सर्पदंश कि समाजदंश
गाउँका किशोरी र महिलाहरू सर्पदंशले मरिरहेछन् कि समाजदंशले ? यी प्रश्नहरूको उत्तार खोज्ने बेला भएको छ। जे, जस्तो कारणले सुरु भएको भए पनि छाउपडी प्रथा कुरीति हो, कुप्रथा हो।
अन्धविश्वास र संकीर्ण सोचका कारण अझै अस्तित्वमा रहेको छाउपडी प्रथाका कारण फेरि एउटी महिलाले ज्यान गुमाइन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला आउजीको छाउ बार्न छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेर मृत्यु भयो ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था तथा नगरपालिकाले छाउगोठ भत्काउने तथा छाउपडी प्रथाविरुद्ध अभियान चलाइरहेका छन् । यद्यपि छाउ बार्ने र छाउगोठमा सुत्ने परम्पराको अहिलेसम्म अन्त्य हुन सकेको छैन । छाउपडी प्रथाको कारण कमलाजस्तै अरू धेरै किशोरी तथा महिलाले ज्यान गुमाएका छन् ।
छाउगोठमा अव्यवस्थित र असुरक्षित तरिकाले सुत्दा चिसोले कठ्याङग्रएर र विषालु सर्पले डसेर धेरै किशोरी तथा महिलाले ज्यान गुमाएका छन् भने व्यभिचारी पुरुषबाट बलात्कृत भएर मानसिक पीडा भोगेका केही किशोरीले आत्महत्या पनि गरेका छन् ।
जेजस्तो कारणले सुरु भएको भए पनि छाउपडी प्रथा कुरीति हो, कुप्रथा हो । छाउपडी प्रथा धर्म र संस्कृतिको आडमा महिलामाथि हुने अत्याचार नै हो । त्यसमाथि समाजले अमानवीयता समेत थोपरिदिएको छ । यो प्रथालाई समाजमा व्याप्त अन्धविश्वासले टिकाइराखेको छ । यो प्रथा कायम रहँदा छाउ बार्ने क्रममा गोठमा सुत्दा अकालमा धेरै महिलाले ज्यान गुमाएका छन् । कमला आउजीको मृत्युपछिको आक्रोश सामाजिक सञ्जालमा यसरी पोखिएको छ, ‘कमलाको मृत्यु सर्पले डसेर होइन, मान्छेको सोचले डसेर भएको हो । वास्तवमै यो मृत्युको कारण सर्पदंश होइन, समाजदंश हो, राज्यदंश हो ।
छाउपडी प्रथाका कारण धेरै महिलाको अकालमा ज्यान गएको र महिलाले अनाहकमा दुःख पाएको भन्दै यो प्रथाविरुद्ध अभियान पनि चल्दै आएको छ । यद्यपि समस्याको मूल जरोसम्म नपुगी सतही जनचेतनाको अभियान चलाइँदै आएकाले छाउपडी प्रथाविरुद्धको अभियान नै अप्रभावकारी बन्दै आएको छ । छाउपडी प्रथाविरुद्धको अभियान साँच्चै त्यस्तो प्रथा अन्त्यका लागि हो कि गैरसरकारी संघसंस्थाहरूको आफ्नै निरन्तरताका लागि मात्रै त्यसले निरन्तरता पाइरहेको हो भन्ने प्रश्न पनि उठेको छ । छाउपडी प्रथा अन्त्यकै लागि अभियान चलाइएको हो भने त्यसको अवशेष किन अझै बाँकी छ र कमलाहरूले अझै किन छाउगोठमा तडपएर ज्यान गुमाउनु परिरहेछ ? छाउको नाउँमा गाउँका गरिब र निर्दोष महिलाले अकालमा ज्यान गुमाउनुलाई सामाजिक दायित्व निर्वाहमा त्यहाँका शिक्षित, चेतनशील र विवेकी नागरिक चुक्नुको परिणामको रूपमा पनि लिन सकिन्छ ।
छाउपडी प्रथा ज्यानमारा प्रथा हो । यसलाई हटाउनैपर्छ भन्ने दृढ इच्छाशक्तिले कसैले काम नगर्दा यो प्रथाले समाजमा जरो गाडिरह्यो र कमलाहरूले अकालमा ज्यान गुमाइरहनु प¥यो । छाउपडी प्रथा हटे आफ्नो आम्दानी, आफ्नो उन्नति, आफ्नो राजनीति, आफ्नो पेसा र आफ्नो व्यवसाय नै समाप्त हुने चिन्ताले बाहिरबाहिर छाउपडी प्रथाविरुद्धको अभियानमा संलग्न भए पनि भित्रभित्रै चाहिँ त्यही प्रथा टिकाउने दुष्प्रयासमा लाग्नेहरूको कमी छैन समाजमा । त्यसैले पो हो कि यो ज्यानमारा छाउपडी प्रथाले अहिलेसम्म जरो गाडिरहेको !
सुदूरपश्चिमका जिल्लाहरूमा धर्मको भयले दरो जरो गाडेको छ । विशेषगरी मस्टो देउता, जसलाई कुलदेउता पनि भनिन्छ, रिसाउने भयले छाउ बार्नेहरूमा दरैसँग जरो गाडेको छ । त्यो जरो नहटाएसम्म छाउपडी प्रथा उन्मूलन असम्भव नै छ । त्यो धर्मको भय र डर हटाउने काम त्यही समाजका शिक्षित, चेतनशील र विवेकशील जनताले किन गर्न सकेनन् अथवा किन गर्न चाहेनन् ? यो नै अहिलेको मूल प्रश्न बनेको छ ।
विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूको अभियानबाट छाउपडीमुक्त घोषणा गरिएका र छाउगोठ भत्काइएका गाउँहरूमा पनि पुनः छाउगोठहरू बनेका छन् र यो प्रथा निरन्तर चलिरहेको छ । यो आरोपमात्रै होइन, सत्य हो । यसको प्रमाण बनेकी छिन् कमला आउजा । गैरसरकारी संघसंस्थाहरूले करोडौं खर्चेर छाउपडी प्रथाविरुद्ध अभियान चलाए पनि यो प्रथा हट्न नसक्नुले पनि अभियान प्रभावकारी नभएको पुष्टि हुन्छ ।
छाउपडी प्रथाले धेरै महिलाले पीडा भोग्नु परेको र धेरैले ज्यानैसमेत गुमाउनु परेको अवस्थालाई ध्यानमा राख्दै यो प्रथालाई निरुत्साहित गर्न र यो प्रथाको उन्मूलन गर्न सम्माननीय सर्वोच्च अदालतको मिति २०६२ साल वैशाख १९ गतेको आदेशानुसार सरकारले छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४ लागू गरेको थियो । ‘मुलुकी अपराध संहिता २०७४’ को दफा १६८ को उपदफा ३ ले छाउपडी प्रथालाई फौजदारी अपराध मानेको छ र यसलाई दण्डनीय मानेको छ । संहिताको दफा १६८ को उपदफा ३ मा भनिएको छ, ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन ।’ उपदफा ३ बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि सो संहितामा गरिएको छ । तथापि यो प्रथाको उन्मूलन हुन नसक्नु विडम्बना नै हो । मान्छेको मनमा कानुनको डरभन्दा धर्म (देवता) को डरले बलियोसँग जरा गाडेको छ ।
विगतमा छाउपडी प्रथाबाट धेरै महिलाको मृत्यु भएपछि गृह मन्त्रालयले आदेश नै जारी ग¥यो छाउगोठ भत्काउन । त्यही आदेश तामेल गर्दै सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोल्पा, कालीकोट, दैलेख, बाजुरा, डोटी, दार्चुला, बैतडी, डडेलधुरालगायतका जिल्लाहरूमा छाउगोठ भत्काउने अभियान नै चल्यो । हजारौं छाउगोठ भत्काइए । तर धर्मप्रतिको अन्धविश्वास र छाउपडी प्रथालाई प्रश्रय दिने मान्छेको सोचमा परिवर्तन नल्याई छाउगोठ भत्काएर मात्रै छाउपडी प्रथाको अन्त्य हुँदैन भन्ने यथार्थलाई मनन् गरिएको देखिएन । त्यसको परिणाम हो कमला
आउजाको मृत्यु पनि ।
सर्पले डसेर कमला आउजाको मृत्यु भएपछि कृष्णपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै छाउगोठ १५ दिनभित्र भत्काउन सम्बन्धित वडा कार्यालयहरूलाई निर्देशन दिएको छ । यसैगरी कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाका नौवटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । यद्यपि यस्तो निर्देशन आवेश र आवेगमा आएको देखिन्छ । आवेश र आवेगले मात्रै वर्षौँदेखि जरो गाडेर बसेको प्रथाको उन्मुलन सम्भव हुँदैन । अबको प्रयास बनको होइन, मान्छेको मनको छाउ हटाउनेतिर केन्द्रित हुनुपर्छ । छाउगोठ मात्रै होइन, छाउपडी प्रथा र छाउगोठलाई प्रश्रय दिने मान्छेको सोचलाई नै भत्काउनुपर्छ । अनि मात्रै कमला आउजाहरूले अनाहकमा ज्यान गुमाउनुपर्ने छैन ।
आखिर हाम्रो समाज किन यति जड बनेको छ ? किन यति धेरै अमानवीय र संवेदनहीन बनेको छ ? किन धर्म र संस्कारको नाममा आफ्ना छोरीचेलीलाई जानीजानी मृत्युको मुखमा धकेलिरहेको छ समाजले ? गाउँका किशोरी र महिलाहरू सर्पदंशले मरिरहेछन् कि समाजदंशले ? यी प्रश्नहरूको उत्तर खोज्ने बेला भएको छ । धर्म र संस्कारका नाउँमा महिलामाथि विभेद र अन्याय गरेकै कारण महिलाहरूले अनाहकमै मृत्युवरण गर्नुपरेको हो । परम्परा र संस्कारको नाममा मान्छेलाई दुःख दिने र मर्न विवश पार्ने कुप्रथालाई बचाइराख्नु बुद्धिमानी होइन । अब यस्तो कुसंस्कार र कुप्रथाको अन्त्य हुनैपर्छ ।
छाउगोठले कैयौं किशोरीहरूको जिन्दगी र सपना लुटेको छ । कैयौं परिवारको भरोसा र भविष्य खोसेको छ । संस्कारको नाउँमा लादिएको कुसंस्कारले कैयौं महिलालाई पीडा दिएको छ । संस्कारको नाउँमा निर्दोष महिलालाई अनाहकमा मर्न बाध्य पारिएको छ । त्यसैले छाउगोठमात्रै होइन, अब छाउगोठ बनाउने मान्छेको सोच नै भत्काउनु पर्छ ।
प्रतिक्रिया दिनुहोस !