क्यामेराको लेन्सबाट नेपाली क्रिकेटलाई चिनाइरहेका साजन
काठमाडौं : नेपाली क्रिकेटको जितमा हरेक खेलाडी र समर्थकको तस्बिरहरू शानका साथ हामी हेर्छौं, सेयर गर्छौं। नेपाली क्रिकेटको दुःख-सुख, झरी, घाम र बादल नभनी खटिने फोटोग्राफर हुन्, साजन लामिछाने। उनले खिचेका फोटोहरूले नेपाली क्रिकेटको छबि बताउँछ। त्यसैले उनलाई नेपाली क्रिकेटको 'छबि'कार भन्दा फरक पर्दैन।
क्रिकेट टिम नेपाली खेलकुदको चर्चाको शीर्ष स्थानमा रहन्छ। नेपाली खेलकुदको कुरा हुँदा नेपाली क्रिकेटले पाइरहेको सफलता र त्यो सफलता दर्साउने फोटो र खेलाडीको चर्चा भइरहेको हुन्छ।
२५ वर्षीय साजन लामिछानेले आजभन्दा तीन वर्ष अगाडि नेपाल क्रिकेट संघ (क्यान)को अफिसियल फोटोग्राफरको रूपमा काम गर्न सुरु गरेका थिए। त्यसपछि बिस्तारै आफ्नो करियर यसैमा देखे। नेपाली क्रिकेटको उतारचढावलाई नजिकबाट नियालेर त्यसलाई फोटोको माध्यमबाट हजारौं-लाखौं समर्थकसम्म पुर्याउने साजन आज चर्चित नाम बनेका छन्। नेपाली क्रिकेटले पाउँदै गरेको सफलतामा उनको फोटो र भिडियोले चर्चा कमाउँछ।
स-सानो सफलता र खुसीहरू संगाल्दै तीन वर्षसम्म नेपाली क्रिकेटले भोगेको उतारचढावको तीता मिठास भोगाइको संग्रहालयको रूपमा साजनसँग तस्बिरहरू रहेका छन्।
काठमडौंको काभ्रेस्थलीमा केदार लामिछाने र भवानी लामिछानेको तेस्रो सन्तानका रूपमा जन्मिएका साजनलाई सानो उमेरबाट क्रिकेट र फोटोग्राफीको सौख थियो। त्यही मोहले उनलाई नेपाल क्रिकेट संघको अफिसियल फेटोग्राफरसम्मको यात्रा गर्न हौसायो। ‘फोटोग्राफी र क्रिकेट भनेको चाहिँ मेरो प्यासन (सौख), एकदमै मनपर्ने चिज हुन्। बच्चादेखि नै मलाई क्रिकेट र फोटोग्राफीमा एकदमै लगाव थियो। अहिले त्यही कुरालाई व्यवसायिकरूपमा गर्न पाउँदा एकदमै खुसी र गौरवाञ्वित महसुस हुन्छ।’ मनपर्ने कुरालाई व्यवसायिकरूपमा गर्न पाउँदा साजन निकै खुसी छन्। उनी आफ्नो सानैदेखिको क्रिकेटको झुकाव र फोटोग्राफीलाई एकै साथ अगाडि बढाइरहेका छन्।
अहिले उनको परिचय नै नेपाली क्रिकेट बनेको छ। नेपाली क्रिकेट भन्ने वित्तिकै साजनका फोटोहरू आउँछन्। पछिल्लो दुई वर्ष नेपाल क्रिकेट संले डिजिटल फ्यान अवार्ड जित्यो। जसमा उनले खिचेका नेपाली समर्थकको मायाको तस्बिरले विश्व क्रिकेटको ध्यान तान्यो। यस फोटोको बारेमा साजन भन्छन्, ‘मैले क्यानको अफिसियल फोटोग्राफरको रूपमा काम गर्न सुरु गर्दा खासै सामाजिक सञ्जालको महत्व र यति धेरै क्रेज थिएन। तर, त्यसपछि लगातार २ वर्ष आइसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड पाउँदा यसको सबैभन्दा महत्वपूर्ण श्रेयका पात्र हुन्, क्रिकेटका समर्थकहरू।’
नेपाली क्रिकेट टिमको खेल हुँदा नेपाली समर्थकहरू कतिबेला खेलाडीका फोटोहरू सामाजिक सञ्जालमा पोस्ट हुन्छ भनेर कुरेर बस्छन्। समर्थकले फोटो र भिडियोहरूमा देखाएको मायाले साजनलाई काम गर्न निकै प्रोत्साहन मिल्ने गर्छ। साजन भन्छन्, ‘सामाजिक सञ्जालमा कतिबेला क्यानले फोटो अपलोड गर्छ र हामीले हेर्न पाउँछौं भनेर कुरेर बस्ने समर्थकको मायाले गर्दा मलाई फोटो खिच्न अझै प्रेरणा मिल्छ।’
नेपाली क्रिकेट टिमले गरेको प्रदर्शनको साक्षीको रूपमा रहेको फोटो नेपाली क्रिकेट खेलाडी र समर्थक जोड्ने माध्यम पनि हो। फोटोलाई आकर्षक ढङ्गले प्रस्तुत गर्ने उनको कौशलले गर्दा नेपाली क्रिकेट प्रेमीमाझ साजन लोकप्रिय बन्दैछन्। 'फोटोहरू सामाजिक सञ्जालमा राख्दा क्रिकेट खेलाडी र समर्थकलाई जोड्ने माध्यम बनेको जस्तो लाग्छ, जसले गर्दा उहाँहरूलाई नेपाल नेपाली क्रिकेटको माया अझ बढेको महसुस गरेको छु,’ उनले भने।
उनले नेपाली क्रिकेटलाई समर्थकको न्यानो मायाको अनुभूति गराउँछन्। पछिल्लो दुई वर्षयता नेपाली क्रिकेट टिमका खेलाडीले सामाजिक सञ्जालमार्फत निकै माया पाएका छन्। खेलाडीहरू पनि साजनले खिचेका फोटो निकै मन पराउँछन्। उनीहरू आफ्नो सामाजिक सञ्जालमा साजनको क्यामेराले कैद गरेको फोटो छानी छानी हाल्छन्।
फ्लड लाइटमा फोटो खिच्न उत्साहित

पहिलो सिजनको एनपीएलमा क्यानको अफिसियल फोटोग्राफरको रूपमा मैदानमा खटिने साजनको मुहारमा कहिले पनि दुविधा, प्रश्न र निराशा देखिँदैन। नेपाली क्रिकेटले हार्दा त्यसको साक्षी बन्छन्। जित्दा क्यामेरा समाउँदै उनले खुसीका क्षण कैद गर्छन्। साजन, नेपाली क्रिकेटको हरेक जित र हारलाई महसुस पनि गर्छन्। नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो सिजन सकियो। पहिलो संस्करणमा दर्शक र समर्थकको माया निकै पायो। खेलाडीको भावनाहरूलाई उनी आफैं पनि मैदानमा रहेर त्यसलाई महसुस गरे, त्यसलाई फोटोका माध्यमबाट विश्वभरका नेपाली समर्थकमाझ पुर्याए।
पहिलो संस्करणको एनपीएलबारे उनी भन्छन्, ‘पहिलो संस्करणको एनपीएल निकै सफल भयो। फोटोग्राफीको माध्यमबाट मैले विश्व प्रसिद्ध भनिएका खेलाडीहरूको फोटो खिच्न पाएँ। नेपाल प्रिमियर लिग सबैका लागि आफ्नो अनुभव होला। मेरो लागि पनि निकै सुखद अनुभव रह्यो।’
नेपाली क्रिकेटको पहिचानलाई क्यामेरा र फोटोको माध्यमबाट विश्व सामु पुर्याएका साजन अहिले पनि निकै व्यस्त छन्। उनी नेपाल प्रिमियर लिगको दोस्रो सिजनको 'ट्रफी टुर’मा व्यस्त छन्।
पहिलो संस्करणमा निकै सफल भएको मानिएको नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ गतेबाट सुरु हुँदैछ। दोस्रो संस्करणका लागि साजन आफैं पनि निकै उत्साहित छन्। पहिलोपटक त्रिवि क्रिकेट मैदानको फेरिएको स्वरूप फ्लडलाइटमा आफ्नो क्यामेराको जादु देखाउन उनी आतुर छन्।
'विदेशमा पनि फ्लड लाइटहरूमा खेलहरू हुन्छ। आफ्नो घरेलु समर्थकको अगाडि आफ्नै मैदानमा फ्लड लाइटको अनुभवसहित फोटो खिच्न निकै उत्साहित छु,’ उनी भन्छन्।
लोकसेवा पढ्नुपर्छ भन्ने आमा-बुबा पनि फोटोग्राफी गर्दा झन् खुसी

नेपाली समाजमा प्रायः खोजिने कुरा हो, व्यवसायिक स्थिरता। साजन पनि सामान्य परिवारमा हुर्किए। दुई दिदीपछि जन्मिएका उनलाई पहिले परिवारले लोकसेवा पढ्नुपर्छ भन्दै सुझाउँथे। क्रिकेटको फिल्डमा आउनुभन्दा अगाडि पनि उनी फोटोग्राफी गर्थे। तर, त्यतिबेला राम्रो आम्दानी नहुँदा परिवारले ‘यसरी त चल्दैन भविष्य बारेमा सोच्नुपर्छ’ भन्दै उनलाई सम्झाउँथे। परिवारको समर्थन निकै राम्रो रहेको साजनले भने, ‘सुरुसुरुमा हाम्रो घरतिर लोकसेवा पढ्नुपर्छ भन्नुहुन्थ्यो। मैले क्रिकेटको फिल्डमा आउनु अगाडि पनि फोटोग्राफी गर्थे तर कमाई राम्रो नहुँदा परिवारले स्थिरता खोज्नुपर्ने भन्दै सम्झाउनुहुन्थ्यो।’
उनले गरिरहेको काम देश तथा विदेशमा रहेका नेपाली क्रिकेट समर्थकले गरेको मायाले गर्दा परिवार अहिले निकै खुसी छ। साजनकै भाषामा भन्नुपर्दा, ‘यो पेशाबाट मैले कमाएको माया र समर्थनले गर्दा परिवार अहिले म भन्दा बढी खुसी हुनुहुन्छ।’
धेरै युवाहरू फोटोग्राफीमा भविष्य छ कि छैन भनेर प्रश्न गर्छन्। शोकका लागि फोटोग्राफी गर्ने युवाहरू धेरै छन्। यसको जवाफमा उनी भन्छन्, ‘एउटा फोटोग्राफरको आम्दानी सरकारी जागिरे अधिकृतहरूको भन्दा राम्रो हुन्छ।’ उनले भनेको उत्तरबाट प्रष्ट हुन्छ, भविष्य यो व्यवसायमा छ।
व्यवसायीक रूपमा युवाहरू फोटोग्राफीमा लोभिन्छन्। सोही इच्छालाई व्यावसायिक रूपमा गर्न सक्यो धेरै लाभ हुनसक्छ अथवा यसले पहिचान बनाउन सक्छ भन्ने उनी राम्रो उदाहरण हुन्। फोटोग्राफीका पनि धेरै विधाहरू हुन्छन्। साजन आफैं पनि फोटोग्राफीका कहिलेकाहीँ कक्षाहरू लिने गर्छन्। यसका विभिन्न विधाबारे छलफल गर्दै आफ्नो इच्छा र आकांक्षाअनुसार फोटोग्राफी गर्न चाहने युवाहरूलाई साजन सुझाव दिन्छन्, 'हामीले फोटोग्राफीमा राम्रो मेनपावर पाउन सकेकै छैनौं। स्पोर्ट्स फोटोग्राफीमा पनि कहिलेकाहीँ क्यानले नै पनि खोजिरहेको जस्तो मेनपावर भेटाउन सक्दैन। त्यसैले आफ्नो इच्छा र आकांक्षा अनुसार फोटोग्राफी गर्दा हालः धेरै स्कोप छ।’
साजन लामिछाने र उनका लेन्स
युवा अवस्थाबाटै फोटोग्राफी सुरु गरेका साजनसँग सुरुमा महँगो लेन्स किन्ने पैसा थिएन। स्पोर्ट्स फोटोग्राफी महँगो फोटोग्राफी हो। यसका लागि त्यही किसिमका लेन्स नहुने हो भने फोटो राम्रो आउँदैन। सुरुमा १५०- ६०० एमएमको सिग्माको लेन्सबाट उनले फोटोग्राफी सुरु गरे। तर त्यसले मात्र नभ्याउने भएपछि उनले ऋण काडेर लेन्स किने। उनले ४०० एमएमको क्याननजो लेन्स लिए। जुन एक वर्ष अगाडि मात्रै उनले ऋणमा लिएका हुन्। हाल भने नेपाल क्रिकेट संघ क्यानले पनि उनलाई निकै सपोर्ट गरिरहेको छ।
परिवारको समर्थन र काम गर्ने संस्थाको सहयोगले उनी यस क्षेत्रमा जम्दै गएका हुन्। साजन भन्छन्‘सुरुमा मसँग १५० टु ६०० एमएमको सिग्माको लेन्स थियो। एक वर्ष अगाडि मात्रै ४०० एमएमको क्याननको लेन्स किने। यसका लागि क्यान र घरपरिवारले निकै सहयोग गर्यो।' यति मात्रै होइन उनको लेन्स र फोटोग्राफीको कमालले उनी नेपाली राष्ट्रिय टिमसँग पाँचवटा देशमा गएर फोटो खिच्ने अवसर पाए ।
उनले हालसम्म जिम्बाब्वे, अमेरिका, श्रीलङ्का, ओमान, दुबई र भारतमा गएर टिमको फोटोहरु खिचेका छन्।‘यो पेशाले बिस्तारै लेन्सको ऋणहरू पनि तिरिरहेको छु। त्योसँगै सबैभन्दा महँगो अनुभव राष्ट्रिय टिमसँग उनीहरूको अनुभव साट्दै त्यसलाई क्यामरामा कैद गर्ने अवसर पनि पाइरहेको छु। यो मेरो लागि सबैभन्दा ठूलो कुरा हो।'
प्रतिक्रिया दिनुहोस !