तानसेनको सडकमा रोपाइँको झल्को
तानसेन : गाउँघरमा गरिने असारे रोपाइँको झल्को दिने गरी पाल्पा तानसेनमा रोपाइँजात्रा निकालिएको छ। गाउँघरमा रोपाइँ सकिएपछि मनोरञ्जनका साथै सहर बजारमा रोपाइँ गर्ने तरिका प्रदर्शन गरी रोपाइँजात्रा निकालिने गरिन्छ।
तानसेनको सांस्कृतिक परम्परा जोगाउन देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय र तानसेन नगरपालिका–७ ले तानसेनमा रोपाइँजात्रा प्रदर्शन गरेको छ। देववाणी माविले पहिलो पटक विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक मिलेर पञ्चेबाजा र असारे गीतको तालमा धान रोप्ने, हल गोरुले सडकमा जोत्ने, बाउसेले खेत मिलाउने र असारे गीत गाउँदै तानसेनका सडकमा रोपाइँजात्रा देखाएको छ। विद्यालयले रोपाइँमा गरिने सम्पूर्ण गतिविधिहरू प्रदर्शन गरी गतिलो उदाहरण दिएको छ।
रोपाइँजात्रामा जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायहरूले साथ दिएका छन्। बालबालिकालाई धान खेतीसम्बन्धी जानकारी दिलाउन, विगतको कला संस्कृति र परम्परा जोगाउन विद्यालयले रोपाइँजात्रा प्रदर्शन गरेको देववाणी माविका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताए।
विगतका वर्षहरूमा धरमपानी, बराङ्दी र सापाखुम टोलविकास संस्थाले रोपाइँजात्रा निकाले पनि यस वर्ष देववाणी संस्कृत तथा साधारण मावि र तानसेन नगरपालिका–७ ले मात्र रोपाइँजात्रा प्रदर्शन गरेका छन्। मल्लकालीन समयदेखि नै तानसेन नगरसँग जोडिएका ग्रामीण भेगका किसानले गाईजात्राको अर्को दिन रोपाइँजात्रा सञ्चालन गर्ने प्रचलन छ। परम्परादेखि चल्दै आएको कला संस्कृतिलाई जोगाउन सबै पक्षको सहयोग जरुरी रहेको संस्कृतिकर्मी बुद्धिप्रसाद शर्माले बताए।
विगतका समयमा तानसेन नगरपालिकामा विभिन्न स्थानबाट चारदेखि पाँचवटा रोपाइँजात्रा प्रदर्शन हुने गरेका थिए। यस वर्ष तानसेनमा दुईवटा समूहले मात्र रोपाइँजात्रा सञ्चालन गरेको वडा नं. ७ का वडाध्यक्ष प्रदीप खनालले बताए। रोपाइँजात्रा निकाल्न निकै खर्चिलो र जनशक्ति बढी चाहिने भएकाले कठिन हुँदै गएको वडाध्यक्ष खनालले बताए।
तानसेन विभिन्न जात्रा तथा कला संस्कृतिको धनी मानिए पनि पछिल्लो समय विविध कारणले यहाँ जात्रा लोप हुँदै गएको छ। यस वर्ष तानसेन नगरपालिकाले रोपाइँजात्राबापत ५० हजार रुपैयाँ सहयोग गर्ने तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। पर्यटकीय नगरको रूपमा परिचित तानसेनको मौलिक कला संस्कृति लोप हुन नदिन सबैको सहयोग सहकार्य, समन्वय हुन जरुरी रहेको प्रमुख श्रेष्ठले बताए।
प्रतिक्रिया दिनुहोस !