सामाजिक सञ्जाल, असामाजिक थलो

सामाजिक सञ्जाल, असामाजिक थलो

नेपाल सूचना प्रविधिको प्रयोगको वृद्धि निर्विवाद छ। जसको सम्भावना पनि प्रचुर मात्रामा छ। तर यसबाट सुशासन र आर्थिक उपार्जनमा भने उल्लेखनीय प्रयोग हुन सकेको छैन।

इन्टरनेट र सामाजिक सञ्जाल अहिले नेपालका चर्चित विषय बनेका छन् । नारा बनाएर योजनामा पार्दासमेत ‘एक घर, एक धारा’ हुन सकिरहेको छैन तर ‘एक घर, एक इन्टरनेट’को प्रयोग भने केही वर्षदेखि नै सामान्य छ । सरकारी कार्यालयदेखि घरपरिवारसम्म इन्टरनेटको प्रयोग अधिकांश चाहिँ सामाजिक सञ्जाल चलाउनमात्रै हुन्छ भन्दा पनि हुन्छ । २०७८ सालको जनसंख्याअनुसार इन्टरनेट प्रयोग गर्ने घरधुरीको संख्या २५ लाख १४ हजार ५ सय १० छ भने स्मार्ट फोन चलाउने घरधुरी ४८ लाख ७६ हजार ५ सय ६१ देखिन्छ । सञ्जालको प्रयोग हेर्ने हो भने नेपालजस्तो अल्पविकसित देशमा इन्टरनेट, सामाजिक सञ्जाल, स्वतन्त्रता र वाक स्वतन्त्रता आवश्यकभन्दा बढी भएको हो कि भन्ने भान हुन्छ ।

अन्य क्षेत्रमा सुस्तगतिमा रहेको नेपालले सामाजिक सञ्जालको प्रयोगमा भने चाँडै विकास गरेको छ । सन् १९९४ मा इमेलका लागि मात्र इन्टरनेट भित्र्याएको देशले सन् २०२५ सम्म करिब ५५.८ प्रतिशत (१ करोड ६५ लाख) जनतामा इन्टरनेटको प्रयोगको पहुँचलाई बिस्तार गरेको छ । डायलअप कनेक्सन, ब्रोडब्यान्ड र फोरजी र फाइभजीसम्मका इन्टरनेटहरू सञ्चालनमा आइसकेका छन् । अझ सामाजिक सञ्जालमा भन्ने हो भने त करिब जनसंख्याको आधाभन्दा बढी संख्याका प्रयोगकर्ता यसमा सधैं सक्रिय रहेको पाइन्छ । डिजिटल रिपोर्ट २०२५ का अनुसार नेपालमा सामाजिक सञ्जालमा १४.३ मिलियन प्रयोगकर्ता सक्रिय देखिन्छन् । खासगरी फेसबुकमा १६.५ मिलियन र इन्स्टाग्राममा ४.१ मिलियन छन् भने उक्त समयमा टिकटक प्रतिबन्ध भएका कारण यसको संख्या देखिएको छैन । अहिले टिकटकको संख्या पनि सोही हाराहारीमा रहेको अनुमान छ ।

करिब तीन करोड जनसंख्या भएको देशमा आधाभन्दा बढी (बच्चादेखि वृद्धसम्म) सामाजिक सञ्जालको प्रयोगकर्ता छन् । तर पनि नेपाल र नेपाली प्रयोगकर्ताले सामाजिक सञ्जालबाट सामाजिक विवाद र नकारात्मक टिप्पणी नै गरिरहेको भेटिन्छ । अर्को कुनै लाभ प्राप्त गर्न सकिरहेका छैनन् । आधाभन्दा बढी जनसंख्याको सामाजिक सञ्जाल र इन्टरनेटमा भए पनि आर्थिक उपार्जन गर्नभन्दा लाइक, सेयर र निम्नस्तरको कमेन्ट गर्नमै दिन बिताइरहेका छन् । यस्तो कुलतबाट कर्मशील नागरिकको सिर्जनशील समय नष्ट हुनु देशकै लागि दुर्भाग्य हो । जबकि विकसित देशहरूमा सामाजिक सञ्जाल आयआर्जनको स्रोत बनेको छ । नेपालको विकासशील अर्थतन्त्रमा डिजिटल पूर्वाधारको विकास भने भइरहेको छ तर आर्थिक अवसरहरू भने खुलेका छैनन् ।

सामाजिक सञ्जाललाई वित्तीय सशक्तीकरणका लागि एक अत्यन्तै आवश्यक उपकरण बनाउन नेपालले ढिला गरेको छ, जुन अब गर्नु हँुदैन । सही र उचित रणनीतिका साथ सामाजिक सञ्जाललाई दिगो राजस्व प्रवाहमा परिणत गर्न सकिन्छ । छिमेकी राष्ट्रहरूमा सजिलै प्राप्त हुने मोनिटाइजेसन फिचर यहाँ किन हुन उपलब्ध सकिरहेको छैन ? अब कसरी इन्टरनेटको प्रयोग गरी सक्रिय रहने सामाजिक सञ्जाललाई मोनिटाइजेसन (मुद्रीकरण)को साधन बनाउने, विश्वव्यापी आर्थिक मुद्रीकरण नीतिहरूमा के कस्ता चुनौती छन् ? र, नेपालको ‘डिजिटल इकोनोमी’लाई रणनीतिक सुधारको किन आवश्यक छ ? बहस जरुरी छ ।

सामाजिक सञ्जाललाई कसरी आर्थिक उपार्जनको साधन बनाउने ? : सधैं व्यस्त बनाउने र सक्रिय रहने सामाजिक सञ्जालहरू फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामलाई मोनिटाइजेसन नीति हाम्रो नेपालमा पनि लागू गराउन ढिला गर्नु हुँदैन । राम्रा, सकारात्मक, सीप सिकाउने, पढाउने, व्यापार व्यवसाय गर्ने साधनको रूपमा सामाजिक सञ्जालहरूसँग सहकार्य गरेर कानुन बनाउने हो भने पक्कै सामाजिक सञ्जाल आर्थिक उपार्जनको साधन बन्न सक्छ । यसलाई प्रयोगकर्ता, सामाजिक संघसंस्था, स्थानीय व्यापारी र समग्र सरकार अन्तर्राष्ट्रिय रूपमा लाग्नुपर्ने हुन्छ ।

सञ्जाललाई राजनीतिक भाषण गर्ने, द्वेष फैलाउने र अन्तरद्वन्द्व बढाउने खालको विषयवस्तुमा रमाउने राज्य सञ्चालक र नेता भएको देशमा यो ज्ञान नपुगेको देखिन्छ । ज्ञान पुगेको भए ध्यान नपुगेको हुनसक्छ । जुन नीति बनाउन र सामाजिक सञ्जालका कम्पनीहरूलाई अनुरोध गर्न आवश्यक छ । पूर्वाधार, नीति, कानुन र सहकार्य गर्न सके सामाजिक सञ्जाललाई आर्थिक उपार्जनको साधन बनाउन सकिन्छ । भिडियो, विज्ञापन, लेखरचना आदि राम्रा, सकारात्मक, कलात्मक, स्थानीय भेषभूषा झल्किने, स्पष्ट भाषामा बनाइएका विषयवस्तुले मनग्यै पैसा कमाउन सकिन्छ ।

नेपालमा मोनिटाइजेसन किन सीमित ? : सामाजिक सञ्जालको प्रयोगबाट आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने उदाहरण वरपर नै छन् । तर सबै र सधैं भने गर्न नसकेका प्रमाण छन् । एउटै ‘कन्टेन्ट’मा ९ मिलियनभन्दा बढी दर्शक बनाउने दीपक साउद पनि यही कारणले भारतमा बसेर सामाजिक सञ्जाल चलाइरहेका छन् । सञ्जालमा हुने मोनिटाइजेसन फिचर किन सीमित र अन्य देशमा भन्दा फरक छ त ? बुझ्न जरुरी छ । सीमित रहनुको पहिलो कारण भाषा र सानो बजार हो । भाषाका कारण मुद्रीकरणमा समस्या देखिएको धेरै सामाजिक सञ्जालका नीतिहरूमा पढ्न र देख्न सकिन्छ ।

सामाजिक सञ्जालले अंग्रेजी र अन्य चलनचल्तीका अधिक प्रयोग हुने भाषालाई प्राथमिकतामा राखेका हुन्छन् । अर्को बजारीकरण हो । सञ्जालले ठूला प्रयोगकर्ता भएका देश र उच्च विज्ञापन राजस्व उत्पादन गर्ने देशहरूलाई प्राथमिकतामा पार्छन् । सीमित १६.५ मिलियन प्रयोगकर्ताबाट समिति विज्ञापन राजस्व उठ्ने भएकाले यो सीमित र अन्य देशमा भन्दा फरक छ । भारतले हरेक वर्ष १५ बिलियन सामाजिक सञ्जालमा विज्ञापन राख्न खर्च गर्छ भने नेपालले १५ मिलियनमात्रै । अर्को नीतिको अभाव । हाम्रोमा सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोजिने भनेर बेलाबेलामा कानुन बनाउने भन्ने सुनिन्छ ।

सामाजिक सञ्जाल विधेयक, २०८१ पनि चर्चामै सीमित छ । एक पटक टिकटकमा प्रतिबन्ध लगाइयो भने अहिले टेलिग्रामलाई लगाइँदै छ । सामाजिक सञ्जाललाई नेपालमा दर्ता अनिवार्य गरिनुपर्ने, सामाजिक सञ्जालमार्फत आर्जित रकमलाई ठूलो मात्रामा २ प्रतिशत डिजिटल सर्भिस ट्याक्स र १३ प्रतिशत मूल्य अभिवृद्धि करलगायतका नीतिगत विषयमा ध्यान दिन जरुरी छ । पेमेन्ट गेटवे संसारभर चल्ने गुगल–पे र पेपल आदिलाई हाम्रोमा प्रयोगमा ल्याउन नसक्नुको कारणले अन्य देशमा मुद्रीकरण भइरहँदा हाम्रोमा हुन सकेको छैन ।

सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगलाई आर्थिक सशक्तीकरण र जीविकोपार्जन एवं करियरसँग जोड्नेतर्फ सरकार र सम्बद्ध निकायले ढिला गर्नु हुँदैन ।

अब के गर्ने त मोनिटाइजेसन गर्न ? : सरकारले यसलाई प्रोत्साहन र प्राथमिकीकरण गर्नुपर्छ । देशको राजस्व बिनसित्तिमा इन्टरनेटको प्रयोगमा खर्च हँुदै राज्यमाथि खनिँदै आएका प्रयोगकर्तालाई आर्थिक उपार्जनमा लगाउनु पर्छ । यसो भयो भने सामाजिक सञ्जालबाट हुने विरोध र नकारात्मक टिप्पणी र सामाजिक द्वेष र कलह फैलाउनेहरूलाई ठेगान लगाउन सकिन्छ । बिदेसिनेहरूलाई पनि केही हदसम्म रोजगारी सिर्जना गरेर रोक्न सकिन्छ । सामाजिक सञ्जालमा असामाजिक बनेका प्रयोगकर्ताहरूलाई आर्थिक उपार्जन गर्ने बनाउनेभन्दा अर्को कुनै उपाय छैन । जसले खेर गइरहेको इन्टरनेटको खर्चलाई आयस्रोतमा परिमार्जन गर्न सकिन्छ भने गरिबी निवारणको एउटा साधन पनि बनाउन सकिन्छ ।

नीतिगत सुधार र समावेशी मुद्रीकरणको पक्षमा वकालत : सरकारी तबरबाटै सामाजिक सञ्जालमा रहेको यति ठूलो संख्यालाई आर्थिक आयआर्जनसँग जोड्ने गरी सामाजिक सञ्जालकर्ता मेटा (फेसबुक, इन्स्टाग्राम), टिकटक, युट्युब आदिसँग देशले आवश्यक नीति निर्माण गरी आयआर्जनसँग जोड्न मिल्ने गरी लबिङ र वकालत गर्नुपर्ने हुन्छ ।

डिजिटल भुक्तानी प्रणालीलाई सहज, सुरक्षित र बलियो बनाउने : सामाजिक सञ्जाल विश्वव्यापी व्यापार गर्ने माध्यम भएकाले अन्तर्राष्ट्रिय रूपमा भुक्तानी हुने र प्राप्त गर्ने भुक्तानी प्राणालीलाई मान्यता दिने, सहज, सुरक्षित र बलियो बनाउने तथा अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा आएका गुगल–पे, पे–पललाई सहजीकरण गर्ने तथा हाम्रो ई–सेवा तथा खल्तीजस्ता गेटवेहरूलाई मान्यता दिनुपर्छ ।

डिजिटल साक्षरतामा जोड दिने : सरकारी र गैरसरकारी तथा निजी क्षेत्रबाट डिजिटल साक्षरतालाई प्रवद्र्धन गर्नुका साथै अधिकतम युवालाई आयस्रोत आर्जन गर्ने डिजिटल शिक्षाका बारेमा शिक्षित बनाउनु पर्छ । सामग्री निर्माण (कन्टेन्ट क्रिएसन), सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) र प्रभावकारी बजारीकरणजस्ता विषयवस्तुमा ज्ञान र शिक्षा प्रदान गर्नुपर्ने तथा विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने हुन्छ ।

ई–कमर्सलाई सामाजिक सञ्जालसँगको सहकार्य : सामाजिक सञ्जाल जस्तै टिकटक, फेसबुक, इन्स्टाग्राम आदिलाई ई–कमर्ससँग सहकार्य गराउँदै व्यापारिक प्रयोजनमा प्रयोगमा ल्याउनु उत्तम हुन्छ । जस्तै, दराज डट कम आदिलाई टिकटक, फेसबुक आदिसँग सहकार्य गर्न सहयोग गर्नुपर्छ ।

निष्कर्ष : नेपाल सूचना प्रविधिको प्रयोगको वृद्धि निर्विवादका साथ यसको सम्भावना पनि प्रचुर मात्रामा छ । तर यसबाट सुशासन र आर्थिक उपार्जनमा भने उल्लेखनीय प्रयोग हुन सकेको छैन । समयमै सही र आवश्यक नीति, कानुन, अभ्यास, छिमेकी देशहरूको सिकाइ, सहजीकरण, समन्वय र सहकार्य हुन जरुरी भइसकेको छ ।

नेपालीले सामाजिक सञ्जाललाई समय बर्बाद गर्नुभन्दा जीविकोपार्जनको उपयुक्त माध्यममा रूपान्तरण गर्नु बेस हुनेछ । सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगलाई आर्थिक सशक्तीकरण र जीविकोपार्जन एवं करियरसँग जोड्नेतर्फ सरकार र सम्बद्ध निकायले ढिला गर्नु हुँदैन ।

सामाजिक सञ्जाललाई नियमन गर्दै आर्थिक उपार्जनमा लगाउन सके देश छोड्नेहरू पनि कम हुनेछन्, बेरोजगारी घट्नेछ । यसै पनि नेपालीको कला, गला, सीप र सिर्जनालाई संसारभर सम्मान गरिन्छ । सामाजिक सञ्जालको माध्यमबाट यसलाई प्रवद्र्धन गर्दै ‘मोनिटाइजेसन’ हुने कुरामा जोड दिने 
कि ? अनावश्यक, अश्लील, असामाजिक विषयवस्तुलाई सिधै हटाउने व्यवस्था गर्ने कि ? यस्तो गर्नेलाई कानुनी कारबाही गर्ने कि ? सिर्जना, सम्बद्धता, सहकार्यता, राजस्व र कर तथा भुक्तानीको कार्यलाई सरलीकरण र नीति तथा वकालतमार्फत सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगलाई आयस्रोतको माध्यम बनाऔं न कि गालीगलौजको थलो ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.