पाल्पामा झिनियाँ रोटीको व्यापार बढ्यो
तानसेन : तिहार आगमनसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार बढेको छ। पाल्पाका व्यापारिक केन्द्रहरूका पसल पसलमा राखिएका रङ्गी विरङ्गी झिनियाँ रोटी सबैको मन लोभ्याउने गरेको छ। रोटीको पर्वका रूपमा मानिने तिहारमा झिनियाँ रोटीको महत्व बढेको छ।
तिहारमा रोटीको परिकार लाई शोभायमान बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढेको हो। तिहारको आगमनसँगै तानसेन, रामपुर लगायत नेवारी बस्तीमा झिनियाँ रोटीले ढाकेको छ। पाल्पाका बजारमा झिनियाँ रोटी खरिद बिक्री गर्नेहरूको भीडभाड बढेको छ। तानसेनमा तिजपछि झिनियाँ रोटीको मुख्य सिजन हो।
तानसेन टक्सारका अधिकांश घरपरिवारको आयश्रोत झिनियाँ रोटी भएको छ। झिनियाँ रोटी बनाउन सके हुन्छ बजारको कुनै समस्या छैन। ५ रुपैयाँ दर्जनदेखि व्यापार सुरु गरेको झिनियाँ रोटी अहिले ४ सय रुपैयाँसम्म बजार भाउ पुगेको लामो समयदेखि झिनियाँ रोटी उत्पादन तथा व्यापार गर्दै आएकी तानसेन टक्सारकी नारायणी देवी बज्राचार्यले बताइन्।
पाल्पाको तानसेन, रामपुर, हार्थोक, ताहुँ, सराई लगायतका अधिकांश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने स- साना घरेलु उद्योगहरू नै सञ्चालनमा रहेका छन्। विविध प्रकारका रोटीको परिकार खाने पर्वका रुपमा मनाइने तिहारमा घर घरमा झिनियाँ रोटी नपाक्दा परिकार नै अपूरो हुने गरेको उपभोक्ता मिनादेवी पौडेलले बताइन्।
नेवारी समुदायमा मात्र बढी चलन चल्तीमा रहेको झिनियाँ टोटी आजकल अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ। राम्रो, रङ्गी विरङ्गी, पकाउन पनि सजिलो, सबैले रुचाउने भएकाले तिहारमा झिनियाँ रोटी किन्दै आएको तानसेनकी मायाँदेवी बस्यालले बताइन्।
पाल्पामा बजारमा २०० रुपैयाँ दर्जनदेखि ५ सय रुपैयाँ दर्जनसम्मका झिनियाँ रोटी बिक्री हुँदै आएको छ। झिनियाँ रोटीकै कारण पाल्पाका ३ सय घरपरिवारले घरमै बसी बसी झिनियाँ रोटी बनाएर रोजगारी पाएका छन्। तानसेनको टक्सार, मखनटोल, भगवती टोल, लगायतका नेवारी बस्तीका अधिकाशं महिलाहरूको आम्दानी श्रोत नै झिनियाँ रोटी बनेको छ। झिनियाँ रोटी बनाएर एक परिवारले वार्षिक २ लाखदेखि ६ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। पाल्पामा वार्षिक करोडौं रुपैयाँको झिनियाँ रोटीको कारोबार हुँदै गरेको छ।
प्रतिक्रिया दिनुहोस !