एनपीएल

नेपाल प्रिमियर लिग आजदेखि, जनकपुर र काठमाडौं भिड्दै

नेपाल प्रिमियर लिग आजदेखि, जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं : नेपाली खेलकुद क्षेत्रकै बहुपतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सोमबारबाट सुरु हुँदैछ। सोमबार साँझ हुने उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ड्स र काठमाडौं गोर्खाज भिड्ने भएका छन्। एनपीएलमा जनकपुर र काठमाडौं एक पटक मात्र आमनेसामने भएका छन्। अघिल्लो संस्करणको राउन्ड रोबिन लिगमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको थियो। जनकपुरलाई सहज जित दिलाउन जिमी निसमले सर्वाधिक २७ रन बनाएका थिए। 

जनकपुर यस पटक पनि अनिल साहको कप्तानीमा मैदानमा उत्रिँदै छ। मार्की खेलाडी आसिफ शेख भए पनि जनकपुरले कप्तानको जिम्मेवारी भने अनिललाई दिएको हो। यसैगरी काठमाडौंको कप्तानी यस पटक पनि करण केसीले गर्दैछन्। 

जनकपुरमा कप्तान अनिल र आसिफसँगै शुभ कंसाकार, मायान यादव, आदित्य महतो, विकास आग्री, ललित राजवंशी, सचिन भट्ट, तुलबहादुर थापा छन्। यस्तै विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका इमरान ताहिर, नामिबियाका जान निकोल लफ्टी इटन, अमेरिकाका लाहिरू मिलान्था र दक्षिण अफ्रिकाका वायन पार्नेललाई अनुबन्ध गरेको छ। जनकपुरले वेस्ट इन्डिजका दिग्गज खेलाडी शिवनारायण चन्द्रपललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ। एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै च्याम्पियन बनेको जनकपुर दोस्रो संस्करणमा पनि उपाधि रक्षा गर्ने अभियानमा छ। पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाउँदा उत्कृष्ट प्रदर्शन गरेका न्युजिल्यान्डका अलराउन्डर जिमी निसम भने यस पटक टोलीमा छैनन्। निसम यस पटक पोखरा एभेन्जर्सको जर्सीमा मैदानमा उत्रिँदै छन्।

यसैगरी करण केसीको कप्तानीमा रहेको काठमाडौं यस पटक उत्कृष्ट सुरुवात गर्ने अभियानमा छ। काठमाडौंले आफ्नो पूर्ण टिम पनि तयार पारिसकेको छ। काठमाडौंमा भारतीय क्रिकेटर सन्नी पटेल, नामिबियाका कप्तान जेरार्ड एरासमस, इङ्ल्यान्डका विकेटकिपर जोन सिम्पसन, दक्षिण अफ्रिकी विकेटकिपर हेनरिक क्लासन, अमेरिकन अलराउन्डर मिलिन्द कुमार र दक्षिण अफ्रिकाका विकेटकिपर रिकार्डो भास्कोन्सेलोसलाई अनुबन्ध गरिसकेको छ। काठमाडौंले करण केसीसहित ६ खेलाडी रिटेन गरेको थियो भने अक्सनबाट मोहमद आदिल आलम अन्सारीलाई टोलीमा भित्र्याएको थियो। काठमाडौंले नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक भारतका मोन्टी देसाइलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ। 

मंसिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलका खेलका कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ। यस पटक अधिकांश खेलहरू दिवा÷रात्री रुपमा सञ्चालन हुनेछ। अहिले त्रिवि मैदानमा फ्लडलाइट जडानको काम धमाधम भइरहेको छ। सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। जहाँ पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर हुनेछ। यस खेलको विजेताले सिधै फाइनल स्थान बनाउने छ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्। एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल मंसिर २७ गते हुनेछ। 

नेपाल प्रिमियर लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्दै छन्। जसमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्स छन्। पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो। एनपीएलका आठ वटै टोलीले पहिलो संस्करणका मार्की खेलाडीलाई रिटेन गरेका छन्। जस अनुसार विराटनगर किङ्सको मार्कीमा सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, काठमाडौंको करण केसी, चितवनको कुशल मल्ल, पोखराको कुशल भुर्तेल, लुम्बिनी लायन्सको रोहित पौडेल, कर्णाली याक्सको सोमपाल कामी र सुदूरपश्चिम रोयल्सको दीपेन्द्रसिंह ऐरी छन्।

एनपीएलका अधिकांश खेल साँझको समयमा फ्लडलाइटमा खेलाइने क्यानले जनाएको छ। दोस्रो संस्करणलाई थप भव्य बनाउन पछिल्लो पाँच महिनादेखि निकै मेहनत गर्दै आएको र त्यही मेहनतका कारण फ्लडलाइटमा खेलाउन सफल भएको क्यानका सचिव पारस खड्काले जानकारी दिए। ‘दोस्रो संस्करणलाई भब्य बनाउन हामीले लामो समयदेखि तयारी गरेका थियौं। त्यो मेहनत छिट्टै साकार हुँदैछ’, सचिव खड्काले भने, ‘हामी फ्लडलाइटमा खेल गराउन सफल भएका छौं। फ्लडलाइटको परीक्षण पनि भइसकेको छ। घरेलु मैदानमा पहिलो पटक फ्लडलाइटमा खेल हुँदैछ।’ 

क्यानले एनपीएलको दोस्रो संस्करणमा ३५ करोडभन्दा बढी रकम आम्दानी गर्ने लक्ष्य राखेको छ। क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले प्रयोजक, फ्रेन्चाइज टिम, ओटीटी राइट, टेलिभिजन राइट र टिकट बिक्रीबाट ३५ करोडभन्दा बढी आम्दानी हुने जानकारी दिए। उनका अनुसार प्रायोजकबाट १५ करोड ३० लाख, आठ फ्रेन्चाइज टिमबाट नौ करोड, टिकट बिक्रीबाट आठदेखि १२ करोड, ओटीटी अधिकारबाट पाँच करोड ३० लाख र टेलिभिजन अधिकारबाट एक करोड रुपैयाँ आम्दानी हुनेछ। 

एनपीएलको दोस्रो संस्करणको उपाधि विजेताले पनि एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने छ। यस्तै उपविजेताले ५१ लाख, तेस्रो हुने टोलीले २५ लाख र चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.