मेरो जवाफ सुनेर बाकास एकछिन सोच्न बाध्य भए । ‘त्यस्तो छ भने राजनीतिक अवस्थाचाहिँ सुधार्नुपर्छ,’ उनले भने । तर, उनी अझै निश्चिन्त भन्छन्, ‘नेपालमा अब राजतन्त्रले काम गर्दैन ।’

प्रविधि, कृषि र आध्यात्मिकको सम्भावना

null
नेपालको भविष्यबारे कुरा गर्दै बाकासले कृषिमा रहेको अपार सम्भावनालाई विशेष रूपमा जोड दिए । उनले चीनको भूगोलसँग तुलना गर्दै भने, ‘चीनसँग जम्मा २० प्रतिशत समथर जमिन छ, बाँकी सबै पहाडी भूभाग हो । तैपनि ऊ विकसित मुलुक बनेको छ । नेपालमा पनि उर्वर खेतीयोग्य जमिन छ ।’

बाकासको विचारमा नेपालको समृद्धिको प्रमुख आधार कृषि हुन सक्छ, यदि त्यसमा प्रविधिको प्रयोग गरियो भने । ‘नेपालका किसानले प्रविधि भित्र्याएर खेती गर्नुपर्छ । चिनियाँहरू प्रविधिका कारण अघि बढे, भारत पनि त्यही बाटोमा छ । मैले भारतमा पनि कृषि क्षेत्रमार्फत विकास सम्भव छ भन्दै आएको छु । त्यो कुरा नेपालमा पनि लागू हुन्छ,’ उनले भने । 

कृषि पेसालाई आगामी पुस्तामा हस्तान्तरण पनि गर्दै लैजानुपर्ने उनको राय छ । ‘हामीले आफ्ना बालबालिकालाई पनि किसानी काममा संलग्न गराउनुपर्छ । किसान बनाउने संस्कार आवश्यक छ । किनभने अबको युगमा एआईले धेरै मानिसको जागिर खोस्न सक्छ । तर, कृषि र माटोमै आधारित पेसाहरू अझै टिकाउ छन्,’ उनले भने ।

मानिस त कि महिला कि पुरुष नै हुन्। त्यो महिला र पुरुषभित्रको स्वभावमात्रै परिवर्तन हो, जुन प्रकृतिको वरदान पनि हो। तपाईंलाई महिला मनपर्छ, मलाई पुरुष। त्यसमा लाज मान्नुपर्ने केही छैन। 

नेपालको आध्यात्मिक पक्षबारे बोल्दै उनले ध्यान र योगमार्फत देशले उल्लेखनीय फाइदा उठाउन सक्ने बताए । ‘नेपालमा मेडिटेसन र योगामार्फत धेरै पर्यटक भित्र्याउन सकिन्छ । ताइवान, हङकङ, थाइल्यान्डसँगै नेपाल पनि एसियामा आध्यात्मिक पर्यटनको अब बन्न सक्ने सम्भावना बोकेको देश हो,’ उनले भने ।

उनले नेपालको सांस्कृतिक विविधता र विशेष पर्वहरूको पनि प्रशंसा गरे । ‘विश्वमा नेपाल एउटामात्र देश हो, जहाँ कुकुरहरूको सम्मानमा पर्व मनाइन्छ । कुकुर तिहार मानव र जनावरबीचको सह–अस्तित्वको अद्भूत प्रतीक हो । यो पर्वलाई विश्वस्तरमा प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने । नेपालले पशुप्रति देखाएको समर्पण अनौठो र प्रेरणादायी भएको उनको बुझाइ छ ।

नेपालले अनुसरण गर्नुपर्ने वैश्विक ट्रेन्ड
वर्तमान विश्वमा चलिरहेको तीन ट्रेन्डबारे उनले बताए, जुन नेपालले पनि अनुसरण गर्नुपर्ने उनको भनाइ छ । पहिलो, ‘डेमोग्राफी’ । ‘नेपालमा प्रशस्त युवा जनशक्ति छ, जुन विश्वका धेरै देशसँग छैन । विश्वका थोरै देशमात्रै छन्, जसले युवा पुस्तामा लगानी गर्छन् । नेपालले पनि युवा जनशक्तिमा लगानी बढाउनुपर्छ’ उनले सुझाव दिए ।

दोस्रो, सूचना प्रविधि । ‘सूचना प्रविधिमा नेपालले अग्रसरता लिनैपर्छ । अहिले धेरै नेपाली युवाहरू विदेश पलायन भइरहेका छन् । तर, उनीहरूले सिकेका सीपलाई नेपालमै प्रयोग गर्न सकिने अवस्था सरकारले बनाउनुपर्छ,’ उनले भने । 

तेस्रो, आध्यात्मिकता । ध्यान र योगको आकर्षण विश्वमै बढ्दो छ । नेपालजस्तो सांस्कृतिक मुलुकलाई यो लहरले नयाँ उचाइ दिन सक्ने उनी भविष्यवाणी गर्छन् । 

एआईको सन्दर्भमा भने उनले चेतावनीपूर्वक दृष्टिकोण राखे । ‘एआईले धेरैको जागिर खोस्न सक्छ, यो सत्य हो । कम्प्युटरमा मैले टाइप गर्न सक्दिनँ, किनभने मेरो हात प्यारालाइज्ड छ । तर, एआईको सहयोगले मैले बोलका कुरा आफैं टाइप हुन्छ । मैले केवल सम्पादन गरे पुग्छ । मैले पुस्तकहरू पनि यही तरिकाले लेखिरहेको छु,’ उनले अनुभव सुनाए ।

प्रविधिमा नेपालको प्रयोगबारे उनले व्यक्तिगत उदाहरण दिए । ‘पेयपल’जस्तो सस्तो र प्रभावकारी बैंकिङ सिस्टम नेपालमा छैन भन्ने कुराले मलाई अचम्म बनायो । मैले यहाँ पैसा तिर्न खोज्दा, पेयपल नभएकाले पाँच प्रतिशतसम्म बढी शुल्क तिर्नुपर्‍यो, जबकि त्यही काम म पेयपलबाट एक प्रतिशतमै सक्थेँ,’ उनी गम्भीर बने ।

null

सम्भव छैन तेस्रो विश्वयुद्ध
युद्धप्रति बाकासको दृष्टिकोण अत्यन्तै स्पष्ट छ । त्यसैले त उनी युद्धलाई घृणाको दृष्टिबाट हेर्छन् । उनको भनाइमा, ‘पुरुषहरू युद्ध चाहन्छन्, तर महिलाहरू समाधान ।’ युक्रेन–रूस युद्धको उदाहरण दिँदै उनले भने, ‘त्यो द्वन्द्वबाट पाँच लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । यस्ता युद्धले ती देशले युवा जनशक्ति गुमाउँछन्, जसको असर वर्षौंसम्म रहन्छ ।’

युक्रेन–रूस द्वन्द्वलाई उनले ‘किड्स फाइट’ (बालबालिकाको झगडा) भनेर संज्ञा दिए । ‘स्कुलमा बच्चाहरू जिद्दी गरेर लडेजस्तै उनीहरू लडिरहेका छन्,’ उनी भन्छन् । सबै युद्धलाई संवादमार्फत समाधान गर्न सकिने उनको बुझाइ छ । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा पनि उनले समाधानको सम्भावना देख्छन् ।
‘विश्वभरि चलिरहेको द्वन्द्वले कतै अर्को विश्वयुद्ध निम्त्याइरहेको त छैन ?’ उनी भन्छन्, ‘तेस्रो विश्वयुद्धको सम्भावना म देख्दिनँ । मानिसहरू अगाडि बढ्न चाहन्छन्, युद्धले अगाडि होइन, पछाडि धकेल्छ ।’ उनले दोस्रो विश्वयुद्ध नै अन्तिम रहेको ठोकुवा गरे ।

प्रेरणा र पुस्तक लेखन यात्रा
बाकासलाई धेरै पहिचानले चिनिन्छ, भविष्यविद्, प्रवृत्ति विश्लेषक, वक्ता, लेखक, कथावाचक इत्यादि । ‘तपाईं कुन परियचले बढी चिनिन चाहनुहुन्छ ?’ मेरो प्रश्नमा उनले हाँस्दै भने, ‘म सबै हुँ । तर, सबैभन्दा पहिले म ‘स्टोरी टेलर’ हुँ ।’

आफ्नो यात्राबारे सम्झँदै उनले भने, ‘मैले मास कम्युनिकेसन पढेँ । मेरो प्रोफेसर नै फ्युचरिस्ट हुनुहुन्थ्यो । उहाँले मलाई सूचना संकलन गर्ने, त्यसको वैज्ञानिक विश्लेषण गर्ने र जनसमक्ष सरल तर प्रभावशाली ढंगले प्रस्तुत गर्ने कला सिकाउनुभयो । म पनि त्यही बाटो समातेर हिँडेको महसुस हुन्छ ।’

म खुसी रहने प्रयास गर्छु । म रिसाउँछु, तर लामो समय रिसाएर बस्दिनँ। जब रिसाउँछु, म मेरो कुकुरलाई हेर्छु र सम्झन्छु, एक मिनेटको रिसले मेरो शरीरलाई पाँच घण्टा तनावमा राख्छ। त्यसैले इम्युन सिस्टमलाई दुःख दिन चाहन्नँ। 

उनका अनुसार उनका लेख र पुस्तकहरू लोकप्रिय हुनुको कारण विषयवस्तुको गहनता हो । ‘मैले वैज्ञानिक भएजस्तो लेख्न खोजेको होइन, तर लोकप्रिय विज्ञान र मानव जीवनसँग सम्बन्धित विषयमा सरल भाषामा लेख्न खोजेको हो । सायद, त्यसैले मेरा किताबहरू लाखौं मानिसका मन 
छुन्छन्,’ उनी भन्छन् ।

आफ्ना विश्लेषणहरू ८७ प्रतिशत मिल्नुको राज खोतल्दै उनी थप्छन्, ‘मैले सत्य भन्छु । कुनै पनि कुरा सतही लेख्दिनँ । गलत प्रचार गर्दिनँ । डेटाले जे देखाउँछ, त्यही विश्लेषण गर्छु ।’ तर, १३ प्रतिशत अझै चुकिरहेकोमा उनलाई दुःख छ । ‘म चाहन्छु, मैले भनेका कुरा शतप्रतिशत साँचो होस् । मेल खाओस् । तर, म पनि मानव हुँ, १३ प्रतिशत गल्तीको छुट मसँग पनि हुनुपर्छ,’ उनी भन्छन् ।

बाकासलाई लाग्छ किताब प्रेरणाका लागि पढिनुपर्छ । किनकि जीवन कति छोटो हुन्छ कसैलाई थाहा हुँदैन । पछिल्लो पुस्तक ‘ह्यासट्याग फर्वाडिज्म’बारे उनी भन्छन्, ‘मानिसहरूले यो किताब प्रेरणाका लागि पढ्नुपर्छ । जीवन कति अनिश्चित छ भन्ने कुरा म स्वयंले भोगेको छु । मलाई दुईपटक स्ट्रोक आएको छ, पाँच पटक क्यान्सर भएको छ । मेरा दुई श्रीमान् पनि क्यान्सरकै कारण बित्नुभयो । म मृत्युलाई दुईचोटि जितेर फर्केको मान्छे हुँ ।’

जीवन, रिस र खुसीको सूत्र
बाकास जीवनलाई जति गहिरो रूपमा हेर्छन्, उति नै हल्का रूपमा बाँच्छन् । उनी भन्छन्, ‘म खुसी रहने प्रयास गर्छु । म रिसाउँछु, तर लामो समय रिसाएर बस्दिनँ । जब रिसाउँछु, म मेरो कुकुरलाई हेर्छु र सम्झन्छु, एक मिनेटको रिसले मेरो शरीरलाई पाँच घण्टा तनावमा राख्छ । त्यसैले इम्युन सिस्टमलाई दुःख दिन चाहन्नँ ।’

उनले एउटा भिडियो देखाए, जहाँ एउटा बच्चा जन्मिन्छ, हुर्कन्छ र एक मिनेटभित्रै ऊ मर्छ पनि । मैले यसको अर्थ बुझ्ने प्रयास गरें । उनले भने, ‘जीवन छोटो छ । त्यसैले खुलेर, रमाएर, अर्थपूर्ण रूपमा बाँच ।’

यौनिक तथा लैंगिक अल्पसंख्यकप्रतिको दृष्टिकोण

null
बाकासले लैंगिक विविधतालाई खुलेर समर्थन गर्छन् । आफू पनि यौनिक तथा लैंगिक अल्पसंख्यक भएको र त्यो समुदायले भोगेको पीडा देखेर उनी विश्वास गर्छन् कि समावेशिताबिना समाजको पूर्ण विकास सम्भव छैन । ‘आज विश्वका प्रतिष्ठित कम्पनीहरूले यौनिक तथा लैंगिक अल्पसंख्यकहरूलाई रोजगारी दिइरहेका छन् । मैले पनि यस्ता संस्थाहरूसँग सहकार्य गर्दै आएको छु,’ उनी भन्छन् ।

‘म चाहन्छु नेपालका विश्वविद्यालयहरूमा गएर भविष्यका विषयमा बोल्न, आफ्ना अनुभव र विश्लेषण बाँडू । आशा गर्छु, यो अन्तर्वार्ताले मलाई यसखालको ढोका खोलिदियोस्,’ उनी भन्छन् ।

उनको बुझाइमा, यस्ता समुदायका मानिसहरू जिम्मेवार, निष्ठावान् र समर्पित हुन्छन् । ‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका आफ्नै सन्तान हुँदैनन् । त्यसैले उनीहरू कामप्रति अझ जिम्मेवार हुन्छन् । तर, तिनीहरूलाई आफ्नै अस्तित्व लुकाएर बाँच्न बाध्य पार्नु अन्याय हो,’ उनी भन्छन् ।

नेपालको प्रसंग निकाल्दै उनले सोधे, ‘यहाँ पनि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय छन् होला नि । मलाई लाग्छ, उनीहरू यहाँ सम्मानित छन् ।’ मैले नेपालमा अझै पनि त्यो समुदायलाई हेयको दृष्टिले हेर्ने गरेको बताए । उनी छक्क परे । त्यसको दोष उनले शिक्षा प्रणलीलाई दिए । ‘सबैलाई बराबरी अधिकार दिन शिक्षा अपरिहार्य छ । दृष्टिकोण परिवर्तन बिना समानताको कल्पना गर्न सकिँदैन,’ उनी भन्छन् ।

मैले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रसंग पनि केलाए । दोस्रोपटक राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले अमेरिकामा ‘महिला र पुरुष’मात्र रहने घोषणा गरेका थिए । ट्रम्पको भनाइमा बाकास सहमति जनाउँछन् । उनी भन्छन्, ‘मानिस त कि महिला कि पुरुष नै हुन् । त्यो महिला र पुरुषभित्रको स्वभावमात्रै परिवर्तन हो, जुन प्रकृतिको वरदान पनि हो । तपाईंलाई महिला मनपर्छ, मलाई पुरुष । त्यसमा लाज मान्नुपर्ने केही छैन ।’

अन्त्यमा,
बाकास एक दिन काठमाडौंको एउटा गहना पसलमा गएका थिए । पसलको मालिकसँगको कुराकानीले उनलाई गहिरो प्रभाव पार्‍यो । ‘उहाँकी दुई छोरीहरू, एउटी कानुन र अर्की आईटी क्षेत्रमा काम गर्दा रहेछन् । जब मैले उहाँसँग गरगहनाका विषयमा कुरा गरेँ, उहाँको ज्ञान र सीप अद्भुत लाग्यो,’ उनले भने । तर, उनलाई डर पनि के लाग्यो भने त्यो सीप र ज्ञान हस्तान्तरण कसरी गर्ने ? किनकि त्यो ज्ञान पसलका मालिकबाहेक उनको परिवारमा कसैलाई आउँदो रहेनछ । 

बाकासलाई लाग्छ ज्ञान र सीप हस्तान्तरण हुनुपर्छ । त्यही भएर स्कुल खोलेरै भए पनि आफ्नो ज्ञान र सीप अरूलाई सिकाउन उनले सुझाव दिए । यी र यस्तै स–सानामा विषयमा बाकासलाई नेपालका विश्वविद्यालय र सार्वजनिक फोरमहरूमा बोल्न मन छ । नेपालको सम्भावनारूबारे खुलेर कुरा गर्न मन छ । अर्कोपटक नपाल आउँदा यही उद्देश्य बोकेर नेपाल आउने इच्छा रहेको उनले सुनाए । ‘म चाहन्छु नेपालका विश्वविद्यालयहरूमा गएर भविष्यका विषयमा बोल्न, आफ्ना अनुभव र विश्लेषण बाँडू । आशा गर्छु, यो अन्तर्वार्ताले मलाई यसखालको ढोका खोलिदियोस्,’ उनी भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.