सर्पदंश कि समाजदंश

सर्पदंश कि समाजदंश

गाउँका किशोरी र महिलाहरू सर्पदंशले मरिरहेछन् कि समाजदंशले ? यी प्रश्नहरूको उत्तार खोज्ने बेला भएको छ। जे, जस्तो कारणले सुरु भएको भए पनि छाउपडी प्रथा कुरीति हो, कुप्रथा हो।

अन्धविश्वास र संकीर्ण सोचका कारण अझै अस्तित्वमा रहेको छाउपडी प्रथाका कारण फेरि एउटी महिलाले ज्यान गुमाइन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, निगालीकी २८ वर्षीया कमला आउजीको छाउ बार्न छाउगोठमा सुतिरहेको अवस्थामा सर्पले टोकेर मृत्यु भयो ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था तथा नगरपालिकाले छाउगोठ भत्काउने तथा छाउपडी प्रथाविरुद्ध अभियान चलाइरहेका छन् । यद्यपि छाउ बार्ने र छाउगोठमा सुत्ने परम्पराको अहिलेसम्म अन्त्य हुन सकेको छैन । छाउपडी प्रथाको कारण कमलाजस्तै अरू धेरै किशोरी तथा महिलाले ज्यान गुमाएका छन् ।

छाउगोठमा अव्यवस्थित र असुरक्षित तरिकाले सुत्दा चिसोले कठ्याङग्रएर र विषालु सर्पले डसेर धेरै किशोरी तथा महिलाले ज्यान गुमाएका छन् भने व्यभिचारी पुरुषबाट बलात्कृत भएर मानसिक पीडा भोगेका केही किशोरीले आत्महत्या पनि गरेका छन् । 

जेजस्तो कारणले सुरु भएको भए पनि छाउपडी प्रथा कुरीति हो, कुप्रथा हो । छाउपडी प्रथा धर्म र संस्कृतिको आडमा महिलामाथि हुने अत्याचार नै हो । त्यसमाथि समाजले अमानवीयता समेत थोपरिदिएको छ । यो प्रथालाई समाजमा व्याप्त अन्धविश्वासले टिकाइराखेको छ । यो प्रथा कायम रहँदा छाउ बार्ने क्रममा गोठमा सुत्दा अकालमा धेरै महिलाले ज्यान गुमाएका छन् । कमला आउजीको मृत्युपछिको आक्रोश सामाजिक सञ्जालमा यसरी पोखिएको छ, ‘कमलाको मृत्यु सर्पले डसेर होइन, मान्छेको सोचले डसेर भएको हो । वास्तवमै यो मृत्युको कारण सर्पदंश होइन, समाजदंश हो, राज्यदंश हो ।

छाउपडी प्रथाका कारण धेरै महिलाको अकालमा ज्यान गएको र महिलाले अनाहकमा दुःख पाएको भन्दै यो प्रथाविरुद्ध अभियान पनि चल्दै आएको छ । यद्यपि समस्याको मूल जरोसम्म नपुगी सतही जनचेतनाको अभियान चलाइँदै आएकाले छाउपडी प्रथाविरुद्धको अभियान नै अप्रभावकारी बन्दै आएको छ । छाउपडी प्रथाविरुद्धको अभियान साँच्चै त्यस्तो प्रथा अन्त्यका लागि हो कि गैरसरकारी संघसंस्थाहरूको आफ्नै निरन्तरताका लागि मात्रै त्यसले निरन्तरता पाइरहेको हो भन्ने प्रश्न पनि उठेको छ । छाउपडी प्रथा अन्त्यकै लागि अभियान चलाइएको हो भने त्यसको अवशेष किन अझै बाँकी छ र कमलाहरूले अझै किन छाउगोठमा तडपएर ज्यान गुमाउनु परिरहेछ ? छाउको नाउँमा गाउँका गरिब र निर्दोष महिलाले अकालमा ज्यान गुमाउनुलाई सामाजिक दायित्व निर्वाहमा त्यहाँका शिक्षित, चेतनशील र विवेकी नागरिक चुक्नुको परिणामको रूपमा पनि लिन सकिन्छ । 

छाउपडी प्रथा ज्यानमारा प्रथा हो । यसलाई हटाउनैपर्छ भन्ने दृढ इच्छाशक्तिले कसैले काम नगर्दा यो प्रथाले समाजमा जरो गाडिरह्यो र कमलाहरूले अकालमा ज्यान गुमाइरहनु प¥यो । छाउपडी प्रथा हटे आफ्नो आम्दानी, आफ्नो उन्नति, आफ्नो राजनीति, आफ्नो पेसा र आफ्नो व्यवसाय नै समाप्त हुने चिन्ताले बाहिरबाहिर छाउपडी प्रथाविरुद्धको अभियानमा संलग्न भए पनि भित्रभित्रै चाहिँ त्यही प्रथा टिकाउने दुष्प्रयासमा लाग्नेहरूको कमी छैन समाजमा । त्यसैले पो हो कि यो ज्यानमारा छाउपडी प्रथाले अहिलेसम्म जरो गाडिरहेको !

सुदूरपश्चिमका जिल्लाहरूमा धर्मको भयले दरो जरो गाडेको छ । विशेषगरी मस्टो देउता, जसलाई कुलदेउता पनि भनिन्छ, रिसाउने भयले छाउ बार्नेहरूमा दरैसँग जरो गाडेको छ । त्यो जरो नहटाएसम्म छाउपडी प्रथा उन्मूलन असम्भव नै छ । त्यो धर्मको भय र डर हटाउने काम त्यही समाजका शिक्षित, चेतनशील र विवेकशील जनताले किन गर्न सकेनन् अथवा किन गर्न चाहेनन् ? यो नै अहिलेको मूल प्रश्न बनेको छ । 
विगतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूको अभियानबाट छाउपडीमुक्त घोषणा गरिएका र छाउगोठ भत्काइएका गाउँहरूमा पनि पुनः छाउगोठहरू बनेका छन् र यो प्रथा निरन्तर चलिरहेको छ । यो आरोपमात्रै होइन, सत्य हो । यसको प्रमाण बनेकी छिन् कमला आउजा । गैरसरकारी संघसंस्थाहरूले करोडौं खर्चेर छाउपडी प्रथाविरुद्ध अभियान चलाए पनि यो प्रथा हट्न नसक्नुले पनि अभियान प्रभावकारी नभएको पुष्टि हुन्छ ।

छाउपडी प्रथाले धेरै महिलाले पीडा भोग्नु परेको र धेरैले ज्यानैसमेत गुमाउनु परेको अवस्थालाई ध्यानमा राख्दै यो प्रथालाई निरुत्साहित गर्न र यो प्रथाको उन्मूलन गर्न सम्माननीय सर्वोच्च अदालतको मिति २०६२ साल वैशाख १९ गतेको आदेशानुसार सरकारले छाउपडी प्रथा उन्मूलन निर्देशिका २०६४ लागू गरेको थियो । ‘मुलुकी अपराध संहिता २०७४’ को दफा १६८ को उपदफा ३ ले छाउपडी प्रथालाई फौजदारी अपराध मानेको छ र यसलाई दण्डनीय मानेको छ । संहिताको दफा १६८ को उपदफा ३ मा भनिएको छ, ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा त्यस्तै अन्य कुनै किसिमको भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु वा गराउनु हुँदैन ।’ उपदफा ३ बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि सो संहितामा गरिएको छ । तथापि यो प्रथाको उन्मूलन हुन नसक्नु विडम्बना नै हो । मान्छेको मनमा कानुनको डरभन्दा धर्म (देवता) को डरले बलियोसँग जरा गाडेको छ । 

विगतमा छाउपडी प्रथाबाट धेरै महिलाको मृत्यु भएपछि गृह मन्त्रालयले आदेश नै जारी ग¥यो छाउगोठ भत्काउन । त्यही आदेश तामेल गर्दै सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोल्पा, कालीकोट, दैलेख, बाजुरा, डोटी, दार्चुला, बैतडी, डडेलधुरालगायतका जिल्लाहरूमा छाउगोठ भत्काउने अभियान नै चल्यो । हजारौं छाउगोठ भत्काइए । तर धर्मप्रतिको अन्धविश्वास र छाउपडी प्रथालाई प्रश्रय दिने मान्छेको सोचमा परिवर्तन नल्याई छाउगोठ भत्काएर मात्रै छाउपडी प्रथाको अन्त्य हुँदैन भन्ने यथार्थलाई मनन् गरिएको देखिएन । त्यसको परिणाम हो कमला 
आउजाको मृत्यु पनि । 

सर्पले डसेर कमला आउजाको मृत्यु भएपछि कृष्णपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै छाउगोठ १५ दिनभित्र भत्काउन सम्बन्धित वडा कार्यालयहरूलाई निर्देशन दिएको छ । यसैगरी कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाका नौवटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । यद्यपि यस्तो निर्देशन आवेश र आवेगमा आएको देखिन्छ । आवेश र आवेगले मात्रै वर्षौँदेखि जरो गाडेर बसेको प्रथाको उन्मुलन सम्भव हुँदैन । अबको प्रयास बनको होइन, मान्छेको मनको छाउ हटाउनेतिर केन्द्रित हुनुपर्छ । छाउगोठ मात्रै होइन, छाउपडी प्रथा र छाउगोठलाई प्रश्रय दिने मान्छेको सोचलाई नै भत्काउनुपर्छ । अनि मात्रै कमला आउजाहरूले अनाहकमा ज्यान गुमाउनुपर्ने छैन । 

आखिर हाम्रो समाज किन यति जड बनेको छ ? किन यति धेरै अमानवीय र संवेदनहीन बनेको छ ? किन धर्म र संस्कारको नाममा आफ्ना छोरीचेलीलाई जानीजानी मृत्युको मुखमा धकेलिरहेको छ समाजले ? गाउँका किशोरी र महिलाहरू सर्पदंशले मरिरहेछन् कि समाजदंशले ? यी प्रश्नहरूको उत्तर खोज्ने बेला भएको छ । धर्म र संस्कारका नाउँमा महिलामाथि विभेद र अन्याय गरेकै कारण महिलाहरूले अनाहकमै मृत्युवरण गर्नुपरेको हो । परम्परा र संस्कारको नाममा मान्छेलाई दुःख दिने र मर्न विवश पार्ने कुप्रथालाई बचाइराख्नु बुद्धिमानी होइन । अब यस्तो कुसंस्कार र कुप्रथाको अन्त्य हुनैपर्छ ।

छाउगोठले कैयौं किशोरीहरूको जिन्दगी र सपना लुटेको छ । कैयौं परिवारको भरोसा र भविष्य खोसेको छ । संस्कारको नाउँमा लादिएको कुसंस्कारले कैयौं महिलालाई पीडा दिएको छ । संस्कारको नाउँमा निर्दोष महिलालाई अनाहकमा मर्न बाध्य पारिएको छ । त्यसैले छाउगोठमात्रै होइन, अब छाउगोठ बनाउने मान्छेको सोच नै भत्काउनु पर्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.