जेन–जी आन्दोलनमा २३ अर्ब बढीको बिमा दाबी
काठमाडौं : गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा भएको धनजनको क्षतिबापत २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँको बिमा दाबी गरिएको छ । अर्थात् ३ हजार १ सय ८७ को संख्यामा बिमा कम्पनीमा दाबी परेको छ । कात्तिक ९ गतेसम्म २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको नेपाल बिमा प्राधिकरणले जानकारी दिएको छ । उक्त दाबी रकम र यसअघिको अग्रिम भुक्तानीसमेत गरेर बिमा कम्पनीहरूले कात्तिक ९ गतेसम्म २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ बराबर मात्रै भुक्तानी गरेका छन् । यो कुल दाबी रकमको १२ प्रतिशत मात्रै हो । १४ निर्जीवन बिमा कम्पनी र ४ निर्जीवन लघुबिमा कम्पनीबाट उक्त रकम भुक्तानी भएको हो ।
सुरुको दाबी संख्या र रकमको तुलनामा अहिले यसको आकार थप बढ्दै गएको छ । क्षतिको विवरण थपिएकाले दाबी रकम पनि बढेको हो । गत भदौ २३ र २४ गतेसम्म उत्पन्न असहज परिस्थितिहरूका कारण सिर्जना भएको बिमा दाबीको प्रारम्भिक विवरण १ हजार ९ सय ८४ पुगेको थियो । गत भदौ ३१ गतेसम्मको प्रारम्भिक तथ्यांकअनुसार जेन जी आन्दोलनबाट उक्त संख्यामा परेको क्षति रकम २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबर रहेका थियो ।
बिमा दाबीको ठूलो हिस्सा बागमती प्रदेशको र कम कर्णाली प्रदेशको मुलुकभर जेन–जी आन्दोलनबाट निजी सम्पत्तिदेखि सार्वजनिक सम्पत्तिमा ठूलो क्षति भयो । तर, सरकारले सार्वजनिक सम्पत्तिको अहिलेसम्म बिमा नै नगरेकाले यसको सुरक्षण छैन । तर, मोटरगाडीको अनिवार्य तेस्रोपक्ष बिमा हुने भएकाले यो क्षेत्रको सबै बिमा कभर भयो ।
समग्रमा बिमा दाबीको तथ्यांकलाई हेर्दा सातै प्रदेशमध्ये सबैभन्दा बढी बागमती प्रदेशको परेको छ । जस्को हिस्सा कुल दाबी रकममा ७५.८२ प्रतिशत रहेको छ । प्राधिकरणको तथ्यांकअनुसार कुल ३ हजार हाराहारीको दाबी संख्यामा १ हजार ७ सय २३ बागमती प्रदेशको हो । दाबी रकमको आधारमा यो प्रदेशबाट १७ अर्ब ६१ करोड ६२ लाख रुपैयाँको परेको छ । उक्त दाबी रकममध्ये बिमा कम्पनीहरूले प्रारम्भिकसहित गरेर २ अर्ब १५ करोड ५९ लाख रुपैयाँ भुक्तानी गरेको प्राधिकरणले जनाएको छ ।
यसैगरी रकमको आधारमा दोस्रो बढी दाबी कोशी प्रदेशको रहेको छ । सो प्रदेशमा २ अर्ब ३२ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको दाबी परेको छ । ३ सय ९२ को संख्यामा उक्त रकम बराबरको दाबी परेको हो । कुल दाबी परेसँगै बिमा प्राधिकरणहरूले अग्रिकसहित गरेर कुल ३१ करोड ८४ लाख ४२ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ । यसैगरी बढी दाबी पर्ने तेस्रो प्रदेशमा गण्डकी प्रदेश रहेको छ । सो प्रदेशमा २ सय १६ संख्याको करिब १ अर्ब ६९ करोड २२ लाख ६० हजार रुपैयाँ बराबरको बिमा दाबी परेको छ । यसमध्ये बिमा कम्पनीहरूले १५ करोड १८ लाख ७९ हजार रुपैयाँ मात्रै भुक्तानी गरेका छन् ।
आन्दोलनपछिको क्षति दाबी भुक्तानी गर्न बिमा कम्पनीहरू सक्षमः प्राधिकरण
कुल १८ विमा कम्पनीमध्ये ३ कम्पनीले दाबी भुक्तानी सुरु नै गरेका छैनन् । जसअन्तर्गत राष्ट्रिय बिमा कम्पनी, नेसनल इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स रहेका छन् । तर, नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशीलदेव सुवेदी हालैको आन्दोलनपछिको क्षति दाबी भुक्तानी गर्न बिमा कम्पनीहरू सक्षम रहेको बताउँछन् ।
उनले आम मानिसहरूलाई अनावश्यक रूपमा नआत्तिन सन्देश दिनुपर्ने अवस्था रहेको उल्लेख गर्दै कम्पनीहरूले एकदमै उपयुक्त ढंगले भुक्तानी गर्नेमा विश्वस्त रहन आग्रह गरे । ‘बिमा कम्पनीहरूले विधिअनुसार क्षति मूल्यांकन भएपछि त्यसको भुक्तानी गर्नेछन् । दाबी भुक्तानीको प्रक्रिया केही ‘कम्प्लिकेटेड’ (जटिल) हुन्छ । किनभने पुरै सामान जलेको हुनाले मूल्यांकन गर्न समय लाग्ने हुँदा भुक्तानीमा केही समय लाग्न सक्ने भए पनि कम्पनीहरूले ‘प्रुडेन्ट नम्स’मा रहेर भुक्तानी गर्नेछन्,’ प्रवक्ता सुवेदीले अन्नपूर्णसँग भने ।
उनले क्षति धेरै भएपछि इन्सुरेन्स गर्नेको संख्या र बिमासम्बन्धी सचेतना बढेको पाइएको बताए । यद्यपि, सचेतना मात्र बढेर नहुने र यसलाई बिमा नीति (पोलिसी) मा पनि आउनुपर्नेमा उनको जोड छ । सरकारले बिमा गर्ने भन्नु नै अहिलेको लागि ठूलो नीतिगत कदम भएको उनले औंल्याए ।
सबैभन्दा बढी सम्पत्ति बिमाको दाबी : कुल दाबीको ८१.८६ प्रतिशत
बिमा कम्पनीहरूमा दाबी गर्ने सबैभन्दा बढी सम्पत्ति बिमाको हिस्सा रहेको छ । रकमको आधारमा कुल १९ अर्ब १ करोड ९४ लाख रुपैयाँ बराबरको सम्पत्ति बिमाको दाबी परेको छ । यो कुल बिमा दाबी रकम (२३ अर्ब २३ करोड) को ८१.८६ प्रतिशत हो । सम्पत्ति बिमामा दाबी रकम गर्ने संख्या भने ६ सय ७३ मात्रै छ । हालसम्म दाबी गरेको मध्ये बिमा कम्पनीहरूले २ अर्ब २७ करोड ११ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।
यसैगरी दोस्रो बढी दाबी मोटर बिमामा छ । सबैभन्दा बढी संख्या २ हजार २ सय ७० संख्यामा दाबी पर्दाा ३ अर्ब ४४ करोड २५ लाख ९० हजार रुपैयाँ बराबरको रहेको छ । यसमध्ये बिमा कम्पनीहरूले ४७ करोड ७७ लाख ३१ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको प्राधिकरणले जानकारी दिएको छ ।
यसैगरी इन्जिनियर तथा ठे. जोखिम बिमामा १ सय ९२ दाबी पर्दा ३६ करोड ७९ लाख ३८ हजार पुगेको छ । यसमध्ये ४ करोड ६३ लाख ९५ हजार रुपैयाँ बराबरको भुक्तानी भएको जनाएको छ । यसबाहेक परिवहन बिमा दाबी संख्या १२ वटा हुँदा १ करोड ६६ लाख ६८ हजार रुपैयाँको दाबी परेको छ । तर, हालसम्म परिवहन बिमाको कुनै पनि दाबी भुक्तानी बिमा कम्पनीहरूले गरेको देखिंदैन । यसबाहेक अन्य ४० बिमाको ३८ करोड ७१ लाख ५३ हजार रुपैयाँ बराबरको दाबी परेको छ । यसमध्ये २२ लाख ८२ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेको पाइएको छ ।
सबैभन्दा बढी बिमा दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा
सञ्चालनमा रहेका १४ निर्जीवन बिमा कम्पनीहरू र ४ लघुबिमा निर्जीवन कम्पनीहरूमा ठूलो संख्यामा दाबीहरू दर्ता भएका छन् । यसमध्ये ६ कम्पनीमा अर्बमाथिको दाबी परेको छ । जेन–जी प्रदर्शनबाट उत्पन्न असामान्य परिस्थितिका कारण बिमा कम्पनीहरूले ठूलो मात्रामा क्षति दाबी भुक्तानी गर्नुपर्ने अवस्था आएको छ ।
बिमा प्राधिकरणका अनुसार हालसम्म १८ वटा जीवन बिमा कम्पनीमा परेको कुल दाबीमध्ये सबैभन्दा बढी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । यो कम्पनीमा मात्रै ३ सय ९७ दाबी दर्ता भई ५ अर्ब ४९ करोड ४८ लाख ४० हजार बराबरको रकम दाबी भएको छ । उक्त दाबी रकममध्ये सो कम्पनीले हालसम्म १ अर्ब २८ करोढ ३ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको देखिन्छ ।
यसपछि बढी दाबी परेको दि ओरियन्टल इन्स्योरेन्समा ९९ वटा बिमा दाबी पर्दा ५ अर्ब २४ करोड ४० लाख ५८ हजार रुपैयाँ बराबरको रकम दाबी भएको छ । यसमध्ये कम्पनीले १ करोड ६६ लाख ७० हजार रुपैयाँ मात्रै भुक्तानी गरेको छ । यसपछि आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २ सय १५ संख्यामा दाबी पर्दा २ अर्ब ७९ करोड ४१ लाख ९ हजार बराबरको दाबी परेको छ । यसमध्ये ३१ करोड ४१ लाख रुपैयाँ बराबर दाबी भुक्तानी गरेको छ । यसपछि अर्ब हाराहारीमा शिखर, सगरमाथा लुम्बिनी र नेको इन्स्योरेन्स रहेको छ । उक्त ६ कम्पनी बाहेककोमा अर्बभन्दा कमको बिमा दाबी परेको छ ।
प्रतिक्रिया दिनुहोस !