ती बीपी, यी ‘जेन–जी’

ती बीपी, यी ‘जेन–जी’

म तरुणहरूलाई उमेरले मान्दिनँ । मैले कतिपय उमेरका तरुणहरूलाई देखेको छु । जो भीरु, रुढिवादी, उत्साहरहित, आदर्शशून्य छन् । त्यस्तालाई म तरुण मान्दिनँ । उमेरले तरुण नभएता पनि मेरो माथि उल्लेख गरेको तारुण्यको सर्त मुताविक म आफूलाई तरुण भन्ठान्छु । मैले कतिपय उमेरका बुढाहरूलाई देखेको छु, जो तरुणलाई उत्साहद्वारा मात गर्छन् । मेरो दृष्टिमा तरुणोचित गुणले एउटा शक्ति तरुण कहलाउने अधिकार पाउँछ न कि उमेरले’ युवापुस्ताबारे बीपी कोइरालाले भन्नुभएको थियो ।

राणापछि फेरि जनताबाट राजाले खोसेको प्रजातन्त्रका लागि क्रान्ति छेडेका बीपीले २०३६ सालमा टँुडिखेलमा भएको एउटा विशाल जनसभालाई सम्बोधन गर्दै युवा पुस्तालाई आफूसँगै तुलना गर्दै यसरी सम्झिनुभएको थियो– ‘मभन्दा धेरै दुःख पाएका र यातना सहेका, त्याग गरेका, तपस्या गरेका हाम्रो मुलुकमा सयकडौं यङमेन (युवा)हरू छन् । म त चिनिएको छु, अरूहरू त प्रजातन्त्रको जगमा त्यस्ता गडेका पत्थरहरू हुन्, जसलाई कसैले छिन्दैन । प्रजातन्त्रको त्यो मन्दिरका तल गडेका जगमा रहेका ढुंगाजस्ता कति सहिदहरू भए, आजको उत्साहको दिनमा हामीहरूले तिनीहरूलाई सम्झिनुपर्छ, जसको त्याग र बलिदानबाट आज यस ठाउँमा म उभिएर तपाईंहरूसँग केही भन्न पाइरहेछु ।’

राजनीतिक वा शासकीय व्यवस्थाको अर्को रूपमात्रै परिवर्तन होइन । त्यसले जनताको जीवनशैलीलाई छुन सक्नुपर्छ ।

यसबाट प्रस्ट हुन्छ बीपी गर्भ सिद्धान्तको त्यो समाजवादका हरेक आत्मामा युवा हृदय धड्किन्थ्यो । र, ‘समाजवाद’को ऐना हेर्न नेपाली कांग्रेसको पंख बनेर उडेका युवाले त्यो बेला प्रजातान्त्रिक लडाइँको आकाश थामेका थिए । भदौ २४ गते । अर्थात्, आजभन्दा करिब १११ वर्षअघि आजकै दिन नेपाली  राजनीतिमा एउटा अजरअमर विचार जन्मिएको दिन । अर्थात् त्यो विचार हो– बीपी कोइराला ।

यतिबेला ‘जेन–जी’ अर्थात् ‘जेनेरेसन जेड’ भनेर चिनिने नयाँ पुस्ता जागेको छ । इन्टरनेटको युगमा जन्मिएको यो पुस्ताको विद्रोह चेत अब सडकसम्मै ओइरिन थालेको छ । यो त्यही पुस्ता हो– जहाँ देशको सुदूर भविष्य आजै उनीहरूमाथि छ । अर्थात् यो पुस्ता भनेको मात्रै भविष्य होइन । यो वर्तमान पनि हो । हामी यो पुस्तालाई कस्तो भविष्यको बाटोमा डोहोर्‍याउँदैछौं अर्थात् नीतिनिर्माण तहमा बसेकाहरूले कस्तो भविष्य निर्माण गर्दछौं, त्यसको छनक यो पुस्ताले पाइसकेको छ । त्यसैले यो पुस्तामा विद्रोहको चेत जुर्मुराएको हो ।

परिवर्तनको त्यो बेजोड युवा पुस्तालाई हामीले सत्ता चुम्ने भर्‍याङमात्रै बनायौं। उनीहरूको त्याग, बलिदान र सपनाहरूलाई हामीले त्यसपछि स्वाट्टै छोडिदियौं। किनकि देशमा युवाका लागि चाहिने नीति निर्माणको तहमा यो पुस्ता होइन, उही प्राचीन पुस्ता नै छ।

विश्व राजनीतिको एउटा भड्खालो समयमा जन्मिएका बीपी ३६ वर्षकै तन्नेरी उमेरमा देशको प्रधानमन्त्री हुनुभयो । राजनीतिक परिवारमै जन्मिनुभएका बीपीमात्रै एक व्यक्ति होइन । उहाँ आफैंमा एक सिंगो विचारपुञ्ज पनि हो । नेपालको शासन सत्तामा कब्जा गरेर १०४ वर्षसम्म नेपाली नागरिकलाई ‘रैती’ बनाएको जहाँनियाँ राणा शासनविरुद्ध क्रान्तिको बिगुल समाउँदा महामानव बीपी कोइराला ३६ वर्षका तन्नेरी थिए । आफूजस्ता युवाहरूलाई उनले ‘तरुण’ भन्थे । नेपाली कांग्रेसमा पछिमात्रै गठन भएको बीपी परिकल्पनाको त्यही आयाम थियो । राणातन्त्रको अन्त्य गर्दै बीपी ३६ वर्षमै गृहमन्त्री बने । इतिहासका अझ अघिल्ला पानाहरू पल्टाउने हो भने र तन्नेरी वयहरू ज्यानमा खेल्दै गर्दा २० वर्षमै त्यो बेला पृथ्वीनारायण शाहले नेपालको एकीकरण सुरु गरिसकेका थिए ।

नेपालमा राणाशासन विरुद्धमात्रै होइन, त्यो बेला दक्षिण एसियामा मात्रै होइन, विश्वका धेरै राष्ट्रमा बीपी उमेरकै समकालीनहरूले क्रान्ति अनि राष्ट्रको नेतृत्व गरिरहेका थिए । विश्वमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनको लहरले धेरै ‘तरुण’लाई नेता बनाएको थियो र राष्ट्र अनि सरकारको नेतृत्व गर्ने अवसर पनि दिलाएको थियो । छिमेकी पाकिस्तानमा ३५ वर्षीया बेनजिर भुट्टो प्रधानमन्त्री नै भइसकेकी थिइन् । दक्षिण तथा पूर्वी एसियाका धेरै देशमा चलेको प्रजातान्त्रिक आन्दोलनबाट धेरै त्यस्ता तन्नेरीहरू नेतृत्वमा थिए ।

तर आज हामी देखिरहेका छौं, युवापुस्ता राजनीतिबाट अलग छ । बालापनबाट किशोरवय हुँदै गर्दा हरेक युवाको सपना विश्वका सम्पन्न देशमा सयर गरिरहेको हुन्छ । यसको अर्थ हो, हामीले युवा पुस्तालाई राजनीतिमा जोड्न सकेका छैनौं । अर्थात्, बीपीजस्ता दूरदर्शी नेतृत्वले परिकल्पना गरेको राष्ट्र निर्माणमा हामीले युवा कडीलाई जोड्न असफल भइसकेका छौं । आजको युवा राजनीतिको ‘र’ पनि सुन्न चाहन्न । राष्ट्र निर्माणका लागि युवाको यो हदसम्मको ‘नफरत’ अन्ततः देशकै भविष्यको अँध्यारो बाटो पनि हो । यसमा न आजको नेतृत्व चिन्तित छ न राष्ट्रको भविष्यप्रति युवा नै ।

युवा अर्थात् बीपीकै भाष्यमा तरुणकै ताकतबाटै देशमा परिवर्तन सम्भव छ भनेर उहाँले नै २०१० सालमा नेपाल तरुण दल गठन गर्नु भएको थियो । नेपाली कांग्रेसको एक भ्रातृ संगठनका रूपमा स्थापित यही तरुण दल नेपालमा भएका प्रजातान्त्रिक आन्दोलन अनि हरेक परिवर्तनका लागि पार्टीको बलियो खम्बामात्रै बनेन, बरु हरेक परिवर्तनको बलियो साझेदार पनि रह्यो । त्यसैले देशका निम्ति तरुण पुस्ताको योगदान यति महŒवपूर्ण हुन्छ कि त्यसको कुनै मापन नै हुँदैन ।

यस्तो पुस्ताका लागि हाम्रा शासकहरू किन गम्भीर भएनन् ? किन कहिल्यै यो भर्भराउँदो पुस्ताका बारेका केही सोचिएन ? आज यो पुस्ताले घरमै बसिबसी सारा संसार बुझेको छ । सारा ब्रह्माण्ड उसले एक क्लिकमै बुझ्न सक्छ । अग्रगतिमा छलाङ लगाउन सक्ने यो ‘स्मार्ट’ पुस्तालाई राज्यले कहिल्यै सम्बोधन गर्न चाहेन । हाम्रा नीतिनिर्माता, शासक अर्थात् भनौं नेताहरू कस्ता भइदिए भने उनीहरूले आफ्नोबाहेक अरू केही सोचेनन् । देशका लागिभन्दा आफ्नै सन्तानका लागि मात्रै उनीहरूमा स्वार्थ बाक्लिन थाल्यो । विस्तारै राजनीति र नयाँ पुस्ताको दूरी यतिसम्म गहिरिँदै गयो कि अब त्यो खाडल पुरिनका लागि साँच्चिकै ठूलो संघर्ष नै चाहिन्छ ।

आज जेन जी पुस्ताको यो विद्रोह त्यसैको परिणाम हो । अर्थात् यो पुस्ता चाहन्छ देश यही पुस्ताको हो । विकास यही पुस्ताका लागि चाहिन्छ । राज्यका सेवा सुविधा यही पुस्तामै वितरीत हुनुपर्छ । स्वतन्त्रता अनि समानताको समान वितरण नहुँदा नै अहिलेको पुस्ता विद्रोहमा उत्रिन बाध्य भएको हो । यो मात्रै नेपालको समस्या होइन, संसारभरि नै यस्तै छ । अधिकारको प्रत्यायोजन अनि अवसरको असमान वितरणको प्रभाव अहिले संसारभरि नै आगोसरी फैलिइरहेको छ । नेपालमा पनि ‘भर्चुअल’ रूपमा भित्रभित्रै सल्किरहेको यो पुस्ताको विद्रोह र असन्तुष्टि सडकसम्मै पोखिएको छ । यसबाट पनि नेता र नेतृत्व सच्चिन चाहेनन् भने विद्रोहको यो आगोले साँच्चिकै सबैलाई खरानी बनाउने छ । यो कठोर सत्यलाई तत्कालै आत्मसात् गर्न जरुरी छ ।

नेताका छोराछोरी, हुनेखानेका छोराछोरी अनि केही ‘गरिखाने’ प्रयास गरिरहेका यो नयाँ पुस्ताबीचको असमानताको खाडल आजको पुस्ताले पुर्न चाहेको हो । त्यसैले संसारभरि चलिरहेको ‘नेपो बेबी’ अर्थात् ‘नेपोटिज्म’जस्ता असमानताको प्रवृत्ति अन्त्य गर्नु नै यो पुस्ताको भविष्यलाई उज्यालोतर्फ डोहोर्‍याउनु हो । बीपीले त्यो युगमै परिकल्पना गर्नुभएको प्रजातान्त्रिक समाजवादको मूलभूत आदर्श नै यस्तै राजनीतिको थियो । अर्थात्, अधिकार र अवसरको समान वितरण । उत्पादन र बजारीकरणको सामञ्जस्यता ।

त्यो बेला आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गर्दै एउटा पत्रमा राजनीति के हो भन्नेबारे सम्झाउनु भएको छ, ‘राजनीति भनेको मोक्षको मार्ग होइन । पार्टी मुमुक्षुहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर कसैले गुनासो गर्दछ भने त्यो उसको मूर्खता हो । मेरो मनाइको तात्पर्य के हो भने माथिका नैतिकताबारेका दुबै दृष्टिकोण अतिवादका उदाहरण मात्र छन् । राजनीति र नैतिकताको एउटा उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ । म चाहन्छु, देशको राजनीतिमा अग्रणी, हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोगको प्रारम्भ गर्नुपर्छ । र कसले भन्न सक्छ, यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर अघि पनि बढ्न सक्छ ।’

आज हामीले फर्केर हे‍र्‍यौं, इतिहासप्रति जति हामी गमक्क पर्छौं । आज के गरिरहेका छौं ? हाम्रा पुस्ताका लागि हामीले के ग‍र्‍यौं, गर्नुपर्ने के थियो ? आज जसरी हरेक क्षेत्रमा असन्तुष्टिको पहाड चुलिँदैछ । एक दिन राजनीतिको गति पनि त्यही पहाडले नछेक्ला भन्न सकिन्न । आजको पुस्तालाई राजनीतिसँग त्यत्ति लगाव छैन । ऊ राजनीति चाहँदैन, बरु उसको चेतले भन्छ– नेताहरूले हाम्रो भविष्य बर्बाद गर्दैछन् । स्वतन्त्र अनि निष्फिक्री जिन्दगीमा रमाउन चाहेको आजको पुस्तालाई नजानिँदो तरिकाले हामीले नै बिथोलिरहेका छौं ।

परिवर्तनको त्यो बेजोड युवा पुस्तालाई हामीले सत्ता चुम्ने भर्‍याङमात्रै बनायौं । उनीहरूको त्याग, बलिदान र सपनाहरूलाई हामीले त्यसपछि स्वाट्टै छोडिदियौं । आज अनि भोलिका लागि तयार हुँदै गरेको पुस्तालाई राजनीतिमा आकर्षित गर्न कुनै पनि राजनीतिक दलहरूसँग त्यस्तो कुनै नीतिहरू छैनन् । विश्वका कतिपय देशहरूमा हेर्‍यौं भने धेरै त्यस्ता राष्ट्रहरू समृद्धिको आकाशमा उडिरहेका छन्, जहाँ युवा पुस्ताले राष्ट्रको नेतृत्व गरिरहेको छ । तर हाम्रो देशमा युवाका लागि चाहिने नीति निर्माणको तहमा यो पुस्ता होइन, उही प्राचीन पुस्ता नै छ ।

अब सच्चिनै पर्छ । परिवर्तन यही पुस्तामै हुनुपर्छ । राजनीतिक वा शासकीय व्यवस्थाको अर्को रूपमात्रै परिवर्तन होइन । त्यसले जनताको जीवनशैलीलाई छुन सक्नुपर्छ । परिवर्तनले जनताको जीवनमा महसुस हुन सक्नुपर्छ । नत्र यो पुस्ताले भ्रष्टाचार भ्रष्ट (राज) नीति अनि वंशवादका विरुद्ध फुकेको आगोले भोलि के केसम्म खरानी बनाउन सक्छ भन्ने कुराको आयतन अनन्त हुन सक्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.