पाल्पामा थरिथरीका गाईजात्रा

पाल्पामा थरिथरीका गाईजात्रा
सुन्नुहोस्

तानसेन : तानसेनसहित पाल्पाका विभिन्न नेवारी बस्तीहरूमा गाईजात्रा निकालिएको छ। एक वर्ष भित्र दिवंगत भएका परिवारका सदस्यहरूको सम्झनामा गाईजात्रा निकाल्ने परम्परा रहेको छ। विशेषगरी नेवारी समुदायमा गाईजात्रा परम्परा चलन चल्तीमा रहेको पाइन्छ। 

नेवार समुदायको बसोबास रहेको तानसेन, हार्थोक, ताहुँ भैरवस्थान, पेलावास, रिडी लगायतका क्षेत्रमा परम्परागत रूपमा गाईजात्रा निकालिएको छ। नेवारी समुदायमा गाईजात्रा मनाउने विभिन्न मान्यता रहेको पाइन्छ। पाल्पामा कसैले धार्मिक परम्परा अनुसार गाईजात्रा मनाउने गर्छन् भने केही समुदायमा भने मनोरञ्जनका लागि गाईजात्रा मनाउने गरिएको छ। विगतमा मनोरञ्जनका कुनै आधुनिक साधन र प्रविधि नहुँदा विभिन्न किसिमका जात्राहरू नै मनोरञ्जनका साधनका रूपमा परिचित रहेका थिए। 

गाईजात्रालाई मृत्यु गणनाको दिनको रूपमा पनि लिने गरिन्छ। राजा प्रताप मल्लको छोराको मृत्यु भएपछि रानीले शोक गरिरहेको समयमा अन्य मानिसहरू को मृत्यु भइरहेको छ भनेर रानीलाई सम्झाउन वर्षभरीमा मृत्यु गणनाको रेकर्ड राख्न गाईजात्रा निकाल्ने परम्पराको सुरुवात भएको संस्कृतिविद् निर्मल श्रेष्ठले बताए। 

मृतकको घरपरिवारबाट गाईजात्रा निकाल्दा मृतक व्यक्तिको स्वर्गमा बास हुने मान्यता रहेको छ। गाईजात्राको दिन यमलोकको ढोका खुल्ने भएकोले मृतकका नाममा जनै पूर्णिमाको भोलिपल्ट गाईजात्रा निकाल्ने चलन रहेको छ। घरपरिवारबाट मृतकका नाममा राधा कृष्ण तथा विभिन्न भगवानका रूप बनाए मानिसलाई सिँगार पटार गर्ने, निगुर्ण भजन कीर्तन गर्दै, मृतकको फोटो देखाउँदै आफन्त, इष्टिमित्र, साथीभाइको साथमा तानसेनमा गाईजात्रा निकालिएको हो।

आर्थिक अवस्था कमजोर भएका घर परिवारबाट भने छोराहरू जोगीको रूप धारण गरेर भिक्षा माग्ने, कसैले सक्कली गाईलाई डोर्याएर हिँड्ने, कसैले काम्ले गाई, बासा, ताहमचा, बनाएर गाईजात्रामा प्रदर्शन गर्दै आएका छन्। आजकल नेवारी समुदायको सिको गरी अन्य समुदायले पनि गाईजात्रा मनाउँदै आएको तानसेन कैलाशनगरका लक्ष्मण रावलले बताए। 

मानिसको बसाई सराई सँगै परम्परागत कला संस्कृति पनि हराउँदै गएका छन्। नेवारी समुदाय तानसेनबाट विस्थापित हुँदै जाँदा परम्परागत कला संस्कृतिमा पनि कमी आएको छ। विभिन्न बहाना तथा अत्यधिक खर्चको कारण गाईजात्रा विगतका वर्षहरूमा जस्तो चहलपहल, भीडभाड र रौनक हराउँदै जान थालेपछि नेवा गुठी तानसेन पाल्पाले संयुक्त रूपमा गाईजात्रा निकालेको छ। नेवारी समुदायको परम्परा संस्कृति बचाउन, खर्चलाई लाई व्यवस्थित गर्न सामूहिक रूपमा गाईजात्रा निकालिएको नेवा गुठी तानसेनका अध्यक्ष प्रकाश गंङ्गोलले बताए।
 
तानसेनमा निकालिने सबै जात्राहरू पाल्पा दरबारमा पुर्याउने परम्परा रहेको छ। पाल्पा दरबार तत्कालीन समयमा पश्चिम क्षेत्रको प्रशासनिक केन्द्र रहेकोले तानसेनबाट निकालिने हरेक किसिमको जात्रा दरबारमा पुर्याउने परम्परा रहेको हो। गाईजात्रा लिएर दरबारमा पुग्नेहरूलाई सर्वसाधारणहरूले मिठाई, पानी, फलफूल, दूध खुवाएका छन्। 

सरकारले तानसेन नगरलाई सांस्कृतिक नगरको रूपमा मान्यता दिएको छ। तानसेनमा अधिकांश कला संस्कृति नेवारी र मगरी भेषभुषामा आधारित रहेका छन्। स्थानीय कला संस्कृति जोगाउन, बजार चहलपहल बढाउन नै तानसेन नगरपालिकाले गाईजात्राको दिनमा स्थानीय बिदा दिएको छ। स्थानीय कला संस्कृति जोगाउन, संरक्षण गर्न स्थानीय सरकारको प्रमुख भूमिका र जिम्मेवारी रहन्छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.