जेनजी आन्दोलन : प्रहरी कार्यालयमा आगजनी गर्ने २१ जना पक्राउ

जेनजी आन्दोलन : प्रहरी कार्यालयमा आगजनी गर्ने २१ जना पक्राउ
तस्बिर : सांकेतिक तस्बिर

विराटनगर  :  जेनजी आन्दोलनको आवरणमा मोरङका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेर विध्वंस मच्चाउने समूहका २१ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार विराटनगर र मोरङको जहदाबाट १० जना, पथरीशनिश्चरेबाट ६ र उर्लाबारीबाट ५ जनालाई पक्राउ गरिएको हो । 

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारी र पथरीमा आगजनी एवं तोडफोड गरिएको थियो । ती कार्यालयबाट थुनुवा भगाउनुका साथै प्रहरी कार्यालयका कागजपत्र पनि जलाइएको थियो । 

त्यस्तै, विराटनगरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको कार्यालय तथा विभिन्न प्रहरी बिटहरुमा आगजनी र तोडफोड गरियो । सीआरभीको गाडीसमेत जलाइयो । ट्राफिक लाइट र सीसी क्यामेरा पनि तोडफोड गरिएको थियो । भदौ २४ गतेको अपराधिक घटनामा संलग्नहरु अहिले धमाधम पक्राउ पर्न थालेका हुन् । 

उर्लाबारीबाट पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–६ का उदय साह, बब्लु सहनी, मिलन राई, राजकुमार सहनी र उर्लाबारी–७ का रविन सुन्दास छन् । पथरीबाट पथरीशनिश्चरे नगरपालिका–१ का चन्द्र कार्की, दीपक चौधरी, मुकेश बराइली, विश्वास थापा, सिद्धार्थ राई र मिथुन मण्डल पक्राउ परेका छन् । विराटनगर र जहदाबाट १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ का विशाल माल्मिकी, गोपी साह तथा विराटनगर–६ का विष्णु साफी, चन्दन बर्मा, किसन सहनी र विराटनगर–१४ का राकेश यादव रहेका छन् । त्यस्तै, जहदा गाउँपालिका–२ का प्रवेश मण्डल, जहदा–३ का सुशील यादव, जहदा–५ का सुरज सिंह र मुकेश कामतलाई पनि प्रहरीले पक्राउ गरेको छ । 

एसपी कटवालले पक्राउ परेकाहरुमाथि आपराधिक उपद्रव मुद्दा चलाउन शुक्रबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी दिए । जेनजी आन्दोलनका नाममा प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरेर आतंक मच्चाउनलाई कारबाहीको दायरामा ल्याउन थालिएको बताउँदै कटवालले घटनामा जोसुकै संलग्न भए पनि उन्मुक्ति नपाउने स्पष्ट पारे । 

उनका अनुसार मोरङ प्रहरीको यो कारबाहीबाट आतंक मच्चाउने र हुलहुज्जत गर्ने तथा आगजनी र तोडफोड गर्नेलाई प्रहरीले छाड्दैन भन्ने सन्देश प्रवाह भएको छ । भदौ २४ गतेको घटनामा संलग्नको विवरण अझै पनि संकलन गर्ने काम भइरहेको प्रहरुीले जनाएको छ । 'सीसी क्यामेरा फुटेज, भिडियो र फोटोलगायतका प्रमाणको आधारमा विध्वंस मच्चाउनेहरुको पहिचान गर्ने काम भइरहेको छ । पहिचान भइसकेकालाई पक्राउ गरेर कानुनको दायरामा ल्याइसकियो,' एसपी कटवालले भने । 

आगजनी एवं तोडफोड गरेर विध्वंस मच्चाउने अराजक समूहका अन्य व्यक्तिहरूको पहिचान, खोजी र पक्राउका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ । त्यतिबेला विध्वंस मच्चाउने समूह प्रहरीको उच्च निगरानीमा छ । आन्दोलनको आवरणमा विराटनगरसहित मोरङका विभिन्न स्थानमा आगजनी र तोडफोड गरेर सरकारी एवं निजी सम्पत्ति र व्यापारिक मल ध्वस्त पारिएको थियो । विध्वंस मच्चाउने जोकोहीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको प्रहरीले घटना गर्न उक्साउनेलाई पनि नछाड्ने भएको छ । 'कसैलाई पनि उन्मुक्ति दिइने छैन । पहिचान गरेर सबैलाई कानुनको दायरामा ल्याइने छ । घटनासँग सम्बन्धित फोटो, भिडियोलगायतका प्रमाणहरु संकलन गरेर विश्लेषण गर्ने काम भइरहेको छ,' एसपी कटवालले भने । सुरुमा प्रहरी कार्यालयमा आक्रमण गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइएको छ । त्यसपछि सरकारी एवं निजी सम्पत्ति ध्वस्त पार्नेलाई कारबाही गर्ने प्रहरीको तयारी छ । 

कटवालले भदौ २४ को अराजक घटनाले प्रहरीको मनोबल खस्किएको बताए । जेनजीको नाम लिएर अपराधिक कार्यमा संलग्नलाई कानुन बमोजिम कारबाही गरेर प्रहरीको मनोबल उच्च बनाउनेतर्फ केन्द्रित हुने उनको भनाइ छ । उनका अनुसार अपराधिक गतिविधि गर्ने र अराजक भिडलाई उक्साउनेहरू भाग्न नपाउन् भनेर प्रहरीले निगरानी बढाएको छ । तिनीहरुलाई कानुनी दायरामा ल्याउनका लागि प्रहरीले संवेदनशील भएर काम गरिरहेको जानकारी एसपी कटवालले दिए ।

'प्रहरी नागरिकको सेवामा प्रतिबद्ध छ । आन्दोलनपछि खस्किएको प्रहरीको मनोबल उच्च बनाउनेतर्फ केन्द्रित छौं । शान्ति सुरक्षाको अवस्था मजबुत बनाउँदै अपराधिक गतिविधिमा संलग्नलाई पक्राउ गर्न विशेष टोली परिचालन गरिएको छ । जुनसुकै खालका अपराधलाई नियन्त्रणमा लिन र अपराधमा संलग्नलाई कारबाही गर्न प्रहरी निर्मम हिसाबले लाग्छ,' उनले भने । 

सबैसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउन निर्भीक हिसाबबाट प्रहरीले काम गर्ने उनी बताउँछन् । उनले नागरिकले अनुभूति गर्ने गरी सुरक्षा दिन प्रहरी तयार रहेको बताए । सबैतिर प्रहरी सक्रियता बढाइएको र प्रहरीले कारबाहीलाई तीव्र पारेको जानकारी कटवालले दिए। आन्दोलनमा नाममा विध्वंस मच्चाइएको घटनासँग सम्बन्धित प्रमाण भएमा तत्काल उपलब्ध गराउन उनले सबैलाई आग्रह गरेका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.