दुई समुदायबीच तनाव बढेपछि जनकपुरमा निषेधाज्ञा
धनुषा : जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरको रुपैठाको चारैतर्फ निषेधाज्ञा जारी गरेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा दुई समुदायबीच तनाव बढेपछि निषेधाज्ञा जारी गरिएको हो।
धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आज रुपैठामा भएको दुई समुदायबीचको झडपपछि निषेधाज्ञा जारी गरिएको जानकारी दिए। शुक्रबार साँझ ६:३० बजेदेखि लागु हुने गरी प्रशासनले रुपैठाको चारैतर्फ क्षेत्रलाई समेटेर कुनै पनि सभा, जुलुस, नाराबाजी, बैठक, सामूहिक कार्यक्रम गर्न नपाउने व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ।
दुर्गा मूर्ति विसर्जनको क्रममा दुई समुदायबीच विवाद भएपछि स्थिति तनावग्रस्त भएको हो। आदेशअनुसार रुपैठाको पूर्व लोहना जाने बाटो, पश्चिममा बसहिया जाने बाटो, उत्तरमा बाबा पेट्रोल पम्प सिक्सलेन र दक्षिणमा गङ्गुली पुलसम्म प्रदर्शन, भेला, नारा जुलुस गर्न पाइने छैन।
गत महिनामात्र गणेश पूजापछि मूर्ति विसर्जनमा त्यहाँ मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको थियो। पुनः दुर्गाको मूर्ति विसर्जनमा अवरोध भएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !