ठूलो मात्रामा प्रतिबन्धित औषधि बरामद, मेडिकल सञ्चालक फरार
विराटनगर : प्रहरीले मोरङको सुनवर्षी नगरपालिका–२ बाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद गरेको छ। उक्त औषधिसहित शुक्रबार दिउँसो १ जना पक्राउ परेका छन्।
प्रहरी चौकी अमरदहबाट खटिएको टोलीले शंकास्पद रूपमा आउँदै गरेको को २१ प २८३३ नम्बरको मोटरसाइकललाई चेकजाँचका लागि रोकेको थियो। त्यस क्रममा मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति फरार भएका थिए। मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–१ का ३५ वर्षीय निरज राजवंशीलाई नियन्त्रणमा लिइएको बताइन्।
मोटरसाइकल नियन्त्रणमा लिएर चेकजाँच गर्दा पछाडि रहेको जेब्रा झोलाबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको उनको भनाइ छ। चालक राजवंशीले मोटरसाइकलमा बोकेको जेब्रा झोलाभित्र १५ हजार ट्याब्लेट स्पासपेन नामक प्रतिबन्धित औषधि भेटिएको जानकारी चुँडालले दिइन्।
इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले उक्त औषधि बरामद गरेर मोटरसाइकल चालक राजवंशीलाई पक्राउ गरेको छ। उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि रंगेली प्रहरीको हिरासतमा राखिएको छ। राजवंशीमाथि कारबाही अघि बढाउने विषयमा औषधि व्यवस्था विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान तथा सोधपुछका क्रममा राजवंशीले उक्त औषधि सुनवर्षी नगरपालिका–६ स्थित न्यू रेखा मेडिकल हलबाट ल्याएको प्रहरीलाई बताएका छन्। मोटरसाइकलको पछाडि सवार रहेका व्यक्ति उक्त मेडिकल हलका सञ्चालक कात्तिक दास रहेको प्रहरीले पत्ता लगाएको छ।
उक्त औषधिसहितको जेब्रा बोकेर दास मोटरसाइकलको पछाडि बसेका थिए। मोटरसाइकल रोक्नसाथ उनी फरार भएको र चालक मात्रै पक्राउ परेको प्रहरीले जनाएको छ। दासले मोरङको उर्लाबारीमा पुर्याउनलाई आफ्नो मेडिकलबाट प्रतिबन्धित औषधि लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मोटरसाइकलबाट हामफालेर भागेका उनको मेडिकल हलमा प्रहरी पुगेको थियो। तर, मेडिकल नै बन्द गरेर उनी फरार भएको पाइएको छ। प्रहरीले खोजी गरिरहेको छ। यो घटनाले मेडिकल हल (औषधि पसल)बाटै प्रतिबन्धित औषधिको किनबेच हुने गरेको पत्ता लागेको छ। प्रतिबन्धित औषधिको अनधिकृत बिक्री र वितरण हुने गरेको थाहा भएसँगै स्थानीय औषधि पसलहरूमा निगरानी बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !