कांग्रेस महाधिवेशनका ‘मपाइँत्व’हरू

देशको संकट मोचनका लागि पहिला पार्टी संकट मोचन गरौं ।

कांग्रेस महाधिवेशनका ‘मपाइँत्व’हरू

देश यति संकटबाट गुज्रिरहँदा समेत पद लोलुपताबाट पछि हट्न नसक्ने, विद्रोहको भावलाई स्वीकार गर्न नसक्नेहरूले कांग्रेसको ऐतिहासिक जिम्मेवारी निभाउन कहिल्यै सक्दैनन्।

नवपुस्ताको आन्दोलन र राजनीतिक उथलपुथलका करिब महिना दिनपछि देशको सबैभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेस आन्तरिक मन्थनमा जुटेको छ। कांग्रेसको इतिहासबारे धेरै भनिरहन पर्दैन। देशको सबैभन्दा पुराना, ऐतिहासिक र ठूलो दल भएको कारण कांग्रेससँग यतिबेला थुप्रै राष्ट्रिय जिम्मेवारी थपिएका छन्। यद्यपि, अहिले निर्दलीय अन्तरिम सरकार छ।

नवपुस्ताको विद्रोहबाट एक प्रकारले दलहरू अघोषित रूपमा विस्थापितजस्तै भएका छन्। तथापि आगामी पाँच महिनाभित्र आमनिर्वाचनको पनि घोषणा भइसकेको यो अवस्थामा मुख्य भनिएका दलहरूका अघि थुप्रै चुनौती र जिम्मेवारीका भारी थोपरिएका छन्।

सबैभन्दा पहिलो त हाम्रो देशको राजनीतिक व्यवस्था भनेको संसदीय सर्वोच्चता हो। त्योभन्दा पनि अझ माथि हुन्छ नागरिकको सार्वभौम अधिकार। अर्थात् संसद् भनेकै नागरिक प्रतिनिधित्वको थलो हो। त्यसमा कसरी अनि कति विकारहरू थपिए भन्ने समीक्षा राजनीतिक दलहरूले पक्कै गरेका होलान्। नगरे पनि यो समयले उनीहरूलाई बाध्य पार्ने नै छ।

आन्दोलनपछि देशमा जुन प्रकारको उथलपुथल भएको छ, जसरी परिस्थितिका बाध्यताहरूलाई स्वीकार गर्नैपर्ने अवस्था आएको छ र त्योभन्दा पनि राष्ट्रिय सार्वभौमिकता र व्यवस्थाप्रति जुन प्रकारका बादल मडारिएका छन्, त्यसका लागि राजनीतिक दलहरू एकमत भएर अघि बढ्नैपर्छ। यो अन्योल, शून्यता अनि अलमलको एउटामात्रै निकास भनेको आगामी फागुन २१ को चुनाव नै हो। त्यसको विकल्पहरूमा जानु भनेको अहिलेको परिस्थिति वा नवपुस्ताको विद्रोहको भावलाई अस्वीकार गर्नु हो।

त्यसैले सोका लागि कांग्रेससहितका सबै राजनीतिक दलले अब निकासको त्यो बाटोलाई समाउनु नै अहिलेको परिस्थितिमा उपयुक्त हुन्छ। ठूलो र ऐतिहासिक पार्टी भएका नाताले त्यसको नेतृत्वको कांग्रेसले नै लिनुपर्छ। किनकि जब जब राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका उपलब्धिमाथि यस्ताखाले अनिश्चितताको बादल मडारिइरहेका हुन्छन्, त्यस्तो राष्ट्रिय संकटका बेला कांग्रेसले नै निकास खोजेको छ।

राष्ट्रिय चुनौतीका अनेकौं मोडमा नेपाली कांग्रेसले जुन ऐतिहासिक कदमहरूको नेतृत्व गरेको छ त्यस हिसाबले पनि अहिलेका यी तमाम चुनौतीलाई चिर्दै राष्ट्रिय निकासका लागि कांग्रेस अघि सर्नैपर्छ। यो उसको ऐतिहासिक जिम्मेवारी पनि हो। त्यसकै लागि चाहिन्छ, नवनिर्मित नेपाली कांग्रेस। भिजन, मिसन र प्रस्ट गन्तव्यसहितको नवनेतृत्व।

नवपुस्ता अनि आगामी पुस्ताको समेत चाहना र भावनालाई बुझ्ने खालको नेतृत्व अबको नेपाली कांग्रेसले खोजिरहेको छ। त्यसकै लागि कांग्रेस फेरि एकपटक आन्तरिक मन्थनमा जुटेको छ। देशको संक्रमणकालीन यो अवस्थामा पार्टी नेतृत्व परिवर्तनका सम्बन्धमा औपचारिक, अनौपचारिक बहस सुरु भएको थियो। त्यसकै परिणामस्वरूप पार्टीसभापति शेरबहादुर देउवाजीले आफू अब सक्रिय नहुने भन्दै कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरिसक्नुभएको छ। विद्रोहको भावनालाई स्वीकार गर्दै देउवाले अब देश र पार्टीको अभिभावकको भूमिका रोज्नुभएको छ। संकटकालीन अवस्थामा जुन सहजताका साथ उहाँले जिम्मेवारी हस्तान्तरण गर्नुभयो त्यो आफैंमा प्रेरणादायी छ।

लामो समय देशमा लोकतन्त्र स्थापनाका लागि आफ्नो ज्यानका बाजी लगाएका कैयौंको फेहरिस्त कांग्रेससँग छ। हालैमात्र भएको जेन–जी विद्रोहका क्रममा ७६ भन्दा धेरै मानिस मारिए। कैयौं जनधनको क्षति भएको छ। पार्टी सभापति देउवा पनि यो आन्दोलनको सिकार हुनुपर्‍यो। अरूको जस्तै उहाँको त घरमात्रै जलेन उहाँकी पत्नीसहित आन्दोलनकारीले कुटपिट गरी घाइते पनि बनाए। र पनि आन्दोलन र एउटा राजनीतिकर्मीले भोग्नैपर्ने नियतिका रूपमा उहाँले त्यसलाई सहजताका साथ लिनुभयो। व्यक्तिग रूपमा कैयांै विवादहरू छन्, त्यसको न्यायिक र निष्पक्ष छानबिनका लागि त उहाँ तयार हुनुपर्छ। लोकतान्त्रिक व्यक्तित्वका लागि यो एउटा उच्च नैतिकताको विषय पनि हो। कैयौं अप्ठ्यारा मोडमा देशको नेतृत्व गर्नुभएका देउवाजीका पनि कैयन योगदान छन्।

अब रह्यो कस्तो कांग्रेस बनाउने, कसले नेतृत्व गर्ने अनि कस्तो नेतृत्व छान्ने ? यसमा पनि धेरै अलमलिनुपर्ने विषय छैन। र होइन पनि। कसरी अनि कस्तो नेतृत्व भन्ने भाव त एक प्रकारले जेन–जीको पुस्ता विद्रोहले पनि संकेत गरिसकेको कुरा हो। देश भ्रष्टाचारले जेलिँदै गर्दा, देशमा व्याप्त कुशासन, पहुँच अनि अवसरको वितरणको असमानता, युवा पुस्ताको पलायन, बरोजगारी, वैदेशिक परनिर्भता र उही अनि उस्तै नेतृत्वको अनुहार हेर्दै वाक्कदिक्क भएको यो पुस्ताले अन्ततः सडक विद्रोहको बाटो रोज्न पुग्यो। सत्ता, सरकार वा समग्रमा भनौं राज्य नागरिकप्रति निरन्तर उदासिन हुनुको परिणाम, त्यसको असन्तुष्टि र आक्रोश एकैपटक सडकमा विस्फोट भएको हो। परिस्थितिको गाम्भीर्यता र त्यसपछिको परिणामलाई स्वीकार गर्नैपर्छ। जसको कुनै विकल्प छैन।

पार्टीले पनि अब आफ्नो नेतृत्वमा त्यस्तै भावनाको प्रतिनिधित्व गराउनुपर्छ। नयाँ पुस्ताले नयाँ नेतृत्वमात्रै होइन, बरु नयाँ विचार र नीतिसमेत चाहेका हुन्। के त्यसका लागि कांग्रेस अनि त्यसको नेतृत्व तयार छ ? यो केन्द्रीय समितिले यसको स्पष्ट जवाफ दिनैपर्छ। नेतृत्वका सन्दर्भमा अहिले कांग्रेसभित्र विभिन्न खाले बहस भएका छन्। खासगरी यही मंसिरमा नियमित महाधिवेशनमा जाने वा कार्यसमितिको म्याद थप्ने भन्ने बहसमा अहिले विभिन्न गुटउपगुट सक्रिय भएका छन्। यसबीचमा विशेष महाधिवेशनको माग गर्नेहरू अर्कोतिर छन्। यसबाट पार्टीभित्र तीव्र ध्रुवीकरण र तिक्तता बढ्न जाने निश्चितजस्तै देखिन्छ। यस्तो संकटकालीन अवस्थामा देश गुज्रिरहेका बेला यो खालको बहसले पार्टीलाई कहाँ पुर्‍याउला ?

कांग्रेसका लाखौं शुभेच्छुक र कार्यकर्ताहरूले नेतृत्वलाई यसबारे सचेत गराउनैपर्छ। त्यसका लागि खासगरी अहिले नेतृत्व परिवर्तन अनि मंसिरभित्रै नियमित महाधिवेशन चाहने पक्षहरूले नेतृत्वलाई अझ बढी खबरदारी गर्नुपर्ने बेला भएको छ। खासगरी अहिले नै जिम्मेवारीमा रहेका पार्टीका महामन्त्रीहरूले महाधिवेशनको तयारीलाई तीव्रा पार्दै त्यसका सबै कार्यभार समयमै पूरा गरेको भए नियमित महाधिवेशन सार्नुपर्ने वा धकेल्नुपर्ने कुनै पनि कारण थिएनन्। चाहने हो र इच्छाशक्ति भयो भने अहिले पनि समय छ। कामहरू जेजति भएको छ र रोकिएको छ त्यहीँबाट नयाँ सुरुवात गर्दा मंसिरको अन्तिमसम्म १५ औं महाधिवेशन सजिलैसँग गर्न सकिन्छ।

महाधिवेशन गर्ने नै प्रस्ट नियत भएको खण्डमा भ्याइँदैन वा समय पुग्दैन भन्नेजस्ता अमूर्त जवाफ र तर्ककै आधारमा त्यसलाई कुनै पनि हालतमा सार्न वा धकेल्न पाइँदैन। बाहिरबाहिर जसरी कांग्रेसमा यो गर्‍यौं वा त्यो गर्‍यौं, उस्ता वा उस्ता प्रस्ताव भनेर सामाजिक सञ्जालमा प्रचारबाजी गरिएका छन्, केन्द्रीय कार्यसमितिको बैठकमा ती प्रस्ताव गरिएकै छैनन्। यस्तो छलछाम र कार्यकर्ता ढाँट्ने प्रवृत्तिले कांग्रेस कहिल्यै नयाँ र अझ विश्वसनीय बन्दै सक्दैन। यस्ता लोकरिझ्याँइबाट अब नेतृत्व टाढा हुनैपर्छ र अहिले नवपुस्ताको भावनालाई समेटेर नवनेतृत्व चयनको बाटोमा अघि बढ्नैपर्छ। अहिले जसले कार्यवाहकको जिम्मेवारी पाउनुभएको छ, बीपी, सुवर्णदेखि सुशील कोइरालासम्मको राजनीतिक विरासत कार्यवाहक अनि जिम्मेवारीहरूकै जगबाट मतबुज भएको थियो।

उहाँ अब मात्रै एउटा कुनै अमूक समूह होइन, बरु उहाँ त अब सिंगो पार्टी र लाखौं शुभेच्छुक अनि कार्यकर्ताको अभिभावक हो। मध्यस्तकर्ता हो। देशको संकट मोचनका लागि पहिला पार्टी संकट मोचन गरौं। त्यसका लागि कार्यवाहक सभापित सक्दो लचक भएर पार्टीभित्रका मध्यम धारमा रहेका नेता कार्यकर्तालाई अघि सार्दै मध्यस्थकर्ताको भूमिका दिनुपर्छ। मंसिरभन्दा हामी एक दिन पनि पर सर्ने कोसिसमात्रै गर्‍यौं भने इतिहासले सुम्पिएको जिम्मेवारीको भारीले फेरि पनि कांग्रेस थिचिने निश्चित छ, कहिल्यै नउठ्ने गरी।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.