अब यसरी चलोस् सिंहदरबार
क्रान्ति र आन्दोलनको उद्देश्य केवल व्यवस्था परिवर्तनमात्र होइन। मुख्य कुरा अवस्था परिवर्तन हो।
कुनै पनि देशको तत्कालीन समाज आमरूपमा यथास्थितिवादी नै हुन्छ। किन्तु त्यही समाजभित्र अदृश्य रूपमा परिवर्तनको बीज पनि लुकेर बसेको हुन्छ। समाजभित्रका विभिन्न अवयवमध्ये ब्युरोक्रेसी सितिमिति परिवर्तन हुन नचाहने घटक हो। स्वस्फूर्त परिवर्तन हुन नमान्ने र नमिल्ने हुँदा यसमा परिवर्तनको बीज राजनीतिले छर्दछ। राजनीतिको पनि आफ्नै अन्तर्निहित समस्या हुन्छ। यसको सामूहिक रूप परिवर्तनकामी प्रतीत हुन्छ। तर व्यक्तिगत स्तरमा पुग्दा क्रान्तिकारीहरू पनि प्रायः स्वार्थी र आत्मकेन्द्रित बनिदिन्छन्। यदाकदा क्रान्ति पनि केही समयपछि प्रतिक्रान्तिमा परिणत हुन पुगेको इतिहास छ।
नेपालमा २००७, २०३६ र २०४२ सालमा समेत गरी तीनवटा बृहत् आन्दोलन भइसकेका थिए। किन्तु २०६२–०६३ को आन्दोलनको आयतन अत्यन्त विस्तृत थियो। त्यस परिवर्तनपछि नयाँ पार्टीबाट सरकारमा आएका मन्त्रीहरूसँग ब्युरोक्रेसीका उच्च पदस्थ मानिसहरू स्वाभाविक रूपमा त्रसित थिए। थर्काउने स्वभावले मानिसलाई भयभीत पार्न त सकिएला, तर उत्पादनशील बनाउन सकिँदो रहेनछ। हुलका हुल राजनीतिक कार्यकर्ताले सिंहदरबार भरिभराउ हुन थाल्यो। निजामती सेवा खुलेआम ‘बहुदलीय’ बन्दै गयो। अन्ततोगत्वा परिवर्तनकामीहरूको अभियान अराजक यथास्थितिवादमा परिणत भयो।
पहिलो संविधानसभा असफल भएपछि राजनीतिक सहमतिका आधारमा प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा ‘अराजनीतिक सरकार’ गठन भयो। निजामती चरित्रको त्यो सरकार प्रशासनिक र व्यावहारिक मामिलामा निकै काबिल थियो। ‘आपसमा परिचित’ मन्त्री र सचिवहरू लगायत संवैधानिक संस्थाका सबै पदाधिकारीले राम्रै काम गरे। स्वतन्त्र तरिकाले काम गर्न पाउने हो भने निजामती सेवाका अनुभवी मानिसले राष्ट्रलाई विपत्तिबाट जोगाउन सक्छन् भन्ने उदाहरण हो यो।
हालका दिनमा नेपालको निजामती सेवा निश्चेष्ट र अकर्मण्य छ भन्नेमा कुनै शंका छैन। तर त्यो सबै कुरा निजामती सेवाको अयोग्यताका कारणले मात्र भएको होइन। अहिले निजामती कर्मचारीहरू त्रासमा छन्। कतिपय राजनीतिक दबाबमा सिर्जना भएका कार्यका कारण असंख्य कर्मचारीले मुद्दा खेपिरहेका छन्। सिंहदरबारले कहिल्यै पनि इमानदार कर्मचारीको आवश्यकता महसुस गरेन। आपसमा पूर्वपरिचित राजनीतिक नेता र प्रशासनको गठजोड घातक हुँदोरहेछ। कुनै मन्त्रीले यदि आफूले चिनेको ‘हितैषी’ ब्युरोक्र्याट खोज्न थाल्यो भने त्यहाँ केही न केही गोलमाल छ भन्ने बुझ्नुपर्छ।
चुरो कुरो भनेको सिंहदरबारमार्फत जनताको मुहार परिवर्तन हो। सोच, आचरण र व्यवहार परिवर्तन हुन सकेन भने सिंहदरबारलाई पहिर्याएको सेतो परिधानको कुनै अर्थ हुँदैन।
राजनीति गर्ने दलीय नेताको कुरै छाडौं, मेरो यो लेख पढ्ने केही उच्च पदस्थ कर्मचारी मित्रहरूलाई यो मन नपर्न सक्छ। तर अब उहाँहरू आफ्नै कार्यकालमा आफैंप्रति निर्मम बन्नु आवश्यक छ। यसले मुलुकलाई त फाइदा हुन्छ नै, उहाँहरू स्वयंको प्रतिष्ठा पनि चिरस्थायी हुनेछ। यो अन्तरिम कालमा उहाँहरू स्वाभिमानपूर्ण कर्मण्यता कायम गर्न तयार हुनुपर्छ। अहिले देश अत्यन्तै आहतमा छ। सिंगो सिंहदरबार तहसनहस छ। कर्मचारीलाई होच्याउने र हतोत्साहित गर्ने खालका अभिव्यक्ति पनि आइरहेका छन्। यस परिस्थितिमा सार्वजनिक सेवामा आसीन उच्चपदस्थ व्यक्तिहरूले कार्यालयभित्र ‘न्यूनतममा निर्वाह गर्ने’ अभियान चलाउनुपर्छ। अब आलिसान सिंहदरबारका हाकिम नभई ‘निष्कपट, सरल र सुकिलो’ सिंहदरबारका सत्यका पक्षधर कर्मचारी बन्नु जरुरी छ। इतिहासमा एक दिन कसै न कसैले सुरु गरेकै हुनाले नै आज हाम्रासामु असंख्य असल कुरा छन्।
प्रधानमन्त्रीबाहेक कुनै पनि मन्त्रीलाई सल्लाहकारको आवश्यकता पर्दैन। आवश्यक सल्लाह दिन कर्मचारी नै सक्षम छन्। मन्त्रालयमा रहने मन्त्रीको सचिवालयका कर्मचारी मन्त्रालयभित्रकै हुनुपर्छ। मन्त्रीका मानिस मन्त्रालयका पूर्णकालीन सदस्यजस्ता बनिदिँदा विगतमा मन्त्रीहरूको धेरै बदनाम भएको छ। यहाँ विश्वास गरेका मानिस नै धोकेबाज हुन सक्छन्। मन्त्री र सचिव आफू मात्र सदाचारी भएर पुग्दो रहेनछ। कसको नाममा कसले
कुन बेला बेइमानी गरिदिने हो, के ठेगान ?
क्रान्ति र आन्दोलनको उद्देश्य केवल व्यवस्था परिवर्तन मात्र होइन। मुख्य कुरा अवस्था परिवर्तन हो। मुख्य कुरा सिंहदरबारमार्फत जनताको मुहार परिवर्तन हो। सोच, आचरण र व्यवहार परिवर्तन हुन सकेन भने सिंहदरबारलाई पहिर्याएको सेतो परिधानको कुनै अर्थ हुँदैन। मन्त्रालयगत नयाँ राजनीतिक नेतृत्व साबिकमा झैं जानी नजानी पुरानै संस्कारमा जान नपाओस् भनेर उच्चपदस्थ कर्मचारीमा इमानदार र हितकारी सदाशयता रहनु जरुरी छ। अहिले नेपालले अत्यन्तै निस्वार्थ, हक्की र सुयोग्य प्रधानमन्त्री पाएको छ। सिंहदरबारले उहाँको सदाचारपूर्ण विज्ञताको अधिकतम फाइदा उठाउनु पर्छ। यस समयका सचिवहरू पनि भाग्यमानी हुन्। निर्धक्क आफ्नो कुरा राख्न पाइने प्रधानमन्त्री एक युगमा एक बार मात्र पाइन्छ। अब आफैंमा बोझिलो संगठन, पट्यारलाग्दो औपचारिकता, अनावश्यक भेला र बैठकहरूबाट सिंहदरबारलाई मुक्त राख्नुपर्छ। अब आपसमै रहस्यमय लाग्ने कोठा, ढोका र विन्यास आवश्यक छैन। ट्रेड युनियन राजनीति गर्नका लागि होइन। सबैलाई यथोचित स्थानमा कामकाज गर्न खटाउनु जरुरी छ। कतिपय मानिसले सिंहदरबारलाई दिन काट्न आउने स्थान बनाएका छन्। यसलाई ‘गफगाफको थलो’बाट मुक्ति दिएर कामकाजको थलो बनाउने योभन्दा सुन्दर अर्काे मौका कहिल्यै आउने छैन।
राजनीतिक नेताहरूले ‘नेता’ शब्दलाई नै बदनाम गरे। त्यसै मेलोमा ट्रेड युनियनमा लागेका कर्मचारीहरूले पनि आफ्नो निजामती परिचय लुकाउन थाले। सरकारका सचिवहरूलाई ‘मन्त्री आतंक’को व्यवस्थापन गर्न हम्मे पर्दै गयो। सर्वत्र राजनीति हाबी हुन जाँदा सिंहदरबारलगायत समग्र राज्यप्रणाली नै मैलो देखिन थाल्यो। अवाञ्छित दबाब र प्रभावबाट थकित सिंहदरबारका उच्चपदस्थ निजामतीहरूले आजको यस घडीलाई अवसरको रूपमा सदुपयोग गर्नुपर्छ।
सिंहदरबारले निकट इतिहासमा देशभरि धेरै शिलान्यास र उद्घाटन गर्यो। बजेट नै नभएका र कहिल्यै नबन्ने योजनाहरूको शिलान्यास गर्दा गर्दा सिंहदरबार हत्तु भइसक्यो। शिलान्यासलाई समृद्धि मान्ने र अधुरो आयोजनाको समुद्घाटन गर्ने ‘वरद बाहुली’बाट पनि सिंहदरबार थाकिसक्यो। अबको सिंहदरबार र शीतल निवासले यस्ता अनुत्पादक कार्यमा जिल्ला जिल्लामा दौडाहा गरेर त्यहाँका कर्मचारीलाई ‘छाडेर काम सारा एक काम रोजिरेछु’को अवस्थामा पुर्याउनु हुँदैन।
मुलुक अत्यन्त घायल र सिकिस्त रहेको अवस्थामा एकजना स्वच्छ र साहसी महिला सुशीला कार्की अभिभारा वहन गर्न तयार भएर आउनु भएको छ। आन्दोलनरत पक्ष प्रशंसनीय रूपमा संयमित र मर्यादित देखिएको छ। यस कठिन घडीमा राष्ट्रपतिको भूमिका पनि रचनात्मक र महनीय छ। अब प्रधानमन्त्रीको होस्टेमा सिंगो सिंहदरबारले हैंसेको इमान्दार काँध थाप्नुपर्छ। लोकतन्त्रको असल विकल्प लोकतन्त्र नै हो। राजनीतिक दलहरूले उत्पन्न परिस्थितिलाई स्वीकार गर्दै जानुपर्छ। पार्टीरूपी यन्त्रमा खिया लागेका जीर्ण पार्टपुर्जाबाट मुक्त हुने शुभ साइतको बेला यही हो। दलहरू पार्टीभित्र स्वच्छता अभियान सञ्चालन गर्दै निर्वाचनको तयारीमा होमिनुपर्नेमा उल्टै तर्साउनेतर्फ लागेको पाइएको छ। उहाँहरूले कसलाई तर्साउन खोजेको ? सुशीला कार्कीलाई ?
कार्की त डुब्न लागेको नैयालाई पार लगाउन आउनुभएको छ। उहाँले सम्हालेको नैया डुब्यो भने पनि उहाँको व्यक्तिगत नोक्सानी हुने त होइन। उहाँ निर्वाचनको उम्मेदवार हुने पनि होइन र भविष्यमा कुनै पद पाउने इरादा पनि छैन। विभिन्न राजनीतिक दलका दोस्रो तेस्रो पुस्ताका नेताहरूले छिट्टै यति कुरा बुझ्लान् भन्ने भरोसा गरौं। अन्त्यमा, असल शासनले हल्ला होइन, काम गरेर देखाउँछ।
प्रतिक्रिया दिनुहोस !