झुम्का कारागारबाट फरार कैदी स्कुटर चोरेर भाग्दै गर्दा पक्राउ, सिन्धुलीबाट भागेका पनि समातिए
विराटनगर : जेनजी आन्दोलनको बेला सुनसरीको झुम्का र सिन्धुली कारागारबाट फरार भएका दुई जना कैदी मोरङमा पक्राउ पक्राउ परेका छन्।
दुवै जनालाई प्रहरीले छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको हो। सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका २९ वर्षीय छोटु भनिने अभिषेक जैसवाल बुधबार राति विराटनगरमा चोरीको स्कुटरसहित पक्राउ परेका छन्। उनी भदौ २४ गते राति झुम्का कारागारबाट भागेका थिए। विराटनगर महानगरपालिका–१ नेताचोकबाट को ३८ प ४९७२ नम्बरको स्कुटर चोरी गरी भाग्दै गर्दा उनलाई विराटनगर–१६ दरैयाबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
उनका अनुसार इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले नियमित चेकजाँचका क्रममा राति १०:३० बजेतिर स्कुटर रोकेर सोधपुछ गर्दा कागजात नदेखाएपछि थप अनुसन्धान गरिएको थियो। सो क्रममा स्कुटर चालक झुम्का कारागारबाट फरार भएका अभिषेक जैसवाल भएको खुलासा भएको चुँडालको भनाइ छ।
जैसवाल यसअघि पनि मोटरसाइकल चोरी अभियोगमा पक्राउ परेका थिए। सो मुद्दामा जिल्ला अदालत सुनसरीले उनलाई गत जेठ ३० गते ५ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उनी उक्त सजाय भुक्तान गर्दै गर्दा भदौ २४ गते राति अन्य कैदीबन्दीसँगै झुम्का कारागारबाट फरार भएका थिए।
प्रहरीका अनुसार विराटनगरबाट स्कुटर चोरी गरेर भारततर्फ भाग्ने तयारीमा रहेका उनलाई नेपाल–भारत सीमा क्षेत्रमै नियन्त्रणमा लिन प्रहरी सफल भएको हो। चोरी गरिएको स्कुटर पनि प्रहरीले बरामद गरेको छ। जैसवालमाथि नयाँ चोरी मुद्दा दर्ता गरी बाँकी कैद अवधि पूरा गर्न झुम्का कारागार पठाउने तयारी भइरहेको मोरङ प्रहरीले जनाएको छ।
त्यस्तै, सिन्धुली कारागारबाट फरार भएका ३९ वर्षीय उपेन मण्डल बिहीबार दिउँसो २:३० बजेतिर मोरङको धनपालथानबाट पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले धनपालथान गाउँपालिका–३ सोराभागका उनलाई पक्राउ गरेको हो। जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका मण्डललाई जिल्ला अदालत मोरङले ८ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको थियो।
प्रहरीका अनुसार मण्डलले ७ वर्ष कैद भुक्तान गरिसकेका थिए। १ वर्ष ६ महिना कैद बाँकी रहँदै उनी पनि जेनजी आन्दोलनकै क्रममा भदौ २४ गते सिन्धुली कारागारबाट फरार भएका थिए। कारागार प्रशासनले उनलाई केही समयअघि स्थानान्तरण गरेर जिल्ला कारागार मोरङबाट सिन्धुली पठाइएको पुष्टि गरेको छ।
मण्डल फरार भएपछि उनी आफ्नो घर फर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो। मण्डललाई पनि बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार सिन्धुली पठाउने तयारी भइरहेको डीएसपी चुँडालले बताइन्।
प्रतिक्रिया दिनुहोस !