एनपीएल उपाधि जित्न यस्ता छन् ८ कोचका रणनीति

एनपीएल उपाधि जित्न यस्ता छन् ८ कोचका रणनीति

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ। नेपालको विभिन्न प्रदेश तथा सहरको प्रतिनिधित्व गर्दै ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जित्यो। सुदूरपश्चिम रोयल्स पहिलो सिजनको उपविजेता रह्यो।

कर्णाली याक्स र चितवन राइनोजले प्लेअफसम्म आफ्नो स्थान बनाएका थिए। अन्य टोलीको पहिलो सिजन बिर्सन लायक रह्यो।

दोस्रो सिजनका लागि सबै टिमहरूले ‘री स्टार्ट’ गरेका छन्। पहिलो सिजनमा भएको गल्ती र केही बलियो पक्षहरू सँगालेर टिमहरू यतिबेला दोस्रो सिजनको तयारीमा छन्।

पहिलो सिजनभन्दा हरेक तवरले दोस्रो सिजन फरक बनिरहेको छ। यो सिजन नेपाली समर्थकहरूले ‘डे–नाइट’ खेलको अनुभव लिन पाउनेछन्।

नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो सिजनका लागि तालिका सार्वजनिक गरेको छ। जसमा डबल हेडर भएको दिन पहिलो खेल ११ बजे र दोस्रो खेल ४ बजे सुरु हुने उल्लेख छ।

त्रिवि क्रिकेट मैदानको फेरिएको स्वरूप, फ्लड लाइट, सिट जडान भएको मैदानमा नेपाली समर्थकले नेपाली क्रिकेटको फरक स्वाद पाउनेछन्।

यही फरकपनमा नेपाली क्रिकेटको ठूलो सम्भावना बोकेको एनपीएलमा ८ टिमले दोस्रो सिजनका लागि ८ फरक रणनीतिसहितका प्रशिक्षक भित्र्याइसकेको छ।

यस सिजनका लागि ५ विदेशी प्रशिक्षक र ३ नेपाली प्रशिक्षकको रणनीतिक भिडन्त हुनेछ।

कर्णाली याक्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले नेपाली प्रशिक्षकलाई विश्वास गरेका छन् भने अन्य ५ टिमका विदेशी प्रशिक्षक छन्। जसमा विराटनगर किंग्सका प्रशिक्षक पुबुदु दासानायके र काठमाडौं गोर्खाजका प्रमुख प्रशिक्षक मोन्टी देशाईले नेपालको राष्ट्रिय टिमको जिम्मेवारी सम्हालिसकेका छन्। यी दुवै प्रशिक्षकले नेपाललाई १/१ पटक विश्वकपमा पुर्याएका छन्। २०१४ मा नेपालले विश्वकप खेल्दा नेपालको प्रमुख प्रशिक्षक पुबुदु दासानायके थिए। एक दशकपछि नेपालले दोस्रो पटक विश्वकप खेल्दा नेपाली टिमको प्रमुख प्रशिक्षक मोन्टी देशाई थिए।

लुम्बिनी लायन्सका प्रशिक्षक टिनु योहानान्न, साबिक विजेता टिम जनकपुर बोल्ट्सका प्रशिक्षक शिवनारायण चन्द्रपल नेपाली क्रिकेटमा नयाँ नाम हुन्। पोखरा एभेन्जर्सले प्रशिक्षकमा राजीव कुमारलाई नै निरन्तरता दिएको छ।

विराटनगर किङ्स : पुबुदु दासानायके
विराटनगर किङ्सले नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके आफ्नो प्रमुख प्रशिक्षकको रूपमा भित्र्याएको छ। पहिलो सिजन बिर्सनलायक भइसकेपछि नेपालका लागि प्रमुख प्रशिक्षक बनेर २०१४ मा विश्वकप खेलाएका प्रशिक्षक पुबुदुलाई विराटनगरले भित्र्याएको हो। सन् २०१४ मा नेपाललाई पहिलोपटक विश्वकप खेलाएता पुबुदुको छाप नेपाली क्रिकेटमा निकै स्वर्णिम छ। त्यति मात्रै होइन पुबुदु दासानायके पहिलो सिजनको एनपीएलमा जनकपुर बोल्ट्सको प्रमुख प्रशिक्षक रहेर उपाधि जितिसकेका प्रशिक्षक हुन्।

नेपाली क्रिकेट र नेपाली खेलाडीबारे राम्रो जानकारी राख्ने पुबुदुले यसपालि विराटनगर किंग्सलाई दोस्रो सिजनको उपाधिका लागि कतिको राम्रो रणनीति तयार पार्न सक्छन् भन्ने हेर्न बाँकी छ। पहिलो सिजनको उपाधि विजेता प्रशिक्षकको रूपमा उनको छवि राम्रो छ। उनको रणनीति नेपाली क्रिकेटले धेरै पटक प्रशिक्षण गरिसकेको छ। फरक टिम र फरक खेलाडीलाई पुबुदुले कसरी प्रयोगमा ल्याउनेछन् भन्ने यो सिजनको रोचक विषय हुनेछ।

विराटनगर किङ्समा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने जस्ता स्टार खेलाडीहरू छन्।् लोकेश बम, प्रतिश जिसी, वसिर अहमद, सुवास भण्डारी र नरेन्द्र भट्टलाई टिमले दोस्रो सिजनको लागि रिटेन गरेको थियो। सूर्य तामाङ, नारायण जोशी, साहिल पटेल, शंकर राना र श्रवण किस्कुलाई दोस्रो सिजनका लागि मिनी अक्सनबाट अनुबन्ध गरेको हो।

विदेशी खेलाडीहरूको रूपमा भने विराटनगरसँग निकै राम्रो नामहरू रहेका छन्। विराटनगर किङ्सले फाफ डु पेल्सिस, मार्टिन गप्टिल, जर्ज मुन्से, साम हिज्जेट, मर्चेन्ट डे लाङ जस्ता खेलाडीहरू विराटनगर किङ्समा अनुबन्धित छन्। बलिङ प्रशिक्षकको रूपमा धमिक्का प्रसाद पनि टिमसँग जोडिसकेका छन्।

पहिलो सिजन खास हुन नसक्दा विराटनगरले नाम चलेका विदेशी खेलाडी अनुबन्ध गर्दै टिमलाई बलियो बनाउने कोसिस गरेको छ।

यी खेलाडीहरूलाई कसरी सही सदुपयोग गर्ने र कुन ठाउँमा कसरी चलाउने भन्ने रणनीति भने पुबुदुकै हुनेछ। नेपाली खेलाडीबारे विज्ञ पुबुदु अमेरिकाका प्रमुख प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिरहेका छन्।  

जनकपुर बोल्ट्स : शिवनारायण चन्द्रपल
साबिक विजेताका रूपमा रहेको जनकपुर बोल्सले आफ्नो छवि बचाउँदै दोस्रो सिजनमा उपाधि रक्षाको रणनीतिसहित मैदानमा उत्रनेछ। दोस्रो सिजनका लागि जनकपुर बोल्ट्सले शिवनारायण चन्द्रपललाई आफ्नो प्रमुख प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। पहिलो पटक नेपाली क्रिकेटको नाडी छाम्न लागेका चन्द्रपलले राम्रो रणनीति बनाएर बोल्ट्सको उपाधि जोगाउने कोसिस गर्नेछन्।

पहिलो पटक नेपाल आएका शिवनारायण नेपाली क्रिकेटबारे  ज्ञाता भने होइनन् । उनी नेपाली क्रिकेट आफूले सीमित रूपमा पन्छाएको भने अनुबन्धको क्रममा पत्रकारलाई बताएका थिए। नयाँ प्रशिक्षकको आगमनसँगै जनकपुर बोल्ट्स केही फरक अनुभव र पहिलो सिजनको उपाधि रक्षा गर्न चाहन्छ।

वेष्ट इण्डिज क्रिकेटको छवि बोकेका चन्द्रपल एक सफल खेलाडी थिए। नेपाल प्रिमियर लिगमा उनी नयाँ प्रशिक्षक भएपनि सिपीएल टोली जमैका तलाहवाजको प्रशिक्षकको रूपमा उनले काम गरिसकेका छन्। उनले अमेरिकी महिला टोलीको पनि प्रशिक्षण सम्हालेका थिए।

लुम्बिनी लायन्स : टिनु योहानान्न
भारतीय मूलका प्रशिक्षक टिनु योहानान्न पहिलो पटक नेपाली क्रिकेटमा आएका हुन्। उनले दोस्रो सिजनको एनपीएलका लागि लुम्बिनी लायन्सको प्रशिक्षकको भूमिका सम्हाल्ने छन्। नेपालमा आएर हाल टिमसँग प्रशिक्षणमा जोडिइसकेका प्रशिक्षक टिनुसँग भारतको रणजी ट्रफीको अनुभव छ।

उनले २०२० देखि २०२३ सम्म करेला क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा काम गरिसकेका छन्। उनको प्रशिक्षणमा केरेलाले विजय हजारे ट्रफीमा दुईपटक क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो। पछिल्लो समय २०२४/२५ को सिजनमा आन्ध्र क्रिकेट टिमको मुख्य प्रशिक्षकको भूमिकामा थिए।

भारतीय राष्ट्रिय टिमका पूर्व तीव्र गतिका बलर रहेका टिनुले भारतका लागि समान ३ टेष्ट र ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

उनी क्रिकेटको लेगेसी पन्छाएको परिवारबाट आएका खेलाडी हुन्। उनका बुवा एसियन गेम्समा स्वर्ण पदक विजेता हुन्। उनी स्वर्ण पदक विजेता टिसी योहानान्नका छोरा हुन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो संस्करणमा रोयल च्यालेन्जर्स ब्याङ्गलोरुबाट खेलेका थिए।

नेपाली क्रिकेटका लागि नयाँ नाम भएपनि उनी भारतीय क्रिकेटमा राम्रो छवि बनाइसकेका प्रशिक्षक हुन्। उनको लेगेसीसँग लुम्बिनी लायन्सले पहिलो सिजनको बिर्सन लायक प्रदर्शनबाट केही माथि उठ्ने अपेक्षा गरेको छ। पहिलो सिजनमा विर्सनलायक प्रदर्शन गरेको लुम्बिनी प्लेअफबाट बाहिरिने पहिलो टिम रहेको थियो। यसपटक भारतीय प्रशिक्षकसहित केही नयाँ रणनीतिका साथ लुम्बिनी मैदानमा उत्रनेछ।

काठमान्डु गोर्खाज : मोन्टी देशाई
मोन्टी देसाई नेपाली क्रिकेटमा निकै सुनिएको नाम हो। सन् २०२४ मा नेपाली क्रिकेटले दोस्रो पटक विश्वकप खेल्दाका प्रशिक्षक हुन् देसाई। नेपाली क्रिकेट र नेपाली खेलाडीबारे राम्रो जानकारी राख्ने प्रशिक्षकको रूपमा उनलाई काठमाडू गोर्खाजले अनुबन्ध गरेको हो।

नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक रहेका मोन्टी नेपाली क्रिकेटमा पुन: फर्किन पाउँदा निकै खुसी छन्। उनी आफ्नो प्रशिक्षण रणनीतिका कारण पनि नेपालमा निकै प्रसिद्ध छन्। राष्ट्रिय टिममा लिग २ को १२ मध्ये ११ खेल जित्दै उनी सफल रणनीतिकार हुन् भन्ने प्रमाणित गरिसकेका छन्। नेपाली क्रिकेटलाई एक दशकपछि विश्वकपको मैदानमा डोर्‍याउने प्रशिक्षक हुन्। मोन्टी देसाईको छवि नेपालमा निकै राम्रो छ। उनले आफ्नो छवि कायम गर्न काठमाडू गोर्खाजलाई राम्रो नतिजा पस्कनुपर्ने हुनेछ।

हाल भारतीय क्रिकेटका सामान्य कार्यक्रममा व्यस्त रहेका मोन्टीलाई नेपाली क्रिकेटमा छोडेको छापको कारण काठमाडूले अनुबन्ध गरेको हो।

काठमाडू गोर्खाजको कमान्ड करण केसीले सम्हाल्नेछन्। करणसँगै नेपाली खेलाडीमा शाहब आलम, भीम सार्की, रसिद खान, दिपेश कडेल र प्रतीक श्रेष्ठलाई काठमाडू गोर्खाजले पहिलो सिजनबाट रिटेन गरेको हो। दोस्रो सिजनको मिनी अक्सनबाट काठमाडूले पाँच खेलाडी भित्र्यायो। जसमा आदिल आलम, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम मगर र तुलबहादुर थापा रहेका छन्।

विदेशी खेलाडीमा काठमाडौँ गोर्खाजले ६ जना भित्र्याएको छ। नेपाली क्रिकेटको ज्ञाताको रूपमा रहेका मोन्टी देसाईले नेपाली खेलाडी र विदेशी खेलाडीलाई मिलाएर काठमाडूको जितको रणनीति बनाउनुपर्ने हुन्छ।

मोन्टीका लागि नेपाली क्रिकेटमा रहेको स्वर्णिम छविलाई अझ माथि उठाउने एक सुनौलो अवसर हुनेछ। पहिलो सिजनको एनपीएल चलिरहँदा उनी नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक थिए। नेपाली क्रिकेट र त्रिविको पिचमा काम गरिसकेको हुँदा उनलाई यसको फाइदा हुनेछ।  

पोखरा एभेन्जर्स : राजीव कुमार
पोखरा एभेन्जर्सले पहिलो सिजनका प्रशिक्षक राजीव कुमारलाई निरन्तरता दिएको छ। पहिलो सिजनमा काम गरिसकेको हुनाले राजीवले रिटेन गरेका खेलाडीहरूको क्षमता राम्ररी जान्दछन्। पहिलो सिजनमा आएर नेपाली क्रिकेटमा खासै राम्रो छवि बनाउन नसकेका राजीवले दोस्रो सिजनमा आफ्नो छवि सुधार्नुपर्ने हुन्छ।

नेपाल प्रिमियर लिगको सबैभन्दा महँगो टिमको रूपमा रहेको पोखरा एभेन्जर्सले पहिलो सिजनमा बिर्सन लायक प्रदर्शन गर्‍यो।

कुशल भुर्तेल, बिपिन खत्री, दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, आकाशचन्द्र तृतराज दासलाई पोखरा एभेन्जर्सले रिटेन गरेको थियो। दोस्रो सिजनको मिनी अक्सनबाट पोखराले चार खेलाडीलाई अनुबन्ध गर्‍यो। जसमा अर्जुन कुमाल, अभिषेक तिवारी, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री रहेका छन्।

पोखराले केही नाम चलेका विदेशी खेलाडी अनुबन्ध गरेको छ। जसले गर्दा टिम सन्तुलित बनाउने कोसिस राजीवले गरिरहेका छन्। टिममा रहेका नेपाली खेलाडी र विदेशी खेलाडीलाई मिलाएर पहिलो सिजनको नतिजा र छवि सुधार्ने प्रयासमा हुनेछन् प्रशिक्षक राजीव।

पहिलो सिजनमा यही टिमसँग काम गरिसकेको हुँदा उनी टिमको बलियो र कमजोर पक्षको बारेमा राम्ररी जानकार छन्। हाल प्रशिक्षणमा व्यस्त रहेको पोखरा एभेन्जर्स गण्डकीको प्रदेशको प्रतिनिधित्व टिम हो।

कर्णाली याक्स : ज्ञानेन्द्र मल्ल
ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी हुन्। हाल नेपाली राष्ट्रिय क्रिकेट टिमका सहायक प्रशिक्षकको रूपमा कार्यरत ज्ञानेन्द्रले दोस्रो सिजन पनि कर्णाली याकसँग निरन्तरता पाएका छन्। पहिलो सिजनमा प्लेअफसम्म पुगेको कर्णाली याक्स यो पटक प्लेअफ चरण पार गर्न चाहन्छ। ज्ञानेन्द्रले यसपटक केही फरक रणनीति बनाउनुपर्ने हुन्छ। नेपाली प्रशिक्षक भएका कारण उनले नेपाली होम ग्राउन्ड र होम क्राउडको फाइदा उठाउन सक्छन् ‌। कर्णाली याक्सले नेपाली खेलाडीहरूमा खासै ठूलो परिवर्तन गरेको छैन। सोमपाल कामीको कमान्डमा रहेको  टिममा गुल्सन झा, नन्दन यादव, अर्जुन घती, दीपेन्द्र रावत, युनिस विक्रम सिंह ठकुरी र विपिन शर्मा पहिलो सिजनबाट रिटेन भएका खेलाडीहरू हुन्। दोस्रो सिजनमा कर्णाली याक्सले चार खेलाडी अनुबन्ध गरेको छ। जसमा पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक प्रसाद डुम्रे रहेका छन्।

युवा खेलाडीहरूले भरिपूर्ण रहेको कर्णाली याक्सले विदेशी खेलाडी पनि उत्तिकै नाम चलेका लिएर आएको छ। केही पुराना खेलाडीहरू दोहोराउँदै नयाँ नामहरू पनि थप्दै कर्णालीले आफ्नो टिम बलियो बनाएको छ। ब्याटिङमा विदेशी खेलाडीको भर परेपनि बलिङमा भने कर्णालीसँग नेपाली खेलाडीहरूको भमरपूर अप्सन रहनेछ। विशेषत: स्पिन अट्याकमा नेपाली युवा खेलाडीहरू कर्णालीले जम्मा पारेको छ। जसमा विपिन प्रसाद शर्मा पहिलो सिजनबाट चम्किएका खेलाडी हुन्। त्यसमा अर्का युवा खेलाडी युवराज खत्री पनि थपिएका छन्।

चितवन राइनोज : कलाम अलि
चितवन राइनोजले दोस्रो सिजनका लागि नेपालका पूर्वतीव्र गतिका बलर कलाम अलीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। पहिलो सिजनमा चितवन राइनोजको प्रशिक्षकमा भारतीय प्रशिक्षक उमेश पटवाल रहेका थिए।

पहिलो सिजनमा कलाम चितवनको बलिङ प्रशिक्षकको रूपमा रहेका थिए।

पहिलो सिजनमा चितवन शीर्ष ४ मा रहँदै प्लेअफ पुगेको थियो। कलामको प्रशिक्षण यात्रा हेर्ने हो भने एभरेस्ट प्रिमियर लिगमा पञ्चकन्या तेज र काठमाडौँ किङ्स इलेभेनको प्रशिक्षकको रूपमा काम गरिसकेका प्रशिक्षक हुन्। उनी नेपाल ‘ए’ टोलीको सहायक प्रशिक्षकको रूपमा रहेका थिए । अली बागमती प्रदेशको टोली तथा महिला यु–२० टोलीको पनि प्रशिक्षक रहिसकेका छन्। युवा खेलाडी कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजले पहिलो सिजनको नतिजामा केही फरकपन र नतिजामा उकालो लाग्न चाहन्छ।

पहिलो सिजनको साख जोगाउँदै कलामले टिमलाई उपाधिसम्म डोर्‍याउनुपर्ने हुन्छ। उनको रणनीति कतिको बलियो र कतिको प्रभावशाली देखिनेछ यो भने राइनोज् मैदानमा उत्रिँदा थाहा होला!

नेपाली प्रशिक्षकको रूपमा उनलाई नेपाली खेलाडी र नेपाली पिच तथा समर्थकको सहयोग मिल्नेछ। उनको प्रशिक्षण यात्रामा पनि नेपाल प्रिमियर लिगको यो सिजन केही खास हुन सक्छ। उनले राम्रो नतिजा पस्कन सकेको अवसरमा उनले प्रशिक्षणमा केही ठूला अवसरहरूको लागि आफ्नो दाबेदारी पेस गर्न सक्छन्।

सुदूरपश्चिम रोयल्स् : जगत टमाटा
सुदूरपश्चिमको भूमिबाट जन्मिएका प्रशिक्षक हुन्, जगत टमाटा। घरेलु टोलीलाई पहिलो सिजनमा उपविजेतासम्म डोर्‍याउने प्रशिक्षकको रूपमा उनको छवि गर्बिलो छ। नेपाली राष्ट्रिय टिमका पूर्वप्रमुख प्रशिक्षक, नेपालका विभिन्न उमेर समूहका प्रमुख प्रशिक्षक रहेर उपाधि जितेका प्रशिक्षक हुन्, टमाटा ‌। नेपाली क्रिकेटको राम्रो ज्ञाता उनले नेपाली खेलाडीलाई नजिकबाट नियालेका छन्। विशेषत: नेपाली खेलाडीको बलियो र कमजोर पक्षको राम्रो जानकारी राख्ने प्रशिक्षक उनले पहिलो सिजनमा विभिन्न खालका विदेशी प्रशिक्षकलाई चुनौती दिँदै सुदूरपश्चिम रोयल्सलाई उपविजेतासम्म डोर्‍याएका थिए। फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदा उपविजेतामा सीमित हुन पुगेको टमाटाको प्रशिक्षणमा केही सुधार गर्दै रणनीतिक परिवर्तनसहित यसपालि सुदूरपश्चिम उपाधि जित्न चाहन्छ।

युवा खेलाडी उत्पादनमा पनि उत्तिकै सक्रिय रहेका टमाटा नेपाली पिच, नेपाली खेलाडी र समर्थकको ‘फेवरेट’ हुन्। त्रिवि क्रिकेट मैदानको पिचको राम्रो जानकारी राख्ने प्रशिक्षक भएका कारण उनले खेलाडीको रोटेसन र रणनीति बनाउनेमा अन्य प्रशिक्षकलाई चुनौती दिन सक्छन्। युवा खेलाडीको क्षमता पहिचान गर्दै घरेलु टोली सुदूरपश्चिमलाई यस वर्ष उपाधि जिताउने जगत टमाटाको मुख्य उद्देश्य रहनेछ।

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.