जबकि प्रजातान्त्रिक कांग्रेसको यस्तो रणनीति र सेना गठनको रहस्य तत्कालीन राष्ट्रिय कांग्रेसका बीपी कोइरालालाई समेत थाहै थिएन। योजना निकै गोप्य राखिएको थियो।
पश्चिमको प्रमुख सहर नेपालगन्ज । मुख्य बजार त्रिभुवन चोकबाट पूर्व रानी तलाउ छ । त्यहाँबाट उत्तर मोडिएपछि एउटा ठूलो पीपल चौतरा भेटिन्छ । नजिकै देखिन्छ, गगनगन्ज मोड । त्यही घुम्तीबाट बायाँ जीर्ण अवस्थाको तीनतले भवन छ । खिया लागेको टिनको छानो निक्कै मक्किइसकेको छ । घरभित्रबाटै उम्रेको पीपलको रूख हलक्क बढ्दै गएको छ ।
पीपलका कलिला र हरिया पातले ढपक्कै ढाकिएको छ, खण्डहर जस्तो भवन । घरको भित्तामा उम्रेका झारपात पनि छोप्न थालेको छ । भ्याल र ढोका भत्कँदै छन् । पूरै घर कालो लेउले लिपेजस्तो देखिन्छ । भित्ताको प्लास्टर पकपकी पाप्रा झैं उक्किन थालेको छ । घरको दक्षिण कवाडखाना छ । फोहोरको रास उस्तै । अगाडि सानो कालोपत्र सडक छ । वरपरका पुराना घरहरू पनि जीर्ण देखिन्छन् ।
हरेक दिन त्यही बाटो हुँदै सयौं मानिस आउजाउ गर्छन् । तर राणाशासन विरुद्धको लडाइँमा क्रान्तिकारी योद्धा बस्ने भूमिगत ‘भयंकर आश्रम’ कसैको नजरमा पर्दैन । कसैले देखिहाले पनि‘भयंकर आश्रम’ जहाँ राणा शासनको अन्त्यका लागि संगठन बने, नीति अनि योजना बने । जुन यथार्थ धेरैलाई थाहा छैन । यहाँसम्म कि ‘पडोसी’लाई समेत ।
नजिकैका छिमेकी विजयकुमार अग्रवालका आँखा ‘भयंकर आश्रम’तिर थिए । तर उनलाई त्यो क्रान्तिकारी लुक्ने ऐतिहासिक घर होला भन्ने कहिल्यै लागेन । बिँडी कारखाना हो भन्ने मात्र थाहा छ उनलाई । ‘अरू कुनै कुरा थाहा छैन । अहिले यो घर छिमेकीले किनेका छन् ।’ उनले खरिदकर्ता विजयमान पतिको घर देखाए ।
नेपालगन्ज २००५ सालतिर निकै सानो बजारउन्मुख बस्ती थियो । त्यो पनि धेरै पातलो थियो । काठमाडौंका बाबुकृष्ण शर्मा (धनेश्वर शर्मा) राणा शासनविरुद्ध सशस्त्र संघर्ष गर्ने योजनाका साथ नेपालगन्ज आए । त्यो घर भाडामा लिई ‘भयंकर आश्रम’ नामकरण गरेका होलान् भन्ने रहस्य अहिलेका घरजग्गाका मालिक विजयमानले अन्दाजसम्म गरेनन् । आफूलाई कुनै पनि कुनै पत्तो नभएको उनी बताउँछन् । भन्छन्, ‘मेरा बुवा हरिमान पति र काशीप्रसाद उपाध्यायले संयुक्त लगानीमा दुर्गा बिडी उद्योग चलाउनु भएको मात्र थाहा छ ।’
तर यहाँ आउनुअघि बाबुकृष्ण मुक्ति सेना गठनका लागि काठमाडौंबाट बनारस गएका थिए । त्यहाँ राष्ट्रिय कांग्रेसका डिल्लीरमण रेग्मीको सम्पर्कमा पुगे । तर रेग्मीमा आफूले सोचेजस्तो क्रान्तिकारीपन पाएनन् । उनलाई लाग्यो, रेग्मी ‘बाघबहादुर’ मात्र हुन् । बाबुकृष्णको मन मोडियो । अनि प्रजातान्त्रिक कांग्रेसका नेता सुवर्णशमशेर, महेन्द्रविक्रम शाह, सूर्यप्रसाद उपाध्याय, महावीर शमशेरलाई भेट्न बनारसबाट कलकत्ता जान रेल चढे ।
सशस्त्र सेनाबिना राणाविरुद्धको संघर्ष सफल नहुने ठानेका बाबुकृष्णले कलकत्ता पुगेर आफ्ना योजना र प्रस्तावको ‘पुलिन्दा’ खोले । सुवर्ण शमशेरसहितका नेताहरू उनको योजनाप्रति सहमत हुँदै सेना गठन गर्नुपर्ने निष्कर्षमा पुगे । लगत्तै बाबुकृष्ण सशस्त्र संघर्ष गर्न सक्ने योद्धाको खोजी गर्न हिँडे । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारतीय सुवासचन्द्र बोसको नेतृत्वमा आजाद हिन्द सेनाका पूर्वअफिसरहरू पन्जाबमा देशसेवक संघमा अबद्ध भइरहेका थिए । उनीहरूलाई खोज्दै बाबुकृष्ण पन्जाव पुगे ।
अंग्रेजविरुद्ध लडेका भारतीय क्रान्तिकारीको त्यो फौजमा नेपालगन्जका दिलमान सिंह थापा पनि संलग्न थिए । त्यहाँ ठाकुर पुरन सिंह खवाससँगै दिलमान सिहसँग राणाविरुद्ध सशस्त्र संघर्षको छलफल भयो । सबैजना सहमत पनि भए । जबकि प्रजातान्त्रिक कांग्रेसको यस्तो रणनीति र सेना गठनको रहस्य तत्कालीन राष्ट्रिय कांग्रेसका बीपी कोइरालालाई समेत थाहै थिएन । योजना निकै गोप्य राखिएको थियो ।
पन्जाबबाट गुप्तरूपमा बाबुकृष्ण मुगा व्यापारीको भेषमा नेपालगन्ज पुगे । अहिले खण्डहर जस्तो भएको गगनगन्जको त्यो भवन भाडामा लिएर मुख्यालय सञ्चालन गरिएको थियो । जसको भूमिगत नाम ‘भयंकर आश्रम’ हो । राणा पक्षधरले पनि मुगा व्यापारी आफ्नै शासन सत्ता ढाल्ने योजना लिएर आएका होलान् भन्ने अन्दाजसम्म गरेनन् । जबकि आश्रम नजिकै राणा पक्षधरहरू पनि थिए । २००३ सालमा भयंकर आश्रमसँगै जोडिएको घरमा जन्मेका साहित्यकार सनतकुमार रेग्मी सम्झन्छन्,
‘आश्रम नजिकको कौवा टोलमा राणाका दुई भाइको आतंक थियो । सुट साहब र बुट साहब नामका उनीहरू क्रान्तिकारी युवामाथि निगरानी राख्थे ।’
रेग्मीका अनुसार राणहरूले क्रान्तिकारीहरूको गतिविधिमाथि गुप्तचरी गर्ने गरेको रहस्य सर्वज्ञमान श्रेष्ठलाई पनि थाहा थियो । सर्वज्ञमान हुलाकमा पोस्टमास्टर थिए । उतिबेलाको सरकारले सहरमा भएका हरेक समाचार संकलन गर्ने र सम्प्रेषण गर्ने जिम्मेवारी पनि पोस्टमास्टरलाई दिएका थिए ।
अर्कोतर्फ सर्वज्ञमान पनि भित्रभित्रै राणाविरोधी क्रान्तिका पक्षमा थिए । बाबुकृष्ण आफ्नै पक्षधर हुन् भन्ने सर्वज्ञमानलाई पनि थाहा थिएन । हुलाकमार्फत् भारतबाट बाबुकृष्णलाई राणाविरुद्धका रणनीति र योजनाका बारेमा चिठी आइरहन्थे । योजनाका धेरै दस्तावेजका पुलिन्दाहरू पुर्याउन पनि आफैं आश्रम जान्थे । त्यतिबेलासम्म बाबुकृष्ण मुगा व्यापारी भन्ने ठानेका सर्वज्ञमानले पश्चिम नेपालमा राणाविरुद्ध सशस्त्र संघर्षका लागि खटिएका ‘कमान्डर’ हुन् भन्नेसम्म थाहा पाएनन् ।
तर एक दिन भारतबाट हुलाकमार्फत आएको डाँकमा एउटा पुलिन्दा फुटेर आयो । जुन सर्वज्ञमानको हातमा पर्यो । त्यसपछि मात्र उनले थाहा पाए बाबुकृष्णको भूमिगत भूमिका र रहस्य । त्यो पुलिन्दा पुर्याउन जाँदा सुट साहेब र बुट साहेबबाट आश्रम असुरक्षित भएको बताएका थिए । गुप्त समाचार संकलन गर्ने संवाददाता श्रेष्ठले सुरक्षित स्थलमा सर्न सुझावसमेत दिएका थिए । बाबुकृष्णलाई पनि लाग्यो, बुट र सुट साहेबबाट संगठन बिस्तारमा बाधा पुग्न सक्छ ।
यस्तो सूचना आइरहेका बेला अर्कातिर धमाधम राणाविरोधी संगठन निर्माण भइरहेका थिए । ‘तीमध्ये गरम र नरम दुई प्रकारका संगठन गठन भएका थिए । गरम संगठनमा हतियारसहितका लडाकु आबद्ध थिए । निशस्त्रहरूको संगठनमा विचार र सैद्धान्तिक बहस छेड्न सक्नेहरू हुन्थे । आश्रम छेउमै बस्दै आएका सर्वज्ञमानका भाइ ९५ वर्षीय पूर्णमान आजाद सुरुमा कम्युनिस्ट विचारका थिए । उनी पनि आश्रममा आउजाउ गर्थे ।
त्यहाँ सम्पर्कमा जाने राणाविरोधी योद्धामध्ये पूर्णमान मात्र अहिले जीवित छन् । तर यी जीवित क्रान्तिकारी योद्धा पनि थला परेका छन् । न बोल्न सक्छन्, न त मानिस चिन्न । कुनै बेला नेपालगन्ज सहर उहाँको मुठ्ठीमा थियो । नेपालगन्जका प्रधानपञ्चसमेत भएका आजादको पनि राणाविरुद्धको संघर्षमा ठूलो योगदान छ । तर अहिले विस्तराबाट उठ्न नसक्ने हुँदा भने हेर्ने कोही छैन । छिमेकी विजयमान भन्छन्, ‘कसैले बुझ्ने रहेनछ योद्धाको मर्म र भावना ।’
‘बजारका युवाहरू भयंकर आश्रममा पुगेर आजादीको कसम खाँदै थिए । तर बडाहाकिमले चाल पाए’, राजनीतिक इतिहासको खोजकर्ता तथा विश्लेषक नरेन्द्रजंग पिटर भन्छन्, ‘यसै क्रममा
‘भयंकर आश्रम’बाट सशस्त्र संघर्षको योजना बनाउने गरेको रहस्य बडाहाकिम प्रकाश शमशेरले थाहा पाए । अब भने नियन्त्रणमा पर्ने र मारिन सक्ने खतराका संकेत देखेका बाबुकृष्ण मुख्यालय अर्थात् आश्रम छाड्न बाध्य भए ।’
नेपालगन्जभित्रै अर्को सुरक्षित र भूमिगत आश्रय स्थलको विकल्प देखिएन । निगरानी बढ्दै गयो । बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसँगै उत्तरका पहाडी जिल्लामा समेत संगठन विस्तार गर्दै गरेका बाबुकृष्ण नेपालगन्जको भयंकर आश्रम छाडेर सीमा पारी भारतको रूपैडिहामा बस्न थाले । उनले रूपैडिहाको असर्फीलाल भुजुवाको घर भाडामा लिए । भयंकर आश्रमका सबै राजनीतिक दस्तावेज र पुस्तकसँगै अन्य सामग्री पनि रूपैडिहा पुर्याए ।
सीमापारि आफू बस्ने भुजुवाको घरलाई
‘दशरथचन्द आश्रम’ नामकरण त गरे नै, कार्यालय नै स्थापित गरेर संगठन विस्तारको कामलाई पनि उनले निरन्तरता दिए । कांग्रेसको सदस्यता अभियान चलाए । दशरथचन्द आश्रममा हरेक बिहान झण्डालाई सलामी दिइन्थ्यो । क्रान्तिका गीत गाइन्थ्यो । तर गीत हिन्दीमा हुन्थ्यो । त्यो भूमिगत आश्रयस्थल रूपैडिहामा नेपाल प्रजातन्त्र कांग्रेसको बैठक बस्न थाल्यो । जसको अध्यक्षता सर्वज्ञमानले गर्न थाले । नेपालगन्जबाट भूमिगत कार्यालय दशरथ चन्द्र आश्रममा जाने युवाको ठूलो लस्कर थियो । त्यसबेलासम्म जाजरकोट, सल्यान, जुम्ला, दाङ, कोइलाबास र प्युठानमा समेत संगठन बिस्तार भइसकेको थियो ।
पन्जाबबाट गुप्तरूपमा बाबुकृष्ण मुगा व्यापारीको भेषमा नेपालगन्ज पुगे। अहिले खण्डहर जस्तो भएको गगनगन्जको त्यो भवन भाडामा लिएर मुख्यालय सञ्चालन गरिएको थियो। जसको भूमिगत नाम ‘भयंकर आश्रम’ हो। राणा पक्षधरले पनि मुगा व्यापारी आफ्नै शासन सत्ताा ढाल्ने योजना लिएर आएका होलान् भन्ने अन्दाजसम्म गरेनन्। जबकि आश्रम नजिकै राणा पक्षधरहरू पनि थिए।
नेपाल प्रजातान्त्रिक कांग्रेसको पहिलो कार्यसमिति नेपालगन्जकै युवाको संलग्नतामा निर्माण भएको थियो । जसको सभापति कुँवर कल्लु सिंह भए । उनको संगठनले पश्चिम तराई र पहाडी क्षेत्रमा राणाविरुद्ध जनलहर ल्याइरहेको थियो । मजगौवा शाखा कैलालीमा खुल्यो । बर्दियाको कतर्रनियामा अर्को शाखा थियो । पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतिरबाट क्रान्तिकारीहरूले नेपालगन्जलाई घेरिसकेका थिए । महिलाहरू पनि संगठित भइरहेका थिए । मधुशालामा समेत क्रान्तिकारी महिलाका योजना बन्थे । गोप्य चिठी पत्र पर्चा आउने र पठाउने काम समेत मधुशालाबाट हुन्थ्यो । राणापक्षले जसको सुइको पाएन ।
तर प्रकाशशमशेर राणा बडाहाकिमले भने रहस्य थाहा पाए । २००५ सालको अन्त्यतिर पोस्टमास्टर सर्वज्ञमानलाई नेपालगन्जबाट गिरफ्तार गरी जेल चलान गरे । क्रान्तिको योजना निर्माण गर्ने घरछेउमै जन्मेका साहित्यकार सनतकुमार रेग्मी भन्छन्, ‘संगठन बिस्तार गर्न बाहिर गएका मुलायम बेहना, लच्छी अहिर, गुरु दयाल यादव, छोटेलाल श्रीवास्तव र लम्बु गोपाललाई पनि नेपालगन्ज बजार फर्कनासाथ गिरफ्तार गरियो । तर यिनीहरूको गिरफ्तारीले नेपाली कांग्रेसको स्वतन्त्रता आन्दोलनमा कुनै शिथिलता आएन ।’
यस्तो गिरफ्तारीले संगठन निर्माणमा क्रान्तिकारीहरूलाई अझै होसियारीका साथ अघि बढ्न प्रेरित गर्यो । २००६ सालमा नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भयो । बाँकेकै कुँवर कल्लु सिंह नेपाली कांग्रेसको सभापति भए । यसले गर्दा नेपालगन्जका अधिकांश युवक नेपाली कांग्रेसमा जोडिन थाले । २००६ सालको अन्त्यतिर नेपाली कांग्रेसका तत्कालीन महासचिव महेन्द्रविक्रम शाह र मुक्ति सेनाका कमान्डर पूर्णसिंह ठाकुर र डीबी राईले रुपैडिहा दशरथ चन्द आश्रममा कार्यकर्ता भेला गरे । भेलाले नेपालगन्जमा राणाविरोधी जनप्रदर्शन गर्ने निर्णय गर्यो । जुन प्रदर्शन घातकसिद्ध भयो । २००७ असोज १८ गते प्रदर्शन भएकै रात बाबुकृष्ण शर्मा, रामकृष्ण मानन्धर (चिम्मन), डा. प्रेमलाल तुलाधर, बाबुराम रानामगर, जगन्नाथ गिरीलाई नेपालगन्जबाट बडाहाकिमले गिरफ्तार गर्न लगाए ।
यसको बदला दशरथ चन्द आश्रमका क्रान्तिवीरहरूले मुक्ति सेनाको सहयोगमा पश्चिम क्षेत्रका तराई र पहाडका जिल्लाहरूसँगै नेपालगन्ज कब्जा अभियान चलाए । २००७ कात्तिकतिर नेपालगन्जलाई घेरा हाले । गोली हानाहान भयो । राणापक्षका सैनिकले हानेको गोली रामकृष्ण मानन्धर (चुम्मन)लाई लाग्यो । तर भारतमा अंग्रेजविरुद्ध लडेका नेपाली सैनिक पन्जाबबाट नेपालगन्ज आइसकेका थिए । उनीहरू राणापक्षका सैनिकविरुद्ध जाइलागे । बडाहाकिम प्रकाश शमशेरको ज्यान जोगाउन भागे । उनी अहिलेको जिल्ला प्रशासन कार्यालय हाताभित्रको पुरानो भवनमा बस्थे । यो लडाइँमा पक्राउ पर्नेहरू २००७ फागुन ७ गतेपछि जेलमुक्त भएका थिए ।
यति ठूलो क्रान्तिको पूर्वाधार तयार पार्ने ऐतिहासिक ‘भयंकर आश्रम’ यतिबेला खण्डहर भएको छ । यस्ता क्रान्तिको जगबाट उठेर धेरै पटक सत्ताको बागडोर समात्नेहरूले आफ्नो पुरानो बाटो फर्किएर कहिल्यै हेरेनन् । किन उपेक्षित हुन्छन् यस्ता भूमिगत आश्रय स्थल ? विश्लेषक पिटर भन्छन्, ‘२००७ सालको क्रान्ति पूर्व र पश्चिम दुई भागमा विभाजन भयो । गण्डक पूर्वको नेतृत्व बीपी कोइरालाको राष्ट्रिय कांग्रेस र पश्चिमको नेतृत्व प्रजातान्त्रिक कांग्रेसका महेन्द्रविक्रम शाहले गरेका थिए । संघर्षपछि नेतृत्वमा बीपी पक्ष पुग्यो । जसले गर्दा उनकै क्षेत्रको इतिहास लेखियो । पश्चिम ओझेलमा पर्यो ।’
ऐतिहासिक महत्व राख्ने टोलको ‘भयंकर आश्रम’ दुरवस्थाले क्रान्तिकारीको त्याग र बलिदानको सम्मान नभएको प्रस्ट पार्छ । गज्जब त के थियो भने नेपालगन्ज कब्जा गर्ने सशस्त्र सेनाले बडाहाकिम भागेको र बजार नियन्त्रणमा लिएको खबर फैलाउन आफूसँग भएका वायरलेसलाई रेडियोको रूपमा प्रयोगमा ल्याएका थिए । वायरलेसबाट एक ठाउँको खबर अर्को ठाउँ पुग्थ्यो ।
नेपालगन्जका क्रान्तिकारीहरू
सर्वज्ञमान श्रेष्ठ, कुँवर कल्लु सिंह, गोपालबहादुर श्रेष्ठ (लम्बु), गोपालबहादुर कर्माचार्य (पुड्के), जनकबहादुर कर्माचार्य, गणेशबहादुर कर्माचार्य, ऐन्द्र बहादुर (गोपालबहादुर मल्ल), विष्णुप्रसाद शर्मा, रूपसिंह सिजापति, कृष्णप्रसाद श्रेष्ठ, कृष्णकुमार न्यौपाने, रामशंकर शुक्ला, गोपालबहादुर मानन्धर, रामकृष्ण मानन्धर (चिमन), खेमराज श्रेष्ठ (कृष्ण), बाबुसिंह ठाकुर, इब्राहिम हलवाई, बाबुराम रानामगर, जगन्नाथ गिरी, माया गिरी, विष्णुप्रसाद शर्मा (शेखर), प्रेमलाल तुलाधरसँगै टोपबहादुर सिंह पनि थिए ।
जगतबहादुर सिंह जसलाई कसैले झिल्के राजा वा कसैले झल्ला राजा भन्थे, उनी पनि आश्रम पुग्थे । खड्गबहादुर मल्ल, बाबुसिंह ठाकुर, फकिर मियाँ, श्यामविहारी गुप्ता, मोहनसिंह सिजापति, उत्तमराम थारु, प्रभुदयाल शर्मा, मुलायम बेहना, पाटन तमोली, मदनमान श्रेष्ठ, मदनबहादुर श्रेष्ठ र जमदार केशवराज श्रेष्ठ सबै नेपालगन्जबाट सीमापारिबाट राणाविरुद्धको संघर्ष बढाउने योजना बनाउँथे । भित्रभित्रै कञ्चनपुर, बैतडी, डोटी, अछाम, सुर्खेत, दैलेखसम्म संगठन बिस्तार पनि गर्थे ।
इतिहासले शासकलाई चिथोर्छ
राजनीतिक नेताहरू इतिहास बिर्सन चाहन्छन् । किनकि इतिहासले शासकलाई चिथोर्छ । त्यसैले उनीहरू इतिहासलाई सौन्दर्यता दिन चाहँदैनन् । आजको उपभोक्तावादी समाजमा इतिहासलाई नेताहरूले सम्झने कुरै भएन । सत्तामा हरेक नेताले आदर्श र इतिहास सत्ताको बैसाखी बनाउँछन् ।
सत्तामा पुगेपछि त्यही घाँडो बन्छ । नायकहरू खलनायक बनेपछि यस्तै हुँदो रै’छ । जुद्धसडक काठमाडौंबाट आएका बाबुकृष्णको युद्ध चानेचुने थिएन । उनले आजाद हिन्द सेनामा हारेका नेपालीहरू मुक्ति सेनामा सामेल नगरेको भए राणाको राज ढल्न अझै धेरै वर्ष लाग्थ्यो होला । तर पश्चिमको नेतृत्व गर्ने मुगा व्यापारीको योगदानको सम्झनामा कुनै सरकारले इतिहास संरक्षण प्रयास गरेनन् । यो अति दु : खद् पक्ष हो ।
- नरेन्द्रजंग पिटर
प्रतिक्रिया दिनुहोस !